थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोइडिज्म भनिन्छ ।

पछिल्लो समय मान्छेको व्यस्त दैनिकीमा थाइराइड नामक रोगले सताएको छ । थाइराइड प्रायः मान्छेको दैनिकीमा सँगैको यात्री जस्तै भएको छ । पछिल्लो समय नेपालमा वयस्क महिलाहरूमा थाइराइडको समस्या बढ्दै गएको छ । यसप्रति विज्ञहरूले सचेत गराएका छन् । थाइराइडका बिरामीहरू संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरूमा थाइराइडको समस्या बढ्न थालेको विज्ञहरू बताउँछन् । थाइराइड हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा रहेको अध्ययनले देखाउँछ ।
अहिले कुनै न कुनै प्रकारको थाइराइडबाट कोही पनि मानिस अछुतो रहेको पाइन्न । विज्ञका अनुसार सबैभन्दा धेरै मान्छेमा देखिने थाइराइड भनेको हाइपो थाइराइडिज्म हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरूको भनाइ छ । शरीर मोटाउँदै जाने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने हुँदा बेलैमा उपचार गर्न विज्ञ सुझाउँछन् । समयमा उपचार गरेमा यो निको हुने सम्भावना रहेको बताइन्छ ।
००००
के हो थाइराइड
विज्ञका अनुसार सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । धेरैले यसलाई नयाँ रोगको रूपमा लिन्छन् । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रूद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । विज्ञका अनुसार थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोइडिज्म भनिन्छ ।
हाइपर थाइरोइडिज्म २ वर्ष औषधि सेवन गरे निको हुनसक्छ । हाइपो थाइरोइडिज्ममाचाहिँ धेरैजसो बिरामीले जीवनभरी नै औषधि सेवन गर्नुपर्छ । थाइराइड शरीरको आफ्नै कारणले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहीँ रूघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिने गरेको पाइन्छ । तर, केही समयपछि यो समस्या आफैँ निको भएर पनि जान्छ ।
कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्ने देखिएको विज्ञ बताउँछन् । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिने गरेको छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा १ जना पुरूषमा देखिने गरेको छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा गडबडी हुने भएकाले यो रोग बढी महिलामा दखिएको बताइन्छ ।
यो उमेर समूहमा मात्रै लाग्ने रोग होइन । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोइडिज्म रोग लाग्न सक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्ने गरेको छ । यो रोग लागेमा बालबालिकाको दिमागको विकास रोकिन जान्छ र उनीहरू सुस्त मनस्थितिका हुन पुग्ने बताइएको छ । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको १ हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउन विज्ञको सुझाव छ । अर्को कुरा १३ देखि १४ वर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइरोइडिज्ममा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने जस्ता समस्या देखिने गर्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिने गर्छ । हाइपर थाइरोइडिज्ममा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने । तर खाना रूची भएर पनि दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने गर्छ ।
यसैगरी युवाहरूमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो भन्ने ठानिन्छ । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर विचार पु¥याउनु पर्ने विज्ञको सुझाव छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने हुनसक्छ । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्ने बताइन्छ । कहिलेकाहीँ हाइपर थाइरोइडिज्ममा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफैँ निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु नपर्ने बताइन्छ ।
०००
हाइपो थाइरोइडिज्मका लक्षण
महिनावारी नियमित नहुने
मोटोपना
अल्छी लाग्ने
शरीर सुन्निने
दिक्क लाग्ने
अनावश्यक जाडो हुने
कपाल झर्ने
प्रजनन् क्षमतामा कमी आउने
हाइपर थाइरोइडिज्मका लक्षण
एकदमै दुब्लाउने
मुटुको धड्कन बढ्ने
शरीरको तापक्रम बढ्ने
भोक बढी लाग्ने तर दुब्लाउने
दिसा बढी लाग्ने
महिनावारी गडबडी
मन आत्तिने
मानसिक तनाव बढी हुने
कपाल झर्ने
उपचार विधि
थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिएमा बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने तर अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्ने बताइन्छ । थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिएमा कम्तिमा १२ देखि १८ महिनासम्म औषधि खाने र गलगाँडको अप्रेसन गर्नुपर्ने हुनसक्छ । यस्तै रेडियोएक्टिभ नामक औषधि प्रयोग गर्नुपर्छ । यसैगरी थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्ने, अप्रेसनपछि रेडियो एक्टिभ औषधि प्रयोग गर्ने, उपचारका लागि नियमित जाँच गर्ने गर्नुपर्छ ।
००००
थाइराइड रोग होइन : डा.ज्योती भट्टराई, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ
थाइराइड रोगका बारेमा सचेत हुनुपर्छ । तर थाइराइड भएमा आत्तिनु भने हुँदैन । सामान्य सावधानी मात्र अपनाउन सकिएमा पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो, जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाई फुर्तिलो बनाउने काम गर्छ । त्यसमा हुने एकप्रकारको थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइडसम्बन्धी विभिन्न रोग भनिन्छ । पछिल्लो समय यसको पहिचानसँगै देखिने क्रम पनि बढ्दो छ ।
यो हुनुका कारण विभिन्न छन् । जस्तो वातावरणीय प्रदूषणको कारण पनि हुन सक्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने जति आयोडिनयुक्त नुनको मात्र नमिलेका कारण पनि देखिएको हुन सक्छ । यसका प्रकार विभिन्न हुन्छ । त्यसको परीक्षण गरेर त्यसैअनुसार उपचार गराउनु पर्छ ।
थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चादेखि वृद्धसम्म जो कसैलाई पनि हुन सक्छ । तर पुरूषको तुलनामा महिलामा बढी देखिने गरेको छ । त्यसको कारण भनेको महिलामा प्रतिरोधात्मक क्षमतामा गडबडी हुने भएकाले यो रोग बढी महिलामा दखिने गरेको हो ।
थाइराइडको मात्रामा कोहीलाई कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको गलगाँडमा गीर्खासमेत आउने हुनसन्छ । यसको अवस्थाअनुसार उपचार गर्नुपर्ने हुन्छ । यो कसलाई हुने वा कसलाई नहुने भन्ने हुँदैन । जो कोहीलाई पनि हुनसक्छ । थाइराइड विशेष गरी दुई प्रकारको हुन्छ । थाइराइड ग्रन्थीले शरीरमा आवश्यकभन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपो थाइरोडिज्म भनिन्छ भने शरीरमा आवश्यकभन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपर थाइरोडिज्म भनिन्छ । त्यसैले यसको उपचार गरेर त्यसैअनुसार औषधि खानु पर्छ ।
हाइपो थाइरोडिज्म भएमा आलस्य हुनु, कब्जियत हुनु, छाला सुक्खा हुनु, कपाल झर्नु, महिनावारी गडबड हुनुजस्ता लक्षण देखा पर्छ भने हाइपर थाइरोडिज्ममा धड्कन बढ्नु, हात काम्नु, हात खुट्टाबाट पसिना आउनु, तौल घट्नु, दिशा लाग्नु, आत्तिनु जस्ता लक्षण देखा पर्छन् । थाइराइड हुँदा धेरै व्यक्ति आत्तिने गरेको पाइन्छ । थाइराइड रोगका बारेमा सचेत हुनुपर्छ । तर थाइराइड भएमा आत्तिनु भने हुँदैन । सामान्य सावधानी मात्र अपनाउन सकिएमा पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।
यसमा पनि धेरै मान्छेमा भ्रम देखिन्छ । कसले के भन्छ भनेर हिँड्ने होइन, सम्बन्धित चिकित्सकसँग परामर्श लिने र परीक्षण गरेर त्यसै अनुसारको उपचारमा लाग्नुपर्छ । चिकित्सकसँग निरन्तर परामर्श लिनुको साथै सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने, आयोडिन युक्त नुन खाने गर्नुपर्छ ।
थाइराइड हुने मुख्य कारण अहिले पनि थाहा हुन सकेको छैन । त्यसैले थाइराइडमा चाहिने भन्दा धेरै भ्रम छन् । त्यसबाट भने सबै सचेत हुनपर्छ । जनचेतनाको कमीका कारण थाइराइडमा धेरै मुख बार्ने, काउली, बन्दा खानु हुँदैन भन्नेजस्ता नकारात्मक हल्ला बढी भएको पाइन्छ । थाइराइड भएमा सामान्यतया सन्तुलित भोजन गर्न सकिन्छ, जसमा काउली, बन्दा पनि पर्छ । यसमा अर्को भ्रम भनेको कति वर्षको मान्छेलाई हुने वा नहुने भन्ने छ । त्यो होइन, जुनसुकै उमेरको मान्छेमा थाइराइड हुनसक्छ । गर्भवती महिलालाई भएमा उसबाट जन्मने बच्चालाई पनि हुन सक्छ ।
संसारभरमा जन्मजात बच्चालाई थाइराइडको जाँच गर्ने चलन छ । नेपालमा पनि सरकारले जन्मने बित्तिकैको बच्चालाई अनिवार्य थाइराइडको परिक्षण गर्ने व्यवस्था मिलाउँदा राम्रो हुन्छ । त्यसो गर्न सकियो भने रोकथाम गर्न सकिन्छ । यो समस्या नेपालको मात्रै होइन, विश्वभरि नै यसको समस्या बढ्दो छ । समयमा नै उपचार गराएमा कम गर्न सकिन्छ ।
प्रतिक्रिया