मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने क्षमता राख्ने प्लास्टिकले प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउने बताइन्छ । यसको प्रयोगले बालबालिका तथा गर्भवती महिलालाई बढी असर गर्दछ । साथै मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, चिढ्चिडापन, प्रजनन क्षमतामा कमीसमेत हुनसक्छ ।

पछिल्लो समय अधिकांश नेपालीको भान्सामा प्लास्टिकका भाँडाकुँडा निर्वाध रूपमा प्रयोग हुने गरेको छ । सजिलै पाइने, सस्तो तथा चलाउन पनि सजिलो हुने भएकाले धातुका भाडाको ठाउँ प्लास्टिकका भाँडाकुँडाले ओगट्दै छ । यो सस्तो पनि छ । तर प्लास्टिकका भाँडाको प्रयोग मानव स्वास्थ्यका लागि भने हानिकारक भएको बारेमा ख्याल गरेको पाइन्न । यसमा हुने रासायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने विज्ञ बताउँछन् ।
विशेषत पिभिसी, पोलिस्टाइरिन र पोलिकार्बोनेटेड प्लास्टिक मानव स्वास्थ्यका लागि घातक मानिन्छ । बजारमा पाइने पानीको जार अर्थात् पोलिकार्बोनेटेड केमिकलबाट बनेको जार पनि मानव स्वास्थ्यका लागि हानिकारक मान्निछ । तर, यो सहरिया घरमा अहिले अनिवार्य जत्तिकै छ । धारा महँगा भए पनि पानी आउँदैन । त्यसको विकल्पमा जारको पानी प्रयोग बाध्यता बनेको छ । यद्यपि हरेक वर्षको बजेट भाषण र वातावरण दिवसका अवसरमा सरकारले प्लास्टिक झोला प्रतिबन्धको घोषणा गर्छ, केही दिन बजारमा तामझाम साथ अनुगमन पनि हुन्छ, साना पसलेले प्रतिबन्धित झोला बेचेबापत जरिमाना पनि तिर्छन् । तर, केही सातामै सरकारी संयन्त्र सुस्ताउँछ र बजार फेरि पुरानै लयमा फर्कने गरेको छ ।
प्लास्टिकको अत्यधिक प्रयोग गर्दा शरीरमा एलर्जी हुने, नवजात शिशुमा शारीरिक तथा मानसिक पक्षघात हुनसक्ने र वंशाणुगत परिवर्तनसम्म हुन सक्ने विज्ञ बताउँछन् । मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने क्षमता राख्ने प्लास्टिकले प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउने बताइन्छ । यसको प्रयोगले बालबालिका तथा गर्भवती महिलालाई बढी असर गर्दछ । साथै मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, चिढ्चिडापन, प्रजनन क्षमतामा कमीसमेत हुनसक्छ ।
प्लास्टिकको प्रयोगले आँखा, मृगौलालाई समेत हानी पार्दछ । अझ प्लास्टिक बाल्दा निस्कने ग्यासले समेत क्यान्सर गराउने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिएका छन् । अचेल घरघरमा प्लास्टिकको भाँडा प्रयोग भइरहेको पाइन्छ । तर स्वास्थ्यका लागि यस्ता भाँडा हानिकारक हुने विज्ञ बताउँछन् । प्लास्टिकको भाँडामा हुने रसायन खाद्य वस्तुमा मिश्रित भएर खानाका माध्यमबाट पेटभित्र पुग्दा स्वास्थ्यलाई हानि पुर्याउने उनीहरूको भनाइ छ ।
