अन्य आयातित खाद्यान्नमा पहुँच बढेसँगै यसको महत्व कम हुँदै गएको हो । औपचारिक क्षेत्रबाट सीमित अध्ययनअनुसन्धान र प्रोत्साहनका कारण पनि चिनो बालीको समुचित उपयोग र खेती हुन सकेको छैन भने कतिपय जातहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।
हाम्रो भूगोल र हावा पनि अनुसार विभिन्न मौलिक खाना पाइन्छ । यसलाई रैथाने खाना पनि भनिन्छ । यसरी भूगोलका आधारमा पाइने खाना मध्ये एक हो, चिनो । यो नेपालको उच्च पहाडी क्षेत्रमा परापूर्वकालदेखि नै खेती हुने र खाने गरिन्छ । त्यसैले चिनोका बारेमा देशको अन्य भूगोलमा बस्नेका लागि यो नौलो र विरानो नाम हो । यसको स्वाद थाहा नपाउने धेरै नेपाली हुन सक्छन् । तर, यो जसरी सबैको लागि अपरिचित छ त्यसैगरी यसको गुण भने निकै वटा छन् ।
सामान्यतया चिनोकै नामले चिनिने यस बालीको धानको जस्तो बोट र कोदो जस्तो दाना हुने हुनाले कतै–कतै धान कोदो पनि भन्ने चलन छ । चिनोको दाना सुगालगायत अन्य चराहरूले मन पराउने हुनाले यसलाई ‘चरी अन्न’ पनि भन्ने गरेको सुनिन्छ । विशेष गरी कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा खाद्यान्न बालीका रूपमा खेती गरिँदै आएको यस बालीको वानस्पतिक नाम panicum milliaceum हो । र, यो बाली poaceae परिवारअन्तर्गत पर्दछ ।
चिनो कर्णाली क्षेत्रका जिल्लाहरू बाहेक, ओखलढुंगा, धादिङ, बाजुरा र बझाङमा पनि खेती गरिन्छ । नेपालको उच्च पहाडी भेगमा करिब ३ हजार ५०० मिटर उचाइसम्म वर्षायाममा यसको खेती गरिन्छ । कुनै बेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पुर्याउने यस बालीको हाल आएर सीमित रूपमा मात्र खेती र उपयोग भएको पाइन्छ । चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दै गएको बताइन्छ । यसको उपयोगिता घटे पनि स्वास्थ्यको दृष्टिकोणबाट यो बाली उपयोगी मानिन्छ । नेपाली उखान ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भने जस्तै हो, चिनो ।
जानकारका अनुसार अन्य आयातित खाद्यान्नमा पहुँच बढेसँगै यसको महत्व कम हुँदै गएको हो । औपचारिक क्षेत्रबाट सीमित अध्ययन–अनुसन्धान र प्रोत्साहनका कारण पनि चिनो बालीको समुचित उपयोग र खेती हुन सकेको छैन भने कतिपय जातहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । हाल आएर स्थानीय तथा प्रांगारिक कृषि उत्पादनहरूको उपयोगिता बढेसँगै विभिन्न सहरी क्षेत्रहरूमा चिनोको चामलको माग बढदै गएको पाइन्छ । यसको महत्व बुझ्ने र रैथाने खान्की खोज्नेको रोजाइमा भने, यो अहिले पनि उत्तिकै लोकप्रिय छ ।
कर्णाली क्षेत्रलगायत अन्य स्थानहरूमा उत्पादन हुने चिनो बालीलाई संकलन तथा प्रशोधन गरी बजारसम्म जोड्नसके यसको व्यावसायिक खेतीको सम्भावना देखिन्छ । नेपालमा खेती गरिने चिनोका विभिन्न जातहरूमा कप्ताडे, हाडे, कालो, दूधे, रातो चिनो आदि पर्दछन् । नेपालमा चिनोको सरदर उत्पादन प्रतिहेक्टर ८१८ केजी रहेको छ । यसको उपयोगिता बढेसँगै स्थानीय कृषकहरूको आम्दानीमा वृद्धिका साथै जैविक स्रोतको स्थानीय संरक्षण पनि हुने निश्चित छ ।
हालसालै, उपयोगी रैथाने बाली चिनोलाई लक्षित गर्दै जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), नेपाल कृषि अनुसन्धान परिषद् र बायोडाइभर्सिटी इन्टरनेसनलको सहयोग र सहकार्यमा सञ्चालित स्थानीय बाली परियोजनाले अनुसन्धान, संरक्षण एवं प्रवद्र्धन कार्यहरू अगाडि बढाएको छ ।
०००
चिनोको विशेषता
चिनोका दाना फालेर भूस हटाई भात वा खिरका साथै दाना भुटेर वा पिठो बनाएर विभिन्न परिकार खाने गरिन्छ । सामान्यतया, चिनोको दानामा ११.९ प्रतिशत पानी, १२.५ प्रतिशत चिल्लो पदार्थ ७०.४ प्रतिशत कार्बोहाइड्रेट पाइने विज्ञ बताउँछन् । यसमा गहुँ र धानमा भन्दा प्रोटिन र फलाम तत्व बढी पाइन्छ तर ग्लुटिन भने हुँदैन, ग्लुटिन गहुँ वा जौमा पाइने प्रोटिनको मिश्रण हो, जसले गर्दा रोटीलाई पातलो हुने गरी बेल्न–तन्काउन सकिन्छ । चिनो एकदम छिटो पाक्ने (६०–९५ दिन) र सबैभन्दा माथिल्लो भेगसम्म खेती गर्न सकिने बाली हो ।
जानकारका अनुसार यसको खेती गर्न सजिलो हुनुका साथै कम (लगानीमा नै उत्पादन लिन सकिन्छ । अन्य बालीहरू भन्दा चिनो कमसल जग्गामा पनि खेत गर्न सकिन्छ । अन्नबालीमध्ये सबैभन्दा कम पानी चाहिने भएको हुनाले सुक्खाग्रस्त क्षेत्रमा एउटा भरपर्दो सहायक बालीका रूपमा वा खडेरीको मार न्यून गर्न सहयोग गर्ने बाली हो, चिनो । नेपालमा पाइने विभिन्न किसिमका चिनोका जातहरू मध्ये दुधे चिनो महत्वपूर्ण रहेको छ । दुधे चिनोको दाना सेतो हुने र छोटो समयमा नै पाक्ने भएकाले अन्य जातहरूभन्दा यस जातको खेती बढी मात्रामा गरेको पाइन्छ ।
सामान्यतया भात, खिर र रोटीका परिकारका रूपमा प्रयोग गरिने यस जातमा अन्य जातहरूमा भन्दा बढी फल्ने, सुक्खा तथा रोगकीरा सहने जस्ता जातीय गुणहरू पाइन्छन् । दुधे चिनोको पराल अन्य चिनोका जातहरूको भन्दा अग्लो र पशुहरूले मनपराउने हुनाले पशुपालनका लागि पनि उपयोगी मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्स नाम गरेका क्यान्सर निरोधक रसादिहरू (फाइटोकेमिकल्स) र क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फरस, सोडियम, म्यान्गानेज र आइरन जस्ता अक्सीकरण निरोधक खनिज लवणहरू पाइन्छन् ।
