दैनिक ४३ जना, वार्षिक १६ हजार नेपालीले क्षयरोगकै कारण गुमाउँछन् ज्यान

निरन्तरको चुनौती बन्दै क्षयरोग

कुनै समय थियो, क्षयरोग (टिबी) लागेको सुन्दै मान्छे तर्सिन्थे । बिरामीको वरपर पर्र्दैनथे । समय क्रममा यसको उपचारका विधि र नयाँ नयाँ औषधि आयो । मान्छे बिस्तारै सुस्त भए । तर, रोग भने अझै सुस्त बन्न सकेको छैन । आजको दिनमा पनि क्षयरोगका कारण मानछे मर्ने र दुःख पाउने दिनको अन्त्य भएको छैन ।


मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार क्षेत्रभन्दा बाहिर रहेको विज्ञहरू बताउँछन् । त्यति मात्रै होइन, उपचारको सम्भावना भएर पनि अधिकांश बिरामीले रोग लुकाउने, परीक्षण नै नगर्ने गरिएको पाइन्छ । यसले रोगीबाट परिवार अरूमा समेत रोग संक्रमण हुने गरेको पनि पाइने गरेको छ ।


आर्थिक वर्ष २०८१÷०८२ मा संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् ।
नेपालमा क्षयरोगीहरूलाई निःशुल्क औषधि वितरण हुँदै आएको छ । तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिसहरू क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसहरूले सूचीकृत स्वास्थ्य संस्थाहरूबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् । बरु उनीहरूको स्वास्थ्य संस्थामा पुग्न नभ्याउँदै हजारौँ रुपैयाँ खर्च हुने गरेको छ । जसले गर्दा रोग बढ्ने र आर्थिक रूपमा पनि धेरै नोक्सानी हुने गरेको छ ।


अहिलेसम्मको अवस्था हेर्दा प्रारम्भिक अवस्थामै रोगको पहिचान भएको खण्डमा अस्पतालहरूबाट यस रोगको उपचार तुरुन्तै हुने गर्दछ । साथै रोगको पहिचान भई औषधी सुरु गरेको करिब २ हप्ताबाट यो रोग अरूलाई सर्ने जोखिमसमेत कम हुने गर्छ । तर यी सबै अवस्था पार गरेर मात्रै प्रायः बिरामी अस्पताल पुगेको पाइन्छ ।


विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार नेपालमा ४४ हजार मानिस क्षयरोगबाट प्रभावित छन् । क्षयरोग कुनैबेला निकै खतरनाक मानिन्थ्यो । अहिले क्षयरोग त्यति भयावह छैन । यद्यपि पूर्णत निर्मूल पनि भएको छैन । किनभने यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छ्युँ गर्दा, खोक्दा पनि यसको जीवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ ।


क्षयरोग नियन्त्रणका लागि सरकारले ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको छ । यस्तै ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । तर, नेपालमा अझै पनि दैनिक ४३ जना नेपालीको मृत्यु क्षयरोग (टिबी) का कारण मृत्यु हुने गरेको पाइएको छ ।


समयमा नै पत्ता लागेर चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरे पूर्णरूपमा निको हुने रोगबाट वार्षिकरूपमा यो संख्यामा मृत्यु हुनु जनस्वास्थ्यको एउटा चुनौती बनेको छ । विश्व क्षयरोग दिवस (मार्च २४) मनाउँदै गर्दा पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिएको विवरण अनुसार हाल नेपालमा दैनिक ४३ जना नेपालीले क्षयरोगकै कारण जीवन गुमाउँछन् भने वार्षिक १६ हजार नेपालीको क्षयरोगकै कारण मृत्यु हुन्छ । नेपालमा पनि हरेक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । तर, यसको उद्देश्य भने अझै पूरा हुन सकेको छैन ।


००००


युवा समूह पनि जोखिममा


राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार क्षयरोग देखिनेमा सबैभन्दा धेरै १५ देखि ४९ वर्ष उमेर समूहका युवा छन् । वार्षिक रूपमा भेटिने कुल संक्रमित मध्ये ५० प्रतिशत काम गर्ने सक्रिय उमेर भनेर चिनिने २० देखि ४९ वर्ष उमेरकै बीचका बिरामी हुने गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ३९ हजार १५१ हजारभन्दा बढी बिरामी पहिचान गरी उपचार गरिएको तथ्यांक छ । तीमध्ये महिलाको संख्या ३९ प्रतिशत, पुरुष ६१ प्रतिशत र बालबालिका ५.५ प्रतिशत रहेका छन् ।


विज्ञका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरैलाई फोक्सोको क्षयरोग देखिने गरेको छ । २८ प्रतिशत क्षयरोग फोक्सोभन्दा बाहेकका शरीरका अन्य अंगहरूमा देखिएको छ । यस्तै हालसम्म भेटिएका क्षयरोगमा ७२ प्रतिशत क्षयरोग फोक्सोको छ भने २८ प्रतिशत फोक्सो बाहेकका अन्य अंगहरूको छ । अहिलेसम्मको अवस्थामा क्षयरोगको उपचार सफलतादर ९२ प्रतिशत रहेको विज्ञहरू बताउँछन् ।


यसैगरी उपचारका क्रममा प्रतिरोधी क्षयरोगका बिरामी पनि भेटिने गरेका छन् । हालसम्म कुल संक्रमित मध्ये ६२५ जना संक्रमित प्रतिरोधी क्षयरोगका बिरामी रहेका छन् । तर यसरी भेटिएका बिरामीहरूमा पनि उपचार र औषधि सेवनबाट ठिक हुने दर ७६ प्रतिशत हुने गरेको बताइन्छ ।


नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको छ । देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध रहेको छ भने धेरै स्थानमा निःशुल्क परीक्षण तथा उपचार सुविधा विस्तार गरिएको छ । यसका साथै डिजिटल प्रविधिको प्रयोगमार्फत समुदाय स्तरमा सक्रिय बिरामी खोजी कार्यलाई तीव्र बनाइएको छ । यद्यपि, अझै पनि चुनौती भने धेरै छन् ।


०००
क्षयरोग के हो ?


यो एक सरुवा रोग हो । धेरैले यसलाई ‘टिबी रोग’ भनेर पनि बुझ्ने गरेका छन् । क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।


माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा क्षयरोगका जोखिम समूहमा रहेका व्यक्तिले हाछ्यूँ गर्दा सकभर मुख छोप्ने, मास्क लगाएर हिँड्नुपर्ने विज्ञ सुझाउँछन् ।


कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई क्षयरोगको जोखिम समूहमा राखिने गरिएको छ । त्यसैले यस्ता समूह तथा अन्य समूहका मानिसले पनि तौल कम हुने, खानामा रुचि कम हुने, २ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्ने, राति ज्वरो आउने जस्ता लक्षण देखिए एकपटक क्षयरोगको परीक्षण गराउनु उपयुक्त हुन्छ ।


००००


क्षयरोगका मुख्य लक्षण


-हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु


-खकारमा रगत देखिनु


ड्ड हल्का ज्वरो आउनु,


-राति धेरै पसिना आउनु,


-मुख सुक्नु,


-थकान र कमजोरी महसुस हुनु,


-खान मन नलाग्नु,


-तौल कम हुँदै जानु


रोकथामका उपाय –


-सुर्तीजन्य पदार्थ सेवन नगर्ने,


-मानसिक तनाव कम गर्ने,


-सन्तुलित आहार सेवन गर्ने,


-मदिरा वा लागुपदार्थ सेवन नगर्ने,


-व्यायाम गर्ने,


-क्षयरोग संक्रमितबाट टाढै बस्ने,


यसबाट बच्न के गर्ने ?


