गाउँ बनाउने, देश चिनाउने आधारस्तम्भ

आन्तरिक पर्यटन

प्रकृतिको काखमा रमाउँदै आर्थिक विकासमा सघाउँदै

प्राकृतिक तथा सांस्कृतिक सुन्दरताको धनी मुलुक नेपालमा पछिल्लो समय घुम्ने संस्कृतिको विकास तीव्र गतिमा भएको छ । आर्थिक रूपमा सबल, परिवर्तित जीवनशैली र सञ्चार प्रविधिको तीव्र विकासका कारण नेपालमा घुम्ने संस्कृति मौलाउँदै गएको हो । देशका ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक वा मनोरञ्जनात्मक स्थलहरूमा अहिले बिदा मनाउनेदेखि समय बिताउनेसम्मका मानिसको भिड देखिन्छ । पहिलेपहिले विदेशीहरू मात्रै घुम्थे, अहिले नेपाली नागरिक पनि देशभित्र वा बाहिर घुम्न जाने क्रम बढेको छ । प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिन पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काइडाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर, गाउँबस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरू हुन् ।

नेपालमा आन्तरिक पर्यटन आर्थिक विकासको बलियो आधार र नेपालीको जीवनशैलीको अभिन्न हिस्सा बन्दै गएको छ । बिदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरू घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने चाहनाले आन्तरिक पर्यटनको विकास हुँदै गएको हो । कोलाहल, प्रदूषण र व्यस्त जीवनबाट केही दिन टाढिएर पदयात्रामा रमाउने व्यवसायी, सरकारी, गैरसरकारी र वित्तीय संस्थाका कर्मचारी, प्लस टू र कलेजका विद्यार्थीको भरमा भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन व्यवसाय धानिएको छ । विगतमा वैदेशिक पर्यटकको आगमनमा मात्र निर्भर रहेको नेपाली पर्यटन क्षेत्रले विशेष गरी कोरोना महामारीपछि आन्तरिक पाहुनाको महत्वलाई गहिरोसँग बुझेको छ । पहिला पहिला घुम्नु भनेको विदेश जानु वा तीर्थाटन गर्नु मात्र बुझिन्थ्यो । तर, अहिले युवा पुस्ता र मध्यम वर्गीय परिवारमा फुर्सद हुनासाथ नयाँ ठाउँ पुग्ने र प्रकृतिसँग रमाउने संस्कृति विकास भएको छ ।

सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम) ले ओझेलमा परेका गन्तव्यहरूलाई रातारात चर्चामा ल्याएर आन्तरिक पर्यटक तान्न ठुलो भूमिका खेलेका छन् । आन्तरिक पर्यटन बढ्दा स्थानीय स्तरमा रकमको सञ्चार गराउँछ । कतिपय होटलहरूमा अहिले ३० प्रतिशतसम्म पाहुना नेपाली नै हुने गरेका छन् । पर्यटक पुग्दा स्थानीय खाना, हस्तकला र कृषि उपजको खपत बढ्ने गरेको छ । आन्तरिक पर्यटनले ग्रामीण क्षेत्रका होमस्टेहरूले स्थानीय युवा र महिलालाई स्वरोजगार बनाउँदै लगेको छ ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । लामिछानेले अर्थतन्त्र चलायमान गराउन आन्तरिक पर्यटनले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले भने, ‘आन्तरिक पर्यटकले गाडी चढ्छ, उसले रेस्टुरेन्टमा खाना खान्छ, होटलमा बस्छ, अन्य आर्थिक गतिविधि गर्ने हुनाले अर्थतन्त्र चलायमान हुन्छ । नेपालको सन्दर्भमा कोभिडपछि तथा अन्य समस्याका बेला आन्तरिक पर्यटनले आर्थिक गतिविधिमा राम्रो भूमिका खेलेको छ । यस्तो समयमा यसलाई प्रचारप्रसार गरौँ, प्रवर्धन गरौँ भनेर धेरै चर्चा पनि हुने गरेको छ ।’

