आजकाल धेरै बिरामीहरूले एआईलाई चिकित्सकसरह प्रयोग गर्न थालेको पाइन्छ । सामान्य लक्षण देखिएपछि सिधै औषधिको सल्लाह खोज्ने प्रवृत्ति बढ्दो छ, जुन गम्भीर खतरा बन्न सक्छ ।

अहिलेका व्यस्त मान्छे अक्सरका कतिपय काम अनलाइनबाट गर्न चाहन्छ । लुगा, गहनादेखि तयारी खाना र घरका सजावट लगायतका आवश्यक धेरै सामान अहिले घर बसेर मगाउने बढेका छन् । यसले एकातिर समयको बचत हुन्छ भने, अर्कोतर्फ बजारमा गएर खोजीहिँड्नु परेर । त्यो दृष्टिले अनलाइनको प्रयोगबाट गरिने आवश्यकता पूर्ति ठिकै होला ! तर, कतिपय अवस्थामा भनेको र खोजेको समान नपाएको पनि गुनासो बेला बेला सुनिन्छ । यी त भए सरसामानको कुरा, पछिल्लो पछिल्लो समयमा निकै ठुलो संख्याका बिरामीहरूले स्वास्थ्य उपचारसमेत अनलाइनबाटै लिने गरेको पाइन्छ ।
पछिल्ला दिनमा टिकटक र युट्युबको माध्यमबाट स्वास्थ्य सल्लाह दिने र परामर्श लिनेको संख्या बढ्दो छ । अनलाइनका विभिन्न पोर्टल प्रयोगको भिडमा थपिएको छ, एआई । कुनै समस्या पर्दा वा जिज्ञासा लिन पर्दा मान्छे एआईको प्रयोग गर्न थालेका छन् । आइटीको समयमा मान्छेका समस्या सामाधान गर्ने र चाहेको सेवा लिनेहरूका लागि एआई सहयोगी बनेको देखिन्छ । यद्यपि यसका पनि विभिन्न पक्ष होलान् ।
स्वास्थ्यजस्तो गम्भीर विषयमा एआईको प्रयोग कति सान्दर्भिक हुन्छ त्यो प्रश्न पनि गम्भीर छ । कतिपय अवस्थामा प्रविधिको दुरुपयोग भएको सुन्ने गरिएको पनि छ । अझ डाक्टरहरूले नै एआई प्रयोग गरेर आफ्नो ज्ञान, अनुभव र बिरामीको अवस्थासँग जोडेर प्रयोग गर्दा बिरामीले त्यसैलाई निर्णयको आधार बनाउँदा जोखिम बढ्छ वा सहयोग पुग्छ ? यसबारेमा पनि विचार गर्नुपर्ने देखिन्छ । हुन त हरेक राम्रो काममा त्यसका नकारात्मक पक्ष र प्रयोगमा हुने गलत कार्यले सबै कुरा राम्रो नहुन सक्छ ।
सामाजिक विकासका मुख्य मापदण्डहरूमध्ये स्वास्थ्य सेवामा आमनागरिकको पहुँच र नयाँ प्रविधिको प्रयोगले यस क्षेत्रमा आमूल परिवर्तन भएको मानिन्छ । प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भइरहेका कामलाई सहज बनाएको छ । पछिल्लो समय विश्वभरका मानिस आफ्नो स्वास्थ्यप्रति धेरै सजक र सतर्क हुँदै गइरहेका छन् । स्वास्थ्यप्रति मानिसको सजगतासँगै उन्नत उपचार र राम्रो स्वास्थ्य सेवाहरूको माग पनि दिनानुदिन बढ्दै गइरहेका छन् ।
स्वास्थ्य सेवाको भविष्य प्रविधिसँग जोडिएको छ, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उदयसँग । अहिले स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन स्वास्थ्यमा एआईले कसरी भूमिका खेल्छ भनेर विश्वभर चर्चा सुरु भएको छ । एआईको प्रयोगमार्फत उपचार र निदानका योजनामा बनाउन सहायकसिद्ध भइरहेको छ । यसले चिकित्सकहरूलाई ठुलो मात्रामा मेडिकल डेटाको द्रुतरूपमा विश्लेषण गरेर थप सही निर्णयहरू गर्न मद्दत गरिरहेको छ, जुन चिकित्सक एक्लैले गर्न सक्दैन ।
