एनआरएनए पोर्चुगलद्वारा नयाँ सामाजिक कार्यक्रम घोषणा

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायमा एकता, सहकार्य र पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले दीर्घकालीन सामाजिक तथा सहयोगमूलक कार्यक्रमहरू विस्तार गर्ने निर्णय गरेको छ। संस्थाले समुदायभित्र जिम्मेवार सहभागिता बढाउँदै नेपालीहरूको साझा हितमा केन्द्रित गतिविधिहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सामग्रीको प्रकाशन र समुदायमा नकारात्मक सन्देश प्रवाह भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संस्थाले यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षहरूसँग समन्वय गरी आवश्यक कदम चाल्ने स्पष्ट पारेको छ।

प्रारम्भिक चरणमा एनआरएनए पोर्चुगलले समुदाय लक्षित केही विशेष सेवा तथा सहयोग कार्यक्रमहरू घोषणा गरेको छ। जसअनुसार, सदस्यताको आधारमा आकस्मिक निधनको अवस्थामा आर्थिक सहयोग उपलब्ध गराइनेछ। यस कदमले जथाभावी चन्दा संकलन गर्ने परम्परालाई निरुत्साहित गर्दै समान रूपमा सहायता वितरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, संस्थाले नेपालका दुर्गम क्षेत्रका दुई जना विद्यार्थीलाई कक्षा ५ सम्म आवश्यक शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने र पोर्चुगलमा कठिन परिस्थितिमा रहेका वा एकल रूपमा बालबच्चा हुर्काइरहेका महिलाहरूलाई अवस्था मूल्याङ्कनका आधारमा खाद्यान्न र अन्य आवश्यक सहयोग प्रदान गर्ने योजना पनि अघि सारेको छ।

यसैगरी, आप्रवासनसम्बन्धी समस्या समाधानका लागि दक्ष कानुनी सल्लाहकारको व्यवस्था गरिने र अनधिकृत माध्यमबाट हुने ठगी तथा जालसाजी विरुद्ध समुदायलाई सचेत गराइने संस्थाले जनाएको छ। विशेष गरी एआईएमए (AIMA) सँग सम्बन्धित समस्यामा परेका नेपालीहरूलाई लक्षित गरी अन्तरक्रियात्मक छलफल तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरिएको छ। अध्यक्ष तथा सचिवालय सुजन लामा मोक्तानद्वारा जारी गरिएको सूचनामा सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई संस्थागत प्रयासलाई सफल बनाउन आग्रह गरिएको छ। साथै, संस्थाले इच्छुक व्यक्तिहरूलाई सदस्यता लिन र रचनात्मक सुझावहरू इमेलमार्फत पठाउन समेत आह्वान गरेको छ।

प्रतिक्रिया