
लुम्बिनी प्रदेशको भूगोल जति विविधतापूर्ण छ, यहाँको हावापानीमा शताब्दियौँदेखि पाकिरहेका रैथाने खान्कीको सुगन्ध पनि उत्तिकै बहुआयामिक छ । दक्षिणमा मर्चवारका तप्त फाँटहरू, जहाँ गुइँठाको आगोमा लिट्टी सेकाइनेदेखि उत्तरमा पाल्पा र अर्घाखाँचीका चिसा लेकहरू, जहाँ सिस्नो र कोदोको ढिँडोले जीवन धान्छ । यो प्रदेशको खान्की केवल पेट भर्ने माध्यम मात्र होइन, यो यहाँको सभ्यता, संघर्ष र पहिचानको जीवित ऐना हो । तर, आजको इन्स्ट्यान्ट र फास्ट फुडको क्षणिक र घातक स्वादमा हाम्रा कैयौँ रैथाने स्वादहरू ओझेलमा पर्दै गएका छन् । कतिपय परिकार केवल वृद्धवृद्धाको स्मृतिमा सीमित छन् भने कतिपयले आधुनिक होटलका मेनुमा नयाँ जीवन पाएका छन् । लुम्बिनीको यो स्वाद यात्रामा हराएका र जोगिएका ती मौलिक स्वादहरूको गहिराइमा पुग्नैपर्ने अवस्था सिर्जना भएको छ ।
हाम्रो यात्रा सुरु हुन्छ— मर्चवार र कपिलवस्तुको दक्षिणी समथर मैदानबाट । यहाँको साँझको दृश्य कुनै समय निकै रोचक हुन्थ्यो । तौलिहवाका ६५ वर्षीय रामदयाल ठाकुर विगत सम्झिँदै भन्छन्, ‘घरघरका आँगनमा गुइँठा (गोबरको सुकेको चक्का) बालिन्थ्यो र त्यसको मन्द आगोमा गहुँको पिठोका डल्लाहरू सेकाउन सुरु गरिन्थ्यो । यो मधेसको मौलिकता र पहिचान, लिट्टी–चोखा थियो ।’ लिट्टी बनाउने प्रक्रिया आफैँमा एउटा विशिष्ट कला हो । गहुँको पिठोभित्र सातु (भुटेको जौ वा चनाको पिठो), ज्वानो, मरिच, तोरीको तेल र कागतीको रसको मिश्रण (गुलियो लिट्टीका लागि भेली) भरिन्छ । जब यो लिट्टी गुइँठाको रातो खरानीमुनि कडा भएर पाक्छ, यसको बास्नाले पूरै टोल मगमगाउँछ, जो अद्यापि यदाकदा मात्र देख्न पाइन्छ । यसको अभिन्न साथी हो— ‘चोखा’, जुन मन्द आगोमै पोलेर तयार पारिएको भान्टा, आलु र गोलभेँडाको चटनी हो । जसको स्वादै विशेष हुन्छ ।
मर्चवारी गाउँपालिका–२ का ६६ वर्षीय रामसुमेर ठाकुरका अनुसार लिट्टी केवल खाना होइन, यो एकताको प्रतीक पनि हो । जाडोको रातमा आगोको घेरामा बसेर तातो लिट्टी फुक्दै खानुको सामाजिक अर्थ बेग्लै हुन्छ । तर, बिस्तारै यो परिकार घरको मौलिक चुल्होबाट सरेर होटलका ग्याँस चुल्होमा पुगेको छ, जहाँ रैथाने माटो एवं गुइँठाको सुगन्ध नहुने भएकाले यसको मौलिकता बिस्तारै संकटमा पर्दै गएको छ र हाम्रा पुर्खाको मौलिक नासो पुस्तान्तरणको त्राणमा छ ।

मधेसबाट अलि उत्तर लागेपछि थारू समुदायको बाहुल्य भएका क्षेत्रहरू भेटिन्छन् । थारू खान्की प्रकृतिसँगको गहिरो प्रेम र निर्भरताको उपज हो । यहाँको सबैभन्दा चर्चा गरिने परिकार हो— घोँगी । ‘नदी, पोखरी वा खेतको कुलोमा पाइने घोँगीलाई टिपेर, त्यसको पुच्छर काटेर सफा गरिन्छ । यसलाई चामलको लिटो (पिठोको लेदो) र विशेष स्थानीय मसला हालेर पकाएपछि जुन रस तयार हुन्छ, त्यसले जिब्रोमा बेग्लै स्वाद छाड्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की लक्ष्मी थारू भन्छिन्, ‘हाम्रो समुदायमा घोँगीलाई ‘सुपरफुड’ मानिन्छ, जसले हड्डी र जोर्नीको दुखाइ निको पार्ने विश्वास गरिन्छ ।’
घोँगीसँगै अनिवार्य रूपमा आउने थारू परिकारको अर्को नाम हो— ढिक्री । चामलको पिठोलाई विभिन्न आकार दिएर बाफमा पकाई बनाइने यो परिकार स्वास्थ्यका दृष्टिले अत्यन्तै उत्कृष्ट र पाच्य मानिन्छ । पहिले बिहानको खाजा नै ढिक्री र सिध्रा (सुकाएको माछा) हुन्थ्यो । तर, आजका पुस्ता मःमः र चाउमिनतिर झुम्मिएका कारण यी रैथाने स्वादहरू ओझेलमा पर्दै गएका छन् । तुलसीपुर उपमहानगरपालिका (दाङ)की ७५ वर्षीया कमलावती थारू भन्छिन्, ‘यहाँका केही होमस्टेहरूले यी स्वादलाई पर्यटकसम्म पु¥याएर जोगाउन भूमिका खेलेको देखिन्छ ।’

कुनै समय कपिलवस्तु, रूपन्देही र नवलपरासीको दक्षिणी भेगमा महुवा रूखको ठुलो महत्व थियो । वैशाखको गर्मीमा यसको फूल टिपेर सुकाउने काम हुन्थ्यो । महुवाको फूलबाट बनाइने रोटी, पुवा र लड्डु विपन्न वर्गका लागि अर्गानिक ऊर्जाको प्रमुख स्रोत थियो । तर, पछिल्लो समय महुवाका रूखहरू काटिने क्रम बढ्यो र यसलाई केवल अवैध मदिरा बनाउने कच्चा पदार्थका रूपमा मात्र हेर्न थालियो । फलस्वरूप, महुवाबाट बन्ने ती पौष्टिक र स्वादिला परिकारहरू आज लुम्बिनीको भान्साबाट पूर्णतः लोप भइसकेका छन् । यो एउटा यस्तो खान्कीको यथार्थ कथा हो, जो बढ्दो आधुनिकता एवं वन विनाशको सिकार बन्न पुग्यो ।
तराईको गर्मीलाई छाडेर जब हामी पाल्पा, गुल्मी र अर्घाखाँचीका पहाडहरू उक्लिन्छौँ, त्यहाँको खान्कीमा एक किसिमको सादगी र शक्ति भेटिन्छ । यहाँको मौलिक खान्की हो— सिस्नो र मकैको ढिँडो । त्यहाँका जंगलहरूमा प्राकृतिक रूपमा उम्रिने सिस्नोलाई टिपी सुकाएर वा ताजै पकाइएको लेदो (खोले) र तातो ढिँडोको मेलले पहाडी जनजीवनको कठोर परिश्रमका लागि ऊर्जा दिन्छ । स्थानीय मेघनाथ आचार्य भन्छन्, ‘पहिले यसलाई गरिबको खाना भनेर हेला गरिन्थ्यो, तर आज यसको औषधीय गुण थाहा पाएपछि सहरका तारे होटलहरूमा यो अर्गानिक परिकारका रूपमा महँगो मूल्यमा बिक्री हुन थालेको छ ।’
योसँगै जोडिएको अर्को स्वाद हो— फाँडो । भटमास वा मासको दालको पिठोबाट बनाइने यो बाक्लो झोल पहाडी भेगको जाडो भगाउने अस्त्र पनि हो । आचार्यका अनुसार— ‘अहिलेका भान्साहरूमा रेडिमेड दाल र मसलाका कारण फाँडो बनाउने सीप नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन ।’ लुम्बिनी प्रदेशको खान्कीको चर्चा गर्दा पाल्पाली चुकाउनीलाई बिर्सिन सकिँदैन । यो सम्भवतः लुम्बिनीको सबैभन्दा सफल र लोकप्रिय ब्रान्ड हो । निरन्तर पाल्पा यात्रा गरिरहने ५६ वर्षीय गोविन्दबन्धु आर्यालका अनुसार, ‘दही, उसिनेको आलु, जिरा–मेथीले झानेको मसला तथा कागतीको रस मिश्रित यो अमिलो–पिरो मिश्रणले जोकोहीको जिब्रोमा पानी ल्याउँछ ।’

चुकाउनीको अभिन्न साथी हो— बटुक । मास वा केराउको दाललाई भिजाएपछि पिसेर र डोनटको आकार दिएर तेलमा तारिएको यो परिकार लेकाली समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ । माघे संक्रान्तिमा बटुक नभई मगर जातिको पूजा र सगुन पूरा हुँदैन । यही सांस्कृतिक अनिवार्यताले बटुकलाई लोप हुनबाट जोगाएको छ । आज यही परिकार पाल्पाको प्रमुख पर्यटकीय आकर्षण बनेको छ ।
लुम्बिनी सेरोफेरोअन्तर्गत माटोको एउटा विशेषता हो भने यहाँको धान अर्को विशेषता । कपिलवस्तुमा फल्ने कालानमकलाई ‘बुद्धको चामल’ भनिन्छ । यसको बास्ना धेरै तेजिलो हुन्छ । खेतमा धान पाक्दा पूरै गाउँ मगमगाउँछ । यो चामलबाट बन्ने खिर र भातको स्वाद अतुलनीय हुन्छ । त्यस्तै, थारू समुदायमा प्रचलित आनन्दी चामलको आफ्नै कथा छ । यो चामलबाट बन्ने ‘लट्टे’ (गुलियो चाम्रे) र ‘सिल्हँट’, ‘भाका’, ‘चेची÷चिचार’ जस्ता परिकारहरू पौष्टिकताले भरिपूर्ण हुन्छन् । तर, हाइब्रिड बिउको आक्रमणले कालानमक र आनन्दीजस्ता रैथाने धानका प्रजातिहरू ओझेलमा पर्दै गएका छन् । जब बिउ हराउँछ, त्यससँगै शताब्दियौँको स्वाद र संस्कृति पनि सँगै विलय हुन्छ ।
वसन्त ऋतुमा फुल्ने कोइरालो फूलको अचार यहाँको पहाडी र भित्री मधेसको विशेष परिकार हो । त्यस्तै, पहाडी भेगमा डुम्री, काउरो तथा सिप्लीकानको अचार र मधेसमा ख्यातिप्राप्त पाकड (डुमरी वा काउरो) को टुसा महत्वपूर्ण मानिन्छ । यसलाई गुन्द्रुकजस्तै बनाएर वा काँचैमा उसिनेर तरकारी र अचारका रूपमा खान मिल्छ । मधेसमा गहुँको पिठोभित्र दाल वा खुवा भरेर बनाइने परिकार पनि आधुनिक मिठाइका कारण विस्थापित हुने अवस्थामा छन् । पहिले भात पकाउँदा निस्किने बाक्लो रस (माड) मा नुन हालेर पिउने चलन थियो, जो स्वास्थ्यका लागि अत्युत्तम भए पनि अचेल त्यसलाई ‘वेस्ट’ (खेर जाने) भन्दै फालिन्छ ।

लुम्बिनी प्रदेशका रैथाने खान्कीहरू केवल स्वादमा होइनन्, यी त हाम्रा पुर्खाले प्रकृतिसँग गरेको सम्झौता र सिकेका जीवनोपयोगी सीप हुन् । लिट्टीको आगोदेखि सिस्नोको चिसो लेकसम्मको यो विविधता नै लुम्बिनी प्रदेशको पुस्तैनी सम्पत्ति र संस्कृति हो । तर, यथार्थ के हो भने हाम्रा धेरै मौलिक स्वादहरू आज लोपोन्मुख अवस्थामा छन् । पुरानो पुस्तासँगै यो ज्ञान पनि हराउँदै छ भने नयाँ पुस्तामा बनाउने सीप छैन । लुम्बिनीको पर्यटनलाई दिगो बनाउने हो भने यहाँको फुड कल्चरलाई जोगाउनु अनिवार्य छ ।
तराईदेखि पहाडसम्म प्रचलित एक अत्यन्तै पौष्टिक र सुपाच्य नेपाली परिकार हो— खिचडी । विशेष गरी माघे संक्रान्तिमा मासको दालको खिचडी खाने धार्मिक एवं सांस्कृतिक परम्परा छ । ‘आयुर्वेदले यसलाई ‘त्रिदोष नाशक’ र पूर्ण भोजन मानेकाले बिरामीदेखि बालबालिकासम्मका लागि यो उत्तम आहार हो,’ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरई भन्छन्, ‘चामल, दाल, घिउ र मौसमी तरकारीले यसलाई स्वास्थ्यवद्र्धक बनाउँछ । दही, पापड, अचार र घिउसँग पस्किने यो परिकार बनाउन जति सरल छ, शरीरका लागि त्यति नै लाभदायक छ ।’ आधुनिक खानपानको युगमा पनि खिचडी आफ्नो सादगी र औषधीय गुणका कारण सबैको भान्सामा लोकप्रिय रहेको उनी बताउँछन् ।

रूपन्देही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाको भनाइअनुसार— ‘हामीले यी स्वादलाई जोगाउन सकेनौँ भने भोलिका पुस्ताले यहाँको स्वाद इतिहासका पानामा मात्र पढ्न पाउनेछन् । लुम्बिनीको पर्यटनलाई दिगो बनाउने हो भने यहाँको फुड कल्चर जोगाउनु अनिवार्य छ । जसरी चुकाउनी र घोँगीले व्यावसायिक सफलता पाए, त्यसरी नै महुवा, फाँडो र कालानमकका परिकारलाई पनिपुनर्जीवित गर्नुपर्छ । स्थानीय सरकारले रैथाने खान्कीको संरक्षण र प्रवद्र्धनका लागि विशेष नीति ल्याउनु जरुरी छ । हाम्रा भान्साहरूबाट आउने त्यो रैथाने सुगन्ध नै हाम्रो सभ्यताको असली पहिचान मात्र नभएर हाम्रो सांस्कृतिक परम्पराको गौरवशाली धरोहर पनि हो ।’
प्रतिक्रिया