
नेपाल भौगोलिक रूपमा जति सुन्दर छ, प्राकृतिक प्रकोपका दृष्टिले त्यति नै जोखिमपूर्ण पनि रहेको छ । पछिल्लो समय जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण मनसुनजन्य विपद्का घटनाहरूले निम्त्याउने जनधनको क्षति पनि भयावह बन्दै गएको छ । नेपालमा भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, वन डढेलो, शीतलहर, हावाहुरी, डुवान, खडेरी, सडक दुर्घटना, हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोट, अतिवृष्टि, तातो हावाको लहर र सर्पदंशजस्ता विपद् जोखिम रहँदै आएको छ ।
जटिल भूसंरचना, गरिबी, अशिक्षा, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण तथा बस्ती विकास, खोला किनारामा बसोवास, खोलानाला र पानी बग्ने खोल्साहरू मिची घरटहरा निर्माण गर्ने प्रवृत्ति, अव्यवस्थित विकास निर्माण, प्राकृतिक सम्पदाको चरम दोहनले पनि विपद्का घटनामा वृद्धि भइरहेको बताइन्छ ।
विज्ञहरूले नेपालमा २०७२ सालको भूकम्पपछि मनसुनका बेला बाढी पहिरोको प्रकोप बढेको तथा जलवायु परिवर्तनका गम्भीर असरसमेत देखिन थालेको बताइरहेका छन् । हिमाली क्षेत्रमा समेत भारी बर्षा भई लेदोसहितको बाढी, बेमौसमी बर्षा आदि घटनाको मुख्य कारणमा जलवायु परिवर्तन जिम्मेवार रहेको बताइन्छ । मनसुनजन्य विपद्का घटनामा मानवीय गतिविधि पनि जिम्मेवार रहेका छन् । ग्रामीण भेगमा सडक विस्तारका नाममा जथाभावी डोजरको प्रयोग, विनापूर्वतयारी तयार पारिएका भौतिक संरचनाले गर्दा पहिरो तथा बाढीको भय हुने गरेका छन् । कमजोेर सडक संरचनाको कारण निम्तिने दुर्घटना पनि मनसुनी सिजनमै बढी हुने गरेका छन् ।
गत आव २०८१/०८२ मनसुनजन्य विपद् (बाढी, पहिरो, चट्याङ र हावाहुरी) का घटनाहरूले गर्दा ठुलो जनधनको क्षति भएको छ । देशभर पहिरोका ७५६ वटा घटना हुँदा २७७ जनाले ज्यान गुमाएका थिए । १३ जना अझै बेपत्ता र २३३ जना घाइते भएका थिए । जसमा सुदूरपश्चिम प्रदेशमा ७१ वटा पहिरोका घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । १९ जना घाइते भएका थिए, भने १३५ परिवार विस्थापित भएका थिए । १९ वटा घरमा क्षति पुगेको थियो, भने ५ वटा पुलमा क्षति पुगेको थियो । त्यस्तै, कुल ७४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
त्यस्तै, बाढीले नेपालको तराई र पहाडी क्षेत्रमा ठुलो विनाश निम्त्याउने गरेको छ । गत आवमा देशभर बाढीका ३८३ वटा घटना दर्ता भए । बाढीमा परेर ७९ जनाको मृत्यु भयो भने ३५ जना बेपत्ता भए । जसमध्ये सुदूरपश्चिममा भएका ३५ वटा घटनामा ६ जनाको मृत्यु भएको थियो, भने २ जना बेपत्ता र २ जना घाइते भएका थिए । बाढीको कारण ४९८ परिवार विस्थापित भए, भने ३ लाख रकम बराबरको क्षति भएको थियो ।

प्रि मनसुनको समयमा धेरै हुने चट्याङलाई कम आकलन गर्ने गरिए तापनि यसले पनि ठुलो संख्यामा मानिसहरूको ज्यान लिने गरेको छ । देशभर चट्याङका ४६९ घटना हुँदा ७० जनाको मृत्यु भयो, भने ३७६ जना घाइते भए । सुदूरपश्चिमा ६८ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु भयो, भने ५८ जना घाइते भएका थिए । १५ लाखभन्दा बढीको आर्थिक क्षति भएको थियो ।
त्यस्तै, भारी वर्षाले पनि जनजीवन कष्टकर बनाउनुुको साथै मानिसको ज्यानै लिएका घटना सरकारी तथ्यांकमा छन् । गत वर्ष भारी वर्षाका ४०९ वटा घटना भए, जसमा ८ जनाको मृत्यु भयो, भने ११० घर पूर्ण रूपमा क्षतिग्रस्त भए । जसमा सुदूरपश्चिम प्रदेशमा ५१ वटा भारी वर्षाका घटना दर्ता भएकामा मानवीय क्षति नभए पनि ८२१ परिवार प्रभावित भएको तथ्यांक छ । ३३ लाखभन्दा बढी रकम बराबरको क्षति भएको थियो ।
त्यस्तै, हावाहुरीले गत वर्ष कुल ४१४ वटा घटना भएकामा ८ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिममा १०८ हावाहुरीका घटना हुँदा १ जनाको मृत्यु भएको थियो । गत वर्ष हावाहुरीबाट सुदूरमा ४९ लाख रकमभन्दा बढीको क्षति भएको थियो ।
यी तथ्यांकहरूले नेपालमा विपद् अब नियमित घटनाको रूपमा रहन गएको छ । हरेक वर्ष विपद्का घटना बढ्दै जाँदा त्यसमा मानवीय क्षति पनि निरन्तर बढ्दो क्रममा रहेको बताइन्छ । प्राकृतिक विपद्का घटना रोक्न नसकिए पनि विपद् प्रतिकार्यको तयारीले भने कम क्षति गराउन सकिने विज्ञहरू बताउँछन् । तीनै तहका सरकारले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्ने, वातावरणीय विनाश रोक्ने र विकास निर्माण गर्दा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा विज्ञहरूको जोड छ । मनसुनका कारण उत्पन्न हुने प्रकोपबाट सिर्जना हुने विपद्का घटनाहरूका कारण सुदूरपश्चिममा हजारौँ मानिसको उद्धार गर्नुपर्ने तथा राहतको आवश्यकता पर्न सक्ने देखिएको छ ।

०००
के गर्दै छ प्रदेश सरकार ?
विपद्बारे संघ, प्रदेश, स्थानीय र जिल्ला विपद् व्यवस्थापन समिति हुने गर्दछ । ४ वटै समितिहरूले एकीकृत ढंगबाट काम गर्नुपर्ने व्यवस्था छ । प्रदेश सरकारले समन्वयदेखि स्थानीय तह र जिल्लामा रहेको समितिसँग समन्वय तथा संघसँग समन्वय गर्ने काम गर्ने गरेको छ ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कोमलप्रसाद ओझाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना बनाउन लागेको बताए । मन्त्रालयले साझेदार संघ–संस्था सहितको समिति गठन गरेको उनले बताए । उनले भने, ‘सचेतना कार्यक्रमहरू अगाडि बढाउने तथा अन्य पूर्व तयारी गर्ने गरी कार्ययोजना अनुरूप उच्च जोखिम भएका क्षेत्रहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।’
विपद् पछिको राहत उद्धारका लागि पनि प्रदेश सरकारले आवश्यक समन्वय तथा तयारी गरिरहेको उनले बताए । उनले भने, ‘प्रदेश सरकारको राहत विपद् व्यवस्थापन राहत कोषमा १० करोड बजेट राखिएकोमा केही रकम जिल्लाहरूमा पठाइएको छ, भने करिब ५ करोड बजेट बाँकी होला । त्यो पनि परिचालन हुन्छ । त्यस्तै, प्रदेश सरकार मातहतमा रहेका गोदाम घरहरूमा पनि आवश्यक बस्तुहरूको व्यवस्था गरिएको छ ।’
त्यस्तै, विपद् अगाडि र पछाडि के गर्न सकिन्छ भनेर सुरक्षा निकायहरूसँग समन्वय गर्ने कार्य भइरहेको उनले बताए । प्रदेश सरकारमातहत के कति स्रोत साधन भनी प्रत्येक महिना सरकारी तथा गैरसरकारी संघ–संस्थाहरू सहितको बैठक हुने गरेको उनले बताए । विपद्पछिको अवस्थामा स्थानीय तह तथा जिल्लासँग समन्वय गरेर कहाँ के को आवश्यकता छ ? त्यसको प्रबन्ध गर्ने कार्य प्रदेशले गर्ने गरेको छ ।
ओझाका अनुसार सुदूरपश्चिमको कैलाली–कञ्चनपुरमा बाढीको जोखिम छ, भने पहाडी क्षेत्र पहिरोको जोखिम हुन्छ । डोटी, बझाङ, बाजुरा लगायतका क्षेत्रमा गत वर्षहरूमा गएको भूकम्पको कारण पहिरोका धेरै जोखिम रहेको उनले बताए ।
प्रवक्ता ओझाले विगतमा प्राकृतिक प्रकोपहरू जस्तै, भूकम्प, पहिरो र बाढीबाट भएको क्षतिको पुनःनिर्माणका लागि गत चैतमा प्रदेशले डोटी, अछाम, बाजुरा र दार्चुलामा झन्डै झन्डै ६ करोड जति बजेट पठाएको बताए ।
०००

९ जिल्लामै जोखिम
सुदूरपश्चिम प्रदेश भौगोलिक र वातावरणीय दृष्टिले मनसुनजन्य विपदको उच्च जोखिममा रहेको क्षेत्र हो । प्रदेशका ९ वटै जिल्लाहरू कुनै न कुनै रूपमा प्रभावित हुने गरेका छन् । विगत लामो समयदेखि सुदूरपश्चिमको राजधानी धनगढी डुबानमा पर्ने गरेको छ । अव्यवस्थित सहरीकरण र विनायोजना जथाभावी घर निर्माणका कारण धनगढीले हरेक बर्खामा डुबान समस्या बेहोर्नुपरेको हो । १ घण्टामा ६० मिलिमिटर पानी पर्दा पनि बस्ती डुबानमा पर्ने गर्दछ । धनगढीका १९ वडाका ७१ टोल बाढी र डुबानको चपेटामा पर्ने गरेका थिए । नदीहरूले कटान गर्दा कैलाली र कञ्चनपुरका धेरै बासिन्दा प्रभावित हुने गरेका छन् ।
गत वर्ष कैलालीको मोहना र कान्द्रा नदीमा आएको बाढीले टीकापुर र भजनी क्षेत्रका सयौँ घरहरू डुबानमा पर्ने परेका थिए । कञ्चनपुरमा महाकाली र दोदा नदीको सतह बढेपछि भीमदत्त नगरपालिका र पुनर्वास क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
बाजुराको बुढीगंगा नदीको बहाव र पहिरोका कारण साफे–मार्तडी सडकखण्ड पटक–पटक अवरुद्ध भएको थियो, भने कतिपय गाउँहरूमा पहिरोले घरहरू पुरिएका थिए । बझाङको सेती नदीमा आएको बाढीले तटवर्ती क्षेत्रका व्यापारिक पसल र भौतिक संरचनामा क्षति पुर्याएको थियो ।
दार्चुलाको महाकाली नदीको किनार र सहायक खोलाहरूमा आएको आकस्मिक बाढीले सदरमुकाम खलंगा आसपासका क्षेत्रमा जोखिम बढी देखिन्छ, भने चमेलिया नदीले पनि कतिपय ठाउँमा क्षति गर्ने गरेको छ । तथा कतिपय स्थानमा पहिरोको जोखिम रहेको छ । डोटी र अछाममा पहिरोका कारण जोखिम धेरै छ । मनसुनजन्य विपदले सुदूरपश्चिममा कमजोर घरहरू र नदी किनारका बस्तीहरूमा बस्ने परिवारहरू विस्थापनको उच्च जोखिममा छन् । भीमदत्त राजमार्ग, केआईसिंह राजमार्ग र जयपृथ्वी राजमार्ग जस्ता मुख्य सडकहरू पहिरोको जोखिममा रहेका छन् ।
प्रतिक्रिया