
अहिले हामी ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तयार पारिरहेका छौँ । जेठ दोस्रो सातासम्म यो तयार हुन्छ । जतिसुकै राम्रो तयारी भए पनि विपद्ले निम्त्याउने क्षतिबाट हामी बच्न सक्दैनौँ । तर, पनि हामी यस पटकको मनसुनमा एकजनाले पनि ज्यान गुमाउनु नपरोस् भनेर सोहीअनुसार तयारी गरिरहेका छौँ । – शान्ति महत, प्रवक्ता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

अधिकांश जनसंख्या कृषि पेसामा संलग्न रहेको नेपालका किसानका लागि मनसुन प्रकृतिले दिएको वरदान हो । यही अवधिमा लगाइएको खेतीले वर्षभरि खाने अन्न उत्पादन हुन्छ । तर, यही प्राकृतिक वरदान हरेक वर्ष अर्को रूप लिएर आउँछ, जुन आमनेपालीका लागि अभिशापसिद्ध हुन्छ । नेपालमा विपद्का घटनामध्ये सबैभन्दा धेरै मानवीय र आर्थिक क्षति गराउने घटना हो— मनसुनजन्य विपद् । वर्षको करिब ३ महिना पूरै देश मनसुनको चपेटामा पर्छ । नेपालको भौगोलिक अवस्थितिका कारण पनि मनसुनी विपद् हाम्रा लागि सबैभन्दा घातक हुने गरेको छ । मनसुनको समयमा पहाडी क्षेत्र पहिरो र तराई भूभाग बाढी तथा डुबानको चपेटामा पर्ने निश्चितजस्तै हुन्छ । यसका लागि कुनै भविष्यवाणी आवश्यक छैन । यसको मात्रा तथा सम्भावित क्षतिको आकलन फरक विषय हुन् । तर, निश्चितजस्तै भएको विपद्का लागि पूर्वतयारीमा भने नेपाल सधैँ चुक्दै आएको छ । जसको परिणाम सामान्य उद्धार तथा पूर्वसूचना अभावमा नागरिकले ज्यान गुमाइरहेका छन् ।
पूर्वसूचना दिने प्रणाली र उद्धार तथा प्रतिकार्य तयारी कमजोर बन्दा नेपालमा हरेक वर्ष मनसुनले बढी मानवीय क्षति गराउने गरेको देखिन्छ । यसका साथै विपद् प्रतिकार्यका लागि आवश्यक स्रोतसाधन तथा उपकरणको अभावका कारण उद्धार पनि प्रभावकारी हुन सकेको छैन । जसका कारण पनि नागरिकले उद्धारकै अभावमा ज्यान गुमाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै अघिल्लो वर्षदेखि प्रतिकार्य कमान्ड पोस्टको सुरुआत गरिएको छ । जसले समन्वय तथा निर्देशनलाई प्रभावकारी बनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस पटकदेखि सूचना प्रणालीलाई पनि बलियो बनाउन ‘१४९’ नम्बरलाई व्यवस्थित गर्दै छ । प्रहरीको १०० नम्बरमा फोन गर्दा जुन जिल्लाबाट फोन गरिएको हो, त्यही जिल्लाको प्रहरीमा पुग्ने जस्तै गरी १४९ नम्बरलाई विपद्को सूचना व्यवस्थित गर्न हरेक जिल्ला प्रशासन कार्यालयमा एक्टिभ गरिँदै छ । यसले सूचना संकलन र उद्धारमा सहज बनाउने प्राधिकरणकी प्रवक्ता शान्ति महत बताउँछिन् । अहिले नै आगामी मनसुनको तयारीबारे जानकारी दिन नसकिने भए पनि नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्ययोजना तयार भइरहेको महतले बताइन् ।
‘अहिले हामी ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तयार पारिरहेका छौँ । जेठ दोस्रो सातासम्म यो तयार हुन्छ,’ महतले भनिन्, ‘जतिसुकै राम्रो तयारी भए पनि विपद्ले निम्त्याउने क्षतिबाट हामी बच्न सक्दैनौँ । तर पनि हामी यस पटकको मनसुनमा एकजनाले पनि ज्यान गुमाउनु नपरोस् भन्ने गरी तयारी गरिरहेका छौँ ।’
गत वर्ष पनि सरकारले जेठ १४ गते ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरी सबै सम्बन्धित निकाय तथा पक्षलाई परिपत्र गरेको थियो । यस वर्ष पनि जेठ दोस्रो सातासम्म गरिसक्ने लक्ष्य लिएको छ । अहिले नै मनसुनको सम्भावित पूर्वानुमान गर्न नसकिने भएकाले मनसुन भित्रिने समय, त्यसबाट प्रभावित हुन सक्ने क्षेत्रलगायत विषयमा अनुमान लगाएर त्यसका आधारमा पूर्वतयारीको विस्तृत योजना बन्ने प्राधिकरणले जनाएको छ । ‘हामी वर्षभरि नै सम्भावित विपद्का लागि तयारी अवस्थामा नै हुन्छौँ । मनसुनका लागि पनि हाम्रो तयारी नै हुन्छ,’ यस पटकको मनसुनको पूर्वतयारीबारेको प्रश्नमा महतले भनिन्, ‘यस पटकको मनसुनबारे सम्भावित सूचना नै नभई अहिले नै यस्तो योजना छ भनेर भन्न सकिँदैन । मनसुनबारे सम्भावित आकलन गर्ने बेला भएपछि त्यसका आधारमा हामी विस्तृत योजना जानकारी दिन सक्छौँ ।’
अहिले प्राधिकरणले विपद् जोखिम न्यूनीकरण योजनाका लागि प्रत्येक जिल्लाको कोषमा भएको रकम, सामग्रीका साथै प्राकृतिक प्रकोपपछि भएका गतिविधिहरूको जानकारी संकलन गर्ने काम गरिरहेको छ । वैशाख अन्तिमसम्म यस वर्षको विपद् जोखिम न्यूनीकरण योजना तयार हुने जनाइएको छ । विपद्का घटनापछि नागरिकलाई छिटोभन्दा छिटो राहतका साथै अस्थायी वासस्थानको व्यवस्थानका लागि पनि प्राधिकरणले स्थानीय तहहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

०००
चौबिसै घन्टा पूर्वसूचना र बाढी पूर्वानुमान
वैशाख पहिलो साता जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको थियो । कार्ययोजनाअनुसार विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घन्टा सेवा सञ्चालन गर्ने भएको छ । जसमा भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने उल्लेख छ ।
देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्यांक वास्तविक समयमा विभागको वेबसाइटमार्फत सार्वजनिक गर्ने, बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोसी, गण्डकी, कर्णाली, बाग्मती, बबई र पश्चिम राप्तीमा ३ दिनअगावै बाढी पूर्वानुमान गरिने, देशव्यापी ठुलो बाढीको सम्भावना भए ५ दिनअगावै पूर्वानुमान जारी गर्ने समेत विभागको तयारी छ । यस पटकको मनसुनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई प्राथमिक रूपमा जानकारी गराइने भएको छ ।
०००
उद्धारका लागि उपकरण तथा सामग्री अभाव हुनसक्ने
विपद् प्रतिकार्यका लागि सुरक्षा निकायसँग पर्याप्त उपकरण तथा सामग्री छैन । भएका सामग्रीमध्ये पनि केही सामग्री गत वर्षको जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । यस्तो अवस्थामा यस पटकको उद्धार कार्य प्रभावित हुनसक्ने देखिन्छ । वैशाख १० गते बसेको राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपस्थित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक दिनेशप्रसाद भट्टले पनि सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको बताएका थिए । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकोप्टर, डुंगा, ड्रोनलगायत व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपरेको उनले बताएका थिए ।