प्लास्टिक विभिन्न वर्गको हुन्छ । कुनै–कुनै प्लास्टिकको भाँडा खाना खाने सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ भने कुनै स्वास्थ्यको दृष्टिकोणले सुरक्षित मानिँदैन । त्यसैले त्यस्ता भाँडामा प्रयोग हुने प्लास्टिक स्वास्थ्यका लागि खतरा हुन्छ कि हुँदैन भनेर जाँच गर्नुपर्ने हुन्छ । तर नेपालमा हालसम्म कस्ता प्लास्टिकको भाँडा प्रयोग भइरहेका छन् भनेर जाँच गर्ने कुनै निकाय छैन । सजिलो र सास्तो जुन पाइन्छ त्यही प्रयोग गर्ने गरिएको पाइन्छ ।
विज्ञका अनुसार प्लास्टिकमा ‘कार्सिनोजेन्स’ रसायन पाइन्छ । यो रसायन मानव स्वास्थ्यमा असर पार्ने तत्वहरूमध्ये एक मानिने बताइन्छ । यसले क्यान्सरसमेत गराउछ । प्लास्टिकमा पाइने तत्वलाई कार्सिनोजेन्स भनिने र त्यसलाई क्यान्सरको कारक तत्व मानिने चिकित्सक बताउँछन् । यसले क्यान्सरको सेलहरूलाई एक्सरसाइज वा एक्टिभेट गर्ने र लामो समयसम्म प्लास्टिकको भाँडा प्रयोग गरेमा क्यान्सर हुने सम्भावना हुने विज्ञको दाबी छ ।
विज्ञका अनुसार प्लास्टिक वा प्लास्टिकजन्य भाँडाहरूलाई ७ भागमा विभाजन गरिएको छ । हामीले बजारबाट किन्ने पानीको बोतलको पछाडिपट्टी ट्रेंंगलसेप दिएको हुन्छ, त्यो संकेतभित्र नम्बरहरू लेखिएको हुन्छ । र त्यो प्लास्टिकहरूको परिकार बोतल वा सामान्य प्लास्टिक बोतलमा हुने पोलिथाइलिन भनिने फुड ग्रेडमा नपर्ने विज्ञ बताउँछन् ।
यस्तै पानी पिउने बोतललाई ‘पेट बोतल’ भनिन्छ । एकपटक प्रयोग गर्दा समस्या नहुने तर लामो समयसम्म वा पटक–पटक प्रयोग गर्दा स्वास्थ्यमा समस्या हुने बताइन्छ । प्लास्टिकको बोतलमै भएको पानी पिउँदा कुनै पनि समस्या हुँदैन । किनकि त्यो फुड ग्रेडकै हुने बताइन्छ । तर यो पुनप्र्रयोग गर्नु हुँदैन किनकि फेरि पानी हालेर खाइरहँदा पछिपछि यसका रसायन पानीमा मिसिन्छ र स्वास्थ्यमा असर गर्ने सम्भावना रहने बताइन्छ ।
००००
नेपालमा प्लास्टिकजन्य पदार्थलाई नजरअन्दाज गरिएको छ । घरदेखि लिएर ठुला रेस्टुरेन्टमा प्रयोग हुने प्लास्टिजन्य भाँडा ‘फुड ग्रेड’ हुन, वा होइनन् भनेर जाँच गर्न ल्याबको अभावमा समस्या देखिन्छ । ल्याब नहुनु एकातर्फ समस्या छँदै छ उनले भने तर फुडहरूमा प्रयोग भइरहेको लेबल इंक होस्, प्रिन्टेड र्यापर होस, कागजभित्रै राखिन्छ, यो पनि सुरक्षित मानिँदैन ।
नेपालमा प्रयोग भइरहेका प्लास्टिकजन्य भाँडा, प्याकेजिङका प्लास्टिक लगायतलाई खाद्य सुरक्षाको रूपमा सुरक्षित भए नभएको परीक्षण र नियमनको अभाव देखिन्छ । यसलाई बनाउँदा ब्याकल्यान्डले पनि सोचेको थिएन कि एक दिन यो प्लास्टिक हावा र पानी जस्तै हाम्रो जीवनको हिस्सा बन्नेछ । यति मात्र होइन, यसले हावा र पानीलाई पनि प्रदूषित गर्न थाल्छ । समयसँगै, बिस्तारै बिस्तारै धेरै प्रकारका प्लास्टिकहरू देखा पर्न थाले र यो संसारभरि सबै प्रकारका चीजहरूको उत्पादनमा प्रयोग हुन थाल्यो । अहिले जताततै सबैतिर माइक्रोप्लास्टिक छ ।