नेपाललगायत केही मुलुकमा मात्रै पर्यटकलाई आन्तरिक र बाह्य भनेर वर्गीकरण गरिए पनि धेरैजसो मुलुकमा सबैलाई ‘पर्यटक’ कै रूपमा हेर्ने गरिएको उनले बताए । उनले भने, ‘अधिकांश देशमा पर्यटक भनेपछि आफ्नो बासस्थानभन्दा परको ठाउँमा कम्तीमा १ रातदेखि ३६५ दिनभन्दा कम बस्छ भने त्यसलाई पर्यटक भनेर मान्ने चलन छ । साउथ एसियाका केही मुलुकमा आन्तरिक र बाह्य (स्वदेशीहरूलाई आन्तरिक र त्योभन्दा बाहिरकोलाई बाह्य) भन्ने चलन छ ।’ लामिछानेका अनुसार पछिल्लो रिपोर्टअनुसार पर्यटनको राजधानी पोखराको कुल पर्यटकमा आन्तरिक पर्यटकको हिस्सा ७१.५ प्रतिशत पुगेको देखिन्छ । नेपालको आन्तरिक पर्यटनले अर्थतन्त्र वृद्धिमा विदेशी पर्यटकजस्तो ठुलो प्रभाव भने नपार्ने बताइन्छ । आयातमा आधारित अर्थतन्त्र भएका कारण पर्यटन क्षेत्रबाट १०० रुपैयाँ आम्दानीको करिब ४० प्रतिशत हिस्सा ‘लिकेज’मार्फत् पुनः बिदेसिने चुनौती रहेको लामिछाने बताउँछन् । विदेशी पर्यटकले १०० रुपैयाँ खर्च गर्दा ४० रुपैयाँ लिकेजमा गए पनि ६० रुपैयाँ राष्ट्रिय अर्थतन्त्रमा जोडिन्छ ।

पर्यटकहरूले प्रयोग गर्ने विभिन्न वस्तु तथा कतिपय खाद्यान्न सामग्रीको आयातमै ठुलो धनराशि बाहिरिने गरेको छ । आन्तरिक पर्यटकले खर्च गरेको १०० रुपैयाँमध्ये ४० रुपैयाँ वस्तु आयातमा जाने गरेको छ । लामिछानेले भने, ‘आन्तरिक पर्यटनले स्थानीय तहमा आर्थिक चलायमान बनाए पनि राष्ट्रिय अर्थतन्त्रमा विदेशी मुद्रा आर्जनको अभावलाई पूर्णतः पूर्ति गर्न सक्दैन ।’ भारत, चीनजस्ता धेरै देशहरूमा यस्तो लिकेज एकदम नगन्य अर्थात् १० प्रतिशतभन्दा कम रहेको पाइएको छ । जसकारण आर्थिक वृद्धिमा ती मुलुकमा आन्तरिक पर्यटनले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

कहिलेदेखि बढ्यो आन्तरिक पर्यटन

नेपालमा घुम्ने संस्कृतिको विकास पहिल्यै भएको भेटिन्छ । पहिलेपहिले पर्यटन भनेको तीर्थाटन मात्रै हुन्थ्यो । आर्थिक गतिविधि नै चलायमान हुने गरी भने सन् २००० पछि मात्र नेपालमा आन्तरिक पर्यटन व्यावसायिक रूपमा सुरु भएको पाइन्छ । सन् २००१ मा भएको राजदरबार हत्याकाण्ड र माओवादी द्वन्द्वले विदेशी पर्यटक एकदमै कम भएपछि प्रभावित बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाको सहकार्यमा सन् २००२÷०३ मा ‘गन्तव्य नेपाल’ अभियान चलाइएको थियो । उक्त अभियानबाट थलिएको पर्यटन उद्योग पूरै पुनरुत्थान हुन नसके पनि आन्तरिक पर्यटनको विकासमा भने ठुलो प्रभाव परेको पर्यटन बोर्डका प्रवक्ता लामिछाने बताउँछन् । उक्त अभियानपछि काठमाडौँ, पोखरा र चितवनबाहिर पनि उत्कृष्ट पर्यटकीय गन्तव्यहरू छन् भन्ने सन्देश फैलिएको थियो । त्यस्तै, २००७ मा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पोखरा भ्रमण वर्ष मनाइएको थियो ।

त्यसयता नेपालमा आन्तरिक पर्यटनको जग बसाउन र यसलाई चलायमान बनाउन सरकारी, निजी र सामुदायिक स्तरबाट विभिन्न प्रयास हुँदै आएका छन् । नेपालमा लोकतन्त्र स्थापनापछि आन्तरिक पर्यटनले गति लिएको व्यवसायीहरू बताउँछन् । २०६२÷६३ को राजनीतिक परिवर्तनपछि नेपालका धेरैजसो स्थानमा महोत्सवहरू आयोजना गर्ने, स्थानीय वस्तुको प्रदर्शनी गर्ने तथा मेला–महोत्सवमा विभिन्न कलाकर्मीको उपस्थिति गराउने प्रवृत्ति बढ्दै जाँदा आन्तरिक पर्यटन झन् बढेको बताइन्छ ।

विशेष गरी २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीपछि बाह्य पर्यटकको अनुपस्थितिमा आन्तरिक पर्यटनले नै अर्थतन्त्रलाई थेगेपछि यस क्षेत्रमा थप व्यवस्थित कामहरू सुरु भएका देखिन्छन् । सरकारले सन् २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटन दशक’ घोषणा गरेको छ । यसअन्तर्गत आन्तरिक पर्यटनलाई दिगो बनाउन सातै प्रदेशमा रणनीतिक कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । कोसी प्रदेश सरकारले ‘कोसी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरी कार्यविधि नै तयार पारेको छ । अन्य प्रदेशहरूले पनि आफ्नो वार्षिक बजेटमा आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै आएका छन् ।

नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारहरूको समन्वयमा हरेक वर्ष नयाँ पर्यटकीय गन्तव्यहरू (१०० वटा गन्तव्य सूची आदि) सार्वजनिक गरी पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको छ । पहाडी क्षेत्रमा नयाँ पदयात्रा मार्ग (जस्तै– ग्रेट हिमालय ट्रेल) र ग्रामीण सडक सञ्जालको विस्तारले आन्तरिक पर्यटकका लागि दुर्गम र सुन्दर ठाउँहरूमा पहुँच सजिलो बनाएको छ । लुम्बिनी, जनकपुर, पशुपति र मुक्तिनाथजस्ता क्षेत्र समेटेर धार्मिक सर्किटको विकास गरिएको छ, जसले आन्तरिक तीर्थयात्रीको संख्या बढाएको दाबी छ । होटल संघ नेपाल र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालजस्ता संस्थाहरूले आन्तरिक पर्यटकका लागि छुट्टै र सस्तो मूल्यका प्याकेजहरू ल्याउने गरेका छन् । जिपलाइन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ र र्याफ्टिङ जस्ता साहसिक खेलमा अहिले नेपाली युवाहरूको आकर्षण ह्वात्तै बढेको छ ।

‘पहिले देश, अनि विदेश’ र ‘घुमौँ आफ्नै देश’ जस्ता नाराका साथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार हुँदै आएको छ । विभिन्न जिल्लामा आयोजना हुने महोत्सव र खाना महोत्सवले पनि स्थानीय र नजिकका जिल्लाका मानिसलाई भ्रमण गर्न प्रेरित गरेको छ । निजामती कर्मचारी र केही निजी क्षेत्रका कर्मचारीहरूलाई ‘देश दर्शन’ गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन काज’को अवधारणा ल्याइएको छ । जसमा निश्चित रकम र बिदाको व्यवस्था गर्ने प्रयास गरिएको छ । पर्यटन बोर्डका प्रवक्ता लामिछानेले ‘देश दर्शन’ अभियान बजेटमा सिफारिस गरिएको बताए । सबै सरकारी कर्मचारी यसमा सहभागी भए भने आर्थिक गतिविधि उल्लेख्य बढ्ने उनको दाबी छ । पर्यटकीय क्षेत्रहरूमा खासै समस्या नरहेको बताउँदै उनले भने, ‘हिजोआज ट्रेकिङ ह्वात्तै बढेको छ । साथै नजिकका गन्तव्यमा घुम्ने प्रवृत्ति धेरै छ । यसले गर्दा आन्तरिक पर्यटनका लागि ठुलो समस्या छैन ।’

आन्तरिक पर्यटन विकास सरकारको प्राथमिकतामा

नेपाल सरकारले आन्तरिक पर्यटन विकासलाई प्राथमिकता दिएको छ । सरकारको पछिल्लो पर्यटन नीति २०६५ ले पनि विभिन्न १६ वटा नीतिगत क्षेत्रमध्ये आन्तरिक पर्यटनलाई एक प्रमुख राष्ट्रिय नीतिगत कार्यक्रमका रूपमा मान्यता दिएको छ । यसले आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको एक सहायक अंगका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय स्तरमा नेपाल पर्यटन बोर्डले देशका विभिन्न भागमा विविध प्रकारका मेला तथा महोत्सवहरूको आयोजना गर्दै पर्यटन प्रवद्र्धन गरिरहेको छ । हालका केही वर्षहरूमा आन्तरिक पर्यटन प्रवद्र्धनका तौरतरिकाहरूमा परिवर्तन आएको छ । सन् २०१३ मा पर्यटन बोर्डले आन्तरिक पर्यटकहरूलाई लक्षित गरी होमस्टेको अवधारणा भित्र्याएको थियो, जुन अहिले निकै लोकप्रिय बनेको छ ।

हरेक कुनामा आन्तरिक पर्यटक

पछिल्ला वर्षहरूमा नेपालका हरेक कुनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको देखिन्छ । छाँगा, छहरा, नदी, खोला, पहाड, हिमाल, पार्क, राष्ट्रिय निकुञ्ज तथा ऐतिहासिक मठमन्दिर, जहाँ पनि आन्तरिक पर्यटकको भिड देखिन्छ । बोर्डका प्रवक्ता लामिछाने पूरै नेपाल पर्यटन गन्तव्य भएकाले पछिल्लो समय कुनै एक स्थान भनेर छुट्याउने अवस्था नै नरहेको बताउँछन् । उनले भने, ‘जहाँ गयो त्यहीँ केही न केही फरक विशेषता छ, त्यसैलाई आममानिसले बुझ्न, जान्न तथा सोही वातावरणमा रमाइलो गर्न खोज्छन् । त्यसकारण अहिलेको अवस्थामा सिंगो देश नै पर्यटकीय गन्तव्य हो ।’

पोखरा, लुम्बिनी, चितवन र सौराहाजस्ता परम्परागत गन्तव्यहरू नेपालीको पहिलो रोजाइमै छन् भने मुस्ताङको मुक्तिनाथ, रारा ताल, काभ्रेको तिनधारे झरना, पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुङ पोखरी र इलामको कन्याम अहिले चर्चित गन्तव्य बनेका छन् । जनकपुरधाम, पाथीभरा, बडिमालिका, खप्तड, हलेसी महादेवलगायत हजारौँ धार्मिक स्थल आन्तरिक पर्यटकको रोजाइमा परेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ–तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् ।

चुनौती उत्तिकै

सडकको दुरवस्था र महँगो हवाई भाडा, पर्यटकीय स्थलमा नेपाली र विदेशीलाई हेर्ने दृष्टिकोणमा फरक हुँदा सेवाको गुणस्तरमा हुने भिन्नता, सरकारसँग आन्तरिक पर्यटकको तथ्यांक अभाव, आपराधिक गतिविधि तथा सुरक्षाको कमीलगायत चुनौती अहिले पर्यटन क्षेत्रमा छन् ।

कोसीटप्पुमा पर्यटक

व्यवस्थित गर्न के गर्ने ?

ऐतिहासिक पर्यटकीय स्थल गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनुपर्नेमा व्यवसायीको जोड छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिनुपर्ने, बाह्यसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रूपमा लिइने बाटो, बासस्थानअन्तर्गत होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेश स्तरीय सांस्कृतिक संग्रहालयको स्थापना गरी दिगो पर्यटन विकासका लागि सकारात्मक पहल गरिनुपर्नेमा कतिपयले जोड दिएका छन् ।

पाटन दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक

प्रतिक्रिया