यी खनिज लवणहरूले हाम्रो शरीरमा खानेकुराहरू पच्ने क्रममा बन्ने सुपर अक्साइड ऋणात्मक तत्व, हाइड्रोक्सिल तत्व, हाइड्रोजन पेरोक्साइड, एकल अक्सिजन नाम गरेका प्रतिकृयाशील आणविक अक्सिजन तत्वरूपहरू (फ्रि रेडिकल्स) बन्न दिँदैनन् या त्यस्ता बनेका आणविक तत्वरूपहरूलाई निष्कृय पार्दछ । यस्तै शरीरका कोषहरूमा भएका चिल्लो पदार्थ, कोष झिल्ली, प्रोटिन, न्युक्लिक एसिड आदि जैविक अणुहरूको अक्सीकरण हुनबाट रोकी उक्त कोषहरू या तन्तुहरूको विनास हुनबाट बचाउने बताइन्छ । यसले क्यान्सर, हाडजोर्नी दुख्ने, कलेजोसम्बन्धी रोग, रक्तनली साँघुरिएर हुने हृदयघातलगायत अन्य मुटुरोगहरू, माइग्रेन तथा मिर्गौलाको पत्थरी जस्ता रोगहरू हुन दिँदैन । चिनोमा पाइने फोस्फोरस तत्वले शरीरका ग्रन्थीहरूको विकास एवं पाचन प्रकृयामा मद्दत गर्दछ ।
यसगरी विभिन्न कारणले कपाल झर्ने समस्याका लागि चिनोको भात खानु अति उपयोगी मानिएको छ । रातो चिनो दूधमा पकाएर खिर बनाएर खुवाउँदा गर्भ तुहिने समस्या कम हुन्छ भन्ने जनविश्वास रहेको छ । यस्तै मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उत्तम खानेकुरा मानिन्छ । चिनोमा बढी मात्रामा जटिल प्रकारको बनावट भएका एवं रगतमा ग्लुकोजको मात्रा ढिलो बढाउने कार्बोहाइड्रेट र पानीमा घुलनशील तथा अघुलनशील रेसा पदार्थहरू पाइन्छन् । जसले हाम्रो शरीरमा ग्लुकोज सहनक्षमता र इन्सुलिनको संवेदनशीलता बढाउन सहयोग पुर्याउँछ । कतिपय मानिसलाई गहुँ खाँदा यसमा पाइने ग्लुटिन नामक प्रोटिनको एलर्जीका कारणले सिलिएक भन्ने रोग लाग्न सक्छ । चिनोमा ग्लुटिन नामको प्रोटिन नपाइने हुँदा ग्लुटेनको एलर्जी हुने व्यक्तिहरूलाई चिनो अति लाभदायक हुन्छ ।
उच्च पहाडी क्षेत्रमा खेती गरिने चिनो पारिलो जमिनमा सुहाउँदो हुन्छ भने चिस्यान बढी भएको वा छायाँदार ओसिलो जमिनमा त्यत्ति उपयुक्त हुँदैन । विशेष गरी पाखो बारी र कम खनजोत गरिने जमिनमा चिनोको खेती उपयुक्त हुन्छ । १५ जेठदेखि १५ असारसम्ममा रोपाइँ गरिने चिनो असोजको तेस्रो हप्ताभित्र बाली तयार भई भित्र्याई सकिन्छ । समग्रमा चिनो खेतीका लागि औषत न्यूनतम तापक्रम दैनिक ८ देखि १० डिग्री सेल्सियस उपयुक्त मानिन्छ ।
ठाउँअनुसार असारमा छरेको चिनो भदौदेखि कात्तिक सम्ममा पाक्छ भने चैतमा छरेको चिनो जेठ अन्तिमतिर पाक्दछ । बोटमै चिनोका दानाहरू कडा र चमकदार भई पातहरू पहेँला एवं खैरो देखिन थालेपछि बाली पाकेको बुझिन्छ । क्रमैसँगले पहेँला भइसकेका बालाहरू मात्र छनौट गर्दै हँसियाको सहायताले काट्ने र खलामा सुकाउने गरिन्छ ।
०००
चिनो पोषण र स्वास्थ्यका दृष्टिले धेरै राम्रो छ : डा. अरुणा उप्रेती, पोषणविद्
डा. अरुणा उप्रेती
गुणको भण्डार भएर पनि चिनोलाई चिन्न नसक्दा यसको महत्व ओझेलमा परेको छ । यसको महत्व र गुणका बारेमा सबैलाई बुझाउन आवश्यक छ ।
चिनो नेपालको विभिन्न स्थानमा पाइन्छ । यो कोदो, फापर, जौ, गहुँजस्तै एउटा जात हो । यो अलि सुक्खा ठाउँमा फल्छ । नेपालको कर्णालीका विभिन्न जिल्लामा फल्छ । यो एक अन्न बाली हो । यसमा कार्बोहाइड्रेट पर्याप्त मात्रामा हुन्छ । गुणको भण्डार भएर पनि चिनोलाई चिन्न नसक्दा यसको महत्व ओझेलमा परेको छ । यसको महत्व र गुणका बारेमा त्यहाँका नागरिकका साथै सबैलाई बुझाउन आवश्यक छ ।
चिनोलाई विभिन्न तरिकाले खान सकिन्छ । पिसेर पिठो बनाएर, अरू पिठोमा मिसाएर रोटी खान सकिन्छ । चिनोको भात पनि खान सकिन्छ । पुलाउ, खिर बनाएर पनि खान सकिन्छ । जसरी चामललाई विभिन्न तरिकाले खाइन्छ । त्यस्तै चिनो पनि खान सकिन्छ । यसमा पर्याप्त पोषणतत्व, फाइबर पाइन्छ । फाइदाका दृष्टिले हेर्दा कोदो फापरमा हामीले जे जस्तो पाउँछौँ चिनोमा पनि पाइन्छ । त्यसैले यसको सेवनबाट स्वास्थ्यमा हित पुर्याउँछ ।
कोही कोहीलाई कुनै खानाले एलर्जी गर्ने हुन्छ । त्यस्तो अवस्थामा बाहेक यो सबै मान्छेका लागि अति राम्रो हुन्छ । कसैलाई गहुँले पनि एलर्जी हुन्छ । गहुँमा भएको तत्व पनि चिनोमा पाइन्छ । त्यसैले त्यस्तो व्यक्तिबाहेक जो कोहीलाई चिनो खानु अति नै राम्रो हुन्छ । यसले चिनीको मात्रालाई ठिक ठाउँमा राख्न समेत मद्दत गर्छ । यसमा धेरै पदार्थको गुण भएकाले थोरै खाँदा पनि पेट भरिन्छ । जसले गर्दा मोटोपना नियन्त्रण गर्ने सहयोग पुग्छ । तर, यसको जति मात्रामा जानकारी गराउन पर्ने हो सकिएको छैन ।
चिनोमा रसादि र खनिज लवणहरूले हाम्रो शरीरमा खानेकुराहरू पच्ने क्रममा बन्ने सुपर अक्साइड ऋणात्मक तत्व, हाइड्रोक्सिल तत्व, हाइड्रोजन पेरोक्साइड, एकल अक्सिजन नाम गरेका प्रतिकृयाशील आणविक अक्सिजन तत्वरूपले फाइदा पुर्याउँछ । यसमा भएको रेसादार तत्वका कारण पेटको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ । तौल बढ्न नदिनुको साथै यसले कब्जियत हुन पनि दिँदैन । यसको अर्को गुण भनेको यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
यस्तै शरीरका कोषहरूमा भएका चिल्लो पदार्थ, कोष झिल्ली, प्रोटिन, न्युक्लिक एसिड आदि जैविक अणुहरूको अक्सीकरण हुनबाट रोकी उक्त कोषहरू या तन्तुहरूको विनास हुनबाट बचाउने बताइन्छ । यसले क्यान्सर, हाडजोर्नी दुख्ने, कलेजोसम्बन्धी रोग, रक्तनली साँघुरिएर हुने हृदयाघातलगायत अन्य मुटुरोगहरू, माइग्रेन तथा मिर्गाैलाको पत्थरी जस्ता रोगहरू हुन दिँदैन चिनोमा पाइने फोस्फरस तत्वले शरीरका ग्रन्थीहरूको विकास एवं पाचन प्रकृयामा मद्दत गर्दछ ।
काठमाडौँमा चिनो नफले पनि मान्छेले हिजोआज यहाँका मान्छेले चिनो खोजेर खान थालेका छन् । तर, दुःखको कुरा गुण नै गुण भएको चिनो, कागुनो र रातो चामल हुम्ला जुम्लाका मान्छेले खाँदैनन् । उनीहरू त्यो बेचेर चामल किनेर खान्छन् । चिनोको गुण कति छ भन्न बारे उनीहरूलाई बुझाउन सकिएको छैन । सस्तोमा चिनो, कागुनो, रातो चामल बेचेर प्रशोधित चामल खान्छन् । जस्ले गर्दा कूपोषण हुन्छ । हामीले रैथाले खानाको गुण र महत्व बुझाउन सक्यौँ भने, त्यसको उत्पादनका साथै बजार पनि बढ्छ । त्यसले स्थानीयको आम्दानीसमेत बढाउँछ ।
प्रतिक्रिया