हाम्रो मोबाइल फोन, ल्यापटपदेखि लिएर खाने भाँडासम्म सबैमा प्लास्टिक छ । चिप्स, क्रिस्प, नमकिन र बिस्कुट पनि प्लास्टिकको र्यापरमा आउँछन् । दैनिक उपभोगमा प्रयोग हुने अधिकांश सामान प्लास्टिकबाट बनेका हुन्छन् । अहिले प्लास्टिक हाम्रो खाना, पानी र हावा प्रवेश गरेको छ ।
००००
मस्तिष्कमा पुग्छ प्लास्टिक
जनकारका अनुसार प्लास्टिक सबैभन्दा पहिले हाम्रो छाला, सास र खानाबाट शरीरमा प्रवेश गर्छ । त्यसपछि यो हाम्रो रगतमा मिसिन्छ र बिस्तारै सबै अंगहरूमा जम्मा हुन्छ । हाम्रो अंगमा जम्मा हुने प्लास्टिकका कण एकदमै सानो हुन्छ । तिनीहरूको आकार २० माइक्रोमिटर भन्दा सानो हुन्छ । त्यसपछि मात्र तिनीहरू सबै अवरोधहरू पार गर्छन् र कलेजो, मिर्गौला र मस्तिष्क जस्ता अंगहरूमा पुग्छन् ।
हाम्रो आजको जीवनशैलीमा प्लास्टिक जताततै छ । जता हेरे पनि प्लास्टिक मात्रै भेटिन्छ । सबैभन्दा खतरनाक प्लास्टिकलाई आँखाले पनि नदेखिने गरी सानो टुक्रामा परिणत भएको छ । यो हावा, पानी र खाना सबै ठाउँमा उपस्थित छ । यो हाम्रो शरीरका सबै अंगहरूमा पुग्छ ।
यसले अंगहरूको सुरक्षा जालमा पनि प्रवेश गरिरहेको छ । कुनै पनि देशका सबैभन्दा महत्वपूर्ण व्यक्तिहरूले उच्चस्तरको सुरक्षा पाउँछन् । त्यसैगरी प्रकृतिले पनि हाम्रो शरीरका सबै अंगहरूलाई झिल्लीभित्र सुरक्षित गरेको छ । यी झिल्लीहरूले यी अंगहरूलाई सबै प्रकारका खतराहरूबाट जोगाउँछन् । हाम्रो आँखालाई धोका दिने प्लास्टिकका यी अति सूक्ष्म कणहरू पनि यी झिल्लीहरू पार गरेर शरीरका अंगहरूमा पुग्छन् ।
यस्तै हाम्रो श्वासप्रश्वासमा पग्लिने र फोक्सोमा पुग्ने प्लास्टिकका टुक्राहरूले उनीहरूलाई गम्भीर बिरामी बनाउँदै छन् । साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार अधिकांश मानिसको फोक्सोमा प्लास्टिकका साना कण हुन्छन् । प्लास्टिकमा पाइने विषाक्त तत्वले दम र फुफ्फुसको क्यान्सरको जोखिम बढाइरहेको छ । द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार प्लास्टिक प्रकृतिमा न्युरोटोक्सिक हुन्छ । यसको मतलब तिनीहरूले हाम्रो कोशिकाहरूको कार्यलाई असर गर्न सक्छन् र तिनीहरूलाई मार्न पनि सक्छन् ।
प्लास्टिकको सबैभन्दा ठुलो बेफाइदा भनेको यो नष्ट नहुनु हो । हजारौँ वर्षसम्म प्रकृतिमा रहन्छ र वातावरणलाई हानि पुर्याउँछ । प्लास्टिकले माटोमा मिसाएर बाली तथा रूखलाई हानि पुर्याउँछ । पानीमा जाँदा माछा र जलचरको स्वास्थ्यमा असर पर्छ । समग्रमा, हाम्रो आविष्कारले हामीलाई बर्बाद गरिरहेको छ ।
यसको असर कम गर्न दैनिक दिनचर्यामा अब प्लास्टिकको सट्टा वैकल्पिक समानको प्रयोगलाई बढावा दिनुपर्दछ । जस्तो हामीले प्रयोग गर्ने प्लास्टिकको सट्टा स्टिलको टिफिन बक्स प्रयोग गर्ने प्लास्टिकको काइँयोको सट्टा काठले बनेको काइँयो प्रयोग गर्ने । त्यस्तै प्लास्टिकको बोतलको सट्टा स्टिल या तामाको बोतल प्रयोग गर्ने । त्यस्तै खानेपानीको जारको सट्टा स्टिलको जग या ठुलो भाँडा प्रयोग गर्ने, त्यस्तै प्लास्टिकको झोलाको सट्टा कपडाको झोलाको प्रयोग गरे हाम्रो दैनिकीमा प्लास्टिकको प्रयोगमा कामी ल्याएर सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।
०००
प्लास्टिकको विकल्प प्रयोग गरौँ : भूषण तुलाधर, वातावरणविद्

प्लास्टिक सर्वसुलभ र सजिलो भएकाले हाम्रो दैनिकीमा धेरै प्रयोगमा आउने गरेको छ । यो हाम्रो भान्सादेखि कार्यालय, होटल र रेस्टुरेन्ट हरेक ठाउँमा प्रयोगमा आउने गरेको छ । यद्यपि यसमा ध्यान दिनुपर्ने ३ वटा कुरा छन् । पहिलो कुरा प्लास्टिक बन्ने भनको पेट्रोलियम पदार्थबाट हो । त्यसले हाम्रो स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनमा पार्ने असर छँदै छ । दोस्रो भनेको हाम्रोमा आउने गरेका र प्रयोग हुने गरेका प्लास्टिकका भाँडाको प्रयोगले स्वास्थ्यमा हानि पुर्याउँछ । तेस्रो भनेको फोहोर भएका प्लास्टिक फाल्दा खेरी, वा जलाउँदा हुने असर छ ।
पहिलो बन्दै गर्दा, दोस्रो, प्रयोग गर्दा र तेस्रो त्यसलाई फल्दा हुने असर छ । यसमा पनि बुझ्नुपर्ने के छ भने, धेरैजसो प्लास्टिकका भाडा पुनः प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा वातावरणमा कम क्षति पुग्छ । तर, त्यतिकै फाल्ने वा जलाउने गर्दा बढी असर पुग्छ । यसको प्रयोगले हित त छैन । सबै दृष्टिले असर पुर्याउँछ । प्लास्टिकको प्रयोगले हुने असर अहिले पनि कैयौँ कुरा अनुसन्धानकै रूपमा पनि छ । प्लास्टिकमा पनि माइक्रो प्लास्टिकले बढी हानि पुर्याउँछ । अझ सबैभन्दा हानिकारकचाहिँ प्लास्टिकका सामग्री जलाउँदा हुन्छ । यसका पनि प्रकार धेरै छन् । तर नेपालमा त्यसको परीक्षण भएको पाइन्न ।
हामीले प्लास्टिकमा आएका खानेकुरा हेरेर प्रयोग गर्नुपर्छ । त्यसमा लेखिएको हुन्छ, ‘फुड ग्रेड’ खान योग्य हो होइनर भनेर । खाना प्याकिङमा लेखिएको हुन्छ । यसैगरी पुनः प्रयोग गर्न मिल्ने नमिल्ने बारेमा पनि ख्याल गरेर प्रयोग गर्नुपर्छ । हाम्रो दैनिकीमा प्लास्टिक सहज भए पनि सकेसम्म यसको प्रयोग कम गरौँ । प्लास्टिकका विकल्पमा भएका सामग्री प्रयोग गर्ने गरौँँ । जस्तो हाम्रो भान्सामा प्लास्टिकको चपिङबोर्डको विकल्पमा काठको प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी हामीले प्रयोग गर्ने अरू पनि प्लास्टिकका भाँडाको विकल्पमा अरू भाँडा प्रयोग गर्दा हाम्रो स्वास्थ्य र वातावरण स्वस्थ्य रहन्छ । त्यसमा सबै सचेत हुनपर्छ । यसले हाम्रो स्वास्थ्यमा त असर पुग्छ नै त्यसले वातावरणमा पनि ठुलो असर पुर्याउँछ । त्यसैले प्लास्टिकको भाँडा प्रयोग सबैको लागि चुनौती बनेको छ ।
प्रतिक्रिया