
फागुन २१ गते सम्पन्न निर्वाचनको क्रममा धनगढीमा आयोजित चुनावी सभामा ३ मिनेट बोलेका हालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भनेका थिए— ‘देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो । रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ । किन बनाउनुपर्यो स्विट्जरल्यान्ड । हामी माल भाको चाल नपाको पर्यौँ । भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन ।’ पहिलो पटक सुदूरपश्चिम घुम्दा सार्वजनिक रूपमा एकशब्द नबोलेका बालेनले दोस्रो पटक भने सुदूरका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई चर्चाको शिखरमा ल्याइदिए । त्यसपछि ती क्षेत्रबारे विश्वभर रहेका आमनेपालीले खोजेको, सुनेको र चासो राखेको पाइयो ।
बालेनले भनेजस्तै सुदूरपश्चिम पर्यटकीय र धार्मिक स्थलको हिसाबले निकै धनी छ । तर, राज्यले चाल पाएको छैन । यस क्षेत्रमा सयौँ पर्यटकीय र धार्मिक स्थल छन् । ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल हिमाल यहीँ छन् । सुदूरपश्चिम पुगेपछि दुर्लभ डल्फिन हेर्न पाइन्छ । संख्यात्मक हिसाबले विशेष गरी सुदूरपश्चिममा अन्य पर्यटकभन्दा धार्मिक पर्यटक धेरै पुग्छन् । ऐतिहासिक, पुरातात्विक, धार्मिक, एवं प्राकृतिक महत्वका अद्वितीय स्थलहरूले भरिपूर्ण सुदूरपश्चिम प्रदेशमा पनि धार्मिक पर्यटनको प्रचुर सम्भावना छ । यो प्रदेशमा धार्मिक रूपले महत्वपूर्ण मानिएका ७ देवी बहिनीको सञ्जाल छ भने व्यास, परशुराम, खप्तड बाबाले तपस्या गरेका पवित्र धाम, कैलाश मानसरोवर जाने मुख्यद्वारलगायत प्रख्यात मठमन्दिर छन् । अधिकांश धार्मिक स्थल उच्च पहाडी भेगमा अवस्थित रहेकाले तीर्थयात्रा सँगसँगै पदयात्रा तथा पर्वतारोहणको पनि सम्भावना छ ।
बडिमालिका

बालेनले स्विट्जरल्यान्डको बाउ’ को संज्ञा दिएको बडिमालिका मन्दिर विश्वकै सबैभन्दा उच्च स्थानमा अवस्थित कलात्मक शक्तिपीठ हो, जसको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व छ । ४२०० मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको प्रारम्भिक अध्ययन छ । बडिमालिकामा नेपाली सेनाले पुरानो मन्दिर जीर्णोद्धार गर्दै पुरातात्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेको हो । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका र कालिकोटको रास्कोट नगरपालिकाको सिमानामा पर्ने यसको मुख्य भाग बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्छ । यहाँ प्रत्येक वर्ष साउन शुक्ल त्रयोदशीदेखि चतुर्दशीका दिन मुख्य पूजा तथा हवन गरिन्छ । गंगा दशहरामा यहाँको पातीप्रसाद खप्तडमा ल्याएर चढाउने गरिन्छ । बडिमालिकामा २ जिल्ला बाजुरा र कालिकोटका पुजारीहरूले पूजा गर्छन् ।
बडिमालिका दर्शनका लागि जाने भक्तजनले बाजुराको त्रिवेणी हुँदै जानुपर्ने हुन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चिन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । बडिमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । सुदूरपश्चिम प्रदेशको धनगढीबाट बाजुरासम्म सडक यातायातको सुविधा छ । बाजुरा सदरमुकाम मार्तडीबाट भने हिँडेर जानुपर्ने हुन्छ ।
खप्तड

सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको संगममा अवस्थित खप्तड क्षेत्र २२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि २४०० देखि २७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा १२ हजार फिट अग्लो खप्तड लेक हो । ५० वर्षअघि महान् दार्शनिक, चिकित्सक, वैज्ञानिक र ज्योतिषका रूपमा प्रख्यात खप्तड बाबाले तपस्या गरेको यस स्थानमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी र सोको वरिपरि २२ वटा पाटन र ५३ वटा थुम्का छन् । खप्तडमा लाग्ने विभिन्न सांस्कृतिक मेलामध्ये गंगा दशहरा मेलामा हजारौँ तीर्थयात्री भेला हुने गर्छन् । मेलामा सुदूरपश्चिमको प्रसिद्ध हुड्के नाच र देउडा हेर्न लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जम्मा हुने गर्छन् ।
रामारोशन

