सुस्तामा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अग्र्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी हुने गरेको छ । सुस्ता गाउँपालिका–३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवाखेती सुरु गरी हालसम्म ३ लाख आम्दानी गरेका हुन् । कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गर्न थालेको उनले बताए । उनले भने, ‘कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको १ वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।’

करिब २ लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म ३ लाखको मेवा बिक्री गरिसकेको जानकारी दिए । नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष ७ लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । उनका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो ५० रुपैयाँका दरले खेतबाटै खरिद गरेर लैजान्छन् । ‘रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ’, सहानीले भने ।

जिल्लामा १ जनाले मात्र व्यावसायिक रूपमा मेवाखेती गरेका बर्दघाट सुुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । मेवाखेतीसम्बन्धी अरू किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरू किसानले मेवाखेतीमा रुचि नदेखाएका उनको भनाइ छ ।

प्रतिक्रिया