नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार र विविध कथावस्तुको सफल वर्ष

काठमाडौँ । २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद् रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष २३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको संख्या ५७ पुग्नेछ ।

बोर्डका अनुसार हाल नेपालमा १७२ चलचित्र भवन रहेका छन् भने चलचित्र उपलब्ध गराउने वितरक संस्थाको संख्या ४४ पुगेको छ । यस वर्षको हालसम्म नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक चलचित्र भवन आउँदा १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ बराबरको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्यांकअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाइ गर्ने स्वदेशी चलचित्र बनेको छ ।

यस वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘परान’ का लागि कुल ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि ५ लाख ४ हजार ३२९ टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाइ भएको छ । आमा र छोरा बीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ ।

सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा चलचित्र ‘जेरी अन टप’ रहेको छ । उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाई गर्न सफल भएको छ । उक्त चलचित्रका लागि ३ लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् । प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ यस वर्ष २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र सूचीको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाइ गरेको छ । नवीन चौहानले निर्देशन गरेको उक्त चलचित्रका लागि ३ लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् ।

यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाइ गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको उक्त चलचित्रका लागि २ लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् । त्यस्तै, सर्वाधिक कमाइ गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको चलचित्र ‘बलिदान’ ले ५ करोड १० लाख ५१ हजार १७२, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले ५ करोड ८ लाख ९५ हजार ५१२, आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख ३८ हजार ६८७, नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले ४ करोड ६९ लाख ४३ हजार ६५१ र १०औँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाइ गरेको छ ।

यस वर्ष चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद् रहेको चलचित्रकर्मीको भनाइ छ । समग्रमा चलचित्रका लागि यो वर्ष सुखद् नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै ७ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा सक्रिय भएका उनले दर्शकको अपेक्षाअनुसारको चलचित्र निर्माण गर्नसके घरेलुबजार राम्रो रहेको विश्लेषण गरे ।
‘यहाँ ५० करोड रुपैयाँ व्यापार गर्ने चलचित्र पनि छन् भने ५० हजार व्यापार गर्ने पनि । यसकारण दर्शकसम्म चलचित्रको जानकारी पुग्ने हो भने घरेलुबजार नै पर्याप्त छ, तर त्यो सीमित चलचित्रको हकमा देखिएको छ । ती चलचित्रको समानता हेर्ने हो भने सबै सामाजिक विषयमा आधारित चलचित्र रहेका छन्,’ निर्देशक घिमिरेले भने, ‘नेपाली समाज र माटो सुहाउँदो चलचित्र बनाउनसके हामीले राम्रो बजार पाउँछौँ ।’

प्रतिक्रिया