भान्साबाट सुरु हुने इन्जिनियरिङ

नेपालमा एलपिजी (खाना पकाउने ग्यास) को आपूर्तिमा देखिएको अनिश्चितताले चिन्ता बढेको छ । यस्तो अवस्थामा नेपालका आधाभन्दा बढी घरधुरीले प्रयोग गर्दै आएको परम्परागत जैविक इन्धन (दाउरा, भुस, वनस्पति) लाई आधुनिक प्रविधिसँग जोड्दै आकर्षण बढाउनु आवश्यक देखिएको छ ।

डा. भोला थापा, प्राध्यापक, डा. विवेक बराल, प्राध्यापक, मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालय


खाना पकाउने काम केवल भोक मेट्ने र पेट भर्ने मात्र होइन, यो वास्तवमा खाना, ऊर्जा, चुल्हो, भाँडा, र सतह प्रविधिको संयोजन भएको एउटा इन्जिनियरिङ प्रक्रिया हो । यसमा भान्छेको भावना गाँसिएको हुन्छ, आमाको ममता जोडिएको हुन्छ, खाना पकाउने सम्पूर्ण टिमको सामूहिक सृजना उनिएको हुन्छ । हेर्दा यो काम प्राविधिक हो, तर वास्तवमै यो कलात्मक, सृजनात्मक र भावनात्मक हो । तर यो सबै उद्देश्यहरू पूरा हुन बिहानैको भान्सामा बल्ने पहिलो आगोको झिल्काबाट इन्जिनियरिङ सुरु हुन्छ अनि इन्धन, चुल्हो, भाँडा र तापक्रमको छनौटले नै खानाको स्वाद र गुणस्तर निर्धारण गर्छ ।

एउटा अँध्यारो कथा


हाम्रो रैथाने भान्सा, ग्रामीण घरको भुइँ तल्ला, परम्परागत माटोको चुल्होमा खाना पकाउँदै गरेकी गृहिणी, बाख्रा, कुखुरा र गाईका लागि छेउमा गोठ, कालो धुवाँले भरिएको कोठा, रोचक क्यानभास जस्तो देखिन्छ । छरपस्ट दाउरा, भित्ताको कालो पोतो, आगोको रंगीन ज्वाला कलाकारको सृजनाभन्दा कम छैन, तर कालो छ । दाउरा ठोस्दै, ज्वाला नियन्त्रण गर्दै कसौँडीको भात चलाउँदै गर्दाको दृष्य कुनै रंगमञ्चको अभिनयभन्दा कम छैन । डाडु पन्यौँको मेटालिक साउन्ड, मसला पिध्ने खलको बेश आवाज, चुराको झंकार, कुखुरा र बाख्राको पृष्ठभूमिका आवाजले सुमधुर संगीत र रंगमञ्चको अनुभूति दिन्छ । भान्साकोठामा धुवाँ जतिजति मडारिँदै जान्छ, त्यति नै फरक प्रकारका आकृति बन्दै जान्छ । आगो राम्रोसँग नबल्दा कुइरीमण्डल डरलाग्दो भुताहा आकृति बन्छ, मुखभित्र छिर्दै छातीसम्म पुगेर पीडा दिन्छ, आँखा पोल्छ । तर जब दाउरा ठोसिन्छ अनि ढुंग्रोले फुकेर पर्याप्त अक्सिजन पु¥याइन्छ, धुवाँ रंगीचंगी झिल्काहरूसाथ सेतो हेर्दै सुन्दर रूप बनेर नाच्दै माथि माथि लाग्छ, घरै भरी न्यानो छर्दै, लामखट्टे, किरा, धमिरा मार्दै जाने औषधिको काम गर्छ ।


नेपाली भान्साको इतिहास हेर्दा खाना पकाउने ऊर्जा स्रोत सधैँ स्थानीय उपलब्धतासँग जोडिएको देखिन्छ । गाउँघरमा दाउरा, भुस, पराल, मकैको खोया, छ्वाली, गोबरका गुँइठा जस्ता सामग्रीहरूलाई प्रयोग गरेर ऊर्जा बनाइन्थ्यो । यसले स्रोतको सदुपयोग गथ्र्यो र ग्रामीण जीवनलाई आत्मनिर्भर पनि बनाउँथ्यो । त्यसै अनुसार चुल्होको डिजाइन पनि विकसित भएको पाइन्छ । माटोको चुल्हो, तीन ढुंगाको चुल्हो, ओदान र भुसे चुल्हो नेपाली भान्साका पुराना तर प्रभावकारी उदाहरण हुन् । नेपाली भान्सामा भुसे चुल्होको प्रवेशपछि नेपाली चुल्होको सिद्धान्त परिवर्तन भएको छ । आगोको चुलो, मट्टितेल र ग्यास कम्बसन सिद्धान्तमा सञ्चालन भइरहेका थिए भने भुसे चुल्हो ग्यासीफिकेसन सिद्धान्तमा आधारित थियो । भुसे चुल्होमा भुस, पराल वा साना जैविक अवशेषहरू बिस्तारै जल्ने गरी राखिन्छ, जसले लामो समयसम्म नियन्त्रित रूपमा मन्द ताप दिन्छ र कम इन्धनमा खाना पकाउन सम्भव हुन्छ । फलामको पाताबाट बन्नुपर्ने र साइज, चुलोको मुख, हावा पस्ने प्वाल, भाँडा बस्ने भाग जस्ता निश्चित डिजाइनका कारण यस्ता चुल्हो बन्ने कुरा प्राविधिक कार्य हुँदै गयो र चुल्हो बनाउने कार्य गृहिणीबाट प्राविधिकमा सर्यो । यस्तो चुल्हो आधुनिक उद्योगमा पुग्न अघि गाँउघरकै विश्वकर्माको आरनमा बनाइन्थ्यो । त्यतिबेला औपचारिक इन्जिनियरिङ शिक्षा नभए पनि पुराना पुस्ताले अनुभव, अवलोकन र प्रयोगका आधारमा प्रभावकारी चुल्होहरू बनाउँथे । यसरी बनाइएका चुल्होेहरू केवल दैनिक प्रयोगको उपकरण मात्र होइन, स्थानीय ज्ञान, सीप र कलाको उदाहरण पनि हुन् ।

सीप र विज्ञानको संगम


गाउँमा चुल्हो बनाउने कार्य परम्परागत सीप हो । सिद्धहस्त ग्रामीण महिलाहरू नै बार जुराएर, दिशा मिलाएर, बास्तु भिडाएर गाउँभरिको चुल्हो बनाएको हामीले देखेका छौँ चुल्हो बनाउने कार्य एकआपसका सहकार्य हुने गथ्र्यो । व्यापारिक र व्यावसायिक काम मानिदैनथ्यो । बिस्तारै माटोबाहेक फलामका चुल्होको विकास हुँदै गयो । एकआपसका स्वावलम्बी काम कालीगढहरूमा भर पर्नुपर्ने हुन गयो । चुल्होभित्र बिस्तारै प्रविधि हावी हुँदै गयो । सही सामग्री र वैज्ञानिक डिजाइनले इन्धन र समयको बचत तथा धुवाँको नियन्त्रण तथा व्यवस्थापनले भान्साको स्वच्छता र आकर्षण बढ्दै गयो ।


भान्सा केवल खाना पकाउने कोठा मात्र नभई यो सामुदायिक पहिचान, कला र इन्जिनियरिङको अभ्यास केन्द्र पनि हो । चुलोमा बनाइने बुट्टा, आकार र संरचनाले भान्सालाई केवल काम गर्ने ठाउँ मात्र होइन, सांस्कृतिक र कलात्मक पहिचान दिने ठाउँ पनि बनाउँथ्यो । जब कलाले विज्ञानलाई साथ दिन्छ, साधारण भान्सा पनि एउटा दक्ष, सफा र आकर्षक कार्यशालामा रूपान्तरण हुन्छ ।

मौलिकता र आधुनिक मेकानिकल इन्जिनियरिङको संगम


नेपालमा भौगोलिक र आवश्यकताका आधारमा सुधारिएका चुल्होहरूलाई विभिन्न वर्गमा विभाजन गरिएको छ । पहिलो, स्थानीय सामग्रीबाट बन्ने माटोको सुधारिएको चुल्होले ग्रामीण भान्सालाई धुवाँमुक्त बनाउन जग बसालेको छ । दोस्रो, धातुको सुधारिएको चुल्हो हो, जुन खाना पकाउने र कोठा तताउने दोहोरो उद्देश्यका लागि बरदान सावित भएको छ । यसमा तीन वटा ‘पोट–होल’ र तातो पानीका लागि ‘ब्याक–बोइलर’ वा ट्यांकीसमेत जडान गरिएको हुन्छ । तेस्रो, होटल र साना उद्योगका लागि विकास गरिएको संस्थागत सुधारिएको चुल्होले ५० प्रतिशतसम्म दाउरा बचत गर्दै व्यावसायिक लागत घटाएको छ । चौथो, आधुनिक रकेट चुल्होले तराईदेखि औद्योगिक श्रमिक बस्तीसम्म इन्धनको पूर्ण कम्बसन र उच्च ऊर्जा दक्षता सुनिश्चित गरेको छ ।


यी सबै प्रकारका चुलोहरूको डिजाइन र विकासमा मेकानिकल इन्जिनियरिङको महत्वपूर्ण भूमिका रहेको छ । खाना पकाउने प्रक्रियालाई प्राविधिक रूपमा हेर्दा यो हिट एन्ड मास ट्रान्सफर को एउटा जटिल प्रक्रिया हो । आधुनिक चुलोहरूमा प्रयोग हुने ग्यासिफिकेसन प्रविधिले सीमित अक्सिजनको सहायताले बायोमासलाई प्रोड्युसर ग्यासमा परिणत गर्छ, जसको कम्प्लिट कम्बसनले उच्च ऊर्जा दक्षता सुनिश्चित गर्छ ।


इन्जिनियरहरूले थर्मोडाइनामिक्स र फ्लुइड डाइनामिक्सका सिद्धान्तहरू प्रयोग गरी कम्बसन कक्षको डिजाइन र वायु प्रवाहलाई अप्टिमाइजेसन गर्दछन् । खाना पाक्ने क्रममा इन्जिनियरिङका महत्वपूर्ण मापदण्डहरूले खानाको रूप र पकाउने समयलाई प्रत्यक्ष प्रभाव पार्छन् । यी वैज्ञानिक मापदण्डहरूको सही सन्तुलनले नै तापलाई कुशलतापूर्वक भाँडोको पिँधसम्म पु¥याउँछ । यसरी परम्परागत प्रविधिलाई वैज्ञानिक आधार दिँदै नेपालमा स्वच्छ र किफायती खाना पकाउने कलालाई इन्जिनियरिङकै एउटा पाटोको रूपमा विकास गरिएको छ ।

दाउराको रापदेखि आधुनिक स्वादसम्म : नेपालमा बेकरी र पिज्जा ओभनको नयाँ आयाम


नेपालमा बेकरीको इतिहास कोट्याउँदा यसको जरा ‘दाउराको भट्टी’मा भेटिन्छ । २००५ सालतिर काठमाडौँको कृष्ण पाउरोटी भण्डारको स्थापना हुँदा नेपालमा बेकरी संस्कृति नौलो थियो । इँटा र माटोले बनेका ‘डोम’ आकारका दाउरा–भट्टीमा तापक्रम नियन्त्रण अनुभवी हात र आँखाले गरिन्थ्यो । यही दाउरा–आधारित भट्टीले नेपालमा पहिलो व्यावसायिक पाउरोटी उत्पादन सम्भव बनायो ।


समयक्रमसँगै बेकरी उद्योगमा आधुनिकीकरण आयो । धेरैले आधुनिक इलेक्ट्रिक वा ग्यास ओभन प्रयोग गर्छन् । तर रोचक कुरा के छ भने, प्रविधि जतिसुकै फेरिए पनि विश्वभरि नै परम्परागत दाउरा–आधारित पिज्जा ओभनको लोकप्रियता घटेको छैन । ४३०–४८० डिग्री सेल्सियसको उच्च तापक्रममा दाउराको रापले पकाउँदा आउने विशिष्ट स्वाद, बनावट र सुगन्ध (स्मोकी अरोमा) अन्य माध्यमबाट पाउन कठिन हुन्छ । यसले एउटा ठुलो इन्जिनियरिङ अवसरलाई संकेत गर्छ ‘इम्प्रुब्ड बायोमास–आधारित ओभन’ । यदि हामीले परम्परागत स्वादलाई नबिगारी धुवाँ कम गर्ने, तापक्रम सजिलै नियन्त्रण हुने ऊर्जा दक्षता बढी भएको ‘स्मार्ट’ ओभन डिजाइन गर्न सक्यौँ भने, यसले नेपालको बेकरी र हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ आयाम थप्न सक्छ ।

सूर्यः भान्साको नयाँ इन्धन


सौर्य ऊर्जालाई हामीले प्रायः पानी तताउने वा बत्ती बाल्ने माध्यमको रूपमा मात्र चिन्दै आएका छौँ । तर, सूर्यको तापलाई प्रयोग गरेर ठुला सामुदायिक भान्साहरू चलाउन सकिन्छ भन्ने तथ्य अहिले प्रमाणित भइसकेको छ । साना सौर्य कुकरले घरेलु आवश्यकता पूरा गरे पनि, हजारौँ, लाखौँ मानिसलाई खाना खुवाउनुपर्ने ठाउँमा ‘सोलर थर्मल सिस्टम’ प्रयोग भइसकेकोे छ । मन्दिर, गुम्बा र सामुदायिक केन्द्रहरूमा दैनिक हजारौँको खाना पाक्छ । भारतको माउन्ट आबु स्थित शान्तिवनको सौर्य भान्सा एउटा प्रेरणादायी उदाहरण हो । त्यहाँ विशाल परावर्तक डिसमार्फत् सूर्यको प्रकाशलाई केन्द्रित गरी उच्च तापक्रमको वाफ निकालिन्छ । सोही वाफको मद्दतले दैनिक हजारौँ मानिसका लागि खाना तयार गरिन्छ । यो प्रविधि केवल खाना पकाउने माध्यम मात्र होइन, यो आर्थिक बचत र प्रदूषण नियन्त्रणको बलियो स्तम्भ पनि हो । प्रविधि र सूर्यको असीमित ऊर्जालाई यसरी ठुला भान्सामा जोड्दै यसले सामुदायिक सेवालाई दिगो बनाएको छ ।

विश्व राजनीति र आत्मनिर्भरताको बाटो


हालको मध्यपूर्वमा बढ्दो तनाव, विशेषगरी इरान र अमेरिकासँग सम्बन्धित द्वन्द्वले विश्व ऊर्जा बजारलाई एकपटक फेरी तरंगित बनाएको छ । युद्धका कारण सामरिक महत्वको ‘स्ट्रेट अफ हर्मोज’ मा अवरोध पुग्दा विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भएको छ । यसैगरी, इराकको तेल उत्पादन र निर्यातमा समेत भारी गिरावट आउँदा कच्चा तेलको मूल्य आकाशिएको छ । यो भू–राजनीतिक संकटले नेपालजस्ता आयातमा निर्भर विकासोन्मुख राष्ट्रहरूको आर्थिक प्रणालीमा प्रत्यक्ष दबाब सिर्जना गर्दै इन्धन अभाव र मूल्यवृद्धिको जोखिम निम्त्याएकोले ऊर्जामा आत्मनिर्भरताको बहस फेरि सुरु भएको छ ।
नेपालमा एलपिजी (खाना पकाउने ग्यास) को आपूर्तिमा देखिएको अनिश्चितताले चिन्ता बढेको छ । यस्तो अवस्थामा नेपालका आधाभन्दा बढी घरधुरीले प्रयोग गर्दै आएको परम्परागत जैविक इन्धन (दाउरा, भुस, वनस्पति) लाई आधुनिक प्रविधिसँग जोड्दै आकर्षण बढाउनु आवश्यक देखिएको छ ।

