सुदूरपश्चिमलाई पिरोल्दै औलो

सबैभन्दा बढी कैलालीमा २०४, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा ८ र दार्चुलामा २ जनामा देखियो औलो

हाम्रो मुलुकलाई केही रोगका कारण सधैँ सताउने गरेको छ । अझ केही रोगहरूले ठाउँ र भूगोललाई पिरोल्ने गरेको छ । अहिले सुदूरपश्चिम प्रदेशलाई पिरोल्दै छ औलोले । यहाँ औलोको ग्राफ पुनः बढ्न थालेकाले स्वास्थ्यमा चुनौती बनेको छ । नेपाल औलो निवारणको लक्ष्य नजिक पुगिसकेको अवस्थामा संक्रमण बढ्दा स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ता र चुनौती थपेको हो । नेपालले सन् २०३० सम्म स्थानीय औलो (मलेरिया) शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, सुदूरपश्चिममा देखिएको पछिल्लो अवस्थाले लक्ष्यप्राप्तिमा चुनौतीपूर्ण देखिएको छ ।


सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभर कुल ३८७ जनामा औलो पुष्टि भएको छ । तीमध्ये ३७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) ‘केस’ रहेका छन् । यसले प्रदेशमा औलोको मुख्य स्रोत अझै बाह्य (आयातित) रहेको देखाउँछ, तर स्थानीयस्तरमै संक्रमण देखिनु थप चिन्ताजनक पक्ष रहेको जानकार बताउँछन् ।


सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै प्रदेशका विभिन्न स्थानीय तहमा १५ जना स्थानीय औलोका बिरामी फेला परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ र परशुराम नगरपालिका–२, बैतडीको मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका–२, कञ्चनपुरको बेलौरी नगरपालिका–२ तथा कैलालीको कैलारी गाउँपालिका–२ मा स्थानीय संक्रमण देखिएको हो ।


जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कैलालीमा २०४, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा ८ र दार्चुलामा २ जना औलोका बिरामी देखिएको छ । यसले यो अझ बढ्न सक्ने भन्दै स्थानीयमा चिन्ता बढाएको छ । सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा औलो संक्रमणका बढी केस देखिनुले भारतसँगको खुला सीमा प्रमुख जोखिमका रूपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कुनै देश वा क्षेत्रमा लगातार ३ वर्षसम्म स्थानीय औलो शून्य भए मात्र औलो निवारण प्रमाणपत्र प्राप्त हुन्छ । सो लक्ष्य नजिक पुगेको अवस्थामा सुदूरपश्चिममा देखिएको पुनः वृद्धिले समस्या पैदा गरेको छ ।’


प्रजातिगत रूपमा औलो संक्रमण अझ जटिल बन्दै गएको देखिन्छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिममा ‘प्लाज्मोडियम भाइभ्याक्स’का सबैभन्दा बढी ३२८ बिरामी देखिएका छन् । सबैभन्दा खतरनाक र घातक मानिने ‘प्लाज्मोडियम फाल्सिपेरम’बाट प्रभावित बिरामी ५४ जना रहेका छन् । यस्तै ‘प्लाज्मोडिम ओभल’बाट प्रभावित ३ जना बिरामी देखिएका छन् । यस परजीवीबाट औलो संक्रमित बिरामी विरलै भेटिने गरेको विज्ञ बताउँछन् । धेरैजसो अफ्रिकी मुलकमा पाइने र सुदूरपश्चिममा यसका केसहरू देखिनु यी बिरामी अफ्रिकी मुलकबाट आएका हुन सक्ने विज्ञले बताए ।


पछिल्लो रिर्पोटअनुसार यहाँ ‘प्लाज्मोडियम मिक्सड इन्फेक्सन’ भएका २ जना बिरामी देखिएका छन् । एकभन्दा बढी औलोका परजीवीले एकै साथ आक्रमण गर्छन् भने त्यसलाई ‘मिक्स’ संक्रमण भन्ने गरिएको विज्ञ बताउँछन् । सुदूरपश्चिममा औलो पुनः बढ्नुका पछाडि बहुआयामिक कारण हुने सक्ने भन्दै चिन्ता गरिएको छ । विज्ञका अनुसार आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यका सीमित स्रोतसाधनका कारण प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुनु र जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान हिमाली क्षेत्रसम्म विस्तार हुनु प्रमुख कारणका रूपमा हेरिएको छ ।


आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यको सीमित स्रोतसाधनका कारण गहन तरिकाले औलो निवारण गतिविधि सञ्चालन हुन नसक्नु, जलवायु परिवर्तनका कारण लामखुट्टेको उपस्थिति तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुग्नु र लामखुट्टे नियन्त्रणका लागि अत्याधुनिक साधन प्रयोग हुन नसक्नुले औलोको जोखिम बढ्दै गएको बताइएको छ ।


चुनौतीका बीच औलो नियन्त्रणका लागि पहल भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा कीट विज्ञान प्रयोगशाला सञ्चालनमा रहेको र लामखुट्टेको अध्ययन, कीट अनुसन्धानको कार्य निरन्तर रूपमा भइरहेको बताइएको छ । कीटनाशकको प्रभावकारिता परीक्षण तथा अनुसन्धान कार्य भइरहेको र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, निगरानी प्रणाली सुदृढीकरण, रणनीति कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको समेत कार्यालयले जनाएको छ ।


स्वास्थ्य विज्ञहरूका अनुसार अबको प्राथमिकता आयातित केसहरूको कडाइका साथ निगरानी, सीमामा स्वास्थ्य जाँच सुदृढीकरण, स्थानीय तहमा सक्रिय खोजपड्ताल र जनचेतना विस्तार हुनुपर्छ । साथै, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै लामखुट्टे नियन्त्रणका आधुनिक प्रविधि प्रयोगमा ल्याउनु आवश्यक देखिन्छ ।


यसका साथै नागरिक तहमा सचेतना अत्यन्त महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । झुलको नियमित प्रयोग, पानी जम्ने स्थान हटाउने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने बानीले औलो नियन्त्रणमा ठुलो योगदान पुर्याउन सक्ने बताइएको छ ।


सुदूरपश्चिम प्रदेश औलो निवारण लक्ष्य नजिक पुगे पुनःजोखिमतर्फ उन्मुख देखिनुलाई चुनौतीका रूपमा रहेको छ । यो समस्या सामाधानका लागि समयमै प्रभावकारी कदम चाल्नसके औलोमुक्त नेपालको लक्ष्य हासिल गर्न सम्भव छ, तर ढिलाइ भएमा अहिलेको अवस्था ठुलो स्वास्थ्य संकटका रूपान्तरण आउन सक्ने देखिन्छ ।


औलो मुख्यतया ‘एनोफिलिज’ जातका संक्रमित लामुखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण हुने एकप्रकारको सरुवा रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, नेपाल औलो निवारण उन्मुख अवस्थामा रहेको छ । विगत १० वर्षमा स्थानीय औलोका बिरामीको संख्यामा करिब ९० प्रतिशतले कमी आएको छ ।


हाल वार्षिक रूपमा स्थानीय औलोका बिरामीहरू ५० प्रतिशतभन्दा कममा सीमित भएका छन् । यद्यपि, यसलाई शून्यमा झार्न चुनौती छ । देशभरमा औलोका बिरामीको संख्या १ हजार १६४ रहेको छ, जसमा स्थानीय ३९ र आयातित औलोबाट संक्रमित १ हजार १२४ रहेका छन् । सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ बढिरहँदा शनिबार विश्व औलो दिवस २०२६ मनाइयो । यसवर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो संकल्य ः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने रहेको थियो ।


शनिबार विश्व औलो दिवस मनाइरहँदा र नेपालले सन् २०३० सम्म स्थानीय औलो (मलेरिया) शून्यमा झार्ने लक्ष्य लिइरहँदा चुनौती भने हटेको पाइन्न । सुदूरपश्चिममा देखिएको पछिल्लो अवस्थाले अबको ४ वर्षपछि शून्यमा झार्ने लक्ष्यप्राप्तिमा चुनौतीपूर्ण देखिएको छ । यो चुनौती सामना गर्न नेपाल कति सफल हुने हो त्यो भने, समय क्रममा हेर्नुपर्ने छ ।

०००


औलो रोगका लक्षण


औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरू फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ ।


नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरूले औलो लिएर आउने गर्छन् । अफ्रिकन देशहरूमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ ।

औलोबाट बच्ने उपाय


औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय मानिन्छ । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्विड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ । जोखिमयुक्त ठाउँहरूको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरू प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन पर्छ । यसैगरी घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरूलाई बचाउन स्वास्थ्यकर्मी सुझाउँछन् ।


०००

सरकारले २०३० सम्म औलो शून्य बनाउने लक्ष्य लिएको छ । तर, यही गतिमा स्थानीय केस देखिँदै गए त्यो लक्ष्य हासिल गर्न सकिँदैन ।


रैथाने औलो हाम्रो चुनौती हो : डा.खगेन्द्र बम, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक

डा.खगेन्द्र बम,


सुदूरपश्चिममा पहिलादेखि अलि बढी नै औलो थियो नै । त्यसैले विभिन्न अभियान पहिलादेखि नै भइरहेको छ । पछिल्लो समय लामखुट्टे पनि हिमाली भेगमा पनि पुगेको छ । पहिला लामखुट्टे भनेको तराइमा गर्मीमा मात्रै हुन्छ भन्ने थियो । तर, अहिले त्यो भनाइ खण्डित भएको छ । अहिले लामखुट्टे देशको सबै भूगोलमा पुगेको छ ।


लामखुट्टे सबै ठाउँ पुग्नुको कारण भनेको जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमा समेत लामखुट्टेहरू देखिन थालेका छन् । जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना छ । तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेका हुन् । यातायातको सुविधा र बसाइँसराइका कारण पनि यसका तराइका साथै पहाड र हिमाली जिल्लामा पनि लामखुट्टे पुगे । जसका कारण औलो (मलेरिया) देखिने क्रम बढ्दो छ ।


यसका लागि स्थानीय केस जिरो देखिएपछि मात्रै त्यसको निवारणको लक्ष्य पूरा गर्न सकिन्छ । तर, त्यसो भएको छैन । हामीलाई बाहिरबाट आएको भन्दा स्थानीय रैथाने केसले समस्या बनाएको छ । रैथानेले संक्रमण बढी गराउछ । यहाँ भारतबाट आउने मान्छेका कारण एकबाट अर्कोमा सर्ने क्रम पनि उत्तिकै छ । हामीले स्थानीय रूपमा हुने गरेको सर्ने क्रम पनि रोक्न सकिएको छैन र आयातित पनि छन् ।


सरकारले सन् २०३० सम्म शून्य बनाउने लक्ष्य लिएको छ । तर, यही गतिमा स्थानीय केस देखिँदै गए त्यो लक्ष्य हासिल गर्न सकिँदैन । यद्यपि धेरै लामो समयदेखि नियन्त्रणको प्रयाससहित काम नभएका होइनन् । जनतामा चेतनाका कार्यक्रम पनि जारी छ । यसमा स्थानीयतहले पनि सहयोग गरेको छ । तैपनि जुन किसिमले दर ओरालो लाग्नुपर्ने हो, त्यो अवस्था भने छैन ।
यसका लागि नागरिक पनि सचेत हुनुपर्ने र जनचेतनामुलक कार्यक्रमको आवश्यक छ । हाम्रो तर्फबाट परीक्षण र उपचार गर्न काम निरन्तर भएको छ । प्रयोगशालाको संख्या पनि बढाइएको छ । यद्यपि हामीले चाहेर मात्रै सबै कुरा हुने अवस्था छैन । जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले पनि हिमाली क्षेत्रमा समेत लामखुट्टेहरू देखिन थालेका छन् । जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना छ ।


आफैँले गर्न सक्ने कुरामा नागरिक सचेत हुनुपर्छ । झुल प्रयोग गर्ने, घरवरपर सफा राख्ने, बाहुला भएको कपडा लगाउने गर्नुपर्छ । लामखुट्टेले कहीँ कतै छोडेको छैन । यहाँ मात्रै भएको भन्ने होइन । त्यसैले सबै सचेत हुनपर्छ । गम्भीर कुरा भनेको राज्यले २०३० मा शून्यमा झार्ने लक्ष्य लिएको छ त्यो हासिल गर्न एकीकृत पहलको जरुरी छ । तराईमा पहिलाभन्दा घटेको छ । अझै सबै मिलेर लाग्र्नुपर्छ । शून्य बनाउन सकिएन भने पनि दर बिस्तारै घटाउनेतिर लाग्नुपर्छ ।

प्रतिक्रिया