यो रोग एकपटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो । यो रोग लागेपछि शरीरमा अरू रोगले प्रवेश नपाओस् भनेर सचेत हुनपर्छ ।

विज्ञानले जति नयाँ नयाँ औषधिको आविष्कार गरेको छ । रोग र समस्या पनि उत्तिकै छन् । रोगको भिडमा एउटा तर्साउने एउटा नाम हो, सिकलसेल रोग । यो एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुने विज्ञ बताउँछन् । यो रोग लागेका बिरामीमा रक्तकोषहरू गोला आकारमा नभई हँसिया आकारको हुन्छ ।
सिकलसेलका बिरामीको शरीरमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा यसले असरमा पार्छ । शरीरको विभिन्न भागहरूमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा कडा खालको दुःखाइ हुने विज्ञ बताउँछन् । चिकित्सकका अनुसार सामान्यतया रातो रक्तकोषको आयु १२० दिनसम्म हुन्छ । तर, सिकलसेल भएका बिरामीको शरीरमा रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्रै हुन्छ । जसको कारण बिरामीलाई रक्तअल्पताको समस्या हुन्छ । यदि आमा र बुबामा यो रोगको जिन छ भने सन्तानमा पनि यो रोग सर्ने गर्छ ।
०००
सिकलसेलको लक्षण
छिटो छिटो थकाइ लाग्ने ।
सास फेर्न गाह्रो हुने ।
छाती दुख्ने ।
छाती, पेट, हात खुट्टा ढाडमा अचानक कडा खालको दुःखाइ हुने ।
कमलपित्त हुने ।
आँखामा समस्या देखिने ।
अन्धोपना हुनसक्ने ।
पक्षघात हुने सक्ने ।
विभिन्न प्रकारका संक्रमणहरू भइरहने ।
ज्वरो आउने ।
वाकवाक लाग्ने, वान्ता हुने ।
खोकी लाग्ने ।
चिकित्सकका अनुसार कुनै पनि मान्छेमा माथि उल्लेख गरिएको लक्षण देखिएमा स्वास्थ्य परीक्षण गरी उपचार गराउनु पर्छ ।
सिकलसेलका कारण हुने जटिलताबाट बच्ने उपाय
संक्रमणविरुद्ध खोप लगाउने ।
आँखाको नियमित परीक्षण गर्ने ।
रक्त अल्पतालको उपचार गराउने ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने ।
पानी प्रशस्त्र मात्रामा पिउने ।
धेरै तनाव नलिने । सकेसम्म तनाव मुक्त वातावरणमा रहने ।
सुर्तीजन्य पदार्थ तथा मदिरापान नगर्ने ।
००००
सिकलसेल एनिमिया रोगका बारेमा अहिले पनि धेरै मान्छेको जानकारीमा रहेको पाइन्न । यसबारेमा सुन्ने पनि कमै हुन सक्छन् । तर, रोग भनेको रोग नै हो । यसले कुनै पनि बेला कोहीलाई पनि झम्टन सक्छ । चिकित्सकका अनुसार खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ ।
सिकलसेलले विश्वका धेरै मान्छेलाई पिरोलेको छ । त्यसैले त जुन १९ का दिन विश्व सिकलसेल दिवस मनाउने गरिएको छ । यो रोगबारे जनचेतना जागृत गराउने उद्देश्यले नेपालमा पनि सिकलसेल दिवस मनाउने गरिएको छ । यद्यपि यसका बारेमा आममान्छेमा पर्याप्त जानकारी भने छैन ।
सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियनभन्दा बढी मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाका पश्चिमी राज्यहरूमा पहिलोपटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाँके, बर्दिया, दाङ लगायतका तराईका जिल्लाहरू बढी प्रभावित छन् ।
जानकारका अनुसार यी जिल्लाहरूमा बसोबास गर्ने आदिवासी थारू समुदायका मानिसहरू यो रोगबाट सबैभन्दा बढी प्रभावित छन् । त्यसैले नेपाल सरकारले सिकलसेल एनिमियाको उपचार निःशुल्क गर्दै आएको छ । नेपालका थारू समुदायबाहेक अफ्रिका र इन्डियन कन्टिनेटका केही देशका आदिवासीहरूमा पनि यो रोग देखिएको छ ।
यो रोगको गम्भीरतालाई ध्यानमा राखेर नै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आर्थिक वर्ष २०७४/०७५ बाट सिकलसेल एनिमियासम्बन्धी एउटा अनुसन्धान नै सुरु गरेको थियो । अनुसन्धानको पहिलो चरणमा बर्दियाको बारबर्दिया नगरपालिकामा बसोबास गर्ने १ वर्षदेखि २९ वर्षका २० हजार व्यक्तिहरूसित अन्र्तवार्ता लिनुका साथै रगत परीक्षण गर्ने लक्ष्य लिएको थियो । त्यसअनुसार काम पनि भयो ।
०००
सिकलसेल एनिमिया के हो, किन हुन्छ ?
विज्ञका अनुसार सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तिन्छ । एकपटक शरीरमा यो प्रणाली विकास भएमा १ देखि ५० वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्ने चिकित्सक बताउँछन् ।
सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो हुनुका साथै यसको आयु १२० दिनको हुने बताइको छ । सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हँसिया (विकृत) आकारको हुन्छ । यस्तो विकृत रक्तकोषको आयु पनि १० देशदेखि २० दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुँदा सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ ।
रोग लाग्न सक्ने अवस्थामा !
सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुनसक्ने जानकारहरू बताउँछन् । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हँुदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुःखाइ महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।
सिकलसेल भएका व्यक्तिहरूमा शरीरका विभिन्न अंगहरूमा अक्सिजन सहितको रातो रक्तकोषहरू पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरूमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्दछ । यसकै कारण फोक्सोमा रगत पु¥याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्युसमेत हुन सक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।
००००
कसरी बच्ने ?
सिकलसेल एनिमिया निको नहुने रोगहरू मध्येमा पर्दछ । यो रोग एकपटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एक मात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो । यो रोग लागेपछि शरीरमा अरू रोगले प्रवेश नपाओस् भनेर सचेत हुनपर्छ ।
परिवारमा पति र पत्नी दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूबाट जन्मने बच्चाहरूमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरूमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरूलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिने विज्ञ बताउँछन् । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मात्रामा जनचेतना फैलाउन आवश्यक छ । तर, नेपालमा यसका बारेमा पर्याप्त जनचेतना भएको पाइन्न । सरकारले चाहेमा र समुदायले स्वीकारेमा १० वर्षमा सिकलसेल एनिमिया नियन्त्रण गर्न सकिने विज्ञको तर्क छ ।
०००
विश्वमा यसको अवस्था
सिकलसेल एनिमियाका बिरामी संसारमा लाखौँ छन् । अफ्रिका, दक्षिण अमेरिका, युरोपका पनि ग्रिस जस्ता दक्षिणी मुलुक, अरब, क्यारेबियन देशहरू र भारत जस्ता गर्मी बढी हुने मुलुकमा यसका बिरामी रहेको पाइन्छ । पुस्तौँअघि अफ्रिकाबाट अमेरिका पुगेकाहरूमा पनि यो रोग देखिनुले यसका कीटाणुले मानिसलाई पुस्तौँसम्म नछाड्ने देखाउँछ । इन्टरनेटमा उपलब्ध सूचनाहरूले अमेरिकामा अफ्रिकी मूलका हरेक ५०० जनामध्ये १ जना र दक्षिणी अमेरिकी मूलका १ हजारमा १ जना यो रोगबाट पीडित रहेको देखिन्छ ।
अमेरिकालगायत विकसित मुलुकहरूमा यो रोग वंशानुगत सर्ने प्रमाणित भइसके पनि सदियौँदेखि तराईको गर्मीमा बसोबास गर्ने थारू समुदायलाई यो रोगले कुन मात्रामा सताएको छ भन्ने अध्ययन भएको पाइँदैन । बाँके, बर्दियाका थारूहरूबीच अध्ययन गरेर सन् १९९१ मा ‘अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्स’ ले प्रकाशित गरेको रिपोर्टमा भने सिकलसेल ट्रेन्ड भएकालाई मलेरिया लाग्ने सम्भावना सामान्य मानिसलाई भन्दा ७ गुणा कम हुने उल्लेख छ ।
००००
सिकलसेल सामान्य रोग होइन

सिकलसेल एनिमिया भनेको हाम्रो शरीरमा हुने रातो रगतमा हुने एकप्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरू गोला आकारमा नभई हँसिया आकारको हुन्छ ।
नेपालको सन्दर्भमा भन्दा यो कमन रोग हो । नेपालको बाँके बर्दिया बस्ने चौधरीहरूमा यो बढी देखिने गरेको छ । त्यस क्षेत्रमा बस्ने अरूलाई पनि देखिने गर्छ । त्यस क्षेत्रमा बस्ने चौधरीहरूमा बढी देखिनका कारण भनेको जिनको कारण हो । यो रोगले गाँजेपछि मान्छेमा बढी तनाव हुन्छ र शरीरका अरू अंगमा पनि कुनै रोग लाग्यो वा कुनै संक्रमण भयो भने पनि यो सक्रिय हुन्छ ।
यसका लक्षण भनेको हातखुट्टाहरू दुख्ने, जिउ दुख्ने, छाती दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । अझ शरीरको रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भइरहने, शरीरको विभिन्न भागमा दुःखाइ महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ । बिस्तारै शरीरको रगत डल्लासमेत पर्छ । बिस्तारै नसाहरूमा समेत रगत जमेर मासुले रगत पाउँदैन । त्यसपछि हृदयघात हुने, पक्षघात हुने जस्ता समस्या हुनसक्छ ।
यसको लागि बच्न पहिलो कुरा उपचार गरेर पहिचान गर्नुप¥यो । त्यसपछि चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ । यसका उपचारका लागि ‘हाइड्रोजी युरिया’ भन्ने औषधि पाइन्छ । अहिले त्यही औषधिले हो काम गर्ने । यसले हेमाग्लोबिनको मात्रा बढाउँछ र त्यसले काम गर्छ । तर, औषधिले पनि काम नगरेको अवस्थामा भने, बोनम्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्ने हुन्छ ।
यो सामान्य रोग होइन, यसले मान्छेलाई निकै दुःख दिन्छ । उपचारका क्रममा कैयौँ बिरामीको दुःखाइ र पीडा देखिएको छ । हातखुट्टाको नशामा रगत जमेर हातखुट्टा काट्नु पर्नेसम्मको अवस्था आउन सक्छ । त्यसैले सिकलसेल भएको मान्छेलाई अरू रोग लाग्नबाट बचाउनु पर्छ । रुघाखोकी लाग्न नदिने, कुनै पनि संक्रमण हुन नदिने । खानपानमा ख्याल गर्ने गर्नुपर्छ ।
सिकलसेल एनिमिया रोगका बारेमा अहिले पनि धेरै मान्छेमा जानकारी रहेको पाइन्न । यसबारेमा सुन्ने पनि कमै हुन सक्छन् । तर, रोग भनेको रोग नै हो । यसले कुनै पनि बेला कोहीलाई पनि झम्टन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । त्यसैले यसका बारेमा हेलचेक्र्याइँ गर्नु हुँदैन । बेलैमा उपचार गरेर रोकथाम गर्नुपर्छ ।
प्रतिक्रिया