सीमावर्ती बजार : पारिका सुनसान, वारि गुलजार

काठमाडौँ । भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने भएपछि नेपाली बजारमा चलहपहल बढ्न थालेको छ । संघीय सरकारको उक्त निर्णय कार्यान्वयनमा आएपछि विराटनगर, वीरगन्जलगायतका सीमावर्ती नेपाली बजारमा चलहपहल बढ्न थालेको हो । विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगवनी र वीरगन्जको सीमावर्ती क्षेत्रको बजार रक्सौल सुनसान बन्दै गएका छन्, भने नेपाली बजारमा उपभोक्ताको चलहपहल बढ्न थालेको छ ।

यसअघि नेपाली उपभोक्तले जोगवनी गएर दैनिक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने गरेकामा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो । विराटनगर महानगरपालिका–९ मा शुभम इम्पोरियम सञ्चालन गर्दै आएका अशोक साहले पछिल्लो समय पसलमा स्थानीय ग्राहकको आगमन केही मात्रामा वृद्धि भएको बताए । उनले स्थानीय व्यापारी, उद्यमी तथा स्थानीय उत्पदानको प्रवद्र्धन गर्न सरकारको यो निर्णय प्रशंसायोग्य रहेको भन्दै यसलाई निरन्तर दिनुपर्नेमा जोड दिए ।

सरकारले १०० रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिनुपर्ने नियम कार्यान्वयनमा आउनु र भन्सार कार्यालयले यसलाई कडाइ गर्दा जोगवनी बजारबाट चामल, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने नेपाली उपभोक्ताको संख्यामा कमी आएको साहले बताए । उनका अनुसार उक्त निर्णय कार्यान्वयनमा आएसँगै नेपाली बजारमा चहलपहल बढ्नुका साथै आर्थिक गतिविधि चलायमान बन्दै गएको छ ।

अहिले विराटनगर बजारसहित महेन्द्र चोक, विराटनगर बसपार्क, शनि मन्दिरलगायत क्षेत्रका व्यापारिक केन्द्रमा उपभोक्ताको चलहपहल उल्लेख्य बढेको व्यवसायी साहले बताए । विगतमा साइकलमा ४–५ वटासम्म झोलामा खाद्यान्नसहित सामान तस्करी गर्नेहरूसमेत नियन्त्रणमा आएका उनको भनाइ छ । भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल तिनुपर्ने संघीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि जोगवनीमा नेपाली उपभोक्ताको संख्यामा कमी देखिन थालेको उनले उल्लेख गरे ।

जोगवनीमा खाद्यान्न, मोबाइल, इलेक्ट्रोनिक, कपडा तथा रङ पसललगायत प्रायः सबै सामग्री पाउने पसल सुनसान बन्दै गएका छन् भने सडकमा राखेर बिक्री गरिने जुत्ताचम्पल, फलफुल, जुस, केटाकेटीका कपडालगायत पसलमा नेपालीको उपस्थिति कम देखिन थालेको स्थानीय व्यापारी बताउँछन् । जोगवनीमा मोरङको पूर्वी राजमार्ग क्षेत्र, सुनसरीको उत्तरी क्षेत्र, धनकुटा, उदयपुरलगायत जिल्लाका विभिन्न स्थानका साथै काठमाडौँका उपभोक्तासमेत आउने गर्दथे ।

विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्लेले १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार लाग्ने नियम कडाइका साथ लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ खरिद गर्न जाने क्रम घटेको बताए । उनले पछिल्लो समय दैनिक १२ देखि १५ जनाले भन्सार महसुल बुझाउन थालेका जानकारी दिए ।

सुस्तायो रक्सौल

सबैजसो याममा गुलजार हुने वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान छ । सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो । रक्सौल सीमावर्ती नेपालीका लागि प्रमुख बजार मानिन्थ्यो । रक्सौलमा पर्सा जिल्लाका मात्रै नभएर छिमेकी जिल्लाका मुख्य सहरका सिमरा, हेटौँडा र चितवनसम्मका बासिन्दा किनमेल गर्न रक्सौल बजार जान्थे ।

पछिल्लो समय संघीय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि वीरगन्ज बजारमा क्रमशः ग्राहकको चहलपहल बढ्दै गएको वीरगन्जमा यहाँका व्यवसायीको भनाइ छ । वीरगन्जको आदर्शनगरमा कपडा पसल सञ्चालन गर्दै आएका जेपी इन्टरप्राइजेजका सञ्चालक जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाइ गरेसँगै आफ्नो पसलमा पहिलेको तुलनामा ३० प्रतिशत बढी व्यापार हुन थालेको बताए ।

उनले भने, ‘सरकारले भन्सार क्षेत्रमा कडाइ गरेसँगै अहिले वीरगन्जका पसलहरूमा विस्तारै ग्राहकहरूको चहलपहल बढेको छ, विगतमा दिनभरजसो पसल कुरेर मात्रै बस्नुपर्ने हुन्थ्यो । अहिले ग्राहक बढेसँगै व्यापारमा पनि धेरै सुधार देखिएको छ ।’ वीरगन्जको मीनाबजारमा किराना पसल सञ्चालन गर्दै आएका ऋषि केशरीले पनि भन्सारमा कडाइ गरेसँगै वीरगन्जको बजारमा ग्राहक बढेको बताए ।

‘सबैजसो समान किनमेल गर्न सीमा पारी नै जानु सामान्यजस्तै थियो, भन्सारमा कडाइ सुरु भएसँगै हाम्रो व्यापार करिब २५ प्रतिशतले बढेको छ, सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सकेको खण्डमा व्यापार पहिलेको तुलनामा ५० प्रतिशतले बढ्ने अपेक्षा राखेका छौँ’, केशरीले भने । डिभिजन सडक हेटौँडाले गत ६ वैशाखमा वीरगन्जको मुख्य सडक (मेनरोड)मा अतिक्रमित संरचना भत्काएपछि यहाँको बजार अहिले आदर्शनगर, लिंकरोडका बजारमा चहलपहल बढेको छ । विगतमा मेनरोडमा व्यापार तथा व्यवसायी गर्दै आइरहेका व्यापारीले भत्किएको संरचनाको जोखिमपूर्ण भग्नावशेषमा नै ‘सेल’ अफरमार्फत ‘स्टक’ सामान बिक्री सुरु गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार सडक विस्तारको कारणले करिब १ हजार व्यवसायी तथा व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् । जहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ९ हजार जनाको रोजगारीसमेत प्रभावित भएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कडाइ गरेसँगै अनौपचारिक ढंगले हुने आयातमा कमी आउने बताए । उनले भने, ‘सीमावर्ती सहरबाट अनौपचारिक ढंगबाट हुने आयातमा केही हदसम्म भए पनि कम भइरहेको छ, साथै चोरीपैठारी नियन्त्रण गर्नमा सहज हुने अपेक्षा राखेका छौँ ।’

सीमावर्ती क्षेत्रमा कडाइ गरेसँगै स्रोत नखुलेको रकम (हुन्डी)कारोबार नियन्त्रणमा पनि सहयोग पुगेको छ । सीमा क्षेत्रमा खुला रूपमा भिडभाडको मौका छोपेर सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्रिने क्रममा पनि केही हदसम्म न्यूनीकरण भइरहेको जनाइएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँ भन्दा धेरैको सामान ल्याउने प्रावधानका कारण सीमा क्षेत्रका बासिन्दाका लागि उपयुक्त नभएको बताए ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले सीमा क्षेत्रबाट हुने अवैध पैठारी तथा निकासीलाई नियन्त्रण गर्ने प्रयास गर्दै आइरहेको बताए । ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएर अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने प्रयास गर्दै आइरहेका छन्, कतिपय व्यावहारिक समस्यालाई पनि सम्बोधन गर्ने प्रयासमा छौँ’, उनले भने ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ । सो वस्तु तथा सामान आयात हुँदा कार्यालयले सो अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै यो नाका हुँदै चालु आवको ९ महिनामा भने ७९ अर्ब ५४ करोड मूल्यको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात भएको छ ।

प्रतिक्रिया