
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रंगिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरूले २ दिनयता होटलहरू भरिभराउ भएका बताए ।
‘चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार ३ दिनको बिदा मनाउनका लागि पोखरा, म्याग्दी र काठमाडौँलगायतका ठाउँबाट आएका पाहुनाहरूले होटलहरू भरिएका छन्,’ उनले भने, ‘गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृंखला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ ।’
घोडेपानीका २७ वटा होटलमा १ दिनमा १ हजार जनाभन्दा बढी बास बस्न सक्छन् । समुन्द्री सतहदेखि २ हजार ८०० मिटर उचाइमा रहेको घोडेपानीको जंगलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क संकलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार मात्रै ४०० जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन् । हप्तादिनअघि दैनिक २०० जनाको हाराहारीमा पाहुनाहरू आइरहेको उनले बताए ।
चैत–वैशाख गुराँस फुल्ने याम हो । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । पुनहिलमा सूर्योदय र हिमशृंखलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जंगल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठुलो भएको उनको दाबी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जंगलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाए ।
स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चंगा बनाएको पोखराबाट घोडेपानी घुम्न गएका दिया थापाले बताए । गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उनले अनुभव सुनाए । पाहुनाहरूले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो÷तस्बिर खिचाएर आनन्द लिन्छन् ।
घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।
घोडेपानीमा १ रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित ९५० देखि १ हजार ६०० रुपैयाँको प्याकेज बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख, चित्रे हुँदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ ।
कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुँदै घोडेपानी जोड्ने कच्ची सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ । घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरू रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।
उनले भने, ‘सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरूलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ । घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।’
प्रतिक्रिया