
काठमाडौँ । कुन समय थियो मकै, कोदो, फापर, जौ, कन्दमूललगायतबाट बनेका परिकार लुकीछिपी खाने, तर बाहिर चामलको भात खाएको देखाउनुपर्ने वाध्यता थियो । जौको रोटी, सातु, मकै च्यांख्लाको भात तथा ढिँडो, कोदो र फापरको ढिँडो र रोटी खाएमा गाउँमा सबैले गरिब भनेर हेप्ने चलन पनि थियो । सुदूरपश्चिमका अधिकांश ग्रामीण भेगमा सयौँ यस्ता खान्कीहरू उपभोग नै नगरी खेर जान्थे । कतिपय ठाउँमा त मानिसहरू अरूलाई देखाउनकै लागि भए पनि भात खाने गर्दथे ।

पुरानो पुस्ताका मानिस भएको कतिपय घरपरिवार तथा समुदायमा अझैँ केही खान्की चलनचल्तीमै छन्, भने धेरैजसोको घरमा पुराना पुस्ताका मानिस अस्ताएसँगै रैथाने खान्की पनि पाइन छाडेका छन् ।

होटल व्यवसायी महासंघका उपाध्यक्ष कलमबहादुर बमका अनुसार पहिला पहिला गाउँघरका भान्सामा मकै, कोदो, फापर र जौका परिकार पाक्नु गरिबीको प्रतीक मानिन्थ्यो । सौर्य दैनिकसँग कुराकानीको क्रममा बमले भने, ‘चामलको भात खान पाउनु ठुलै प्रतिष्ठाको विषय हुन्थ्यो । तर, समय चक्र यसरी घुम्यो कि हिजोका तिनै हेला गरिएका रैथाने बाली आज सहरका धनाढ्यहरूको घरमा र तारे होटलका मेनुमा महँगो मूल्यमा राखिन थालेका छन् ।’ स्वास्थ्यवर्धक मानिने अधिकांश खान्कीहरू लोप भए पनि केही खान्कीहरूको अहिले सहर बजारमा राम्रै खोजी हुने गरेको बमको भनाइ छ ।
नेपालको रैथाने खान्कीबारे लामो समयदेखि आवाज उठाउँदै आएका होटल व्यवसायी संघ कैलालीको अध्यक्षसमेत भइसकेका बम भन्छन्, ‘हाम्रा मौलिक खानेकुराहरू लोप हुनुमा पश्चिमा संस्कृतिको अन्धो अनुकरण र बजारीकरण मुख्य कारक देखिएको छ । उदाहरणका लागि, हाम्रा बालबालिकाहरू घरमा भुटेको मकै खान मान्दैनन्, तर त्यही मकै प्याकेटमा पपकर्न बनेर आउँदा खुसीसाथ खान्छन् । आलु तारेको भन्दा नाक खुम्च्याउछन् तर फ्रेन्च फ्राइज भनेर दियो भने बडो मिठो मानेर खान्छन् । जौको सातुको गुणस्तर हर्लिक्सभन्दा सयौँ गुणा बढी छ, तर सातु अहिले लोप भइसकेको छ ।’


सुदूरपश्चिमका लोप भइसकेका अधिकांश खान्कीहरू नयाँ पुस्ताले देख्नसमेत पाएका छैनन् । बसाइँसराइ, रैथाने बाली अभाव तथा आयातमुखी बजारका कारण बजारमा रैथाने उत्पादनभन्दा विदेशी उत्पादन धेरै हु“दा नयाँ पुस्ताले गाउँमा फल्ने तथा पाक्ने ती पुराना खान्कीको दर्शनसमेत नपाएको आवस्था छ । उन्नत जातको बिउका कारण स्वस्थकर हुने रैथाने अन्नबाली हराउँदै गएका छन् । उन्नत बिउ, बसाइँसराइजस्ता कारणले नेपालमा स्थानीय जातका बाली मात्र हराउँदै छैनन्, बिउ संरक्षणको परम्परागत ज्ञान पनि हराउँदै जान थालेको छ । खेतीको तरिकादेखि बालीको संरक्षण भण्डारण र प्रशोधन गर्ने तरिका पनि हराउँदै गएको छ । नयाँ नयाँ मेसिनरी वस्तुको कारण रैथाने खेतीको तरिका र उत्पादनको गुणस्तरीयता पनि हराउँदै गएको छ ।
सुदूरपश्चिमको पुरानो पुस्तासँगै रैथाने खान्कीहरू हराउँदै गएका छन् । सुदूरपश्चिमका गतानी डुब्का, फाँडो, जौ को रोटी (रोटा), सातु, स्थानीय उत्पादन प्रयोग गरेर तयार गरिने रोटा र तिउन, तरकारीहरू लोप हुँदै गएका छन् । त्यस्तै, रैथाने सख्खर (गुड), तिल र गुड कुटेर बनाइने लड्डु, गहुँको बाला पोलेर बनाइने उमा पनि लोपोन्मुख अवस्थामा छ । कुभिन्डो, स्थानीय लौका, फर्सी जस्ता तरकारीहरू पनि लोप भइसकेको अवस्था छ । खनिउँ, जामुन जस्ता फल खाने जिम्मा अहिले मानिस छैनन्, तिनको पनि चलन हराइसकेको छ ।
बेथे पुलाउ र झुनमुने माणा (चामल, गहुँ, कोदो, मकै, मासको पिठो गिलो बनाएर तावामा हाल्ने रोटी), घोगा रोटा (मकैको रोटी), कोदा रोटा, फापरको रोटा, गहुँको रोटा आदि पकवान अहिले लगभग लोप हुने अवस्थामा छन् । माणा ठाउँअनुसार पकाउने तरिका फरकफरक हुन्छ । माणा बनाउँदा साधारण, नुनिलो वा गुलियो बनाउने हो सो को पहिचान गरेर लेदो बनाएर तावामा पकाइन्छ । यसमा पनि १० वटा जति पकवान पर्दछन् ।

त्यस्तै, विभिन्न अन्नको पिठो, गेडागुडी र मौसमी तरकारी मिसाएर बनाइने तिउन पनि अहिले कम पाइन थालेको छ । तिउन भट्टेरोटा (भटमासको रोटी), खजुरी (गुलियो पुरी), मालपुवा (गहुँको गुलियो बाबर), लाउन(सामान्य पुरी), पुरी–रोट (भित्र दाल राखिएको पुरी), मासको बटुक र रोटीसँग खाने गरिन्छ । डुब्का भात, फाउने माणा, चामलका बाबर (सेल), फाँडो पनि अहिले लोपोन्मुख अवस्थामा रहेको छ ।
तराईको चौधरी समुदायमा प्रचलित ढिक्री (चामलको पिठोको पक्वान) जस्ता परिकारहरू पनि अहिले कम पाइने गरेको बम बताउँछन् । बमका अनुसार मिर्गौलाको पत्थरीमा समेत उपयोगी मानिने गहतको झोल (दाल) लोप भएको छ । चामल, गहुँ र भटमासलाई भुटेर घट्ट, जितारो वा मिलमा पिसेर बनाइएको पिठोलाई बाडी भनिन्छ । बाडी सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लोकप्रिय खाद्य परिकार हो । बाडीबाट कसार बनाउन सकिन्छ । पछिल्लो समय यो पाउन छाडेको छ ।
पछिल्लो समय डुब्कालगायतका केही खान्की भने पुन चर्चामा आएका छन् । रेस्टुरेन्टहरूमा यस्ता खान्की पाइन्छन् । गतानी डुब्का, कोदो फापरको ढिँडो र रोटी, फाँडो, बाबर (सेल) जस्ता केही परिकारहरू राजधानी काठमाडौँसम्म मात्रै नभई विदेशसम्म पुगेका छन् । सुदूरपश्चिमका मानिसहरू बसोबास गर्ने विभिन्न देशहरूमा समेत यस्ता केही परिकार व्यावसायिक नै बनाइएको पाइन्छ ।


हिरा चिन्न नसकेका हामी
होटल व्यवसायी महासंघका उपाध्यक्ष बमले सुदूरपश्चिमेली तथा नेपालीले समयमै हिरा चिन्न नसक्दा रैथाने उत्पादन लोप हुने अवस्था आएको बताए । उनले भने, ‘हामीले आफ्नै हिरा चिन्न सकेनौँ । हिजो कोदो–फापर खाएको कुरा लुकाउने समाज आज सुगर, प्रेसर र कोलेस्ट्रोल बढेपछि डाक्टरको सल्लाहमा तिनै खान्की खोज्दै हिँड्नुपर्ने अवस्थामा पुगेको छ ।’
उनले अहिलेको खानपानमा अर्को ठुलो चुनौती भनेको विषादीको प्रयोग बताए । गोठदेखि ओठसम्म र नाली (मानापाथि) देखि थालीसम्मपुग्दा धेरै प्रकारका हानिकारक रसायनहरू मिसिने गरेका छन् । डेरी उत्पादनदेखि तरकारीसम्ममा बढ्दो विषादीका कारण नसर्ने रोगहरूको बढेको समेत उनले बताए । यसबाट बच्नका लागि पनि हाम्रा पुर्खाले खाँदै आएका शुद्ध र प्राकृतिक खान्कीको पुनरागमन अनिवार्य भइसकेको बमको भनाइ छ ।

बढ्दै जनचासो
लोप हुँदै गएका यस्ता रैथाने खान्कीलाई जोगाउन अहिले निजी क्षेत्र र सरकार दुवैले चासो देखाउन थालेका छन् । होटल व्यवसायी संघ कैलालीले केही समयअगाडि धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय खाद्य महोत्सवमा १ हजार लिटरभन्दा ठुलो भाँडोमा डुब्का र फाँडो बनाएर धेरैको ध्यान तान्ने प्रयास गरिएको थियो । उक्त महोत्सवमा ९ जिल्लाका वेषभूषा, खानपान, संस्कार र संस्कृति झल्किने ९ वटा स्टल राखेर प्रवद्र्धन गरिएको थियो ।
पुराना खानेकुराको व्यावसायीकरण गर्नुपर्छ भनेर ठुला–ठुला होटलहरूमा अलग्गै भान्सा (दाउरा) बनाएर रैथाने परिकार पस्कने गरेका पनि छन् । तर रैथाने उत्पादन मागअनुसार पाउन छाडेको होटेल व्यवसायीहरू बताउँछन् ।
गाउँघरका रैथाने अन्नबालीहरू मात्र बिक्री वितरण गर्ने उद्देश्यले सहर बजारमा खोलिएका पसलहरूले यस्ता बाली, बिउ, खेतीको तरिका र मौलिकपन संरक्षण हुन सक्ने आशा जगाएको छ ।


प्रतिक्रिया