पायल्स समस्या : कारण र उपचार

पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रूप लिँदैन, तबसम्म उपचार खोजिँदैन ।

मान्छेले केही न केही रोगको सामना गरिरहेको हुन्छ । कुनै पनि रोगसँग साक्षात्कार नभएका मान्छे भेट्न मुस्किल छ । अझ कतिपय मान्छेले त एकैपटक धेरै रोगसँग जुधिरहेका हुन्छन् । विभिन्न रोगमध्येको एक हो, पायल्स । पछिल्लो समय मान्छेहरूमा पायल्सको समस्या बढ्दै गएको छ । यद्यपि नेपाली समाजमा रोग लुकाउने र उपचारको पहुँचसम्म नजाने समास्या पनि छ । तयसैले त कतिपय मान्छेले उपचार नै नगरेर रोगसँग हार खान्छन् ।


रोग लुकाउनु, उपचारको पहुँचमा नपुग्नु मात्रै होइन, आर्थिक अभावले उपचार गर्नै नसकेर ज्यान गुमाउनेको पनि कमी छैन हाम्रो समाजमा । पायल्य मलद्वारमा हुने एकप्रकारको रोग भएका कारण कतिपय मान्छे यो समस्या सहजै सुनाउन र उपचार गराउन हिचकिचाउँछन् । कुनै पनि रोग लुकाएर वा उपचार नगरेर निको हुने होइन, त्यसो गर्दा रोग बलियो हुँदै जाने र मानिस कमजार बन्दै जान्छ । त्यसको परिणाम भनको कहिल्यै पनि सकारात्मक बन्दैन । अन्ततः कैयौँ अवस्थामा मान्छेले सधैँका लागि हार्नुपर्ने हुन्छ । उपचारका लागि जाँदा गोप्य अंग देखाउनुपर्ने भन्दै धेरैले पायल्सको समस्या खुलेर बताउन चाहँदैनन् । समस्या बढ्दै गएपछि अन्तिम समयमा मात्र उपचारका लागि चिकित्सकसम्म पुग्ने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।
चिकित्सकका अनुसार पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । यो समस्या भएपछि दिसा गर्दा दुख्ने र विस्तारै रगत देखिने चिकित्सक बताउँछन् । विज्ञका अनुसार मलद्वारमा रगतका सानासाना नलीहरू हुन्छन् । पायल्स भएमा ती नली फुल्दै जान्छन् । यसरी फुलेका रगतका नलीहरू विस्तारै बाहिर निस्कन्छन् यसलाई नै चिकित्सकले पायल्स भन्छन् ।


चिकित्सकका अनुसार पाइल्स हँुदा मलद्वारको भित्री तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्दछ । जसबाट बेलाबेलामा रगत निस्कने र त्यो डल्लो बाहिर निस्कने गर्दछ । दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका मुख्य लक्षणहरू हुन् । पायल्सको मुख्य कारण जीवनशैली र खानपान भएको चिकित्सकको भनाइ छ । कतिपय अवस्थामा यो वंशाणुगत समस्याको रूपमासमेत देखिने गरेको छ ।


सुरुको अवस्थामा जीवनशैलीमा परिवर्तन गर्दा यो समस्या विस्तारै निको हुँदै जाने चिकित्सक बताउँछन् । पायल्सको नियन्त्रणका लागि नियमित फलफूल र फाइबरयुक्त खाना खाने, व्यायाम गर्ने, एकै स्थानमा धेरै समय नबस्न चिकित्सकको सुझाव छ । पायल्सबाट बच्न धूमपान, मद्यपानको कुलत त्याग्ने, मासुजन्य पदार्थ वा खसीको मासु खान हुँदैन । पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुनुपर्छ । पायल्स झेलिरहेका धेरैलाई चिन्ता हुन्छ – के खान हुँदैन, के खान हुन्छ भन्ने । उनीहरूको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ । यसले नियमित खानपानमा हस्तक्षेत गर्छ र मान्छेको दैनिकी असहज बन्छ । जिब्रोको आदेशमा खान पल्केकाका लागि चिकित्सकको आदेशले खानपिनको तालिका बिग्रन्छ नै ।


नेपालीको भान्सामा अक्सर पाक्ने र जिब्रोले रोज्ने भनको चिल्लो, मसालेदार खानेकुरा हो । यो सजिलै पच्दैन र पनि रुचीमा पर्छ । चिकित्सकका अनुसार यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । साथै अनिद्रा, मानसिक तनाव, गर्भवती महिला र कुनै–कुनै औषधि सेवनको साइड–इफेक्टको रूपमा पनि पायल्सको समस्या निम्तिन्छ । पायल्सको प्रमुख कारणको रूपमा कब्जियतलाई मानिन्छ । कब्जियत हुँदा दिसा गर्दा बल पर्छ । त्यही बलले गुदद्वारभित्रका रक्तशिरा तन्किने क्रम फैलिन थाल्छ । विस्तारै गिर्खा बन्न थाल्छ । त्यसैले पायल्समा खानपानसँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ ।


०००


पायल्सबाट बच्न यी खानेकुरा छोड्नु पर्छ


धेरै मसालेदार खाना : विज्ञका अनुसार धेरै मसालेदार खाना खाँदा पायल्सको समस्या निम्तिन सक्छ । तारेको–भुटेको मासु, समोसा, पकौडा जस्ता खानामा तेल, मसला र खुर्सानी धेरै मात्रामा हुन्छ । यस्ता खानाले आन्द्रा चलाउन गाह्रो बनाउन सक्छ, जसले कब्जियत निम्त्याउँछ । कब्जियतसँगै पायल्सको समस्या पनि निम्त्याउँछ । साथै, यस्ता खानेकुरामा फाइबर निकै कम हुने भएकाले दिसालाई कडा बनाउँछ र पायल्सको दुःखाइ बढाउँछ । यस बाहेक खुर्सानी जस्ता मसलाले मलद्वार पोल्ने तथा रगत बग्ने पनि हुन सक्छ ।


कफी : कफीको मुख्य तत्व क्याफिन पाचनका लागि राम्रो मानिँदैन । क्याफिनको सेवनले कब्जियत हुन्छ र शरीरमा डिहाइड्रेसन पनि हुन्छ । यो समस्या बढ्दै गएपछि पायल्सको समस्या निम्तिन सक्छ । पहिले नै पायल्सको समस्या भएका व्यक्तिले धेरै मात्रामा कफीको सेवन गर्दा दिसा पास हुन गाह्रो भएर शौचमा थप मिहिनेत गर्नुपर्ने हुनाले मलद्वारको मांसपेशी बाहिर निस्कन थाल्छ र सुन्निने गर्छ ।


चुरोट, रक्सी : चुरोट खाने व्यक्तिको पाचनशक्ति कमजोर हुन्छ । हुन त चुरोट रक्सी कसैका लागि पनि हितकर मान्निन । यसले आन्द्राको चाल पनि राम्ररी हुँदैन । चुरोटले मलद्वारमा रगतको प्रवाह बढाउँछ, जसले संक्रमणको जोखिम पनि बढाउँछ । रक्सीको सेवनले शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानी कम हुँदा दिसा कडा हुन्छ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।


दुग्धजन्य पदार्थ : केही व्यक्तिमा दुध तथा दुधबाट बनेका अन्य परिकार सेवन गर्दा कब्जियतको समस्या हुन सक्छ । दुधमा हुने प्रोटिन कब्जियतको कारण बन्ने र कब्जियतले पायल्सको समस्या निम्तिन सक्छ ।


रातो मासु : रातो मासु पचाउन जो कोहीलाई धेरै समय लाग्छ । जसकारण कब्जियत जस्ता समस्या हुनसक्छ । कब्जियतले पायल्सको समस्या निम्त्याउँछ ।


प्रोसेस्ड फुड : फ्राइड फुड, फास्ट फुड, फ्रोजन मिट जस्ता प्रशोधित खानेकुराले पनि पायल्सको जोखिम बढाउँछ । यी सबै खानेकुरामा पोषक तत्वको कमी हुन्छ । साथै यसमा धेरै मात्रामा नुन र अस्वस्थ बोसो पाइन्छ, जसकारण पचाउन गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियतले पायल्स निम्त्याउन सक्छ ।


पायल्सबाट बच्न खानपान


हरियो सागपात : हरियो पत्तेदार सागपातमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले मांसपेशीका लागि राम्रो काम गर्छ । हरियो सागसब्जीले पाचन क्रियालाई सुधार गर्छ र आन्द्रा सफा गर्छ । त्यसैले पालुंगो, गाजर, बन्दा, काँक्रो, ब्रोकाउली आदि प्रशस्त मात्रामा सेवन गर्दा कब्जियत र पायल्सको समस्याबाट बच्न सकिन्छ ।


प्रशस्त मात्रामा पानी : प्रशस्त मात्रामा पानी पिउनाले आन्द्राले शरीरमा रहेको विषाक्त पदार्थलाई सजिलै बाहिर निष्कासन गर्छ । यसले कब्जियत हटाउँछ, जसले दिसालाई सजिलो बनाउँछ र पायल्सको जोखिम कम गर्छ ।


सम्पूर्ण अन्न : चोकर भएको अन्नको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । किनकि यस्ता अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ओट्स, ब्राउन राइस जस्ता अन्नको सेवनले दिसा सजिलै निस्कन्छ र कब्जियत तथा पायल्सको जोखिम कम गर्छ ।

फलफूल : ताजा र मौसमी फलफूलको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फलफूलको बोक्रामा धेरै मात्रामा फाइबर पाइन्छ । साथै धेरै प्रकारका भिटामिन र मिनरल्स पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ ।


ड्राइफ्रुट : बदाम, ओखर, चिया सिडजस्ता ड्राइफ्रुटमा फाइबर, प्रोटिन राम्रो फ्याट हुन्छ, जसले आन्द्राको चाललाई नियमित गर्छ । पाचन प्रणालीलाई राम्रो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।


दही : दहीमा प्रोबायोटिक्स हुन्छ, जुन शरीरका लागि फाइदाजनक ब्याक्टेरिया हो, जसले पाचन सुधार गर्न र कब्जियत रोक्न मद्दत गर्छ ।


००००


पायल्स हुने कारण


विज्ञका अनुसार पायल्स हुनुमा एउटा मात्र कारण हुँदैन । तर मुख्य कारण खानपान हो । खासगरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ । किनभने यस्तो खानेकुरा सहजै पच्दैन, जसकारण पखाला वा कब्जियत हुनसक्छ । दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यसैगरी गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुनसक्छ ।


पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रूप लिँदैन, तबसम्म उपचार खोजिँदैन । सुरुको अवस्थामा जीवनशैलीमा परिवर्तन गर्दा यो समस्या विस्तारै निको हुँदै जाने विज्ञ बताउँछन् । पायल्सको नियन्त्रणका लागि नियमित फलफूल र फाइबरयुक्त खाना खाने, व्यायाम गर्ने, एकै स्थानमा धेरै समय नबस्न चिकित्सकको सुझाव छ । पायल्सबाट बच्न धूमपान, मध्यपानको कुलत त्याग्ने, मासुजन्य पदार्थ वा खसीको मासु नखान चिकित्सकहरू सुझाउँछन् ।

००००


उपचारमा प्राकृतिक विधि


– नियमित रूपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।


– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधि हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु राम्रो मानिन्छ ।


– रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठिक हुन्छ ।


– रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५–२० मिनेट जति बस्नुपर्छ ।


– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ ।


– मिठो मसिनो भन्दा खस्रो–मोटो खानेकुरा सेवन गरौँ । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।


घरेलु विधि के छ ?


पायल्सको समस्या घरेलु विधिबाट पनि हटाउन सकिने विज्ञ बताउँछन् । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठुलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको सम्भावना बढाउँछ । गलत खानपान गर्ने, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको सम्भावना बढाउँछ । त्यसैले यसबारेमा सचेत हुनपर्छ ।


०००


जीवनशैली ठिक राख्नुपर्छ

डा.सुवर्ण पौडेल, आयुर्वेद चिकित्सक


विभिन्न रोग माध्येको एक हो, पायल्स । पछिल्लो समय मान्छेहरूमा पायल्सको समस्या बढ्दै गएको छ । यो मलद्वारसम्बन्धी समस्या हो । दिसा गर्दा सजिलो होस् भनेर मलद्वारमा भेनहरू हुन्छ । खासमा पायल्स भनेको मलद्वारको नशा सुन्निने समस्या हो । यसको समस्या पछिल्लो समय बढदै छ । यसको मुख्य कारण भनेको कब्जियत हुनु हो । कब्जियत खानपान आहारविहार नमिल्दा हुन्छ । पेटका समस्या हुँदै जाने, कार्य व्यस्तताले खानपानको तालिका नमिल्दा सुरुमा कब्जियत भएर पायल्स हुन्छ ।


पायल्य हुनका कारणमध्ये बुढेसकालमा पुरुषहरूलाई प्रोस्टेटको समस्या हुँदा बल गरेर पिसाब गर्दा पनि समस्या बढ्न सक्छ । कतिपय गर्भवती महिलाहरूमा पायल्स हुने सम्भावना हुन्छ । किनभने त्यसबेला महिलाहरूको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पूरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ र समस्या देखिन्छ ।


यसैगरी आन्द्रामा समस्या भएमा, क्यान्सर लगायतको रोग भएमा पनि पायल्सको समस्या देखिन्छ । अर्को कुरा मान्छेको तौल बढी भएको अवस्थामा पनि पायल्स देखिन सक्छ, तौल कम भएको अवस्थामा पनि देखिन सक्छ । अर्को कुरा जिम बढी गर्ने, गहुँगो भारीहरू बोक्ने, लामो समय शौचालय बस्ने, दिसा गर्दा बल गर्नुपर्ने मान्छेमा पायल्यको समस्या हुन सक्छ ।
यसको समस्या के हो पत्ता लगाउनु पर्छ । के कारणले भएको हो भनेर । समस्याअनुसार उपचार गर्न सकिन्छ । जस्तो प्रोस्टेटका कारण हो भने पहिला त्यो हटाउनु पर्छ । लामो समय शौचालय नबस्ने, कब्जियत हटाउने प्रयास गर्ने, तौल हटाउने । मुख्य कुरा पेटलाई राम्रो राख्नुपर्छ । जीवनशैलीलाई ठिक ढंगले राख्दा पायल्स नियन्त्रण गर्न सकिन्छ ।


यसका लागि खानपानमा ध्यान दिनुपर्छ । फाइबर भएको खाना खाने, प्रसस्त पानी पिउने, समयमा सुत्ने, समयमा उठ्ने, व्यायाम ध्यान गर्ने, तनाव मुक्त रहने गर्दा पायल्सलाई कम गर्न सकिन्छ । खानामा बढी फाइबर भएको हरियो सागपात, फलफूल खाने । खाजामा गहुँको रोटी गेडागुडी खाने । मैदाजन्य खाना नखाने । मौसमी फलफूल खानुपर्छ । पायल्स भएको मान्छेले माछा, मरिच, अदुवा, कफी नखाने, मासु कम खाने । गर्मी हुने खाने कुरा नखाने । यसो गर्दा पायल्स भए पनि नियन्त्रणमा राख्न सकिन्छ ।

प्रतिक्रिया