
काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरेको छ ।
प्याकेजमा आधारित विभिन्न सुविधा लिएका ग्राहकले प्याकेज समाप्तिपछि पनि सेवा निरन्तरता हुने वा सेवा बन्द हुने भन्नेसम्बन्धी छनोट गर्ने अवस्थालाई ‘पे–जी’ सुविधा भनिन्छ । अबदेखि ग्राहकले आफ्नो चाहनाअनुसार सो सुविधा सक्रिय वा निष्क्रिय पार्न सक्ने टेलिकमले जनाएको छ ।
यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्ने छ । त्यसपछि ४ अंक छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ डायल गर्नुपर्ने छ ।
प्याकेज खरिद गरेका ग्राहकले ‘पे–जी’ सुविधा निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मुख्य ब्यालेन्सबाट डेटा चल्ने छैन । पे–जी सुविधा सक्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि पनि डेटा सेवा निरन्तर चल्ने छ । प्याकेज नलिई डेटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सधैँ सक्रिय राख्नुपर्ने छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत सो सुविधा ‘निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले उक्त सुविधा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
आगामी दिनमा नेपाल टेलिकम एपबाट यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रिपेड तथा पोष्टपेड ग्राहकले ‘डेटा प्याकेज’ लिएको अवस्थामा अब ९० प्रतिशत खपत भएपश्चात् एसएमएसबाट जानकारी पाउने छन् । यसअघि ‘डेटा भोल्युम’ ८० प्रतिशत खपत भएको अवस्थामा, डेटा भोल्युम समाप्त भएपश्चात् वा डेटा प्याकेजको समयावधि समाप्त भएपश्चात् ग्राहकहरुलाई जानकारी दिन एसएमएस पठाउने सुविधा थियो ।
यसअघि डेटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपश्चात् ग्राहकहरुले डेटा सेवाको प्रयोग निरन्तर राखेमा ‘मेन ब्यालेन्स’बाट डेटा चल्ने र चलेको भोल्युमअनुसार शुल्क काटिने व्यवस्था थियो । टेलिकमले प्रिपेड तथा पोस्टपेड ग्राहकको मागबमोजिम विभिन्न प्रकारका डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया