गुमनाम छन् राज्यले नचिनेका पर्यटकीय स्थल

२०७९ सालको फागुनमा मधेस प्रदेश घुम्न आएका गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महोत्तरीस्थित बर्दिवास पुगेर भनेका थिए – ‘मधेस प्रदेश धार्मिक, सांस्कृतिक, पुरातात्विक र भौगोलिक दृष्टिकोणले पर्यटनका लागि महŒवपूर्ण उर्वर भूमि रहेछ ।’ ३ दिनसम्म मधेसका समथल फाँटदेखि चुरेका अग्ला पहाड घुमेर फर्किएका मुख्यमन्त्री नेपालीले गण्डकी र मधेसलाई जोड्न सिधा हवाई यातायातको प्रस्तावसमेत राखेका थिए । तर, आर्थिक समृद्धिको महŒवपूर्ण मेरुदण्ड मानिएको पर्यटन क्षेत्रमा तीनै तहका सरकारले खासै ध्यान दिन सकेनन् । तत्कालीन समयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतले न पहिचान र प्रवद्र्धन नै गर्न सके, न त कुनै योजना नै बनाए । बरु प्रचारप्रसार र प्रवद्र्धन गरेर स्वयं सरकारले फाइदा लिन सक्ने ठाउँहरू अझै गुमनाम छन् । यसका लागि ठोस योजना बनाउन नसक्नुले पर्यटन क्षेत्रमा सरकारको उदासीनता स्पष्ट देखिएको छ ।

विज्ञहरूका अनुसार पर्यटनका लागि नेचर, एडभेन्चर र कल्चर भयो भने पूर्ण पर्यटकीय गन्तव्य बन्छ । राज्यले थाहा नपाएका र घुम्नैपर्ने महोत्तरीका यस्तै केही ठाउँबारे बुझौँ –

प्रागऐतिहासिक मानव सभ्यता

मध्यपाषाण युग अर्थात् १२ हजार वर्षअघि महोत्तरीको चुरे क्षेत्र पाटुमा मानिसको बाक्लै चहलपहल थियो भन्ने वैज्ञानिक प्रमाणित भएको छ । तत्कालीन समयमा मानिसहरूले ढुंगाका हतियार बनाएर सिकार खेल्ने र आवश्यक पर्ने हतियारहरू औद्योगिक रूपमा पाटुमा निर्माण गर्ने विभिन्न विदेशी वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । जर्मन नागरिक तथा विख्यात खोजकर्ता कार्विन्सले सन् २००७ मा प्रकाशन गरेको किताब ‘प्रि–हिस्टोरिक कल्चर इन नेपाल’ बाहिर आएपछि यो भूमिको थप रहस्य उजागर भएको थियो । उनले उक्त किताबमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्षअघि अर्थात् मध्यपाषाण युगमा मान्छेहरूको बाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन् । १९८५ को दशकमा कार्विन्सले १० वर्ष लगाएर यहाँ वैज्ञानिक खोज गरेकी थिइन् ।

अहिले पनि पाटुको उपल्लो क्षेत्रमा रातो माटोमुनि उत्खनन गर्दा सयौँ प्रकारका हतियारहरू फेला पर्छन् । नेपालको तर्फबाट पुरातत्व विभागले गरेको थप अध्ययनमा पनि तत्कालीन मानवहरूले प्रयोग गर्ने २४ प्रकारका हतियारहरू फेला परेको र दक्षिण एसियाको सबैभन्दा ठुलो साइट भएको निष्कर्ष निकालिएको थियो । भौगोलिक दृष्टिकोणले समेत निकै मनोरम देखिने यस क्षेत्रलाई सरकारले विश्व सम्पदा सूचीमा पार्न पहल गर्ने र प्रवद्र्धन गर्ने हो भने एसियाकै ठुलो पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ ।

चनौटे डाँडा

गर्मी छल्ने लेकाली चिसो मधेसमै पाइन्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडामा पुगेपछि पाइने विशिष्ट मौसमले यसलाई पुष्टि गर्छ । बर्दिवास–११ खयरमाराबाट माथि उक्लेपछि मधेस प्रदेशकै सबैभन्दा अग्लो डाँडा मानिने यहाँबाट सिन्धुलीगढीसमेत देखिन्छ । गढीको जस्तै हावापानी पाइने यो ठाउँलाई मधेसको गर्मी छल्ने उपयुक्त गन्तव्य बनाउन सकिने आधार भए पनि सरोकारवालाहरूको चासो देखिएको छैन । यतिबेला मधेसमा गर्मी धेरै चढिसकेको छ । यहाँका मानिसहरू चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरूमा जाने क्रम बढेको छ भने सिमाना जोडिएको भारतको बिहार प्रदेशका मानिसहरू गर्मी छल्न केही दिनका लागि भए पनि सिन्धुली, रामेछाप, दोलखालगायत जिल्लामा जाने गरेको तथ्यांकले देखाउँछ ।

१० बर्से जनयुद्ध हुर्काउन उर्वर भूमिका रूपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्वलडाकूहरूले अहिले पनि निकै श्रद्धाका साथ लिने गर्छन् । यसैकारण यो ठाउँमा सहिद पार्कको प्रारम्भिक शिलान्यास गरिएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्ड स्वयं पुगेर पार्कको शिलान्यास गरेका थिए । स्थानीयका अनुसार विकटताका कारण निर्माण सामग्री पु¥याउन नसक्दा केही योजना अपूरै रहे । भौगोलिक भूधरातल र फुसका घरहरूले निकै विकट लाग्ने यो ठाउँबाट पूरै तराई नियाल्न सकिन्छ । समुद्री सतहबाट झन्डै ७०० मिटर उचाइमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यूटावर पनि भन्ने गर्छन् । स्थानीयका अनुसार २ दशकअघिसम्म यहाँ घना बस्ती थियो । विकटताकै कारण मानिसहरू बसाइँ सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे । यहाँबाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेसका चुरे शृंखलाको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । यो ठाउँलाई कतिपयले दोस्रो गढीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् ।

गिद्ध बासस्थान

पाटुभन्दा २ किलोमिटर माथि गएपछि राईमण्डल पहाड पुगिन्छ । यही पहाडमा हजारौँ गिद्धको अवलोकन गर्न पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमण्डल डाँडामा प्राकृतिक बासस्थान बनाएका हजारौँ गिद्ध आहाराको खोजीमा छन् भने जंगल क्षेत्रमा फ्याँकिएका विषाक्त मृत जनावरहरू खाएर मर्ने क्रमसमेत बढेको स्थानीय बताउँछन् । राईमण्डल डाँडाको सेतो भिरमा अहिले पनि जुनसुकै समयमा सयौँ गिद्ध देख्न सकिन्छ । अझ बिहानको समयमा त आकाशभरि हजारौँ गिद्ध देख्न सकिने स्थानीय बासिन्दा बलबहादुरको बताउँछन् । ‘३ प्रकारका गिद्धहरू आकाशमा बाक्लै देखिन्छन् । विशेष गरी सेतो भिर वरपर नै उनीहरूको बासस्थान छ,’ उनले भने ।

अध्ययनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ । राईमण्डलका स्थानीयले बताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरी गिद्ध देखिन्छन्, जुन फरकफरक रूपरङका छन् । यसलाई संरक्षण गरे अर्को महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

बेसारे डाँडा

नेपालकै बहुचर्चित धार्मिक स्थल टुटेश्वर महादेव मन्दिरबाट १ घन्टा हिँडेपछि बेसारे डाँडा पुगिन्छ । यो बर्दिवास–५ मा अवस्थित छ । डाँडाको फेदीमा केही फुसका परम्परागत घरहरू देखिन्छन् । यहाँका मानिसको दुःख–सुख भुलाउने यही डाँडो हो । यो डाँडो साँच्चिकै मनोरम पनि छ । यसको शिखरबाट तराईका उर्वर फाँटहरू अवलोकन गर्न सकिन्छ । यहाँबाट सर्लाहीको लालबन्दी बजार, सिन्धुलीको कमलामाई बजार राम्ररी देखिन्छ । डाँडासम्म पुग्न गोरेटो छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बनाइएको यो गोरेटो वनकुञ्जबाट छिचोल्दै बनाइएको हो । जसलाई वैकल्पित पदमार्ग बन्न सक्ने अपेक्षा पनि गाउँलेहरूले लिएका छन् । स्थानीयका भनाइमा यो विकट बस्तीमा बस्ने मानिसहरू सिन्धुलीबाट आएका हुन् । कुनै बेला उनीहरू सिन्धुलीको दुधौली, ठुलोपाटन जस्ता ठाउँबाट गोठ लिएर बरडाँडाको उपल्लो क्षेत्रमा आएका थिए । बिस्तारै यतै बसोबास गरे र यो बस्ती विकास भयो ।

यो क्षेत्र बर्दिवास नगरपालिकामा पर्ने भए पनि पैदल जाँदा सिन्धुली र लालबन्दी बजार नजिक पर्छन् । यहाँका बासिन्दा विकल्पका रूपमा मात्रै बर्दिवास बजार प्रयोग गर्छन् । टुटेश्वर निस्केर बर्दिवास जानुपर्ने हुँदा टुटेश्वर पुग्न मात्रै यहाँका मानिसलाई झन्डै ४ घन्टा हिँड्नुपर्छ । टाढा पर्ने भएकाले बजार जाने भनेपछि गाउँमा सल्लाह गरेर प्रायः सबैजना एकै पटक बजार निस्किन्छन् । वर्षा सुरु हुनुअघि नै वर्षाभरिलाई पुग्ने खाद्यान्न जोहो गर्नेतिर लाग्छन् । यो डाँडालाई स्थानीयले प्रेम डाँडा भनेर पनि नामकरण गरेका छन् । प्राकृतिक रूपमा सिँगारिएको यो डाँडाको आफ्नै विशेषता छ भने गाउँलाई होमस्टेका रूपमा विकास गर्न सकिने प्रशस्त आधारहरू छन् । दुरुस्त पहाडी क्षेत्रको जस्तो अनुभूति हुने यस ठाउँमा विशेष गरी जनजाति समुदायको बसोबास छ ।

भूकम्प पहाड

इतिहासविद्हरूका अनुसार नेपालमा रेकर्ड गरिएको पहिलो भूकम्प १२१८ सालको हो । तत्कालीन समयमा ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको मृत्यु भएको थियो । त्यसपछि नेपालमा ठुल्ठुला भूकम्प भए तर जनधनको क्षतिको मात्र आकलन गरियो । भौगोलिक क्षतिको विषयमा भने कुनै पनि खोज, अनुसन्धान हुन सकेको थिएन । तर, भूगर्भविद् डा. सोमनाथ सापकोटालगायत विज्ञहरूले महोत्तरीको चुरे क्षेत्रमा गरेको भौगोलिक क्षतिको अध्ययन भने निकै रोचक छ ।

पिएचडीको थेसिस लेख्ने क्रममा विज्ञहरूले गरेको अध्ययनअनुसार कतिपय ठाउँमा बनेको पहाड भूकम्पकै कारण भएको प्रमाणित भएको छ । जिल्लाको बर्दिवासस्थित चुरे पहाड र त्यसको फेदीमा रहेका कैयौँ बस्तीको विकास भूकम्पकै कारण बस्न योग्य बनेका तथ्यहरूसमेत सार्वजनिक भएका छन् । अझ महोत्तरीको पाटु र गौरीडाँडाको विषय भने रोचक छ । विभिन्न समयको कम्पन र परकम्पले समथल भूभागबाट ५० मिटर माथि उठेर पहाड बनेको डा. सापकोटा बताउँछन् । बर्दिवासबाट २ किलोमिटर दुरीमा रहेको गौरीडाँडा भूकम्पकै कारण ४० मिटर उचाइमा बनेको डा. सापकोटा स्वयंले निष्कर्ष निकालेका छन् । त्यस्तै गौरीडाँडाबाट ३ किलोमिटर उत्तर पाटुको माथिल्लो क्षेत्र पनि भूकम्पकै कारण माथि उठेको विज्ञहरूको निष्कर्ष छ । यी ठाउँहरूलाई भूकम्प पहाड भनेर चिनिन्छ ।

छैन सरोकारवालाको ध्यान

उल्लेखित ठाउँहरूको विषयमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहलाई वृत्तचित्र नै बनाएर दिएको थियो । त्यसअघि उद्योग वाणिज्य संघ बर्दिवासले यी ठाउँहरूको स्थलगत अवलोकनसमेत गरेको थियो । विभिन्न माध्यमबाट प्रतिवेदन बनाएर तीनै तहका सरकारलाई ध्यानाकर्षण गराए पनि कुनै पनि सरकारले चासो देखाएका छैनन् ।

तत्कालीन संघीय पर्यटनमन्त्री सुदन किराँतीले रातु सभ्यता संरक्षणका लागि ५० लाख बजेट पनि विनियोजन गरेका थिए । तर, नगरपालिकाले के गर्ने भन्ने मेलोमेसो नै नबनेपछि उक्त बजेट फ्रिज भयो । पुरातत्व विभागका निर्देशक भास्कर ज्ञवालीका अनुसार नगरपालिकाले मध्यपाषाण युगको हतियार कारखाना अध्ययन गर्न झन्डै १५ लाख बजेट खर्च गरेको थियो । अध्ययनपछि विभागले नगरलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उक्त क्षेत्र दक्षिण एसियाकै सबैभन्दा ठुलो क्षेत्रमा फैलिएको कारखाना भएको पुष्टि भएको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया