गर्मीमा कसरी बचाउने छाला ?

सामान्यतया अरूबेला भन्दा गर्मीमा छालाको स्याहारमा बढी ध्यान दिन आवश्यक हुन्छ । त्यसको बारेमा पनि जान्नु र बुझ्नु आवश्यक छ ।

मौसम अनुसार हामीले आफ्नो शरीरको ख्याल गर्नुपर्ने हुन्छ । परिवर्तित हुने मौसमसँगै शरीरको स्याहारमा परिवर्तन गर्न सकिएन भने, त्यसले असर पु¥याउने विज्ञहरू बताउँछन् । जसरी हामीले मौसमअनुसार आफूले लगाउने लुगाको जोहो गर्छौं त्यसैगरी छाला र शरीरको पनि गर्नुपर्ने हुन्छ । विज्ञका अनुसार गर्मी मौसममा लुगाफाटा र खानपानका साथसाथै छालाको आवश्यकता पनि परिवर्तन हुन्छ ।

चर्को घाम, पसिना र प्रदूषणले छालामा सिधा असर गर्छ । यस्तो अवस्थामा हामीले जाडोमा प्रयोग गरिने छालाको हेरचाहकै रुटिन जारी राख्यौँ भने, त्यो सही हुँदैन । जाडोकै नियमिततामा चल्न थाल्यौँ भने, छाला अत्यधिक चिल्लो हुने, फुस्रो देखिने वा डन्डीफोर आउने समस्या हुन सक्ने बताइन्छ । अझ अहिले केही दिनदेखि गर्मी निकै बढेकाले यसले धेरैलाई चिन्ता बढाएको छ ।

वास्तवमा, गर्मीमा परावैजनी किरण र आद्र्रताले छालाको बाहिरी तहलाई हानि पु¥याउन सक्छन् । यसले ट्यानिङ, पिग्मेन्टेसन र संक्रमणको जोखिम बढाउने विज्ञ बताउँछन् । गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? कुन–कुन गल्तीले छालालाई हानि पु¥याउँछन् ? सर्वप्रथम यिनै कुराहरूको बारेमा जानकारी हुन आवश्यक हुन्छ ।

विज्ञका अनुसार गर्मीको मौसममा बढ्ने तापक्रम र आद्र्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दागी देखिने गर्छ । यस्तै गर्मीमा छालामा हुने रंग बनाउने कोशिकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ । जानकारका अनुसार बढ्दो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन्, जसमा चिल्लो, धुलो, फोहोर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा डन्डिफोर, चायाँ, पोतोको समस्या बढेर जाने गर्छ ।

गर्मी मौसममा छाला बचाउनका लागि विभिन्न उपाय गर्न सकिने विज्ञ बताउँछन् । चिल्लोरहित वा चिल्लो सफा गर्नसक्ने फेसवासको प्रयोग उपयुक्त हुन्छ । यस्तै सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ । दिनभरिमा ४–५ पटकसम्म अनुहारलाई सफा गर्नु राम्रो हुने बताइन्छ ।

हामीले गर्मीमा छाला बचाइराख्न बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । यसका साथै खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउन सकिन्छ । हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोगडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।

यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुईपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त मानिन्छ । राति सुत्नुअगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेसप्याकको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् । यसले छाला नरम, मुलायम हुनको साथै चाँया, डन्डिफोरको समस्यालाई पनि कम गर्छ । गर्मीको मौसममा सन स्क्रिनको साथ एकदमै भरपर्दो हुने बताइन्छ । राम्रो सनस्क्रिन जसको प्रयोगले विकिरणको शरीरमा प्रभाव कम पर्दछ । सनस्क्रिन बिहान ८ बजे र दिउँसो १२ बजे प्रयोग गरेमा छाला बचाउन सकिने विज्ञ बताउँछन् ।

गर्मीको मौसमा कम शृंगार उचित हुने चिकित्सकको सुझाव छ । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घ्युकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदाजनक हुने बताइन्छ । यस्तै राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा २–३ लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने चिकित्सक बताउँछन् ।

यस्तै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुने भएकाले ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नु राम्रो मानिन्छ । यसले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने विज्ञ बताउँछन् । चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रिनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्न विज्ञ सुझाउँछन् ।

००००

किन गर्ने गर्मीमा स्किन केयर रुटिन परिवर्तन ?

सामान्यतया अरूबेला भन्दा गर्मीमा स्किन केयरमा बढी ध्यान दिन आवश्यक हुन्छ । त्यसको बारेमा पनि जान्नु र बुझ्नु आवश्यक छ । यस्ता छन् त्यसका कारणहरू ।

धेरै पसिना आउनु ः सामान्यतया जाडोमा भन्दा गर्मीमा शरीरबाट धेरै पसिना आउँछ । यसले छालाका रोमछिद्रहरू बन्द हुन थाल्छन् र डन्डीफोर तथा खटिरा आउने समस्या बढ्छ ।

चर्को घामः गर्मीमा घाम धेरै लाग्छ । चर्को घामका कारण पराबैजनी किरण सिधा छालामा पर्छ । यसले ट्यानिङ, सनबर्न र पिग्मेन्टेसनको जोखिम बढाउँछ ।