तर, सरकारले उद्धार तथा राहतका लागि कुनै पनि कुरामा कम्प्रमाइज नगर्न र आवश्यक सामग्रीको माग गर्न सम्बन्धित सबै निकायहरूलाई जानकारी गराइसकेको छ । प्राधिकरणले अहिले भएका सामग्रीको विवरण र आवश्यक पर्नसक्ने सामग्रीको चेकलिस्ट तयार पारिरहेको छ भने जेठ दोस्रो सातासम्म आवश्यक उपकरण तथा उद्धार सामग्री जोहो गरिसक्ने जनाएको छ । गत चैत १५ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि प्राधिकरण पुगेर मनसुनअघि नै विपद् व्यवस्थापनका लागि तयारी रहन निर्देशन दिएका थिए । गुरुङको राजीनामापछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नै गृह मन्त्रालयको कमान्ड सम्हालिरहेका छन् । प्रधानमन्त्री कार्यालयले पनि मनसुनजन्य विपद्मा कमसेकम प्रभावित हुने गरी आवश्यक तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।
०००
२०८२ को मनसुन रिक्याप
मनसुन सुरु : १५ जेठ
मनसुन बाहिरिएको : २४ असोज
मनसुन अवधि : १३५ दिन
मनसुनजन्य विपद् : १,४५४
मृत्यु : १४०
प्रभावित परिवार : ५,९९५
गत वर्ष करिब १५ दिनअगावै नेपालमा मनसुन प्रवेश गरेको थियो । १५ जेठ, २०८२ मा प्रवेश गरेको मनसुन १३५ दिनसम्म रहेर २४ असोज, २०८२ बाट बाहिरिएको थियो । जुन सरदरभन्दा बढी नै थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ को मनसुन अवधिमा १ हजार ३७५ मिलिमिटर वर्षा भएको थियो ।
सो अवधिमा १ हजार ४५४ वटा मनसुनजन्य विपद्का घटना रेकर्ड भएका थिए भने १४० जनाको ज्यान गएको थियो । तर, २०८२ को मनसुनमा असोज १७ देखि २० सम्मको ४ दिन सबैभन्दा बढी घातक बन्यो । भारीदेखि अतिभारीसम्म वर्षा हुँदा ती ४ दिनमा मनसुनजन्य विपद्का घटनाबाट ५३ जनाले ज्यान गुमाए । उद्धार तथा राहतलाई प्राथमिकतामा राखिएका कारण त्यसबेला मनसुनजन्य विपद्का घटनाका कारण जोखिममा परेका ३० जनाको हेलिकोप्टरबाट र ६ हजार ९२ जनाको स्थलगत उद्धार गरएको थियो भने मनसुनजन्य विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित ३७ हजार ९३६ जनशक्ति परिचालन गरिएको थियो ।

उक्त मनसुनमा मानवीय क्षतिका हिसाबले सबैभन्दा बढी प्रभावित जिल्ला इलाम बनेको थियो, जहाँ असोज १७ देखि २० गतेभित्र मात्रै ३९ जनाको मृत्यु भएको थियो । क्षतिको स्तरलाई मध्यनजर गर्दै सरकारले २४ असोज, २०८२ को मन्त्रिपरिषद् बैठकबाट इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणासमेत गरेको थियो । अर्को ठुलो विपद्जन्य घटना रसुवाको भोटेकोसी नदीमा आएको बाढी थियो । २४ असार, २०८२ बिहान रसुवाको भोटेकोसी नदीमा अकस्मात् आएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेका थिए । बाढीले मितेरी पुल बगाउँदा चीनसँगको सबैभन्दा बढी चलायमान हुने नाका नै करिब ६ महिना ठप्प बनयो । त्यस्तै, एउटा सुक्खा बन्दरगाह र ३ वटा जलविद्युत् आयोजनामा अर्बौंको क्षति हुनुका साथै कार्गोसहितका ७६ वटा गाडी बगाएको थियो ।
समग्रमा २०८२ को मनसुन अवधिभर बाढीका कारण ३७, पहिरोमा ६८, भारी वर्षाका कारण ७ र चट्याङका कारण २९ गरी १४० जनाको मृत्यु भएको थियो भने ५ हजार ९९५ घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । तर, २०८१ को मनसुनको तुलनामा भने २०८२ को मनसुन कम घातक बन्यो । पूर्वतयारीलाई प्राथमिकतामा राखेका कारण सरकारले उद्धारजस्ता काम सहजताका साथ गरेको थियो भने पूर्वसूचना प्रणाली सक्रिय बनाउँदा नागरिक पनि सचेत बनेकाले क्षति कम भएको थियो । २०८१ को मनसुन अवधिमा २ हजार १३९ मनसुनजन्य घटना रेकर्ड भएका थिए भने ४९५ जनाको मृत्यु भएको थियो । २०८१ को मनसुनले पु¥याएको क्षतिबाट पाठ सिक्दै त्यसबेला सरकारले सुरुआतबाटै पूर्वतयारीलाई गम्भीरताका साथ अघि बढाएको थियो ।
प्रतिक्रिया