प्रख्यात भारतीय पार्श्वगायिका आशा भोसलेको निधन

मुम्बई । भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । बिबिसीका अनुसार मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । अस्पतालका चिकित्सकहरूका अनुसार, शनिबार उनलाई अचानक हृदयघात (कार्डियक अरेस्ट) भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको सांगलीमा भएको थियो । उनी दीनानाथ मंगेशकरकी छोरी र लता मंगेशकरकी बहिनी हुन् । ९ वर्षको उमेरमा बुबाको निधन भएपछि परिवारको आर्थिक भार सम्हाल्न उनी र लता मंगेशकरले सानै उमेरदेखि गायन सुरु गरेका थिए ।

संगीत क्षेत्रमा उनकी दिदी लता मंगेशकरको एकछत्र राज (नम्बर १ स्थान) रहँदा पनि आशाले आफ्नो अथक मेहनत र प्रतिभाले आफ्नै छुट्टै स्थान बनाइन् । आशाले सन् १९४८ मा फिल्म ‘चुनरिया’ बाट पार्श्व गायनको यात्रा सुरु गरेकी थिइन् । सन् १९४९ मा उनले पहिलो पटक एकल (सोलो) गीत गाउने अवसर पाइन् । सुरुवाती दिनहरूमा उनलाई ‘नम्बर २’ गायिकाको रूपमा हेरिए पनि आफ्नो बहुमुखी प्रतिभाका कारण उनी अन्ततः एक ग्लोबल आइकन बन्न सफल भइन् ।

आशा भोसलेको निधनले संगीतको एउटा स्वर्णिम युगको अन्त्य भएको छ । सामाजिक सञ्जालमा विभिन्न देशका कलाकार, राजनीतिज्ञ र फ्यानहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको छ ।

प्रतिक्रिया