अछाममा रहेको रामारोशन १२ बण्ड र १८ खण्ड अर्थात् १२ ताल १८ पाटनले परिचित प्राकृतिक गन्तव्य हो । अछाम जिल्लाको पूर्वोत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुद्री सतहबाट २५४६ मिटरको उचाइमा प्राकृतिक वरदानका रूपमा रहेको रामारोशन ताल क्षेत्र कैलाश खोलाको मुहानका रूपमा रहेको छ । अछामको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा र दक्षिणमा रामारोशन गाउँपालिकाको अल्लेडी भन्ने क्षेत्र छन् । यहाँ साना–ठुला गरी १२ वटा ताल (बाह्र बण्ड) र १८ वटा रमणीय मैदानहरू (१८ खण्ड) छन् । रामारोशन काठमाडौँदेखि धनगढी, दिपायल, साँफेबगर हुँदै तिमिल्सैनसम्म पक्की सडक भएकाले गाडीमा आउनजान सकिन्छ । त्यस्तै, मंगलसेन, वलीगाउँसम्म गाडीमा र त्यहाँबाट हिँडेर शान्तडा हुँदै रामारोशन पुग्न सकिन्छ ।
त्रिपुरा सुन्दरी मन्दिर

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीस्थित दशरथचन्द नगरपालिका–८ मा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर १४÷१५औँ शताब्दीतिर स्थापना भएको मानिन्छ । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट पश्चिम दिशामा पर्छ र त्यहाँबाट करिब ३ किमी टाढा छ ।
मेलौली भगवती मन्दिर

मेलौली भगवती मन्दिर ७ बहिनी भगवती शक्ति पीठमध्ये एक मन्दिर मानिन्छ । धनगढीबाट बैतडी जिल्लाको सदरमुकामसम्मको दुरी २१४ किमी छ । यसको अवस्थिति बैतडी पाटन नगरपालिकाबाट दक्षिण पश्चिममा करिब ३३ किमी दुरीमा छ । विशाल दुवोचौरमा आकर्षक शिखरशैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्मित यो मन्दिर जनश्रुतिअनुसार १८औँ शताब्दीतिर निर्माण गरिएको हो ।
परशुरामधाम
स्कन्दपुराणको मानसखण्डमा उल्लिखित ‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’ भन्ने भनाइले नै परशुरामधामको धार्मिक महत्व दर्साउँछ । डडेलधुरा जिल्लाको दक्षिण–पश्चिम तथा डडेलधुरा तथा कञ्चनपुरको सिमानामा अवस्थित परशुरामधाम डडेलधुरा बजारदेखि करिब १०० किमी टाढा छ भने अत्तरिया–डडेलधुरा (भीमदत्त पन्त राजमार्ग) को बुडर, डोटीदेखि करिब ४२ किमी टाढा छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पवित्र तीर्थस्थल क्षेत्र एला र श्यामा नदीको संगममा अवस्थित छ ।
उग्रतारा मन्दिर

उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै ठुलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेलधुरा सदमुकामदेखि ४ किलोमिटर पश्चिमपट्टि छ । यो मन्दिरलाई नेपालको सुदूरपश्चिमका ९ भगवती मन्दिरहरूमध्ये एक मानिन्छ । उग्रतारा भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठुलो जात्रा लाग्छ । वर्षमा एकपटक उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास छ ।
मालिकार्जुन मन्दिर

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित राष्ट्रकै सातौँ धाम शिखर मालिकार्जुन धामको मन्दिर रमणीय तथा धार्मिक पर्यटकीय स्थल हो । मालिकार्जुन मन्दिर भगवान शिवलाई देवादिदेव महादेवका रूपमा लिइने भएकाले मालिकार्जुनको बासस्थानलाई देवताहरूको राजधानी पनि भनिन्छ । मालिकार्जुन मन्दिर सदरमुकामबाट ५० किलोमिटरको सडक दुरीमा छ । शिवपुराणलगायत विभिन्न पौराणिक धार्मिक ग्रन्थहरूमा देवादिदेव महादेवका १२ ज्योतिर्लिंगमध्ये एउटा ज्योतिर्लिंगको रूपमा मालिकार्जुन मानिएको छ । नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै सातौँ धाम भनेर घोषणा गरेको जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन मन्दिरमा विशेष गरी भदौमा गौरा पर्व र कात्तिक, मंसिर महिनामा विशाल जात्रा लाग्ने गरेको छ ।
शैलेश्वरी मन्दिर
सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकीय तीर्थस्थल शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका–१ शैलेश्वरीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल हो । शैलेश्वरी मातालाई साक्षात् देवीको उपमा दिइन्छ । यो मन्दिलाई नेपालको सुदूरपश्चिमका ९ भगवती मन्दिरहरूमध्येको मानिन्छ ।
वैद्यनाथ धाम

नेपालका ४ तीर्थमध्येको एक वैद्यनाथ धाम अछामको बुढीगंगा र सरस्वती नदीको दोभानमा अवस्थित छ । वैदिक सनातन जोगाउन २०५५ सालमा मन्दिर परिसरभित्रै वेद विद्याश्रम स्थापना गरिएको थियो । स्कन्द पुराणको मानसखण्डको खण्डमा यस स्थानको उल्लेख गरिएको छ । रावणले कैलाश पर्वतमा तपस्या गरेर शिवको दर्शन गर्न नसकेपछि उनी तपस्याको लागि वैद्यनाथमा आएका थिए भन्ने किंवदन्ती छ । यहाँ शिवले रावणलाई ९ वटा टाउको जोड्ने इच्छा पूरा गरिदिएका थिए । शिवले वैद्य (चिकित्सकको) रूपमा काम गरेकाले यस ठाउँलाई वैद्यनाथ भनिन्छ । रावणले तपस्या गरी शिवको वरदान पाएको ठाउँ भनेर चिनिन्छ वैद्यनाथ ।
राजकाँडा

कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।
टीकापुर पार्क
स्विट्जरल्यान्डको लक्साल सहरको नक्साअनुरुप रेखांकन गरिएको टीकापुर पार्क करिब ५ बिगाहमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाबका फूल र विभिन्न प्रजातिका बोटबिरुवा पाइन्छन् ।
घोडाघोडी ताल
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल २५६३ हेक्टरमा हातको पन्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपताल छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीवजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जिप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र सानाठुला धेरै फाँटा छन् । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी ताल छन् । योभित्रका रमणीय तालमा तारा ताल, रानी ताल, बठनिया ताल, बाउन्ने ताल, सिकारी ताल, सलगौडी ताल र बाबा ताल हुन् ।
अजयमेरूकोट

डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाटगाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ ।
अपि बेस क्याम्प

दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायत हिउँचुली लहरै छन् । चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यसपछि ७ दिनको पदयात्रापछि अपि बेस क्याम्प पुगिन्छ ।
०००
सरकारको १०० बुँदे कार्यसूचीमा ३ क्षेत्र
चुनावअघि सुदूरपश्चिमका पर्यटकीय गन्तव्यबारे बोलेका वालेन्द्र शाह नेतृत्वको सरकारले सुदूरपश्चिमका ३ पर्यटकीय क्षेत्रको विकास गर्न सरकारले १ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा अछामको रामारोशन, बाजुराको बडिमालिका र अपी हिमाल ट्रेकिङलाई व्यवस्थित गर्न अध्ययन गरी १ महिनाभित्र कार्ययोजनाको खाका तयार गर्ने उल्लेख छ । कार्यसूचीको बुँदा–७२ मा भनिएको छ, ‘उदयपुर (कोसी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायत क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी १ महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने ।’ सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत सुदूरपश्चिमका ३ प्रमुख पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकतामा राखिएपछि त्यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । रामारोशन, बडिमालिका र अपी हिमाल क्षेत्रमा ट्रेकिङ प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि त्यस क्षेत्रमा पूर्वाधार भने निकै कम छन् । जसका कारण अपेक्षित पर्यटन विकास हुन सकेको छैन ।
प्रतिक्रिया