एरिना ताम्राकार, नेपाली ललितकला क्षेत्रमा परिचित नाम हो । तीन दशक लामो कलायात्रामा निरन्तर आफूलाई सबल रुपमा प्रस्तुत गर्न सक्नु उनको सबल पक्ष हो । देश विदेशमा २२ पटकसम्म एकल प्रदर्शनी गरिसकेकी कलाकार ताम्राकारको अहिले दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘म’ शीर्षकको एकल प्रदर्शनी भइरहेको छ । सो प्रदर्शनीको सेरोफेरोमा रहेर कलाकार ताम्राकारसँग गरिएको संक्षिप्त कुराकानी :

० ग्यालरी १०८ मा यहाँको एकल प्रदर्शनीमा भइरहेको छ । आमदर्शक, समीक्षक, कलापारखी आदिको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
–ग्यालरी १०८ मा भइरहेका मेरो एकल प्रदर्शनीमा ‘म’ शीर्षकमा सिर्जना गरिएका कलाकृति रहेका छन् । आमदर्शक, समीक्षक, कलापारखी, कलाकार लगायतबाट राम्रै प्रतिक्रियाहरु पाएकी छु । मेरो पहिलाकै काम जस्तै यस प्रदर्शनीका कलाकृतिहरुमा पनि फरक भएको छ भनी सकारात्मक ढंगले हेर्नुभएको छ ।
० यो प्रदर्शनीमा राखिएका कलाकृतिको मूलभाव के रहेको छ ?
–यो प्रदर्शनीमा राखिएका कलाकृतिको मूलभाव ‘मभित्रको ‘म’ लाई केलाउन खोजेकी छु ।’ साथै मेरो काम हेरेर तपाईहरुले पनि ‘आफूभित्र आफू’लाई कसरी नियाल्नु भएको छ ? भन्ने प्रश्न पनि तपाई आफैले गर्नु हुनेछ भन्ने मलाई लाग्दछ । हामी धेरै ‘म’ सँगै ‘म’ मा भुलिरहेका हुन्छौं । पहिला ‘म’ भित्र को ‘म’ लाई राम्ररी चिन्नु जरूरी छ । तेस्रो नेत्रबाट हामीले आफ्नो मनभित्रको ‘म’ लाई आफैले मनन गर्न सक्नु नै आफू सचेत भइकन जीवनमा जीउने कलासँगै अघि बढ्नु हो ।

० ‘म’ शीर्षकमा राखिएका कलाकृतिका बारेमा बताइदिनुस् ।
–‘म’ शीर्षकमा राखिएका विभिन्न किसिमका मेरा काममा भिन्दाभिन्दै भावहरुको तरङ्गहरुलाई तरङ्गित बनाइदिएको छ । ‘म’ भित्रको ‘म’ लाई खोज्न त्यति सजिलो छैन । साथै भित्री हृदयबाट उम्लेर बगेका बगाइहरुको छापबाट बनेका प्रतिविम्बहरु हुन् । ‘म’ भित्रको ज्योतिलाई सँधै मभित्र म’ द्वार सधै अदृश्य ‘तेल’ थपिरहनु पर्दछ र पो मनको ‘म’ लाई महसुस गरिकन मनन हुन्छ । साथै फरक समयमा फरक धारबाट बनाएका मेरा काम उस्तै उस्तै देखिए पनि निकै फरक छन् । आफू ध्यानमा हराउन सक्नु पर्छ भन्ने भाव पनि यी मेरा कलाकृतिबाट बुझ्न सकिन्छ ।
० ‘म’ मा आफूभित्रको मनोविज्ञानलाई कसरी चित्रण गर्नुभएको छ ?
–मभित्रको ‘म’ शीर्षकसम्म आइपुग्दा मैले मेरो मनको बुझ्याइलाई प्रस्तुत गर्न सक्नु नै मनलाई बुझ्न सक्नुजस्तो लाग्छ । जस्तै ः मैले तेस्रो नेत्र शीर्षकबाट बनेका कलाकृतिहरु पनि फरक फरक ‘म’ हरुबाट बनेका चित्रणहरु हुन् । हरेक ‘म’ हरुको जीवनका भोगाई, जीवनका अनेक रङको मिश्रणबाट बनेका प्रतिविम्वित चित्रणहरू नै हुन् ।

