
झापा । कोशी प्रदेशका आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतमले झापाको कोटीहवन क्षेत्रमा रहेका धार्मिक तथा थर-गोत्रीय संरचनाको संरक्षणमा प्रदेश सरकार चनाखो, सचेत र प्रतिबद्ध रहेको बताएका छन् । गौतम समाज झापा केन्द्रीय समितिले आयोजना गरेको श्रीमद्भागवत महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री गौतमले कोटीहवन ऐतिहासिक धार्मिक क्षेत्र भएकोले यसको संरक्षण गर्नु सङ्घ, प्रदेश र स्थानीय सरकारको साझा दायित्व भएको स्पष्ट पारेका हुन् ।
‘अहिले डोजर आतङ्क मच्चाइएको छ, यहाँ पनि डोजर चल्ने हावादारी हल्ला चलेको सुनेको छु, यो हल्लामा कुनै सत्यता छैन,’ उनले भने, ‘यो ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ डोजर चल्ने कुरा कसैले चलाएको लहडको हल्ला मात्र हो, यसमा सत्यता छैन र यस्तो हुन दिइँदैन ।’
काठमाडौंमा बालेन साहको नेतृत्वमा अप्रत्याशित र अस्वाभाविक डोजर अभियान चलेपछि अहिले देशभर संशय छाएको छ । कोटीहवनमा रहेको मुख्य मन्दिरबाहेक अन्य संरचनामा डोजर चल्ने हल्ला चलेको परिप्रेक्ष्यमा सम्बन्धित प्रदेश राज्यमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
कनकाई माईको पूर्वी तटमा रहेको कोटीहवनमा विभिन्न मन्दिर र गुम्बासहित २७ थर-गोत्रीय बन्धुहरूका ५०औँ बहुउपयोगी भवनहरू छन् । कनकाई नगरपालिका–४ मा पर्ने सो क्षेत्रमा योगी नरहरिनाथले अखण्ड दीप प्रज्वलन गरी धार्मिक अनुष्ठान सम्पन्न गरेसँगै यसको धार्मिक महत्त्व बढेको हो । कोटीहवन धार्मिक क्षेत्र अहिले धेरैको अध्ययन र आकर्षणको केन्द्र बनेको छ । राज्यमन्त्री गौतमले कोटीहवनको संरक्षण सरकार र निश्चित जाति-गोत्रको मात्र नभई समाजको साझा दायित्व भएको उल्लेख गरे ।
आन्तरिक मामिला राज्यमन्त्री गौतमले यस क्षेत्रको थप विकास र सौन्दर्यकरणका लागि एकीकृत गुरुयोजना पेस गर्न अनुरोध गर्दै उपयुक्त योजना आएमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । वैशाख २५ गतेसम्म चल्ने सो महोत्सवको सफलताको शुभेच्छा प्रकट गर्दै उनले व्यक्तिगत रूपमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘म महोत्सवको सफलताको शुभेच्छा मात्र व्यक्त गर्दिनँ, व्यक्तिगत रूपमा पनि सहयोग गर्न प्रतिबद्ध छु ।’
गौतम समाजले राष्ट्र शान्ति, वंशोद्धार, ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना तथा विभिन्न सामाजिक कार्यका लागि आर्थिक स्रोत जुटाउने लक्ष्य राखेर श्रीमद्भागवत महोत्सवको आयोजना गरेको समाजका कोषाध्यक्ष जयनारायण गौतमले बताए । हाल कोषमा २८ लाख रुपैयाँ जम्मा भइसकेको उनले जानकारी दिए ।
समाजले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा सम्मान, गुरुकुलका विद्यार्थीलाई आर्थिक सहयोग, वार्षिक बटुक सहभोज, ज्येष्ठ बन्धु सम्मान, औषधोपचार खर्च र समाजमा आबद्ध निम्न वर्गीय परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउँदै आएको गौतम समाज झापाले जनाएको छ ।
प्रतिक्रिया