–हप्ताभन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने,


शिशु जन्मनेबित्तिकै बिसिजी खोप लगाउने ।


पूर्ण उपचार गरे पूर्ण सञ्चो हुने क्षयरोगका कारण हरेक वर्ष धेरै नेपालीले ज्यान गुमाउन थालेपछि पछिल्ला वर्षमा नेपालमा क्षयरोग संक्रमण नियन्त्रण पनि जनस्वास्थ्यको चुनौती बनेको छ । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अगुवाइमा क्षयरोग नियन्त्रण अभियान सञ्चालन गरिएको छ ।


क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार गर्न जरुरी रहेको भन्दै यसका लक्षण भएका र जोखिम समूहमा पर्नेले एकपटक जाँच गराउन लगाउनेगरी विभिन्न कार्यक्रम सञ्चालन केन्द्रले गरिरहेको छ । यस्तै क्षयरोगमुक्त नेपाल अभियानमार्फत १४२ स्थानीय तहमार्फत क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा विस्तार गरिँदै लगिने केन्द्रले जनाएको छ ।


राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१÷२२–२०२५÷२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेर काम गरिरहेको छ । यो महत्वाकांक्षी योजनाले सन् २०३५ सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्नेे लक्ष्य लिएको छ ।


००


क्षयरोग जटिल अवस्थामा छ : डा. नवीनप्रकाश साह, क्षयरोग विशेषज्ञ (चेस्ट फिजिसियन)

डा. नवीनप्रकाश साह, क्षयरोग विशेषज्ञ (चेस्ट फिजिसियन)



नेपालमा अहिले पनि क्षयरोग जटिल अवस्थामा छ । बर्सेनि हजारौँ क्षयरोगी देखिने क्रम अहिले पनि छ । अहिले ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान गरिएको छ । तर, अहिले पनि कैयौँ विरामी उपचारको दायरामा आएका छैनन् । जसले गर्दा यसको नियन्त्रणमा समस्या आएको छ । यसको प्रमुख कारण भनेको उपचारका लागि बिरामीको पहुँच नपुग्नु नै समस्या हो । अहिले पनि दूरदराजका बिरामीसम्म राज्यले दिने भनेको सुविधा पुग्न सकेको छैन । पुगेको ठाउँमा पनि बिरामीले त्यसलाई उपभोग गरेको अवस्था छैन ।


यसका लागि राज्यले जे जति गरेको छ, त्यो पर्याप्त छैन । यसका लागि राज्यले अझै सेवा बढाउनु पर्छ । गत वर्ष नेपालमा करिब ६७ हजार सक्रिय क्षयरोगी उपचारमा आउने आकलन गरिएको थियो । तर, यसको झन्डै ४० प्रतिशत बिरामी उपचार प्रणालीमै आएनन् । निष्क्रिय क्षयरोगीमध्ये पनि ७४ प्रतिशतको अवस्था पत्तै लागेन । यसरी उपचारमा नआउनेले समुदायमा धेरैलाई यो रोग सारिसकेका हुन सक्छन् । क्षयरोग नियन्त्रणमा उपचारमा नआउने यिनैले बढी चुनौती थपिरहेका छन् ।


राज्यले यसका लागि दूरदराजमा गएर यही रोगमा केन्द्रित रहेर स्वास्थ्य शिविर गर्नुपर्छ । शंका लागेको अवस्थामा परीक्षण गर्ने र उपचारमा ल्याउन पर्छ । पहिलो कुरा भनेकै केस पत्ता लगाउने बारेमा गम्भीर हुनपर्छ । त्यसका लागि सबै ठाउँमा उपयुक्त स्वास्थ्यचौकी छैन । भएको ठाउँमा पनि आर्थिक अभावका कारण उपचार भइरहेको अवस्था छैन । त्यसका लागि राज्यले विशेष ध्यान दिएमा यसलाई नियन्त्रण गर्न सकिन्छ । अहिले जस्तो अपचारको अवस्था छ, त्यो पर्याप्त छैन । यसमा आउने दिनमा अझै ध्यान दिनुपर्ने देखिन्छ ।


नागरिकले पनि यसमा सचेत हुनुपर्ने हुन्छ । कसैलाई पनि शंका लागेमा तुरुन्त परीक्षण गर्नुपर्छ । यसमा डराउनुपर्ने अवस्था छैन । रोग प्रमाणित भएको अवस्थामा राज्यले निःशुल्क उपचार गर्ने भएकाले रोग लुकाएर वा पैसा छैन भनेर कोही पनि बस्नु भएन । यसमा राज्य र नागरिक दुवैले सचेत भएर लाग्नुपर्ने हुन्छ । त्यसो भएमा आउने दिनमा जोखिम काम हुन सक्छ ।

प्रतिक्रिया