० कलामा आफ्नै भाव विषय किन ?
–कलामा आफ्नै भाव विषय, कामप्रतिको निरन्तर बगिएर बगाइको क्रमसँगै जसरी नदीमा पानीको धारबाट ढुंगाको आकार आपसे आफ परिवर्तन भएर अरु अनेकन आकारहरु बन्दछ, मलाई लाग्छ त्यसै अनुरूप कलाकृतिहरु पनि आफ्नै गतिमा निरन्तर गराइको क्रमसँगै आ–आफ्नै भाव अनि विषयमा परिवर्तन हुने अनेकन रूप हो । यो आफ्नै भाव, विषय र शैली कलाकारहरुको भिन्दाभिन्दै सोच अनि बुझ्याइबाट प्रस्फूरिट हुने आधार हुन् ।
० प्रदर्शनीमा राखिएका कलाकृतिमा धार्मिक तथा सांस्कृतिक विषयमार्फत कस्तो सामाजिक सन्देश व्यक्त गर्न खोज्नुभएको छ ?
–मुख्यतया यो प्रदर्शनीमा राखिएका कलाकृतिमा धार्मिक, सांस्कृतिक विषयवस्तुको आधारमा भन्दा पनि सामाजिक परिवेशबाट प्रस्फुरित भएका समाजका विभिन्न भोगाइका प्रतिबिम्वहरुबाट सृजित भावहरुको आधारमा बनेका सिर्जनाहरु छन् ।
यसको मुख्य सन्देश आफूलाई पहिला आफैले चिन्न जरुरी छ । हामी मानिसले ‘म’ को बारेमा म को हुँ ? म किन यो धरतीमा आए ? मेरो जन्मको अर्थ के हो ? भन्ने भावनालाई राम्रोसँग चिन्तन गर्न जान्यो भने जीवनमा अघि बढ्न सजिलो हुन्छ ।

० यहाँले प्रस्तुत गर्नुभएका कलामा नारी मनोविज्ञान र सांस्कृतिक पक्ष सवल रुपमा प्रस्तुत भएको देखिन्छ । यसको दर्शन र सौन्दर्य पक्षका बारेमा बताइदिनुस् न ।
–मेरो यो कलाकृति विविध विषय, भाव तथा सामाजिक एवं सांस्कृतिक पक्षसँगै महिलाका विषय पनि छन् । कलाकृतिको भाव राम्रोसँग बुझ्ने शैलीको प्राथमिकता छ । मुख्यतया महिलामा केन्द्रित मुख्य विषयमा आधारित शक्तिका अनेक परिवेशलाई नै देखाउने प्रयास मैले गरेकी छु । म स्वयम् नेपाली नारी हुनुमा गर्व गर्दछु । त्यसैले नेपाली संस्कृतिमा भिज्न, उत्सव मनाउन नेपाली जनजीवनमा घुलमिल हुन पाउनु मेरो लागि अर्थपूर्ण ठान्दछु । एउटी नारी भएर जन्मिनु मेरो लागि विशेष लाग्दछ । नारी आफू स्वयम्ले सधै अघि बढ्नुपर्छ भन्ने हेक्का हुनु नै एउटा नारीको सौन्दर्य पक्ष हो र यो भावनात्मक सौन्दर्यलाई सौन्दर्यवान बनाइरहन मलाई चिन्न हामी हरेक नारीले आफूभित्रको ‘म’ लाई बुझ्न जरुरी पर्दछ । यही पक्ष नै मेरा कलाका दर्शन र सौन्दर्य हुन् ।

० यहाँका कलामा परम्परागत मौलिक बिम्बको प्रस्तुति मुख्य आधार हो ?
–मेरो कलाकृतिको मुख्य पक्षको रुपमा देखिने यथार्थ भनेको परम्परागत कलाबाट प्रभाबित भएर निस्केको भावको पक्ष नै मेरा कलाको आधार हो । हामी नेपाली कलाकारको मुख्य आधार अथवा धरातल नै कुनै पनि परम्परा विधाबाट आएका मौलिक शैलीबाट सकारात्मक रूपमा प्रभावित भएर अर्को कलाको नयाँ शैलीको रुप नै समसामायिक कलाको आधार म मान्दछु ।
० यहाँका कलाले नेपाली समाजलाई नवीन दिशातिर लम्किन अभिप्रेरित गर्ला ?
–नेपाली समाजमा मेरो कलाकृतिबाट जरुर प्रभावित भएको छ । अहिलेको आधुनिक परिवेशमा पनि हाम्रो समाजमा विभिन्न पक्ष नवीन दिशातिर लम्किन बाँकी छन् । त्यसकै आधारमा मेरो कलाकृतिबाट समाज प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नयाँ दिशातिर लम्किन जरुर अभिप्रेरित गरेको छ । साथै नयाँ पुस्ताका कलाकारलाई समेत अझ प्रभावित पारेको छ भन्ने विश्वास लिएको छु ।

० समाज रुपान्तरणमा कला र कलाकारको भूमिका कस्तो हुनुपर्ला ?
– कला र कलाकारहरुको विशेषताबाट समाजमा कुनै पनि नयाँ धारणाको शुरुबाट खोजी गर्ने सकारात्मक आधारबाट सामजिक पक्ष बलियो हुने हो र यसै आधारमा समय सँगसँगै एउटा सभ्य बाटोतिर लागेको हुन्छ । साथै समाजमा नयाँ युगको बिस्तारै प्रारम्भ हुन जान्छ । तसर्थ कलाले समाज रुपान्तरण र संस्कृति निर्माणमा विशिष्ट भूमिका खेलिरहेको हुन्छ ।
प्रतिक्रिया