हराउँदै सन्थालको मौलिक परिकार ‘सोडे’

‘सोडे’ सन्थाल जातिको परम्परागत मुख्य परिकार हो । यसलाई उनीहरू आफ्नो मौलिक र पुरानो परिकारसमेत मान्छन् । तेलमा चामल र मासु मिसाएर तयार पारिने यो परिकार अचेल सो समुदायमा कमै पाक्छ । सन्थाल युवा विनोद हास्दाको निष्कर्षमा यसको मुख्य कारण आधुनिकताको बढ्दो प्रभाव हो । उनले यो बिर्यानीजस्तै परिकार भएको सुनाए । विनोदले भने, ‘सोडे भनेको तेलमा चामल फुराएर कुखुरा, बोका र परेवाको मासु मिसाएर बनाइने परिकार हो, यो बिर्यानीजस्तै हुन्छ ।’ सोडेलाई ‘खिचडी’ भने पनि फरक नपर्ने उनले बताए ।


सन्थाल समुदायको ठुलो पर्व सोरायाको मुख्य परिकार नै सोडे हो । प्रत्येक वर्ष माघमा मनाइने सोरायामा सोडे अनिवार्य पकाइन्छ । सोडे नबनाई सोराया नै हुँदैन । सन्थाल समुदायको चाडपर्व, रमाइलो मेला, उत्सवमा यो परिकार अनिवार्य बनाउनैपर्छ । ‘सोरायामा अनिवार्य सोडे पकाइन्छ, आपसमा बाँडेर खाने चलन छ,’ विनोदले सुनाए, ‘सोरायामा भेला भएका पाहुना र अन्यलाई पनि सोडे नै खुवाइन्छ । सोडे नभए हाम्रो जातिको पर्व नै खल्लो हुन्छ, सोरायाको पहिलो रोजाइको परिकार नै सोडे हो ।’ केही वर्षअघिसम्म सन्थाल समुदायले आआफ्नै घरमा सोडे बनाएर खाने चलनसमेत थियो । अहिले त्यो क्रम ह्वात्तै घटेको छ । आफू केटाकेटी हुँदा घरमै सोडे पकाएर अभिभावकले खुवाएको सम्झना विनोदसँग ताजै छ ।

सन्थाल पूर्वी तराईका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा बसोबास गरिरहेको लोपोन्मुख समुदाय हो । आफूहरूको जनसंख्या ७० हजारको हाराहारी हुन सक्ने मेचीनगर–१५ मिलडाँडाका चुण्डा हास्दाले बताए । उनले झापामा ४५ हजार, मोरङमा ३१–३२ हजार र सुनसरीमा ५ हजारको हाराहारी सन्थालको जनसंख्या भएको चुण्डाले दाबी गरे । २०७८ सालको जनगणनाअनुसार सन्थालको जनसंख्या ५३ हजार ६७७ छ । ७१ वर्षीय चुण्डाले भने, ‘सोडेबिना सोराया नै हुँदैन । चामल–मासु मिसाएर पकाउने सोडे हाम्रो मौलिक र पुरानो परिकार हो ।’ परम्परागत सोडेको इतिहास सन्थाल जातिको उत्पत्तिसँगै जोडिएको छ । सन्थाल जाति भारतको दुम्काबाट नेपाल आएको मानिन्छ । उनीहरूले संस्कार, संस्कृति पनि सँगै लिएर आएको मानिन्छ । सन्थाल जातिको उद्गमस्थल अफ्रिका भएको चुण्डाले किंवदन्ती सुनाए । आफूहरूको उद्गमस्थल अफ्रिका हिहिडी भएको उनीहरूको विश्वास छ । देशलाई सन्थाल भाषामा हिहिडी भनिन्छ ।

यो सन्थाल समुदायको मिठोमसिनो परिकार पनि हो । उनीहरूले मनाउने चाडबाडको बेला यो परिकार बनाइन्छ । सोडे अरू बेला खासै नपाक्ने चुण्डाले सुनाए । उनले भने, ‘सोडे बनाउन मासु चाहिन्छ, सधैँ मासु हुँदैन, सधैँ पकाउन सम्भवै हुन्न ।’ चाडपर्वका निम्तालु र सोरायामा जम्मा भएकालाई भोज खुवाउन सोडे अनिवार्यजस्तै भएको चुण्डाले सुनाए । अहिले फलफूल र अन्य सफ्ट ड्रिंक खाने चलन पनि छ । चाडपर्व तथा उत्सवमा जाँडरक्सी अनिवार्यजस्तै हुन्छ । सोरायालगायत पर्वमा प्रायः जाँडरक्सी छुट्दैन । पर्वमा फलफूल र फूलपाती चढाउने र अन्य पेयपदार्थ खाने नयाँ नियम चले पनि सोडे अनिवार्य पकाउने गरेको चुण्डाले बताए ।

सोडे २ प्रकारको हुन्छ । पशुपक्षीको शिरतिरको भाग मिसाएर बनाएको सोडे पुरुष जातिका लागि हो । शरीरको पछाडिको मासु मिसाएर बनाएको सोडे निम्तालु महिला र अन्य पाहुनालाई दिने चलन छ । खुट्टा, टाउको र पखेँटा मिसाएर बनाएको सोडे सो समुदायका एकाघरका पुरुष दाजुभाइले खाने चलन छ । सो समुदायका महिला र ज्वाइँचेला र अन्य पाहुनाका लागि खुट्टा, टाउको, पखेँटाबाहेकको मासु मिसाएर बनाएको सोडे दिइने पुरानो प्रचलन हो । कुखुरा, बोका, परेवा नै सोडे पकाउने मासुका परिकार हुन् । सुँगुर, बंगुरको मासु खाए पनि सोडेमा त्यसको प्रयोग खासै हुँदैन । उनीहरू राँगाभैँसीको मासु खाँदैनन् ।

आफूलाई कट्टर हिन्दु मान्ने विगत भए पनि सो समुदायमा अहिले क्रिस्चियन प्रभाव बढेको छ । उनीहरूको धर्म सर्ना हो, जो हिन्दुसँग मेल खान्छ । तर, सर्नाको बारेमा उनीहरूलाई खासै थाहा छैन । ‘पहिला हामीलाई धेरै मानिसले यसरी नै सोधेको र हामीले सबै कुरा बताएपछि हाम्रो धर्म ठिक, तिमीहरूको राम्रो रहेनछ भनेर गए । तपाईंले यसरी किन सोधेको ?’ स्थानीय शम्भु हास्दाले प्रश्न गरे, ‘हाम्रो धर्मका विषयमा जान्न खोजेको त होइन नि !’ छेवैमा रहेका विजय हास्दाले पृथक शैलीमा सोधे, ‘तपाईं क्रिस्चियन हो ।’

विषयबाट एकाएक मोडिएको यो संवादले उनीहरू धर्म परिवर्तनप्रति बेखुस रहेको दर्साउँछ । धुमधामले दसैँ, तिहार मनाउने गरेको सुनाएका उनीहरूले तिहारको पहिलो दिन गोठ, ग्वालीमा पूजा गर्ने, दोस्रो दिन गाईबस्तुलाई खुवाउने र तेस्रो दिन तेल लगाइदिने, ढोग्ने गरेको सुनाए । तिहारमा गाई, गोरूलाई नुहाइधुवाइ गरेर आफूहरूले ढोग्दै माफी माग्ने गरेको पुरानो संस्कार उनीहरूले सुनाए । चुण्डाले भने, ‘दसैँतिहारमा पनि हामी भेला हुन्छौँ, पूजा गर्छौं, त्यसबेला पनि हामीले खाने मुख्य परिकार सोडे नै हो ।’ सोडेबिना उनीहरूको चाडपर्व खल्लो हुने चुण्डाको भनाइले पुष्टि गर्छ ।

सोरायामा उनीहरू पहिलो दिन जाहेर हायु, दोस्रो दिन माजीहडाम, तेस्रो दिन काली, चौथो दिन महादेव र पाँचौँ दिन माराङबुरुको पूजा गर्छन् । यी सबै पूजा घरबाहिर नै हुन्छ । घरबाहिर गरिने त्यस्तो पूजामा केही रकमसमेत उठ्ने गरेको छ । धेरै पैसा जम्मा भए धेरै सोडे पाक्छ । पूजा सकेपछि उनीहरू सामूहिक रूपमा सोडे खान्छन् । जातीय संस्कारअनुसार मनाइने सोरायालगायत चाडपर्वमा बिहे गरेर गएका छोरीचेलीलाई बोलाउने चलन छ । निम्तो मान्न आएका छोरीचेली र ज्वाइँचेलालाई टाउको, पखेँटा र खुट्टा मिसाएर बनाएको सोडे दिन नमिल्ने चुण्डाले सुनाए ।

पहिलापहिला घर घरमा छोरीचेलीलाई लिन जाने चलन थियोे । अहिले सञ्चार सुविधाका कारण फोन गरेर बोलाउने गरेको विनोदले सुनाए । उनले भने, ‘जसरी बोलाए पनि उनीहरूलाई दिने मुख्य परिकार सोडे नै हो, सोडे नदिई पर्व, पर्व जस्तो नै हुँदैन ।’ सामूहिक पूजा माझीहडामले गर्छन् । सन्थाल समुदायमा माझीहडामको आदेश मान्ने चलन छ । माझीहडाम गाउँको नाइकेजस्तै हो । धामीको काम पनि माझीहडामले नै गर्ने प्रचलन छ । सन्थाल जातिको घरनजिक माझीथान हुन्छ । त्यो थान माटोको ढिस्कोमा काठको मौलो ठड्याएर बनाइएको हुन्छ । त्यही थानमा पूजा गर्ने चलन छ ।

सन्थाल समुदायले गर्ने जाहेर हायु (पृथ्वी), माझीहडाम, काली, महादेव र माराङबुरु ( परमपिता ) पूजामा भोग दिने चलन छ । माझीहडामलाई उनीहरू मानिस जन्माउने र हुर्काउने महादेउका रूपमा लिन्छन् । यी देउतालाई सम्झेर गरिने पूजामा ढुंगामाटोले बनाइएको थानमा पशुपक्षीको रगतको भोग दिने संस्कार छ । टाउको पनि त्यहीँ चढाइन्छ । पछि त्यो प्रसादका रूपमा सोडे बनाएर खाने चलन छ । आधुनिकतासँगै सोडे ओझेलमा परेको चिन्तामा सन्थाल प्रौढ पुस्ता छ । धर्म, संस्कार, रीतिरिवाज र परम्परामाथिको प्रहार नरोकिए आफ्नो जातिको पहिचान गुम्ने खतरा रहेको चुण्डाको निष्कर्ष छ ।

प्रतिक्रिया