
काठमाडौँ । ऊर्जा उत्पादनको ठुलो सम्भावना बोकेको सुदूरपश्चिममा कुल क्षमताको १ प्रतिशतभन्दा कममा सीमित छ । महाकाली, सेती र कर्णाली गरी ३ वटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावनाको ०.९६ प्रतिशत मात्र विद्युत् उत्पादन भएको अवस्था छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार कम्तिमा १८ हजार १४९ मेगावाट जलविद्युत् उत्पादन सम्भावना बोकेको सुदूरपश्चिममा १७६ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ ।
इप्पानका अनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना रहेका ३ जिल्लामा बाजुरामा २ हजार १८८ मेगावाट, बझाङमा १ हजार ९३५ मेगावाट, र अछाममा १ हजार ३४८ मेगावाट क्षमता रहेको छ । सुदूरपश्चिम प्रदेशमा हाल ५ हजार ९०० मेगावाट क्षमताका ६१ आयोजना अध्ययनको विभिन्न चरणमा रहेका छन् । १ हजार ११७ मेगावाट क्षमताका ११ आयोजना प्रसारणलाइनको सुनिश्चितता भयो भने तत्कालै निर्माण हुन सक्ने सम्भावना रहेको बताइन्छ । प्रसारणलाइनको निर्माण भएन भने अझै वर्षौंसम्म सुदूरपश्चिममा थप आयोजना बन्ने सम्भावना छैन ।
सम्भावना भए पनि उत्पदान न्यून हुनुले केही न केही समस्या देखाएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । बुधबार काठमाडौँमा इप्पानले आयोजना गरेको ‘सुदूरपश्चिममा जलविद्युत् आयोजना निर्माण सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष कार्कीले भने, ‘देशभरको जलविद्युत् उत्पादन सम्भावना ८३ हजार मेगावाटलाई आधार मान्दा पनि सुदूरपश्चिममा २० प्रतिशत उत्पादन क्षमता छ । यहाँबाट भारत निर्यातको लागि सबैभन्दा छोटो दुरी रहेकोले अर्को आकर्षण पनि छ ।’ राज्यले आफूले प्रसारणलाइन बनाउन नसकेको र निजी क्षेत्रलाई बनाउने अनुमति पनि नदिएकोले सुदूरपश्चिमको सम्भावना उपयोग हुन नसकेको कार्कीले बताए ।

अध्यक्ष कार्कीले सुदूरपश्चिममा मात्र नभएर देशभर जलविद्युत् आयोजना विकास गर्नको लागि सरकारले आयोजनालाई ५० वर्षको अनुमति दिनुपर्ने, वन मन्त्रालयको प्रक्रिया सहज र छिटो छरितो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘१४ मन्त्रालय र ३० भन्दा बढी विभागमा फाइल घुमाउनुपर्ने अवस्थाको अन्त्य गरी एकद्वार प्रणालीबाट सेवा दिनुपर्ने लगायतका काम सरकारले गरिदिनु पर्दछ ।’ निजी क्षेत्र उत्पादनमा मात्र सीमित नरहेर आन्तरिक तथा बाह्य बजार खोजेर निर्यात पनि गर्नलाई तयार रहेको अध्यक्ष कार्कीको भनाइ छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले सुदूरपश्चिम जलविद्युत् विकासमा अस्वाभाविक रूपमा पछि परेको बताए । उनले भने, ‘जलविद्युत् उत्पादन सम्भावना १८ हजार मेगावाटभन्दा बढी छ । तर, अहिलेसम्म उत्पादन भएको बिजुली १७६ मेगावाट मात्र छ । यो भनेको त उत्पादन सम्भावनाको ०.९६ प्रतिशत मात्र भयो ।’
जलस्रोतको समुचित उपयोगले मात्रै नेपाललाई समृद्ध बनाउन सक्छ । नेपालको दार्चुलामा उत्पादन गरेको विद्युत् केही किलोमिटर प्रसारणलाइन बनाउँदै भारतको धार्चुलामा बेच्न सकिने भएकाले सुदूरपश्चिममा जलविद्युत् उत्पादन सबै हिसाबले आकर्षक भए पनि कठिन भौगोलिक अवस्था र प्रसारण पूर्वाधारको अभावका कारण मात्र यो क्षेत्र पछि परेको डाँगीको भनाइ छ ।
उनले प्रवद्र्धकहरू जलविद्युत् आयोजना निर्माण गर्न जाँदा सुरुमा गाउँमा बाटो लिएर जाने र आयोजना सम्पन्न भएपछि समृद्धि छोडेर फर्किने गरेको पनि बताए ।
२०५१ सालमा २५० मेगावाट रहेको नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्र आएपछि अहिले ४ हजार १०० मेगावाट पुगेको उनको दाबी छ । अब प्रसारण र व्यापारमा पनि निजी क्षेत्रलाई खुला गरिदिने हो भने, अबको १० वर्षपछि निजी क्षेत्रले प्रसारणलाइन निर्माण र विद्युत् निर्यातमा पनि उत्पादनमा जस्तै छलाङ मार्न सक्ने पनि डाँगीले बताए । इप्पानका उपमहासचिव प्रकाश दुलालले वन मन्त्रालयबाट कसरी काम हुन्छ र प्रक्रियागत झन्जटका बारेका बताएका थिए । पहिलेकै प्रक्रियामा अनुमति पाउन र काम सुरु गर्न कम्तिमा ७–८ वर्ष लाग्ने गरेकोमा अहिले फेरि सामुदायिक वन उपभोक्ताको ५१ प्रतिशतले पनि सहमति दिनुपर्ने नियम ल्याएर आयोजना बन्नै नदिने षड्यन्त्र रचिएको उनको भनाइ थियो ।
इप्पान कार्यसमिति सदस्य सुमन जोशीले जलविद्युत् क्षेत्रले वार्षिक साढे ४ अर्ब रुपैयाँ रोयल्टी बुझाउने गरेको, साढे ३ लाखभन्दा बढीलाई रोजगारी दिइएको, १३ खर्ब रुपैयाँ लगानी गरिसकेको, देशभर ३ हजार ७०० किलोमिटर बाटो बनाएको, १६० स्वास्थ्यकेन्द्र निर्माण गरेको, १०७ खानेपानी आयोजना बनाएको, ५५ सिँचाइ आयोजना बनाएको र २५० जना शिक्षकलाई तलब प्रदान गरिरहेको बताइन् । उनले यी सबै सुविधाबाट सुदूरपश्चिम प्रदेश भने वञ्चित भएको बताइन् ।
सुरु हुन सकेन प्रसारणलाइन निर्माण
सुदूरपश्चिममा दार्चुलाको बलाचदेखि कैलालीको अत्तरियासम्म १३२ केभीको प्रसारणलाइन सञ्चालनमा आउनुबाहेक अरू कुनै पनि प्रसारणलाइन निर्माण नै सुरु हुन सकेका छैनन् । राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनी (आरपिजिसिएल)का प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको सबैभन्दा ठुलो विद्युत् हब सुदूरपश्चिममा नै बनाउने योजना रहे पनि अहिले त्यहाँ प्रसारणलाइन निर्माणको लागि बजेट अभाव रहेको बताए ।
हुम्लादेखि बझाङ हुँदै कैलालीको दोदोधरासम्म एउटा र पश्चिमसेती (बझाङ), डोटी र डडेलधुरा हुँदै कैलालीको दोदोधरासम्मै आउने अर्को ४०० केभी प्रसारणलाइन निर्माण योजनामा छन् । फुकोट कर्णाली, माथिल्लो कर्णाली, पश्चिम सेती, एसआर ६ लगायतका आयोजनाको विद्युत् दोदोधरामा ल्याएर त्यहाँबाट भारतको बरेलीमा जोड्ने अन्तरदेशीय प्रसारणलाइन पनि निर्माणको योजनामा रहेको श्रेष्ठले बताए । यसका लागि कुल १ खर्ब ३० अर्ब रुपैयाँ लगानी लाग्ने हुँदा स्रोत व्यवस्थापनमा चुनौती रहेको उनको भनाइ छ ।
बैतडी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीले देशको अर्थतन्त्र उकास्न ऊर्जा क्षेत्रको विकास पहिलो सर्त भएकाले पश्चिम सेती लगायतका आयोजना निर्माण अघि बढाउन सरकारले पहल गर्ने बताए । बाजुरा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनकराज गिरीले आगामी आवमा १ हजार ९०२ मेगावाटको फुकोट कर्णाली अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताए । कैलाली क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगत जोशीले ऊर्जा क्षेत्रको विकासका लागि र समग्र देशको विकासका लागि आवश्यक कानुन निर्माणका लागि पहल गर्ने बताए ।
सुदूरपश्चिबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरू गणेश विक, रत्नाकुमारी थापा र कृपाराम राना लगायतले सुदूरपश्चिमको समग्र विकासका लागि जलविद्युत् नै पहिलो सर्त भएको र यसको विकासका लागि प्रतिनिधिसभामा आवाज उठाउने र कानुन निर्माणमा सहयोग गर्ने बताए । नयाँ सरकारले १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य लिएको र यसका लागि देश भित्रको र विदेशी लगानीसमेत ल्याएर आयोजना विकास गर्न सकिने उनीहरूको भनाइ छ ।
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका सदस्यहरू रेणु चन्द, नारायणदत्त मिश्र, नारायणदत्त भट्ट र गरिमा शाहले सुदूरपश्चिमको समग्र विकासका लागि जलविद्युत् सबैभन्दा राम्रो विकल्प भए पनि प्रसारण संरचनाको अभाव तथा वनका उल्झनले त्यसको सदुपयोग हुन नसकेको स्वीकार्दै प्रतिनिधिसभाले यस्ता समस्या समाधानका लागि ल्याउने ऐनकानुनमा राष्ट्रियसभाले सहयोग गर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले २५० ट्रिप बालुवा निकाल्न ३ वर्ष लागेको कुरा सुनाउँदै वन तथा निकुञ्ज क्षेत्रबाट पूर्वाधार आयोजना निर्माणमा सहयोग हुन नसकेको बताए ।
प्रतिक्रिया