
सुर्खेत । कर्णालीका दर्जनौँ पुल निर्माणको काम अलपत्र छ । निर्माण कम्पनीको लापरबाही र सरोकारवाला निकायको उदासीनताका कारण ती पुलहरू अलपत्र परेका हुन् । कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरका विभिन्न स्थानमा पुल निर्माण अलपत्र अवस्थामा छन् । कर्णाली करिडोरअन्तर्गत कालिकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा गरी ९ स्थानमा पुल निर्माणको काम रोकिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस मोटरेबल पुल पनि निर्धारित समयमा सम्पन्न हुन सकेको छैन ।
५५ मिटर लम्बाइ र १० मिटर चौडा उक्त पुल निर्माणका लागि २०८० असोज ६ गते म्याद थप गरिए पनि हालसम्म ५० प्रतिशत मात्र काम भएको छ । उक्त पुलको लागत स्टिमेट ११ करोड ८३ लाख ९४ हजार ५०८.५२ रुपैयाँ गरिएको थियो ।
कर्णाली करिडोरअन्तर्गत विभिन्न नदी तथा खोलामा निर्माण हुनुपर्ने ९ वटा पक्की पुलको काम अझै अघि बढ्न नसकेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । करिडोरअन्तर्गत विभिन्न स्थानमा पुल निर्माणका लागि २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत् ठेक्का पनि लागेका थिए । तर, यी पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसक्दा निर्माणले गति लिन नसकेको उनले बताए । २०७९ असार ३० मा सम्झौता गरी २०८२ असोज ३० सम्म सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म डिजाइन स्वीकृतिको काममै समय खर्च भएको छ । १८ करोड २८ लाख २८ हजार रुपैयाँ लागतमा बन्ने यी पुलको डिजाइन स्वीकृत भएको र अब निर्माणको बाटो खुलेको कार्यालयले जनाएको छ । बाजुरा र हुम्ला खण्डका ६ वटा पुलको जिम्मा लुम्बिनी सिंह जेभीले ४५ करोड ३१ लाख ५७ हजार रुपैयाँमा लिएको छ ।
उक्त जेभीले जिम्मा लिएका जुड्डी, बुड्डीघाट, गल्फागाड र सर्केगाड (न्यासी) खोलाका पुलको डिजाइन स्वीकृत भइसकेको छ भने कबाडी र अर्को गल्फागाड खोलाको डिजाइन अझै स्वीकृत भएको छैन । ‘स्वीकृत भएकामध्ये पनि जुड्डीखोलाको पुलमा मात्र काम सुरु भएको छ,’ आयोजना प्रमुख नेपालीले भने, ‘यो जेभीसँग २०७९ असार २८ मा सम्झौता भएको थियो । २०८२ पुस २९ सम्ममा सबै पुल सम्पन्न गर्नुपर्ने म्याद पनि सकिएको छ ।’ जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा ठेक्का लगाउँदा डिजाइन स्वीकृत गराउनमै धेरै समय खर्च हुने गरेको बताए । नाग्म–गमगढी सडकअन्तर्गत जुम्लाको सिन्जास्थित रोकायावाडा खोलामा निर्माण गरिएको पक्की पुल मुआब्जा विवादका कारण अझै सञ्चालनमा आउन सकेको छैन ।
२०७८ साल फागुन ९ गते ठेक्का आह्वान भई निर्माण थालेका १० वटा पक्की पुलमध्ये ४ वटा अलपत्र छन् । नाग्म–गमगढी सडकको बालुखोलास्थित २५ मिटर लामो कालिकाखेतु पक्की पुल अलपत्र छ । जुम्लातर्फको भागमा पिलर निर्माण भएको वर्षौं बिते पनि कालिकोट क्षेत्रको जग्गा विवाद नमिल्दा निर्माण अलपत्र छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा निर्माण हुने २५ मिटर लामो पुल पनि जग्गा विवादले अघि बढ्न सकेको छैन ।
कनकासुन्दरीको केन्द्र गुठिज्युला बजारको खोलामा पनि जग्गा विवाद उत्पन्न हुँदा पुल निर्माण हुन सकेको छैन । उक्त खोलाको २० मिटर पक्की पुल जग्गा विवादले अलपत्र बनेको छ । मुगुको गमगढी खोलामा निर्माण भइरहेको ४० मिटर लामो पक्की पुल पनि जग्गा विवादले बन्न सकेन । मुगुको लुम्सामा पनि ४० मिटर लामो पुल बनाउन ठेक्का भए पनि जग्गा विवाद हुँदा काम रोकिएको छ ।
निर्माण सम्झौताको म्याद सकिएको १ वर्ष बित्दा पनि कालिकोटको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण अलपत्र परेको छ । ठेक्का सम्झौता सकिएको १ वर्ष बितिसक्दा पनि पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन । पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभीले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो । २०८१ चैत २५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि निर्माण व्यवसायीको अटेरीले काम हुन नसकेको भौतिक पूर्वाधार विकास कार्यालय कालिकोटका प्रमुख प्रभाकर सिंहले बताए । उक्त पुल निर्माणको म्याद आगामी २०८४ असार मसान्तसम्म म्याद थपिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का सम्झौता तोडेको जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार सम्झौताअनुसार सडक निर्माणको काम नगरेका १० कम्पनीसँगको ठेक्का सम्झौता गत चैत ११ मा नै तोडिएको बताए । आव २०७४÷७५ देखि ठेक्का सम्झौता गरिएका १० वटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको उनले बताए । कालिकोटको दहीखोला मान्म–नाग्म–जुम्ला खण्डमा स्तरोन्नतिको काम अलपत्र परेको सूचना अधिकारी सिंहले बताए । उनका अनुसार आव २०७९/८० मा कृष्ण निर्माण सेवाले जिम्मा लिएको खुल्लालेदेखि घोडेंगा खण्ड, अविनाश निर्माण सेवाले जिम्मा लिएको नाग्म–गमगढी खण्ड, विनाम्रा निर्माण सेवाले जिम्मा लिएको मुगु खण्ड र धुर्वा निर्माण सेवाले २०७८/७९ मा जिम्मा लिएको कुडारी–कालीकोट खण्डको ठेक्का तोडिएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार झन्डै १६ करोड रुपैयाँका कालिकोटका २, मुगुको नाग्म–गमगढी सडकखण्डको १ र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको ठेक्का तोडिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । उनका अनुसार झन्डै २० करोड रुपैयाँ लागतमा ८ वटा ठेक्कामा राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ ।
प्रतिक्रिया