पानीबाटै खाना पकाउने भविष्य : ग्रिन हाइड्रोजन चुल्हो


खाना पकाउने यात्रा अब मट्टीको तेलमा मात्र निर्भर छैन, बिस्तारै हामी पानीको तेलमा पनि छिर्दै छौँ । विज्ञानले हामीलाई ‘हाइड्रोजन इन्धन’ को रूपमा यस्तो विकल्प दिएको छ, जसले कार्बन उत्सर्जनलाई शून्यमा झार्छ । यो केवल सफा मात्र होइन, खाना पकाउने प्रक्रियालाई सबैभन्दा द्रुत र प्रभावकारी बनाउँदै छ ।


नेपालमा हाइड्रोजन केवल कल्पना मात्र होइन, यो यथार्थमा परिणत हुँदै छ । काठमाडौँको ‘ग्रिन हाइड्रोजन ल्याब’ मा डा.विराजसिंह थापाको नेतृत्वमा यस क्षेत्रमा उदाहरणीय कार्यहरू भइरहेका छन्, जसमध्ये हाइड्रोजनमा आधारित कुकिङ स्टोभ विकास पनि हो । यसले आयातित एलपिजी ग्यासको विकल्प मात्र दिँदैन, बरु स्वदेशी जलविद्युत् र पानीको प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने नयाँ मार्ग प्रशस्त गरी ऊर्जामा पूर्ण आत्मनिर्भर बनाउने क्षमता राख्छ ।

दाउराबाट दिगो ऊर्जासम्म : भान्साको कथा र भविष्यको इन्जिनियरिङ


गाउँहरूको बिहान अझै प्रायः एउटै दृश्यबाट सुरु हुन्छ, घरबारीको दाउरा बटुल्दै, आगो बाल्न खोज्दै, भान्सामा धुवाँसँग संघर्ष गर्दै एक गृहिणी । खाना पकाउने काम मात्र होइन, दाउरा खोज्ने, बोक्ने र आगो बाल्ने प्रक्रिया आफैँमा समय र श्रम लाग्ने काम बन्छ । कतिपय ठाउँमा ग्यास सिलिन्डर पुगे पनि, दुर्गम पहाडी बाटो, ढुवानी खर्च र नियमित आपूर्तिको अभावले त्यो सुविधा दिगो समाधान बन्न सकेको छैन ।


नेपालका धेरै गाउँहरूमा आज पनि स्थानीय वनस्पति स्रोत दाउरा र कृषि अवशेष हुन् । परम्परागत चुल्होमा दाउरा प्रयोग गर्दा धेरै इन्धन खपत हुने, धुवाँ बढी निस्कने र ऊर्जा खेर जाने समस्या देखिन्छ । यहीँबाट इन्जिनियरिङको भूमिका सुरु हुन्छ । त्यही स्थानीय वनस्पति स्रोतलाई उन्नत चुल्हो हुँदै ग्यासिफिकेसन प्रविधि सम्मको यात्रा ।


विकसित ग्यासिफायर र चुल्होले कम दाउरामा धेरै ताप उत्पादन गर्न सक्छ जसले खाना छिटो पकाउँछ, धुवाँ घटाउँछ र गृहिणीको श्रम कम गर्छ । यसले वन संरक्षणमा पनि योगदान पु¥याउँछ, स्रोतलाई दिगो रूपमा प्रयोग गर्दै कम कार्वनडाइअक्साइड उत्सर्जन गर्छ । अझ कम समयमा एकैपटक धेरै थरीका खाना पकाउने र धेरैजनाका लागि व्यावसायिक भान्सा सञ्चालन गर्न सम्भव हुन्छ ।

बार्बिक्यु संस्कृति


विश्वका विभिन्न देशहरूमा बार्बिक्यु केवल खाना पकाउने तरिका मात्र होइन, यो एउटा सामाजिक उत्सव र संस्कृति पनि हो । हाम्रै देशमा मुसहर जातिले मुसा पोलेर खाने मौलिक परम्परा हो । अमेरिकाको ‘लो एन्ड स्लो’ स्मोक्ड मिटदेखि, ब्राजिलको ‘चुरास्को’, कोरियाली ‘गोगुइगुई’ र दक्षिण अफ्रिकाको ‘बराई’ सम्म – यी सबैमा एउटा कुरा साझा छः कोइला वा दाउराको प्रत्यक्ष ताप र त्यसबाट निस्कने विशिष्ट स्वाद ।


नेपालमा पनि सेकुवा र पोलेका परिकारहरूको ठुलै बजार र संस्कृति छ । गल्लीगल्लीमा खुलेका धराने कालो बंगुरको सेकुवाबाहेक बाजेको सेकुवा त अन्तर्राष्ट्रिय चेन बन्ने दौडमा लागिसक्यो । राँगाको मासुको छोयला त छाड्नै नमिल्ने नेवारी संस्कृति भइहाल्यो । परम्परागत बार्बिक्युमा कोइलाको अत्यधिक खपत र निस्कने हानिकारक धुवाँ एउटा चुनौती हो । यहाँनेर ग्याँसिफिकेसन प्रविधि एउटा गेम–चेन्जर बन्न सक्छ । ग्याँसिफायरले बायोमासलाई ‘सिनग्यास’मा बदल्दा निस्कने ‘ब्लु फ्लेम’ले खानेकुरालाई डढाउँदैन, बरु भित्रसम्म समान रूपले पकाउँछ । यसले गर्दा स्वाद पनि कायम रहन्छ र धुवाँको प्रदूषण पनि हुँदैन ।


यदि हाम्रा इन्जिनियरहरू र शिल्पी विश्वकर्मा समुदायले अन्तर्राष्ट्रिय मापदण्डका कलात्मक ग्याँसिफायर–बार्बिक्यु ग्रिलहरू स्थानीय रूपमै उत्पादन गर्नसके आजकल नेपालका कुनाकुनामा छ्याप्छ्याप्ती भएका आयातीत कफी मेसिनझैँ, नेपालकै मौलिक, कलात्मक सेकुवा चुल्हो विस्तार हुनसके उत्पादन वृद्धि, विश्वकर्माको आरनमा रोजगारी, कलाको विस्तार र आर्थिक योगदानसमेत हुन सक्छ । आज दलित समुदायमाथि वर्षौंसम्म भएको अन्यायको बारेमा सदनमा माफी मागिरहँदा यो एउटा अवसर पनि हो । आशा गर्न सकिन्छ, यसले नेपालको होटल र पर्यटन उद्योगलाई नयाँ उचाइ दिनेछ । यसले हाम्रो मौलिक स्वादलाई आधुनिक र पर्यावरण–मैत्री प्रविधिसँग जोडेर ‘नेपाली बार्बिक्यु’लाई विश्व बजारमा चिनाउने ढोका खोल्न सक्छ ।

चुल्होमा अनुसन्धान


ऊर्जा मानवीय गतिविधिहरूको लागि आधारभूत आवश्यकता भएको कारणले गर्दा नेपालका विश्वविद्यालयहरू खाना पकाउने चुल्होको अनुसन्धानमा धेरै अघिदेखि नै प्रवेश गरेका थिए ।


जल तथा शक्ति आयोग नेपालले विभिन्न इन्धन र चुल्हो संयोजनहरूका लागि ऊर्जा दक्षता र ऊर्जा खपतसँग सम्बन्धित अध्ययनहरू गर्ने गरेकोमा विभिन्न प्रकारका चुल्हो, इन्धन, भाँडाकुँडा र खानाको छनोटको प्रभाव अध्ययन गर्न काठमाडौँ विश्वविद्यालयलाई सन् १९९९ मा नै जिम्मेवारी दिएको थियो । यो अनुसन्धान विश्वविद्यालयको लागि कोसेढुंगा सावित भयो । साधारण नेपालीको भान्सामा पाक्ने खाना र साधारण नेपाली चुल्हो पनि विश्वविद्यालय स्तरको वैज्ञानिक अनुसन्धानको विषय बन्नु, खाना पकाउने कार्यको मापनका लागि अत्याधुनिक उपकरणहरू प्रयोग हुनु आफैँमा नौलो थियो । गाउँदेखि सहरी क्षेत्रहरूमा सामाजिक संरचनामा आएको परिवर्तनको कारण, खाना पकाउने आवश्यकता, बानी र ऊर्जा खपतको प्रकृति पनि परिवर्तन भइरहेको अवस्थामा यस विषयको अनुसन्धान सान्दर्भिक थियो । त्यसैको जगमा आज थुप्रै विदेशी विश्वविद्यालय तथा संस्थाहरूसँगको सहकार्यमा केयुमा सौर्य ऊर्जा र चुल्होसम्बन्धी अनुसन्धान र विकासको काम भएको छ । विश्वविद्यालयले हिमाली क्षेत्रका लागि धातुको सुधारिएको चुल्हो, व्यावसायिक तथा संस्थागत सुधारिएका चुल्हो, चुल्हो परीक्षण प्रयोगशाला, ग्यासिफिकेसन प्रविधि, कम्प्युटर सिमुलेसनसहितको इन्धन कम्बसन विश्लेषण, आदिको अनुसन्धान र विकासमा उल्लेखनीय योगदान पुर्याएको छ ।

ओझेलमा परेको सीप


राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा फलामजन्य धातुमा कार्य गर्ने सीप हुने जाति, विश्वकर्मा समुदायको जनसंख्या करिब १४ लाख ७० हजार (५.०४ प्रतिशत) छ । तिनीहरूमध्ये झन्डै ६५ प्रतिशत व्यक्तिहरू आफ्नो पुख्र्यौली पेसाबाट विस्थापन भइसकेका छन् । पेसागत विस्थापनका बाबजुद करिब ५ लाखको जनशक्ति अझै पनि धातु शिल्पमै क्रियाशील छ, जसको दक्षतालाई ग्याँसिफिकेसन साथै अन्य उन्नत धातुको चुल्हो प्रविधिसँग जोड्नु आजको आवश्यकता हो ।
ग्याँसिफिकेसनका लागि आवश्यक धातुका पार्टहरू निर्माण गर्न विश्वकर्माजस्ता शिल्पी समुदायको परम्परागत सीप अपरिहार्य छ । यी समुदायका हातहरूमा सदियौँको अनुभव छ, जसलाई आधुनिक ‘मेटलर्जी’ (धातु विज्ञान) र म्यानुफ्याक्चरिङसँग जोड्नसके नेपालमा एउटा नयाँ औद्योगिक युगको सुरुआत हुनेछ ।

भविष्यको बाटो


प्रविधिलाई केवल सुविधा होइन, सामाजिक न्याय र रोजगारीको माध्यमका रूपमा हेर्न आवश्यक छ । कालीगढहरूलाई तालिम, सहुलियतपूर्ण ऋण र बजार सुनिश्चितता उपलब्ध गराएमा स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । नेपालमा लाखौँ घरपरिवार छन्, जसलाई खाना पकाउने समाधान चाहिन्छ । विद्युतीय चुल्हो बढे पनि बायोमास र सुधारिएको चुल्होको आवश्यकता समाप्त हुँदैन ।


दिगो ऊर्जा, स्थानीय स्रोतको सदुपयोग र शिल्पी समुदायको सशक्तीकरणमार्फत नेपालको भान्सा आत्मनिर्भर र आधुनिक बन्न सक्छ । अन्ततः, नेपालको भविष्य केवल आयातित इन्धनमा निर्भर भान्सामा होइन, स्वदेशी इन्जिनियरिङ, परम्परागत सीप र आधुनिक प्रविधिको समन्वयमा आधारित आत्मनिर्भर समाज निर्माणमा निहित छ ।

प्रतिक्रिया