काकाकुल बन्दै कर्णाली राजधानी !

मागको एक चौथाइभन्दा कम आपूर्ति, त्यो पनि ३ दिन बिराएर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानीको माग भए पनि हाल ८३ लिटर प्रतिसेकन्ड मात्र आपूर्ति भइरहेको छ । यस हिसाबले २६४ लिटर प्रतिसेकेन्ड खानेपानी अपुग छ । सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमुख डम्मरबहादुर गौतमले जनाए ।

वीरेन्द्रनगरमा वर्षायाममा समेत खानेपानी अभाव हुँदै आएको छ । हाल राजधानीमा खानेपानी सेवा दिँदै आएको सुर्खेत उपत्यका खानेपानी संस्थासँग पूर्ण क्षमतामा पानी आउँदा दैनिक १६३ लिटर प्रतिसेकेन्डसम्म मात्रै आपूर्ति गर्नसक्ने स्रोत छ । झुप्रा खोला ८६, खरिबोरी खोला ३०, इत्राम खोला २७, खोर्के खोला १०, दुन्दुरे खोला १० लिटर प्रतिसेकेन्ड गरी दैनिक १६३ लिटर प्रतिसेकेन्ड क्षमता रहेको गौतमको भनाइ छ । लामो खडेरीका कारण ती स्रोत पनि सुक्न थालेपछि दैनिक ८३ लिटर प्रतिसेकेन्ड मात्रै आपूर्ति हुँदै आएको छ । हाल वीरेन्द्रनगरमा हरेक ४ दिनमा एकपटक १ घन्टा खानेपानी उपलब्ध गराउने तालिका बनाइएको छ । ‘सुक्खा र खडेरीका कारण खानेपानीका स्रोतहरू सुकेर सम्पूर्ण स्रोतबाट जम्मा ८३ लिटर प्रतिसेकेन्ड खानेपानी मात्र आपूर्ति भइरहेको छ,’ उनले भने, ‘स्रोत नै नभएपछि ३ दिनको फरकमा (चौथो दिन) १ घन्टा खानेपानी वितरण गर्न सकिने अवस्था आएकाले सोहीअनुसार कार्यतालिका बनाइएको छ ।’

मुलुक संघीय संरचनामा गएपछि वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै बढेको सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा भएको विकासले वीरेन्द्रनगरमा खानेपानी समस्या बढ्दै गएको हो । २०५९ सालमा पहिलो पटक वीरेन्द्रनगरमा खानेपानी आयोजना सञ्चालन गर्दा यहाँको जनसंख्या ५२ हजार ६२७ जनामात्र थियो । उक्त आयोजना डिजाइनको समयमा १५ वर्षमा अर्थात् २०७७ सालसम्म यहाँको जनसंख्या १ लाख ४ हजार २२९ पुग्ने अनुमान गरिएको थियो । तर, आयोजनाले गरेको अनुमानभन्दा अघि नै वीरेन्द्रनगरको जनसंख्या १ लाख ८१ हजार ५०० पुगेपछि खानेपानीको समस्या विकराल भएको हो । १५ वर्षको प्राविधिक अनुमानका आधारमा गरिएको आयोजना डिजाइन त्यसअघि नै जनसंख्या अप्रत्यासित बढेकाले पनि खानेपानी आपूर्तिमा समस्या भएको हो । वीरेन्द्रनगरमा मात्र हाल झन्डै १७ हजार घरधुरीमा खानेपानी धारा जडान गरिएको छ ।

भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणमा तीव्रता

कर्णालीको राजधानीमा दिनप्रतिदिन खानेपानी अभाव चुलिँदै गएपछि भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको कामलाई तीव्रता दिन थालिएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा भेरी लिफ्टिङ खानेपानी आयोजना संघीय सरकारको ८० प्रतिशत, कर्णाली प्रदेश सरकारको १३ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको छ ।

आयोजनाको कुल लागत ६ अर्ब रुपैयाँ छ । पहिलो प्योकजका लागि विनियोजित ३ अर्ब ५० करोड ८ लाख रुपैयाँमध्ये हालसम्म ५८ करोड रुपैयाँ खर्च भएको छ । २०८१ भदौबाट सुरु गरिएको आयोजनाको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना एकाइ कार्यालय सुर्खेतका प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिए । लेकबेंसी नगरपालिका–१० मा पानी प्रशोधन प्लान्ट, वीरेन्द्रनगर–११ को अमृत डाँडामा ३०÷३० लाख लिटर क्षमताका तिनोटा मुख्य ट्यांकी निर्माण भइरहेको उनले बताए ।

आयोजनाअन्तर्गत २१ किलोमिटर पाइप बिछ्याउने काम पनि सकिएको छ । अबको २ वर्षमा भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए । झुप्रा खोला र भेरी नदी नजिकैको ठाउँबाट वीरेन्द्रनगर–११ स्थित अमृत डाँडामा पानी पम्पिङ गर्ने गरी आयोजना सुरु गरिएको छ । वीरेन्द्रनगरको विद्यमान समस्या र आगामी २५ वर्षपछि वृद्धि हुने जनसंख्यालाई प्रक्षेपण गरी कार्यान्वयनमा ल्याइएको भेरी पम्पिङ खानेपानी आयोजनाले जग्गा भोगाधिकार, रूख कटानलगायत निर्माणपूर्वका तयारीका काम सकिएसँगै आयोजनाले पहिलो र दोस्रो प्याकेजका क्रियाकलापहरू एकैसाथ अघि बढाएको छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख कन्सल्टेन्ट इन्जिनियर रमेश अधिकारीका अनुसार पानी प्रशोधन प्लान्ट र अमृत डाँडामा ९० लाख लिटर क्षमताका तिनोटा रिजर्भ ट्यांकी निर्माणको काम सुरु भइसकेको छ । मुहान क्षेत्रको माटो परीक्षणपश्चात् भेरी नदी किनारमा अवस्थित इन्टेकमा १० मिटर अग्लो सेफ्टी पर्खाल लगाइनेछ । नदी सतहदेखि करिब ७ मिटर गहिरा दुइटा इन्टेक निर्माण गरिँदै छ । इन्टेकदेखि करिब ४०० मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण, पहिलो प्याकेजअन्तर्गत इन्टेक निर्माण, प्रशोधन प्लान्ट, ७ किमी लामो ६०० एमएम गोलाइका पाइपको प्रसारण लाइन पर्छन् । त्यस्तै, ३०÷३० लाख लिटर क्षमताका तिनोटा रिजर्भ ट्यांकी, उपत्यका क्षेत्रमा पाइपलाइन विस्तार, जुम्ला रोडलाई आधार बनाएर ५ ठाउँमा पम्पिङ सिस्टम जडान गरिने जनाइएको छ ।

प्रतिक्रिया