एआईको प्रयोग स्वास्थ्यका लागि निकै ठुलो विकासका रूपमा लिइएको छ । एआईको सहायताले कुनै पनि बिरामीको स्वास्थ्य अवस्थामा भविष्यमा आउन सक्ने जटिलताको पहिचान गर्न सहज हुने विज्ञको तर्क छ । यो विधिबाट बिरामीको अवस्थाबारे पूर्वजानकारी हुँदा गुणस्तरीय स्वास्थ्य सेवा दिन सहज हुनेछ । एआईको बढ्दो प्रयोग र एआईका परिष्कृत रूपले स्वास्थ्य क्षेत्रमा भविष्यमा हुन सक्ने जटिलताको आकलन सहज हुने पाइएको छ । यसबाट चिकित्सकलाई रोग निदानमा टेवा पुग्नेछ भने बिरामीहरू उपचारको क्रममा आउने विभिन्न झन्झटबाट मुक्त हुने विज्ञ बताउँछन् ।
कतिपयले यसबारेमा एआईले चिकित्सकलाई प्रतिस्थापन गर्ने होइन, उसको क्षमता विस्तार गर्ने उपकरण भएको र स्वास्थ्य क्षेत्रमा यसको जिम्मेवार प्रयोग आवश्यक ठानेको पनि पाइन्छ ।
०००
सरकारले बेलाबेलामा डिजिटल प्रणालीको बारेमा कुरा गर्ने गरेको छ । गएको बजेटमा पनि सरकारले यसलाई सम्बोधन गरेको थियो । सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि र कृत्रिम बौद्धिताको उपयोग गर्ने भनेको थियो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा अत्याधुनिक सेवा विस्तार गर्न रोबटिक प्रविधिको प्रयोग गर्ने बताएका थिए । ‘स्वास्थ्य सेवामा सबै नागरिकको पहुँजका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने र अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिनेछ’ पौडेलले भनेका थिए ।
उनले बजेट भाषणको क्रममा भनेका थिए, ‘यसको विस्तृत विवरण र प्रयोग गर्ने तरिका मैले मेरो विमर्श आचार्य युट्युब च्यानलको एमडी÷एमएस भिडियोको डिस्क्रिप्सनमा समेत राखेको छु । यो सानो प्रयोगले मलाई एउटा ठुलो कुरा प्रस्ट पार्योर्, एआई नेपाली स्वास्थ्य क्षेत्रका लागि ‘शत्रु’ होइन, बरू सही प्रयोग गर्न जान्नेका लागि एउटा शक्तिशाली ‘को–पाइलट’ हो ।’
०००
डाक्टरका लागि एआई
अहिले प्रचलित विभिन्न एआई उपकरणहरू जस्तै ग्रोक, जेमनाई, च्याटजिपिटी, पप्र्लेक्सिटी र ओपनएभिडेन्सका आ–आफ्नै भूमिका छन् । तर, तिनीहरूको प्रयोग सन्दर्भअनुसार फरक हुन्छ । सामान्य जानकारी बुझ्न, अवधारणा स्पष्ट गर्न र छिटो सहजीकरणका लागि च्याटजिपिटी, जेमनाई वा ग्रोक उपयोगी हुन सक्छन् । पप्र्लेक्सिटीले स्रोतसहित जानकारी प्रस्तुत गर्ने भएकाले खोज र तुलना गर्न सहज बनाउँछ । तर क्लिनिकल निर्णयका लागि भने प्रमाण–आधारित, सन्दर्भसहित र अद्यावधिक जानकारी अत्यन्त महत्वपूर्ण हुने विज्ञ बताउँछन् ।
त्यसैले, सामान्य बुझाइका लागि विभिन्न एआई उपकरणहरू प्रयोग गर्न सकिए पनि, क्लिनिकल अभ्यास र निर्णयका लागि प्रमाण–आधारित प्लेटफर्मका रूपमा ओपनएभिडेन्स हालको अवस्थामा सबैभन्दा उपयुक्त विकल्पमध्ये एक मानिन्छ । तर, यसको प्रयोग र उपयोग कसले कसरी गर्ने भन्ने पनि प्रश्न छ । नेपाल जस्तो देश र यहाँका नागरिकले यो प्रविधिको प्रयोग कति र कसरी गर्लान् ?
कति ठिक ?
आजकाल धेरै बिरामीहरूले एआईलाई चिकित्सकसरह प्रयोग गर्न थालेको पाइन्छ । सामान्य लक्षण देखिएपछि सिधै औषधिको सल्लाह खोज्ने प्रवृत्ति बढ्दो छ, जुन गम्भीर खतरा बन्न सक्छ । उदाहरणका लागि, कसैलाई पेट दुख्यो भने एआईले सामान्य पीडा कम गर्ने औषधि सुझाउन सक्छ । तर त्यही लक्षणभित्र एपेन्डिसाइटिसजस्तो गम्भीर समस्या लुकेको हुन सक्छ । औषधिले केही समय राहत दिए पनि रोगको झन् जटिल बन्दै जान सक्ने पनि देखिन्छ ।
डाक्टर र बिरामीले प्रयोग गर्ने एआईबीचको फरक प्रस्ट हुन्छ । डाक्टरले एआईलाई आफ्नो ज्ञान, अनुभव र बिरामीको अवस्थासँग जोडेर प्रयोग गर्छ, जबकि बिरामीले सिधै त्यसलाई निर्णयको आधार बनाउँदा जोखिम बढ्छ । स्व–औषधोपचारले कहिलेकाहीँ ज्यानसमेत जोखिममा पार्न सक्छ ।
नेपालजस्तो भौगोलिक चुनौती रहेको देशमा एआईले स्वास्थ्य सेवामा ठुलो परिवर्तन ल्याउन सक्छ । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा एआईले प्राथमिक स्तरमै निर्णय लिन सहयोग पु¥याउन सक्छ । एक्स–रे, मुटुसम्बन्धी परीक्षण वा आकस्मिक अवस्थाको मूल्यांकनमा यसको प्रयोगले समयमै उपचारको दिशा दिन सक्ला यो झनै गम्भीर प्रश्न छ ।
सरकारले भने जस्तो टेलिमेडिसिनसँग एआईको संयोजनले गाउँ र सहरबीचको दुरी घटाउन कति काम गर्ला ? यसैले, सरकार र निजी क्षेत्र दुवैले मिलेर एआईलाई स्वास्थ्य प्रणालीमा समाहित गर्ने स्पष्ट नीति बनाउन आवश्यक छ । चिकित्सकहरूलाई तालिम, स्रोत र प्रोत्साहन उपलब्ध गराउनु अपरिहार्य देखिन्छ । यदि प्रविधिलाई अंगाल्न सकेनौँ भने, भोलि हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न असक्षम हुने शंका पनि छ । तर सही दिशामा अघि बढ्न सके, नेपाली स्वास्थ्य क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सक्ने जानकार बताउँछन् ।
००००
एआई ब्रह्मास्त्र बन्न सक्छ : डा. समीरमणि दीक्षित, स्वास्थ्यविद्

विदेशमा प्रयोग हुने र नेपालको हुम्ला, जुम्लामा प्रयोग हुने प्रविधि र पाउने सेवा एउटै हुन्छ । विदेशमा डाक्टर वैज्ञानिकहरूले एआईको सहयोगमा काम गरिरहेका छन् ।
एआईबाट उपचार सेवा सम्भव छ र हुनु पनि पर्छ । संसार एआईमा गइसकेको बेला हामीले यसमा अल्मलिनु हुँदैन । पछिल्लो समय हरेक चिजको पहिचान एआईको माध्यमबाट हुने गरेको छ । त्यस्तो बेला हामीले यसमा शंका गर्नु हुँदैन । हरेक चिजको पहिचान एआइले गर्न थालेको छ । यस्तो बेला हामीले पनि यसमा जोड दिनुपर्छ ।
टेलिमेडिसिनको सहयोगमा दूरदराजको बिरामीको समस्या बुझ्ने समय आइसकेको छ । यस्तो बेला एआईबाट सहयोग लिएर हामीले काम गर्न सक्छौँ । एआईले स्वास्थ्यमा भएको समस्याको सुझाव दिने हो । स्वास्थ्य क्षेत्रका लागि एआई ब्रह्मास्त्र बन्न सक्छ । यसको नराम्रो पक्ष अहिले केही छैन । समय क्रममा देखियो भने हो । अहिलेका लागि अहिलेका लागि यो सुरुआती चरणमा भएकाले यसको नराम्रो पक्ष भन्न सकिन्न । अहिलेका लागि यो नयाँ प्रविधि हो । नयाँ प्रविधिको प्रयोग गरेर हामीले सक्दो फाइदा लिनुपर्छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने, यो झनै सम्भव र राम्रो छ । सरकारले पनि आइटीलाई प्रवद्र्धन गर्ने भनिसकेको छ । नेपालमा कम्प्युटर विज्ञानको क्षेत्र पनि अगाडि बढिरहेको छ । नयाँ पुस्ता आइटी र इन्टरनेटसँग जोडिएका छन् । यस्तो अवस्थामा नेपालमा एआईबाट स्वास्थ्य सेवा दिने माहौल राम्रो छ । कम्युटर, इनटरनेट र सूचना प्रविधि अहिलेका लागि आवश्यक छ । त्यसका साथै यो प्रविधिमा जानका लागि युवा जनशक्ति चाहिने हो । त्यो हामीसँग पर्याप्त छ ।
नेपालले स्वास्थ्य क्षेत्रमा धेरै फड्को मारिसकेको छ । यस्तो अवस्थामा अब एआईको प्रयोग गरेर अझ चुस्त दुरुस्त बनाउन हामी सक्छौँ । हाम्रो देशमा बच्चा बच्चाले इन्टरनेट चलाइरहेको अवस्था छ । नेपालमा जसले काम गर्नुपर्ने हो, जसले सेवा लिनपर्ने हो । त्यो समुदायलाई इन्टरनेटको प्रयोग र यसका बारेमा ज्ञान छ । यसको प्रयोगमा खासै जटिलता पनि छैन । जहाँसम्म इन्टरनेटको सुविधाको कुरा छ । हुम्ला, जुम्लामा पुगिसकेको छ । अझ यसलाई विस्तार गरिनुपर्छ । त्यसैले नेपालमा यो सम्भव र आवश्यक छ ।
विकसित देशमा यसको प्रयोग उच्च छ । त्यसको कारण भनको सजिलै, छिट्टै हामीले खोजेको सामाधान पाउछौँ । एक मिनेटमा हामीले धेरैभन्दा धेरै सुझाव पाउन सक्छौँ । विदेशमा प्रयोग हुने र नेपालको हुम्ला, जुम्लामा प्रयोग हुने प्रविधि र पाउने सेवा एउटै हुन्छ । विदेशमा डाक्टर वैज्ञानिकहरूले एआईको सहयोगमा काम गरिरहेका छन् । त्यसैले समय र आर्थिक बचतका दृष्टिले पनि यो आवश्यक छ । एउटा मान्छेले १५ दिनमा गर्ने काम एआईले १०–१५ सेकेन्डमै हुन्छ । हरेक दिन यो बलियो र सान्दर्भिक हुँदै गएको छ ।
प्रतिक्रिया