निर्जलीकरणः चर्को गर्मी र पसिनाको कारण शरीरमा पानीको कमी हुन्छ । यसले छालालाई सुक्खा र फुस्रो बनाउँछ ।
गर्मीमा पसिना धेरै आउने भएकाले यो मौसममा दिनदिनै नुहाउनु पर्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनु पर्छ ।

बडी लोसनः नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुक्खा हुन दिँदैन । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुक्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ ।

फेसवासको प्रयोग गर्नेः हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ । सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपखालिन सक्छ, जसले मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।

मोइस्चराइजरः छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी मानिन्छ । यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम गर्छ । यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ । यो क्रिमलाई अनुहार बाहेक घाँटी, हात तथा खुट्टामा समेत लगाउन सकिन्छ ।

सनस्क्रिन क्रिम लगाउनेः घरबाट बाहिर निस्कनुभन्दा १५–२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ । यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ । सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ । विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ । सनस्क्रिन घरबाहिर हिँड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु राम्रो हुन्छ ।

पाउडरको प्रयोगः गर्मीमा पसिना आउनु त सामान्य नै हो । पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ । धेरै पसिना आउने ठाउँ जस्तै, काखी, घुँडामा पाउडर लगाउनुपर्छ । पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।

धेरै पानी पिउनेः गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुक्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्छ । यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी पदार्थ) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।

खानपान र व्यायामः छालाका लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ बनाएर पनि छाला स्वस्थ बनाउन सकिन्छ । जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेँडा, कागती, अन्डा, दुध, दही, हरियो सागपात, एभोकाडो खानामा समावेश गर्नुपर्छ । साथै हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो (ग्लो) दिन्छ । यसले पनि छाला स्वस्थ्य र सुन्दर राख्न सहयोग पुग्छ ।

०००

गर्मीमा छालाको ख्याल गर्नुपर्छ : डा. अमृता श्रेष्ठ, छाला रोग विशेषज्ञ

गर्मीको धेरै असर बच्चालाई पुग्ने भएकाले उनीहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।

डा. अमृता श्रेष्ठ, छाला रोग विशेषज्ञ

गर्मीमा पसिना आउने, घमौरा आउने जस्ता समस्या बढी हुन्छ । यसले पनि छालाको सुन्दरता बिगार्ने र छालाको स्वास्थ्यमा असर पु¥याउँछ । शरीरको काख, काछ (जाँघ)मा पसिना आउने, रातो हुने, डाबर देखापर्ने हुन्छ । जिउमा विभिन्न प्रकारका डाबर आउने, दुबी जस्तो देखिनेसमेत हुन्छ । त्यस्तै छालामा विभिन्न प्रकारका संक्रमण हुन्छ । गर्मीको धेरै असर बच्चालाई पुग्ने भएकाले उनीहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।

यसका लागि बढीभन्दा बढी सरसफाइमा ध्यान दिनुपर्छ । सुतीको कपडा प्रयोग गर्ने, भित्री कपडा हरेक दिन फर्ने र धुने गर्नुपर्छ । शरीरमा पसिना आउने बित्तिकै कपडा चेन्ज गर्नुपर्छ । एन्टीफंगल पाउडर, क्रिम प्रयोग गर्नुपर्छ । यसैगरी गर्मीबाट बचाउने, संक्रमण हुने नदिने बडीवास प्रयोग गर्नुपर्छ । त्यसो गर्दा गर्मीका कारण हुनसक्ने विभिन्न प्रकारका संक्रमणबाट बचाउन सक्छ ।

कतिपय मान्छेलाई गर्मीमा घामको एजर्जी हुने गर्छ । त्यस्तो मान्छेले घाममा धेरै बस्ने हिँड्ने गर्नु हुँदैन बाहिर निस्क्दा सनस्क्रिन क्रिम लगाउने गर्नुपर्छ । कपडा पनि सुतिको जिउ छोप्ने लगाउने, चस्मा लगाउने, माक्स, सल प्रयोग गर्ने गर्नुपर्छ । त्यसो गर्दा पनि घामबाट हुने संक्रमणबाट बच्न सकिन्छ । गर्मीमा हामीले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ । अझ निद्रामा पनि पनि ख्याल गर्नुपर्छ । राम्रो निन्द्रा भएर आराम भएन भने, चायाँ पोतो आउन सक्छ । गर्मीमा हामीले आफ्नो जीवनशैली सुधार गर्नुपर्ने हुन्छ ।

गर्मीमा खानपानको पनि ख्याल गर्नुपर्ने हुन्छ । प्रशस्त मात्रामा पानी खानुपर्छ । त्यसो गर्दा छालालाई स्वस्थ्य राख्न सकिन्छ । लामखुट्टे जस्ता किराको टोकाइ हुन सक्छ । त्यसबाट बच्न ओडोमक्स लगाउने, झुल प्रयोग गर्ने जस्ता कुरामा ध्यान दिइयो भने गर्मीबाट हुने संक्रमण र त्यसले छालामा पार्ने असरबाट बच्न सकिन्छ । अझ साँझको समयमा लामखुट्टे धेरै फैलने हुनाले बच्चाहरूलाई जथाभावी घर बाहिर लैजानु हुँदैन ।

प्रतिक्रिया