
‘यथास्थितिमा अब देश अगाडि बढ्न सक्दैन’ भन्ने स्पष्ट सन्देश दिँदै आजदेखि वर्ष २०८२ हामीबाट सदाका लागि बिदा हुँदै छ । मिनेट, घण्टा, दिन र महिनाजस्तै वर्ष पनि समय मापनको एउटा एकाइ मात्र हो । चलनचल्तीमा वर्षलाई ‘साल’ पनि भनिन्छ । सामान्यतया सालहरू समयको गणनामा मात्र सीमित हुन्छन्, तर कुनै–कुनै साल यस्ता घटनाका साक्षी बनिदिन्छन्, जसका कारण ती इतिहासको नजीर बनेर मुलुकमा चिरकालसम्म जीवित रहन्छन् ।
बिदा हुँदै गरेको वर्ष २०८२ पनि विशेषगरी भदौ २३ र २४ गतेको ऐतिहासिक राजनीतिक घटनाक्रमका कारण इतिहासमा एउटा अविस्मरणीय नजीरका रूपमा रहनेछ । आकस्मिक रूपमा प्रकट भएको नवयुवाहरूको आन्दोलनले जननिर्वाचित सरकारलाई अपदस्थ गर्नु र प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आउनु नेपाली इतिहासकै पहिलो र अनौठो नजीर हो । विश्व इतिहासमा समेत विरलै देखिने यस्तो घटनाले २०८२ साललाई राजनीतिक रूपमा विशेष बनाएको छ । त्यस्तै, मुलुकको इतिहासमा पहिलोपटक महिलाले प्रधानमन्त्रीका रूपमा सत्ताको बागडोर सम्हाल्ने अवसर पाउनु आफैँमा अर्को एउटा गौरवपूर्ण र अविस्मरणीय नजीर हो । संविधानतः २०८४ साल मंसिरमा हुनुपर्ने आमनिर्वाचन भदौ २३–२४ को नवयुवा आन्दोलनको परिणामस्वरूप २०८२ फागुन २१ गते नै सम्पन्न गर्नुपर्ने अवस्था आयो । तर, यो आमनिर्वाचनले दिएको सन्देश मुलुकका लागि दीर्घकालीन महत्वको र अविस्मरणीय छ । यस नतिजाले एकातिर नेपाली जनता राजनीतिक रूपमा पूर्णतः जागृत भएको सन्देश दिएको छ भने अर्कोतिर मतपत्रद्वारा नै शान्तिपूर्ण क्रान्ति सम्भव छ भन्ने प्रमाणित गरिदिएको छ । साथै, विद्यमान निर्वाचन पद्धतिबाटै पनि बहुमतको सरकार गठन हुनु सम्भव छ भन्ने सकारात्मक सन्देश यसले प्रवाह गरेको छ ।
मुलुकको भविष्य बोकेका नवयुवाहरूको उचित आकांक्षालाई सम्बोधन गर्नुको साटो राज्यपक्षबाटै उपहास गरिनु र देश डिजिटल युगमा प्रवेश गरिसकेको तथ्यलाई समयमै बुझ्न नसक्दा कस्तो गम्भीर परिणाम भोग्नुपर्ने रहेछ भन्ने पाठ यो वर्षले सिकाएको छ । सत्तासीनहरू कसरी जनताद्वारा दण्डित हुनुपर्ने रहेछ भन्ने कुरा सिक्नका लागि पनि २०८२ साललाई स्मरण गर्नु सान्दर्भिक हुनेछ । आर्थिक तथा सामाजिक पक्षबाट हेर्दा २०८२ सालको प्रारम्भदेखि नै खेलकुदका क्षेत्रमा नेपाली खेलाडीहरूले प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलता उत्साहजनक रह्यो ।
व्यापार घाटामा कमी, वैदेशिक मुद्राको पर्याप्त सञ्चिति, रेमिट्यान्स (विप्रेषण) मा वृद्धि र विदेशी पर्यटकको आगमनमा भएको बढोत्तरीले अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिए । तर, प्राकृतिक प्रकोपको हिसाबले यो वर्ष निकै कष्टकर रह्यो । पहाडी क्षेत्रमा बाढी–पहिरोले निम्त्याएको वितण्डा र तराईमा लामो खडेरीका कारण धानको बिउ ब्याडमै सुक्दा मुलुकले ठुलो आर्थिक क्षति बेहोर्नुपरेको छ । देशको कुल गृहस्थ उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्नुको मुख्य कारण अतिवृष्टि र अनावृष्टिजस्ता प्राकृतिक प्रकोप नै हुन् । यस्ता जोखिम नियन्त्रणका लागि समयमै उचित ध्यान दिन नीति निर्माताहरू चुक्दाको परिणाम आज मुलुकले भोगिरहेको छ ।
पहाडी क्षेत्रमा पूर्वाधार विकासका नाममा जथाभावी डोजर चलाउन नहुने र तराईमा सिँचाइको सम्भावनालाई समयमै मूर्त रूप दिनुपर्ने पाठ नीति निर्माताहरूका सामु उजागर हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ । यो वर्ष जनताले इतिहासकै सबैभन्दा कहालीलाग्दो मूल्यवृद्धिको मार बेहोर्नुप¥यो, जसमा अन्तर्राष्ट्रिय परिस्थिति मुख्य कारक रहेकोमा दुई मत छैन । तर, संक्रमणकालको फाइदा उठाउँदै काला बजारी र भ्रष्ट कर्मचारीको मिलेमतोमा हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसक्दा पनि जनताले महँगीको थप भार बोक्नुपरेको यथार्थलाई बिर्सन सकिँदैन ।
समग्रमा भन्नुपर्दा, २०८२ साल निराशालाई आशामा बदल्दै बिदा हुँदै छ । लामो समयदेखि विकृति र विसंगतिमा मुछिँदै आएका पुराना दलका नेताहरूलाई जनताले मतदानमार्फत दण्डित गरेका छन् । बिल्कुलै ताजा छवि भएका युवाहरू संगठित भएर निर्माण गरेको नयाँ पार्टी र तिनका प्राज्ञिक उम्मेदवारहरूलाई झन्डै दुईतिहाइ बहुमतका साथ सत्तामा पु¥याउनु देशका लागि एउटा अभूतपूर्व अवसर हो । अवसरको ढोका त खुलेको छ, तर यसको सदुपयोग कसरी हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।
वर्षौंदेखि थुप्रिएका विकृतिका चाङहरू निकै अग्ला भइसकेका छन् । एकातिर ती विसंगतिहरूलाई पन्छाउँदै जानुपर्ने चुनौती छ भने अर्कोतिर आन्तरिक बजारको सुस्ती, बढ्दो बेरोजगारी र निर्माण व्यवसायी तथा साना उद्यमीका समस्याहरू पनि कम छैनन् । यी समस्याहरूको ठोस समाधान नभएसम्म महिनामै हजारौँ युवाहरू विदेशिने क्रम रोकिने देखिँदैन । यद्यपि, नयाँ सरकार गठन भएको २ हप्ताको छोटो अवधिमा प्रशासनिक कार्यशैलीमा देखिएको सुधारले ठुलो आशा जगाएको छ ।
‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ, राजनीतिक परिवर्तनको स्पष्ट सन्देशसहित गठन भएको नयाँ सरकारले २०८२ साललाई सकारात्मक ऊर्जाका साथ बिदा गर्दै छ । यो परिवर्तन र सुधारको संकेत आमनेपालीका लागि पक्कै पनि सुखद् र आशावादी हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया