१६औँ राष्ट्रिय वागवानी गोष्ठी सम्पन्न, पुष्प व्यवसायको नयाँ मार्गचित्र तय

काठमाडौं । नेपालको पुष्प तथा वागवनी क्षेत्रको दिगो विकास र व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित दुई दिने १६औँ राष्ट्रिय वागवनी गोष्ठी’ काठमाडौंको कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय फलफूल विकास केन्द्रको आयोजना तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN) र नेपाल हर्टिकल्चर सोसाइटी (NHS) को समन्वयमा आयोजित उक्त गोष्ठी यही वैशाख ३ र ४ गते शमशीतोष्ण वागवनी केन्द्रको सेमिनार हलमा सञ्चालन गरिएको थियो ।

यस वर्षको गोष्ठी मुख्यतया नेपालमा पुष्प व्यवसाय: अवसर र चुनौतीहरू भन्ने विषयमा केन्द्रित रहेको थियो । गोष्ठीको मुख्य लक्ष्य पुष्प नीतिको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाली फूलहरूको निर्यात प्रवर्द्धनका लागि ठोस भावी कार्ययोजना निर्माण गर्नु रहेको थियो । कार्यक्रममा देशभरका वागवनी विज्ञ, सरकारी अधिकारी र पुष्प व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गोष्ठीको प्राविधिक सत्रमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN) को तर्फबाट दुईवटा महत्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। पहिलो कार्यपत्रमा नेपालमा पुष्प व्यवसायको वर्तमान अवस्था, यस क्षेत्रमा रहेका अवसर, विद्यमान चुनौती र समुन्नत भविष्यका लागि चालिनुपर्ने कदमहरूबारे विस्तृत चर्चा गरिएको थियो ।

त्यस्तै, दोस्रो कार्यपत्रमा नेपालको पुष्प व्यवसायमा वैदेशिक लगानी भित्र्याउने सम्भावना र त्यसका लागि आवश्यक पर्ने नीतिगत सुधारका विषयमा घनीभूत छलफल गरिएको थियो । कार्यक्रमको एक विशेष समारोहका बीच पुष्प तथा वागवनी क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

FAN को सिफारिसमा पुष्प क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई फ्लोरिकल्चर एक्सिलेन्स अवार्ड प्रदान गरियो । जसअन्तर्गत ललितपुरको सृजना फ्लावर नर्सरी (नर्सरी व्यवसायी विधा), काठमाडौंको द एभरेष्ट फ्लावर (कट फ्लावर उत्पादक विधा) र कमलादीस्थित ड्याफोडिल फ्लावर सप (कट फ्लावर खुद्रा विक्रेता विधा) सम्मानित भएका छन्।

यसैगरी, पुष्प व्यवसायको क्षेत्रमा दीर्घकालीन विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ पुष्प विज्ञ एवं फ्यानका सल्लाहकार डा. उमेद कुमार पुनलाई विशेष सम्मान प्रदान गरियो । उनलाई डिस्गटिङ अवार्ड फर लङ टर्म एक्सपर्टबाट सम्मान गरिएको थियो। गोष्ठीको समापनमा सहभागीहरूले यस्ता प्राज्ञिक र व्यावसायिक छलफलले नेपाललाई पुष्प उत्पादनमा आत्मनिर्भर बनाउँदै विश्व बजारमा नेपाली पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया