नेपाली गीतमा पनि उत्तिकै गुञ्जिएकी आशा

आशा भोसलेको परिचय भारतीय गायिकाका रूपमा मात्र सीमित छैन । उनको नाता नेपाली संगीतसँग पनि उत्तिकै जोडिएको थियो । उनले ‘मोहनी लाग्ला है’जस्ता गीतमा स्वर दिएकी थिइन्

काठमाडौँ । भारतीय संगीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको मृत्यु भएको छ । उनको ९२ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो । ८ दशकभन्दा बढी समय भारतीय सिनेमा र संगीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको मृत्युले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा आशाको मृत्यु भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गरेका थिए । चिकित्सकका अनुसार बहु–अंग विफलताका कारण उनले अन्तिम सास लिएकी हुन् । अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा संक्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।

यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै आशाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् । उनले अस्पताल भर्ना गरिएको पुष्टि गर्दै उपचार भइरहेको र सुधारको आशा गरिएको उल्लेख गरेकी थिइन् । सन् १९३३ मा जन्मिएकी आशाले अत्यन्तै सानो उमेरमै आफ्नो संगीत यात्रा सुरु गरेकी थिइन् । सन् १९५० को दशकदेखि उनको स्वर भारतीय चलचित्र संगीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उनी विश्वकै सबैभन्दा चर्चित पाश्र्व गायिकामध्ये एकका रूपमा स्थापित थिइन् ।

आशाको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय संगीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उनले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छोडेकी छन् । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उनले भारतीय संगीतलाई विश्वस्तरमा चिनाउन महŒवपूर्ण भूमिका खेलेकी थिइन् । प्रमुख संगीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र संगीतलाई नयाँ उचाइमा पु¥याएको मानिन्छ । उनका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् । उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वल्र्ड रेकर्डले उनलाई संगीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।

जीवनको उत्तरार्धसम्म पनि आशा संगीतसँग निरन्तर जोडिएकी थिइन् । कहिलेकाहीँ सार्वजनिक प्रस्तुति दिँदै उनले युवा कलाकारहरूलाई प्रेरणा दिइरहेकी थिइन् । भारतीय संगीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पाश्र्व गायनलाई नयाँ परिभाषा दिन उनको योगदान अतुलनीय मानिन्छ ।
उनका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्, जसले उनको बहुआयामिक प्रतिभालाई उजागर गर्छ । उनको मृत्युको खबर फैलिँदा भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा पनि शोक व्यक्त गरिएको छ । प्रशंसक, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानलाई स्मरण गर्दै भारतीय संगीतमा उनको स्थान अपूरणीय रहेको बताएका छन् ।

आशाको परिचय भारतीय गायिकाका रूपमा मात्र सीमित छैन । उनको नाता नेपाली संगीतसँग पनि उत्तिकै जोडिएको थियो । उनले ‘मोहनी लाग्ला है’जस्ता लोकप्रिय नेपाली गीत गाएकी छन् भने नारायण गोपाल, प्रेमध्वज प्रधानजस्ता चर्चित नेपाली गायकहरूसँग सहकार्य गरेकी थिइन् । एक कालमा नेपाली चलचित्र क्षेत्रमा दबदबा कायम राखेकी आशाले रञ्जित गजमेर, शम्भुजित बास्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेल आदिसँग पनि सहकार्य गरेकी थिइन् । आशाले गाएका ‘साउने झरीमा’, ‘वसन्त नै बस्न खोज्छ यहाँ’, ‘पहाडको माथि माथि’, ‘को होला मेरो मायालु’, ‘आज हाम्रो भेट भाको दिन’, ‘माया त माया हो’, ‘गैरी खेतको शिरै हान्यो’, ‘यति धेरै माया दियौ’, ‘टाढा भै नदेउ फेरि’जस्ता गीत पनि चर्चित छन् । अब उनी केवल सम्झनामै सीमित भएकी छन् ।

प्रतिक्रिया