पुदिना एक बहुगुणकारी वनस्पति

पुदिनामा क्यालोरी कम र फाइबर बढी हुन्छ । त्यसैले यसको सेवनले तौल घटाउन मद्दत गर्छ । पुदिनाले पाचन सुधार गर्छ, जुन तौल घटाउन लाभदायक हुन्छ ।

खानाको स्वादमा अचारको महत्व निकै हुन्छ । त्यसमा पनी फरक फरक स्वादमा । अचार भने पनि पिरो र चट्ट हुनै पर्छ । अचारको स्वादमा स्वादिष्ट मानिन्छ पुदिना । पुदिना जिब्रोको स्वादका लागि मात्रै होइन, हाम्रो स्वास्थ्यका लागि पनि उत्तिकै राम्रो मानिन्छ । अझ गर्मीका लागि पुदिना धेरै नै राम्रो मानिन्छ । वैशाख महिना लाग्दै छ । अब हरेक दिन गर्मी बढ्दै जान थाल्छ । यस्तो बेला स्वस्थ रहनका लागि आफ्नो खानामा केही परिवर्तन गर्नु आवश्यक हुन्छ ।


गर्मीमा सबैभन्दा ठुलो समस्या डिहाइड्रेसन हो । यसबाट बच्नका लागि, हामीले आफ्नो आहारमा पुदिना समावेश गर्न धेरै राम्रो मानिन्छ । आयुर्वेदमा पुदिनालाई एक महत्वपूर्ण औषधिका रूपमा लिने गरिएको छ । यसको पात शीतलताको गुणका लागि परिचित छ । यसले शरीरको तापक्रम घटाउन मद्दत गर्छ त्यसैले यसको सेवनले अत्यधिक गर्मीमा पनि ताजा महसुस हुन्छ । पुदिना सामान्यतया खाना, पेय पदार्थ र गार्निसका रूपमा प्रयोग गरिन्छ ।


नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार पुदिनामा क्यान्सर प्रतिरोधी, मोटोपना प्रतिरोधी, माइक्रोबियल प्रतिरोधी, संक्रमण प्रतिरोधी, मधुमेह प्रतिरोधी र मुटुको सुरक्षात्मक गुणहरू हुन्छन् । त्यसैले जुन रूपमा जसरी सेवन गरे पनि पुदिना हाम्रो शरीरका लागि धेरै नै लाभदायक मानिन्छ । तर, नेपाली समाजमा यसलाई अचारको रूपमा स्वाद मानेर खाने गरिएको छ । वहुगुणी भएकाले यसलाई स्वाद मात्रै होइन, स्वास्थ्यका लागि पनि उत्तिकै राम्रो मानिन्छ ।


यो धेरैको करेसाबारी, खेती वा गमलामा सहजै उत्पादन गर्न सकिन्छ । यसका लागि जमिन वा ठुलो ठाउँको आवश्यक हुँदैन । फूल रोप्ने गमलामा पनि यसलाई रोप्न सकिन्छ । वर्षायाम सुरु भएसँगै पुदिना मौलाएर आउँछ । पुदिनाको अनेक फाइदा छन् । यसको स्वाद मिठो हुन्छ । सुगन्ध पनि उत्तिकै तिख्खर । पुदिनाको यही गुणको कारण कतिले अचारमा यसलाई सामेल गर्छन् । जुस, चिया, सलाद, सुप आदिको स्वाद र गुणलाई पनि पुदिनाले दुई गुणा बढाइदिन्छ ।


पुदिनाको आर्युवेदिक महत्व छ । यसको सेवनले हाम्रो शरीरका धेरैजसो समस्याबाट मुक्ति मिल्छ । यसमा फाइबर हुन्छ, जसले तपाईंको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्याग्नेसियमले हड्डीमा तागत दिन्छ ।


०००


पुदिनामा पाइने पोषक तत्व


संयुक्त राज्य अमेरिकाको कृषि विभाग –युएसडिए) का अनुसार, पुदिनामा भिटामिन ‘ए’, ‘सी’, बी–कम्प्लेक्स जस्ता भिटामिनहरू पाइन्छन् । यसमा फाइटोन्युट्रिएन्ट्स, एन्टिअक्सिडेन्ट र एन्टी–ब्याक्टेरियल गुणहरू पनि हुन्छन् । यस्तै पुदिनामा आइरन, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ ।


पुदिनाले पाचनसम्बन्धी इन्जाइमहरूलाई सक्रिय बनाउँछ, जसले पाचन प्रणालीमा सुधार ल्याउँछ । यसले अपच, ग्यास र पेट फुल्ने जस्ता समस्याबाट राहत दिन्छ । पुदिनामा पाइने मेन्थोलले दिमागलाई शान्त बनाउँछ र तनाव कम गर्छ । यसले टाउको दुख्ने र माइग्रेनबाट पनि राहत दिन्छ । यसका साथै पुदिनाले चिसो, खोकी र दम जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याबाट राहत दिने बताइन्छ । विज्ञका अनुसार पुदिनाले छालालाई शीतल बनाउँछ र डन्डीफोर र छालासँग सम्बन्धित अन्य समस्याहरूबाट राहत दिन्छ । यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जुन मुखको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।


एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण भएकोले यसले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसको सुगन्धले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । पुदिनाको पातलाई पानीमा उमालेर खान सकिन्छ । पुदिना र कागती मिसाइएको पानीमा आफ्नो खुट्टा राख्दा तनाव कम हुन्छ । त्यस्तै, शरीरमा ऊर्जा मिल्छ । पुदिनामा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले गर्दा खुट्टामा रहेका कीटाणुहरू मर्छन् ।


यदि धुलो र मैलोका कारण गर्दन कालो भएमा पुदिना त्यसलाई सफा गर्नका लागि महŒवपूर्ण मानिछ । पुदिना मिसाइएको पानीले गर्दन धुँदा चमक फर्कनेछ । यसले प्राकृतिक टोनरको काम गर्छ । यसका लागि पुदिनाको पानीमा कटन भिजाएर गर्दनमा लगाउने र केही समय राखेपछि गर्दन धुने हो भने, बिस्तारै–बिस्तारै गर्दनको कालो रङ हटेर जानेछ । गर्दनमा पुरानो चमक फर्कनेछ ।


००००


पुदिना खानुका फाइदा


शरीरलाई चिसो राख्छ ।


शरीरलाई हाइड्रेटेड राख्छ ।


पाचनतन्त्रलाई मजबुत बनाउँछ ।


रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।


टाउको दुख्ने समस्या कम गर्छ ।


हिट स्ट्रोक र लूबाट बचाउँछ ।


वजन घटाउन पनि मद्दत गर्छ ।


छालालाई स्वस्थ राख्छ ।


पुदिनामा क्यालोरी कम र फाइबर बढी हुन्छ । त्यसैले यसको सेवनले तौल घटाउन मद्दत गर्छ । पुदिनाले पाचन सुधार गर्छ, जुन तौल घटाउन लाभदायक हुन्छ । यदि हामीलाई तौल घटाउने चिन्ता छ र त्यसका उपाय खोज्दै छौँ भने विभिन्न ढंगबाट यसको सेवन गरिनु राम्रो मानिन्छ । यसलाई जसरी खाए पनि हुन्छ । यसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ । जसले गर्दा भोक कम गर्छ र मोटोपना बढाउँदैन । तर, पुदिना सेवन गरेर मात्र तौल घट्ने होइन । यसका लागि नियमित व्यायाम र आफ्नो खानपानमा परिवर्तन पनि आवश्यक हुने विज्ञ बताउँछन् ।


हरेक खानाको सकारात्मक र नकारात्मक पाटो हुन्छ । त्यसैले कतिलाई यसको सेवन गर्ने कि नगर्ने भन्ने हुन सक्छ । अझ मधुमेह रोगीहरूले आफ्नो आहारमा पुदिना समावेश गर्ने कि नगर्ने भन्ने लाग्न सक्छ । यसमा विज्ञ भन्छन्, पुदिनाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ । यसका साथै, पुदिनाले मेटाबोलिज्म सुधार गर्न पनि मद्दत गर्छ, जुन मधुमेह रोगीहरूको लागि महत्वपूर्ण मानिन्छ ।


००००


पुदिना खाने कसरी भन्ने लाग्न सक्छ । यसलाई विभिन्न तरिकाले खान सकिन्छ ।


पुदिनाको चटनी बनाएर खान सकिन्छ ।


यसको सर्वत बनाएर पिउन सकिन्छ । वा अरू सर्वतमा मिसाएर पनि खान सकिन्छ ।


पुदिनाको चिया बनाएर (चियापत्तिको रूपमा) पिउन सकिन्छ ।


यसलाई सलादमा थपेर खान सकिन्छ ।

यसलाई पानीमा मिसाएर पिउन सकिन्छ ।

यसलाई तरकारीमा थपेर पनि खान सकिन्छ ।

यी सबै विधिमा खाँदा पुदिनाले खानाको स्वाद बढाउने कामसमेत गर्छ । त्यसैले स्वादका साथै स्वास्थ्यमा यसको ठुलो महत्व छ ।
पुदिनाका पातलाई धोएर पानीमा हालेर केही घण्टा छोड्ने । स्वादअनुसार कालो नुन, कागतीको रस र मह वा थोरै चिनी थप्न सकिन्छ । आफ्नो रोजाइअनुसार यी पेय पदार्थहरूमा अन्य फलफूल वा मसलाहरू पनि थप्न सकिन्छ । यसलाई अझ स्वादिष्ट बनाउन आइस क्युबहरू पनि थप्न सकिन्छ । यसरी यसलाई छानेर खान सकिन्छ । यसबाहेक, यसको पेय पदार्थमा पुदिनाको पात पिसेर पनि तयार गर्न सकिन्छ । कुनै पनि चिजको अत्यधिक सेवनले राम्रो मात्रै गर्दैन । कहिलेकाहीँ हानिकारक हुन सक्छ, त्यसैले सीमित मात्रामा पुदिना सेवन गर्नुपर्छ । पुदिना सामान्यतया सुरक्षित भएर पनि केही मानिसहरूलाई यसबाट एलर्जी हुन सक्छ । त्यस बारेमा भने ख्याल गर्नुपर्ने हुन्छ ।


विज्ञका अनुसार धेरै मात्रामा पुदिना खाँदा पेटमा जलन हुन सक्छ । कतिपयलाई एसिडिटीको समस्या हुन सक्छ । यदि कुनै औषधि लिइरहेको भएमा पुदिना समावेश गर्नुअघि आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्ने हुन्छ ।


००००


पुदिना कसले नखाने ?


केही मानिसहरूले यसको सेवन गर्नु हुँदैन । जस्तै ः ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूका लागि, पुदिनाले एसिड रिफ्लक्सलाई अझ खराब बनाउन सक्छ । यसले उनीहरूको छातीमा जलन हुन सक्छ । कतिपय मानिसहरूलाई पुदिनाबाट एलर्जी हुन्छ । त्यस्ता व्यक्तिहरूले पुदिना खानबाट बच्नुपर्छ । पुदिनाले रगतमा चिनीको मात्रा कम गर्न सक्छ, त्यसैले पहिले नै कम रगतमा चिनी भएका मानिसहरूले यसलाई सावधानीपूर्वक सेवन गर्नुपर्छ । यसबाहेक, गर्भावस्था र स्तनपान गराउँदा पुदिना सीमित मात्रामा सेवन गर्नुपर्छ । यदि कुनै गम्भीर स्वास्थ्य समस्या छ वा कुनै औषधि लिइरहेको अवस्था भएमा पुदिना सेवन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।


यसको सेवनले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत गर्दछ । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । पुदिनालाई प्रयोग गरेर टुथपेस्ट, चुइगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदिनालाई माउथ फ्रेसनरको रूपमा मात्र चिन्छन् । तर, स्वास्थ्यका लागि यसका धेरै फाइदा छन् ।


०००


यो कसैले स्वादका लागि खान्छन्, कसैले यसको गुण बुझेर खान्छन् । तर, जसले जसरी खाए पनि यसको स्वादसँगै धेरै गुण छन् ।


पुदिनामा बहुगुणीय तत्व छ : उमा कोइराला, पोषणविद्

डा. उमा कोइराला, पोषणविद्



पुदिना खास गरेर हाम्रो भान्सामा अचारका रूपमा प्रयोग हुन्थ्यो । पछिल्लो समय भने यसको प्रयोगको स्वरूप फेरिएको छ । यो कसैले स्वादका लागि खान्छन्, कसैले यसको गुण बझेर खान्छन् । तर, जसले जसरी खाए पनि यसको स्वादसँगै धेरै गुण छन् । पहिला अचारका रूपमा मात्रै खाने गरिए पनि अहिले विभिन्न प्रकारकाले खाने गरिएको छ । सामान्य भान्सादेखि तारे होटलका खानामा समेत पुदिना प्रयोग हुन्छ । जुसहरूमा समेत यसको प्रयोग भएको पाइन्छ ।


यसका गुण हेर्ने हो भने, यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ । यसले सधैँ ताजापन पनि महसुस गराउँछ । यसको तेलसमेत प्रयोग हुन्छ । अनुसन्धानले के पनि देखाएको छ भने, कुनै पनि एलर्जीलाई कम गर्नसमेत पुदिनाले मद्दत गर्छ । दाँतको समस्या भएको गिजाबाट रगत आउने मान्छेका लागि पुदिनाको पात चपाउँदा फाइदा पु¥याउँछ । मुख गन्हाउने समस्या भएको मान्छेका लागि पनि पुदिना लाभदायक हुन्छ । चिसो भएको रुघाखोकी लागेको बेला तातो पानीमा पुदिना हालेर वाफ लिने र तातोपानीमा राखेर खादा फाइदा गर्छ ।


पुदिनाको एकपटक मुसामा समेत परीक्षण गरिएको थियो । उक्त प्रयोगले मुसाको स्मरण शक्ति बढाएको देखायो । वैज्ञानिकहरूले प्रयोग गर्ने भनेको त्यस्तैमा हो । त्यसले मान्छेको स्मरण शक्ति पनि बढ्छ भन्ने छ । त्यसैले यसको विश्वव्यापी रूपमा प्रयोग भएको पाइन्छ । यसले मान्छेको स्वास्थ्यका विभिन्न क्षेत्रमा प्रभाव पारेको पाइन्छ । यो एकप्रकारको जडिबुटी नै हो । त्यसैले कतिपय औषधिमा समेत यसको प्रयोग भएको पाइन्छ ।


पुदिनामा आइरन बढी हुने भएकाले बाथको रोगी वा आइरनजन्य खाना कम खानु पर्नेले भने, धेरै खानु हुँदैन । यसमा भिटामिन ‘ए’ तŒवसमेत हुन्छ । यसको गुण नै गुण छ । पाउन पनि सजिलै पाइन्छ । गमलामा रोपे पनि हुन्छ । रोप्न पनि जरा भएकै बोट चाहिँदैन । सानो हाँगा रोप्दा हुन्छ । कतिपय अवस्थामा यसको गुण थाहा नभएकाले पनि मान्छेले प्रयोग गरेका पाइन्न । तर, यसलाई हरेक ढंगले प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गरे पनि यो हाम्रो स्वास्थ्यका लागि लाभदायक छ ।

प्रतिक्रिया