अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसंघलाई इरानको आग्रह

न्युयोर्क । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसंघका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

इरवानीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गरेका छन् ।

इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरमा जहाज कब्जा गरेको पुष्टि गरेका छन् । जबरजस्ती जहाज आक्रमणले र धम्कीले जहाजका चालक दल र उनीहरुका परिवारको जिवन खतरामा परेको उनले उल्लेख गरेका छन् ।

कानुनी र सुरक्षा चिन्ता व्यक्त पार्दै उनले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताएका छन् ।

इरवानीले जहाज जफत संयुक्त राष्ट्रसंघ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लंघन गरी भएको जनाइएको छ ।

यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्धले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उनले उल्लेख गरेका छन् ।

इरवानीले संयुक्त राष्ट्र संघलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विनासर्त रिहा गर्न दबाब दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया