आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ । यसलाई अन्नका रूपमा भन्दा पनि फलाहार (प्रसाद)को रूपमा सेवन गरेको पाइन्छ ।

हाम्रो धर्म, परम्परा, संस्कृतिअनुसार खाइने कैयौँ अन्न पोषणका दृष्टिले असाध्यै राम्रो मानिन्छ । खाएर पेट भर्नु र पोषणयुक्त खानुमा अन्तर हुन्छ । अन्नका दानाले पेट भर्नुको साथै स्वास्थ्यमा पनि हित गर्नु आवश्यक हुने पोषणविद् बताउँछन् । यस्तै हामीले संस्कृति धान्न खाएका कैयौँ खाना नियमितजसो खान सकिने हो भने त्यसले पार्ने प्रभाव अझ राम्रो मानिन्छ । हाम्रा गाउँघरमा अक्षय तृतीयाका दिनमा जौको सातु र सक्खरको सर्वत बाँड्ने चलन अद्यापि छ । कैयौँ ठाउँमा आज पनि त्यो निरन्तर चलेकै छ । तर, सहरमा भने त्यो दुर्लभ भएको छ ।
यस्तै, संस्कृति मान्न खाने खानामध्ये एक हो, जौको सातु । वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र गुढ (सक्खर)को सर्वत खाने गरिन्छ । यो दिन जौको सातु दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइन्छ । यही दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको धार्मिक विश्वास रहेको छ ।
पुराणलगायत ग्रन्थमा यो दिन गरिएको कर्म फलदायी हुने बताइन्छ । तर, हाम्रो संकृतिसँग जोडिएका कैयौँ खानाले पोषणका दृष्टिले निकै फाइदा पुग्ने गर्छ । यसको धार्मिक मान्यता मात्रै छैन, स्वास्थ्य र पोषणसँग पनि जोडिएको छ । जौको सातु नियमित सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा हुने गर्दछ । सातु मकै, चना, जौ अर्थात् कोदोको पनि बनाउन सकिन्छ । तर, यसमध्ये पनि जौको सातु निकै लाभदायी हुने पोषणविद् बताउँछन् । अझ यसलाई सक्खर वा सक्खर राखेको सर्वतसँग खाँदा अझै राम्रो हुन्छ । धेरै किसिमका पोषक तत्व पाइने हुँदा जौको सातुको सेवनले हामीलाई पोषण दिन्छ । यसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएको कारणले गर्मी मौसममा यसको सेवन गर्नु राम्रो मानिन्छ ।
जौको सातु खाँदा यसले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइराख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा तत्कालै ऊर्जा प्रदान गर्छ । यस्तै पटकपटक भोक लागिरहन्छ वा खाना खाँदा सन्तुष्ट होइँदैन भने सातुको प्रयोगले हामीलाई निकै फाइदा पुग्ने बताइन्छ । सातु खाने या सातुको सर्वत पिएपछि लामो समयसम्म हामीलाई भोकको अनुभव हुँदैन । त्यसले मोटोपना नियन्त्रणसमेत गर्छ सहयोग पुर्याउँछ ।
यसका साथै सातुको सेवनले भोकको अनुभूति हटाउनका साथै शरीरलाई कमजोर हुन दिँदैन । सातुले हाम्रो पाचन प्रक्रियालाई सक्रिय बनाएर एसिडिटी, कब्जियत तथा पेटमा हुने समस्यालाई ठिक गर्छ । यसको सेवनले हाम्रो कलेजोलाई पनि बलियो बनाउन मद्दत पुग्ने विज्ञ बताउँछन् । नियमित रूपमा सातुको सेवन गर्नाले खानेकुरालाई सजिलैसँग पचाउने भएको कारणले यसले हाम्रो तौललाई नियन्त्रणमा ल्याउनुका साथै मोटोपनले हैरान भएका मानिसहरूका लागि उपयुक्त मानिन्छ ।
जौको सातु मधुमेह र उच्च रक्तचापका बिरामीहरूका लागि पनि लाभदायक मानिन्छ । यसले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रालाई कम गरेर उक्त रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्नुका साथै हामीलाई विभिन्न रोगहरूबाट जोगाउन मद्दत पुर्याउँछ । यसको नियमित सेवनले हाम्रो हड्डी तथा मांसपेशीको बिकासमा मद्दत पुर्याएर बलियो बनाउँछ ।
जौको सातुले छालालाई नरम र चम्किलो बनाउन समेत भूमिका खेल्दछ । यसको सेवनले अनुहारको दाग, चाया तथा पोतोलाई हटाएर हाम्रो छालालाई चाउरी पर्न दिँदैन । आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ । यसलाई अन्नका रूपमा भन्दा पनि फलाहार (प्रसाद)को रूपमा सेवन गरेको पाइन्छ ।
००००
जौको सातु खानुका फाइदाहरूः
तराइमा गर्मी याममा ‘लु’ लाग्ने समस्या धेरै नै सुनिन्छ । तर जौको सातुको सेवनले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्दछ । जसले गर्मीको दुष्प्रभावबाट बच्नुका साथै ‘लु’ लाग्ने समस्या हुँदैन ।
कतिपय मानिसहरूलाई पटकपटक भोक लाग्ने गर्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरूका लागि जौको सातुको प्रयोग फाइदाजनक हुन्छ । सातु र सर्वत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभूति हुँदैन ।
सातु प्रोटिनका लागि राम्रो स्रोतको रूपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।
जौको सातु मधुमेहका लागि लाभदायक मानिन्छ । मधुमेहका बिरामीहरूलाई नियमितरूपमा यसकोे सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् ।
जौको सातुको सेवनले शरीरमा छिट्टै ऊर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिँदैन ।
यसको सेवन मोटोपनबाट हैरान भएका मानिसहरूका लागि रामवाण नै मानिन्छ । नियमित रूपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सही तरिकाले काम गर्छ र मोटोपनको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
उच्च रक्तचापका बिरामीहरूका लागि पनि जौको सातुको सेवन लाभदायक मानिन्छ । सातुमा कागतीको थोरै रस, नुन, पानी र जिरा मिश्रण गरेर सेवन गर्न सकिन्छ ।
००००
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । जौको सातु नियमित सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा हुने गर्छ । जौको साथै सातु मकै, चना, जौ अर्थात् कोदोको पनि बनाउन सकिन्छ । सातुमा कागतीको रस, नुन, पानी र जिरा मिश्रण गरेर सेवन गर्नुपर्छ । यसो गर्दा धेरै किसिमका पोषक तत्व पाइने हुँदा सातुको सेवनले हामीलाई पोषण दिन्छ । यसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएको कारणले गर्मी मौसममा यसको सेवन गर्नुपर्छ ।
सातु खाँदा यसले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइराख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा तत्कालै ऊर्जा प्रदान गर्छ । पटकपटक भोक लागिरहन्छ वा खाना खाँदा सन्तुष्ट होइँदैन भने सातुको प्रयोग हामीलाई निकै फाइदा हुन्छ । सातु खाने या सातुको सर्वत पिएपछि लामो समयसम्म हामीलाई भोकको अनुभव हुँदैन ।
००००
गर्मीमा जौको सातु
विज्ञका अनुसार गर्मी याममा शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । यतिबेला शरीरलाई हाइड्रेड राख्न सक्नुपर्छ । यसका लागि उपयोगी हुन्छ, जौको सातु । जौको सातुले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई शीतल पनि बनाउँछ । तराई क्षेत्रमा लूबाट बच्न पनि सातु उपयोगी हुन्छ । किनभने जौको सातुले शरीरलाई शीतल बनाइराख्छ ।
शरीरको विकार हटाउन : जौको सातुलाई पानीमा घोलेर सेवन गर्दा निकै फाइदा गर्छ । यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धीकरण गर्छ ।
जोर्नीको दुःखाइ कम गर्ने ः सातुमा एन्टिइन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुःखाइबाट छुटकारा दिलाउँछ । यदि तपाईं जोर्नीको समस्याले ग्रस्त भएकाले भने पनि दैनिक जौमा पानी घोलेर सेवन गर्न सकिन्छ ।
फाइबरले भरिपूर्ण : जौको सातु फाइबरले भरिपूर्ण हुन्छ । यसको सेवनले पाचन यन्त्रलाई बलियो र सफा राख्छ । कब्जियतको समस्या पनि हुन दिँदैन ।
मधुमेह रोगीका लागि बढी लाभदायक : जौको सातुमा बिटा ग्लुकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड सुगरको मात्रा सन्तुलित राख्छ ।
मिर्गौलाको समस्यामा : मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको सातु रामवाण उपचार हो । एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ ।
एनिमियाको समस्याबाट मुक्त : शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । यस्तो अवस्थामा पनि जौको सातु लाभदायक हुन्छ ।
भोक मेट्ने : हामीलाई कहिलेकाहीँ भोक लागेको अनुभव हुन्छ । वास्तविक भोक भने होइन । यसरी भोक लागेको महसुस हुनसाथ हामी केही न केही खान्छौँ, जसले मोटोपन बढ्छ । अतः जौको सातु खाने हो भने यसरी भोक लागेको महसुस हुँदैन ।
प्रोटिनको स्रोत : सातु प्रोटिनको पनि स्रोत हो । सातुले खासगरी पेटको समस्यालाई पनि कम गर्छ । कलेजोलाई बलियो बनाउँछ ।
आयुर्वेदिक महत्व : जौको सातु एक प्राकृतिक औषधि पनि हो । जौको गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ । यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने बताइन्छ ।
००००
जौको सातु पोषणका दृष्टिले धेरै राम्रो : डा. उमा कोइराला, पोषणविद्
स्वास्थ्यका दृष्टिले जौ धेरै नै महत्वपूर्ण छ । पछिल्लो पुस्तामा गहुँ चामलको विकल्पमा पनि यो रोजाइको खाना बन्दै छ ।

जौको सातु र सक्खरको सर्वत खानुको धार्मिक मान्यता एकातिर छ भने, यसले हाम्रो स्वास्थ्य र पोषणमा पनि सहयोग पुर्याएको हुन्छ । यो खास गरेर वैशाखमा पर्ने भएकाले गर्मी मौसम हुन्छ । यति बेला मान्छे खेतबारीमा काम गरेको गर्मीले शरीर तातेको हुन्छ । तातोले शरीर गलेको हुन्छ । त्यस्तो बेला जौको सातु र सक्खरको सर्वतले शीतलता गराउँछ । त्यसैले यो खाना पौष्टिक दृष्टिले एकदमै राम्रो छ ।
यो खानेकुरा हाम्रो परम्परादेखि चलिआएको हो । यसलाई अन्नको रूपमा गणना गरिन्न । पवित्र, बस्तु भगवान्लाई चढ्ने, पूजामा चढ्ने फलका रूपमा लिइन्छ । पछिल्लो समयमा भने, यो खानुपर्छ भन्ने चेतना पनि बढेको छ । खासगरी गहुँको विकल्प के हो भनेर खोज्दै जाँदा यसको महत्व बुझिँदै छ । यद्यपि अहिले पनि चामल, गहुँ, कोदो जस्ता बस्तुलाई मात्रै खाद्यान्नको महत्वमा राखिएको पाइन्छ । यी खाद्यले बजार लिएको र सहजै बजारमा पाउने भएकाले पनि यसलाई महत्वका रूपमा लिने गरिएको छ । जौलाई भने पूजामा चढाइने र फलाहारको रूपमा लिने गरिएको छ ।
जौका परिकार खानाले शीतलता दिनुका साथै हाम्रो पाचन प्रणालीलाई सक्रिय बनाउने काम गर्छ । त्यसको कारण भनेको यसमा धेरै मात्रामा फाइबर पाइन्छ । यसका साथै प्रोटिन पनि प्रसस्त मात्रामा पाइने भएकाले यो धेरै राम्रो छ । १०० ग्राम जौको परिकार खाँदा १३ ग्राम जति प्रोटिन पाइन्छ । त्यसैले पाचन प्रणाली गडबड भएकालाई यो निकै लाभदायी मानिछ । यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले पाचन प्रणाली कमजोर भएकाले धेरै खानु भने हुँदैन । यो सुगर प्रेसर बढी भएकालाई पनि निकै लाभदायी हुन्छ । यसमा फाइबर बढी हुने भएकाले चिनीको मात्रा एकदमै कम हुन्छ ।
यसलाई हामीले सातु मात्रै होइन, भातको रूपमा पनि खान सक्छौँ । रोटी बनाएर खाए पनि हुन्छ । अझ बिहान ब्रेकफास्टको रूपमा चिया, कफी, दुध, दही, मोही जेमा राखेर पनि खान सक्छौँ । स्वास्थ्यका दृष्टिले यो धेरै नै महत्वपूर्ण छ । पछिल्लो पुस्तामा गहुँ चामलको विकल्पमा पनि यो रोजाइको खाना बन्दै छ । त्यसैले यसलाई आफ्नो रुचीअनुसार सधैँभरी जसरी पनि खान सकिन्छ ।
प्रतिक्रिया