
कुनै समय कोदो भन्नासाथ समाजको वर्गीय संरचनालाई झल्काउँथ्यो । गाउँघरमा कोदो खानेलाई गरिबको प्रतीकका रूपमा हेरिन्थ्यो भने भात खानेहरूलाई सम्पन्नताको सूचक मानिन्थ्यो । यही वर्गीय सोचले विस्तारै कोदोप्रतिको आकर्षण घट्दै गयो । परम्परागत रूपमा पोषिलो र स्वास्थ्यका लागि लाभदायक मानिने कोदो, आधुनिकताको दौडमा पछाडि पर्दै गयो । पछिल्ला वर्षहरूमा स्वास्थ्यप्रतिको चेतना बढेसँगै जब कोदोको महत्व फेरि उजागर भयो तब मधेसबाट नै लोप भयो । कुनै बेला मधेसमा मुख्य खेतीको रूपमा उत्पादन हुने कोदो(मडुवा) अहिले लगभग लोप भएको छ । यसलाई माडेर दाना निकाल्ने भएकाले यहाँ मडुवा पनि भनिन्छ । ‘हामीले आफ्नै परम्परागत सम्पदालाई किन बेवास्ता ग¥यौँ ? जबसम्म कोदो गरिबको खाना भनेर चिनिन्थ्यो, तबसम्म यसको उपेक्षा गरियो । अहिले हेल्थ फुडको रूपमा यसको पहिचान स्थापित हुँदै जाँदा भने यसको खोजी भइरहेको छ।’ स्थानिय धनबहादुर खत्रीले भने । ‘अब पुनर्जागरण गर्नुपर्ने देखिन्छ ।’
कोदोको महत्व हराउनुमा वर्गीय सोच मात्र होइन, सांस्कृतिक परिवर्तन पनि उत्तिकै जिम्मेवार छ । नयाँ पुस्ताले परम्परागत खानाभन्दा आधुनिकता झल्काउने परिकार रोज्न थालेको कारणले पनि कोदो लोप हुन थालेको स्थानीय बताउँछन् । अर्कोतर्फ, तीव्र सहरीकरणले कोदोको अस्तित्वलाई चुनौती दिएको स्थानीय बलबहादुर खत्रीको बुझाइ छ । ‘सहरीकरणकै प्रभावले खेतबारी मासिए, जग्गा प्लटिङ हुन थाल्यो र कृषिमा निर्भर जीवनशैली बिस्तारै हराउँदै गयो ।’ उनले भने । ‘जसले गर्दा कोदोजस्तो परम्परागत बाली उत्पादनमा प्रत्यक्ष असर परेको छ । यसले गर्दा बिस्तारै कोदो खेती गर्ने किसानहरू निरुत्साहित भएको नै देखिन्छ ।’ सरकारले समेत धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । तर कोदो उपेक्षामा नै परेको देखिएको छ । कृषिविज्ञहरू सिँचाइ गर्न नपर्ने र कम पानीमा समेत अनुकूल हुने भएकाले मधेसमा कोदो उपयुक्त विकल्प भएको बताउँछन् ।

महोत्तरीका स्थानीय रामजनम महतो पनि कोदो लोप हुनुमा नयाँ पुस्ताको अरुचि नै भएको बताउँछन् । कोदोलाई हामी मरुवा भन्थ्यौँ । पहिले त धेरै उत्पादन हुन्थ्यो । तर छोराछोरीले खानै मन पराउँदैनथे, त्यसैले हामीले धानलाई प्राथमिकता दियौँ । उनी थप्छन्, ‘अहिले भने बजारमा कोदोको माग बढेको छ, तर उत्पादन नै छैन । जसले पनि खोज्छ, तर पाउन गाह्रो छ ।’ कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार कोदोको उत्पत्ति अफ्रिकाको इथियोपिया र युगान्डामा कोदो जस्तै जंगली झारबाट खेती गर्दागर्दै कोदोको प्रजातिको विकास भएको मानिन्छ । कोदोको उत्पत्ति कहिले भएको एकिन नभए पनि भारतीय द्वीपमा ३ हजार वर्षभन्दा पहिले प्रवेश भएको मानिन्छ । नेपालको पहाडी क्षेत्रमा अहिले खेती भए पनि तराईमा भने यो लोप भइसकेको छ । धान उत्पादन हुने ठाउँको खोजीमा तराई झरेका पहाडी समुदायका मानिसहरूले भने अहिले पनि कतिपय ठाउँमा कोदो खेती गरिरहेको देखिएको छ । विशेषगरी चुरे क्षेत्रमा कोदोको उत्पादन भइरहेको प्रदेश कृषि कार्यालयले जनाएको छ ।
देशका ७७ वटै जिल्लामा उत्पादन हुने कोदो उत्पादनको तथ्यांक हेर्दा ३.२ प्रतिशत क्षेत्रफलमा पनि उत्पादन नभएको कृषि प्रशिक्षण केन्द्रको तथ्यांकमा उल्लेख छ । बरु कोदोको आयात भने बढ्दै गएको देखिएको छ । आव २०७९÷०८० मा मात्र ७३ करोड ३२ लाख रुपैयाँ बराबरको १८ हजार ४०३ मे.टन कोदो विदेशबाट आयात भएको तथ्यांक छ । कोदो स्वास्थ्यका दृष्टिकोणले समेत निक्कै लाभदायक छ । यो पौष्टिकताले भरिपूर्ण छ भन्ने विभिन्न अध्यनहरूले प्रमाणित भइसकेको छ । विज्ञहरूको अनुसार कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा चामलमा भन्दा २.३ गुणा, गहुँमा भन्दा १.५ गुणा र मकैमा भन्दा ३.७ गुणा बढी फलामको मात्रासमेत पाइन्छ । बालबालिका, गर्भवती महिला, मधुमेह र रक्तचापको बिरामीलाई यसको सेवनबाट फाइदा पुग्ने अनसुन्धानबाटसमेत पुष्टि भइसकेको चिकित्सक प्रविन मिश्र बताउँछन् ।
जलवायु परिवर्तनपछिको उपयुक्त बाली
मधेस अहिले पानी संकटको गम्भीर चपेटामा छ । वर्षौंदेखि कृषिमा आश्रित यो क्षेत्र पछिल्लो समय घट्दो वर्षा र सुक्दै गएको भूमिगत पानीका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एक समय धान र तरकारी उत्पादनका लागि परिचित क्षेत्रहरूमा अहिले बिस्तारै हरियाली हराउँदै गएको दृश्य सामान्य बन्दै गएको छ । पर्याप्त वर्षा नहुँदा भूमिगत पानीको सतह दिनानुदिन घटिरहेको छ । ट्युबवेल र इनारहरू सुक्न थालेपछि सिँचाइमा निर्भर खेतीपाती प्रभावित भएका छन् । यसको सिधा असर किसानको जीवनशैलीमा परेको छ । कतिपयले खेती नै छाड्न थालेका छन् भने कतिपय विकल्पको खोजीमा अलमलमा छन् । धान फल्ने जमिनमा धान नहुँदा र तरकारी उत्पादन हुने क्षेत्रमा उत्पादन घट्दा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ । त्यसमाथि खानेपानीको अभावले समस्या झनै जटिल बनाएको छ । यस्तो अवस्थामा अब के गर्ने ? भन्ने प्रश्न मधेसका धेरै किसानका लागि साझा चिन्ता बनेको छ ।
विशेषगरी कम पानीमा उत्पादन हुने र सुक्खा वातावरणमा समेत टिक्न सक्ने बालीतर्फ ध्यान दिनुपर्ने सुझाव उनीहरूको छ । यही सन्दर्भमा कोदो फेरि चर्चामा आउन थालेको छ । एक समय गरिबको खाना भनेर हेपिएको कोदो अहिले जलवायु अनुकूल बालीका रूपमा पुनः स्थापित हुँदै छ । जलवायुविज्ञहरूका अनुसार कोदोले न्यून पानीमै राम्रो उत्पादन दिन सक्छ र सुक्खा क्षेत्रमा पनि सजिलै हुर्कन सक्छ । त्यसैले बदलिँदो जलवायु सन्दर्भमा मधेसका लागि यो उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ । आधुनिकता र बदलिँदो खानपान संस्कृतिले विस्थापित गरेको कोदोप्रतिको चासो अहिले फेरि बढ्न थालेको छ । बजारमा यसको माग विस्तारै बढ्दै जाँदा किसानका लागि आयआर्जनको नयाँ सम्भावना पनि देखिएको छ । पोषणका हिसाबले समेत समृद्ध मानिने कोदो स्वास्थ्यप्रेमी पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
किसानलाई आवश्यक तालिम र प्रोत्साहन उपलब्ध गराउन सकेमा कोदो वैकल्पिक बाली मात्र होइन, संकटको समाधानको आधार पनि बन्न सक्ने स्थानीय किसान रामचन्द्र खडकाको बुझाइ रहेको छ । कोदो जलवायु अनुकूलित बालीको रूपमा यसका विशेषताहरूले पनि प्रमाणित गरिसकेको छ । सुक्खा र अल्प वर्षा (वार्षिक ८००–१२०० मिलिमिटर) र उर्वराशक्ति कम भएको माटोमा पनि सहजै फल्न सक्ने बालीको रूपमा कोदोलाई लिइएको छ । समुद्र सतहबाट ३०० मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा कोदो खेती गर्न सकिन्छ । १२० दिनदेखि १८० दिनको अवधिमा पाक्ने बाली धानभन्दा छोटो अवधिमा तयार हुन्छ ।
सन् २०२१ मा भएको संयुक्त राष्ट्रसंघको ७५औँ सभाले ‘खाद्य पोषण सुरक्षा वातावरण तथा ग्रामीण रूपान्तरणमा कोदोजन्य बाली’ भन्ने नारासहित सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेको थियो । सबैभन्दा धेरै कोदो उत्पादन गर्ने मुलुक भारत हो । यस हिसाबले नेपाल १३औँ स्थानमा पर्छ । वार्षिक १७ मिलियन टन कोदो उत्पादन गर्ने भारतले विश्वव्यापी रूपमा कुल क्षेत्रफलको ४० र उत्पादनको २० प्रतिशत कोदो उत्पादन गर्ने तथ्यांक छ ।
प्रतिक्रिया