किसानले ५ मा बेच्छन्, उपभोक्ताले ७० रुपैयाँमा किन्छन्

तरकारीले मूल्य नपाउँदा चितवनका किसान मर्कामा

चितवन । व्यावसायिक रूपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, ‘अधिकांश तरकारी प्रतिकिलो ५ रुपैयाँमा बेच्न बाध्य छौँ ।’

१२ बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनले तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत किसान मारमा परेको बताइन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा उठ्न नसकेको उनको भनाइ छ ।


यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् । उनको बारीमा अहिले तने बोडी, काँक्राजस्ता तरकारी लगाउँदै आएकी छन् । उनले अहिले १० कट्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाएपछि त्यतिकै राखेकी छन् । उनले भनिन्, ‘तरकारीले मूल्य पाउन सकेन बिचौलिया मोटाएको देखियो ।’ किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठुलो भएपछि किसानले तरकारी बिक्री गर्न सकेका छैनन् ।


उनका अनुसार लागत मूल्यसमेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान संघर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसान रहेको संघर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् । न्यौपानेले भनिन्, ‘किसानसँग प्रतिकेजी ५ देखि १० रुपैयाँमा किनेर उपभोक्ताहरूकामा पुग्दा ७० देखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।’

आफूहरूले बजारमा उपभोक्ता मूल्य बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बिउ, मल, विषादी, जनशक्ति, सिँचाइ, ढुवानीको लागत मूल्यसमेत उठ्न नसकेको उनले बताइन् । राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न उनले आग्रह गरिन् । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ ।

यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिइन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार अहिले जिल्लामा तरकारी जोनका रूपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ १ हजार किसान सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेको इकाइका प्रमुख महेश रेग्मीले बताए ।

प्रतिक्रिया