गभर्नर नियुक्तिमा कर्नरमा पारिएका भट्ट योजना आयोगको उपाध्यक्ष

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर छान्ने प्रक्रियामा चरम राजनीतिक चलखेलको सिकार बनेका डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष बनाएको हो । अब भट्टको काँधमा देशको समग्र विकासको खाका कोर्ने जिम्मेवारी आएको छ । मौद्रिक नीतिमा विज्ञता हासिल गरेका भट्टले अब वित्त नीति र विकास नीतिबीचको खाडल पुर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकमा २५ वर्ष बिताएका डा. भट्ट स्वच्छ छविका मौद्रिक अर्थशास्त्रका विज्ञ हुन् । सुदूरपश्चिम डोटीको शिखर नगरपालिकाका स्थायी बासिन्दा उनले त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदकसहित मास्टर्स गरेका छन् भने अमेरिकाको विलियम कलेजबाट मास्टर्स र वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । नेपालको आर्थिक क्षेत्रमा चर्चित उनले राष्ट्र बैंकमा रहँदा पटक–पटक प्रवक्ताको जिम्मेवारी पाएका थिए । त्यस्तै, बैंक नियमन, सुपरीवेक्षण, भुक्तानी प्रणाली र राष्ट्र ऋण व्यवस्थापनजस्ता महत्वपूर्ण विभागको नेतृत्व गरेका थिए ।

तत्कालीन सरकारमा रहेका एमाले र कांग्रेसबीच भागबन्डा हुँदा गभर्नर पद कांग्रेसको भागमा परेको थियो । गभर्नर नियुक्ति प्रक्रियामा चरम राजनीति हुँदा गभर्नर सिफारिस समिति नै भंग गर्नुपर्ने अवस्था आएको थियो । भट्टलाई कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर बनाउन सिफारिस गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नस्विकार्दा भट्ट आउट भएका थिए । त्यसपछि कांग्रेसले प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर सिफारिस गरेको थियो ।

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित

यस्तै, सरकारले राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ । पण्डितलाई आगामी ५ वर्षको कार्यकालका लागि डेपुटी गभर्नर नियुक्त गरिएको हो । पण्डितले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजनका साथै भुक्तानी प्रणाली विभागको प्रमुखका रूपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकका रूपमा समेत काम गरेका थिए ।

पण्डित हाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०६२ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डित वित्तीय क्षेत्रको नियमनका लागि अब्बल मानिन्छन् । गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा २ विशिष्ट पद रिक्त थियो । नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त २ पदका लागि ४ जना कार्यकारी निर्देशकको नाम सरकारसमक्ष सिफारिस गरेका थिए ।

प्रतिक्रिया