चुरोटको जस्तो गन्ध र धुवाँ नआउने भएकाले परिवार, कार्यालय र सार्वजनिक थलोमा समेत भेपको सहजै प्रयोग प्रयोग भइरहेको छ । तर यो निकोटिनयुक्त दुव्र्यसनबाट प्राप्त हुने क्षणिक आनन्दका पछाडि लुकेका स्वास्थ्य जोखिम र आर्थिक बोझ भने घातक छन् ।

पछिल्लो समय नेपाली समाजमा युवा पुस्तामा लगाउने लुगा, गहना मात्रै होइन, खानपानसँगै अम्मल पनि फेसनजस्तो बन्दै छ । चिया पसल, क्याफे, रेस्टुराँ, क्लबमा युवायुवतीहरू चिया, कफी र खाजा खाएको मात्रै भेटिन्न, भेप (विद्युतीय चुरोट) तान्दै झुमिरहेको दृश्य सामान्य भइसकेको छ । भेपलाई किशोरकिशोरी र युवाहरूले ‘फेसन ट्रेन्ड’ नै बनाएको देखिन्छ । चुरोटको जस्तो गन्ध र धुवाँ नआउने भएकाले परिवार, कार्यालय र सार्वजनिक थलोमा समेत भेपको सहजै प्रयोग प्रयोग भइरहेको छ । तर यो निकोटिनयुक्त दुव्र्यसनबाट प्राप्त हुने क्षणिक आनन्दका पछाडि लुकेका स्वास्थ्य जोखिम र आर्थिक बोझ भने घातक छन् ।
परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्ने गरेको पाइन्छ । नेपाली समाज अरूले गरेको देखासिकी गर्न खप्पिस छ । त्यसैको एक उदाहरण हो, भेपको प्रयोग । पछिल्ला दिनमा विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले पु¥याउने असर कति गम्भीर छ त्यसबारेमा भने ध्यान दिएको पाइन्न । देखाउनका लागि, अझभन्दा चुरोटको विकल्पमा फेसन जस्तो बन्दै छ । यो हेर्दा जति मान्छेलाई आकर्षक लाग्न सक्छ । त्यसको असर उत्तिकै चुनौतीपूर्ण रहेको जानकार बताउँछन् ।
धेरैजसो युवाहरू भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ । स्वास्थ्यविज्ञका अनुसार भेपले पनि चुरोटले जति नै असर गर्ने गर्दछ । भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताइन्छ । भेपको प्रयोगलाई चुरोटभन्दा कम हानीकारक ठानिए पनि त्यो भ्रम रहेको बताइन्छ । तर, युवा पुस्ता ढुक्क भएर यसको प्रयोग गरिरहेको पाइन्छ । कतिले यो विद्युतीय हुने भएकाले स्वास्थ्यमा असर पुग्दैन भन्ने भ्रम पालेका छन् । तर, परम्परागत चुरोटभन्दा कम हानीकारक नरहेको विज्ञको दावी छ ।
भेपभित्र प्रयोग हुने पदार्थ अर्थात केमिकलहरू हेभी मेटल्स हुने बताइन्छ । बास्ना दिनका लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरू प्रयोग हुने गरेको जानकार बताउँछन् । अन्य अखाद्य पदार्थहरू पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन प्रयोग हुने बताइन्छ । त्यसै गरी यसको धुँवा लिँदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहन्छ । त्यति मात्र होइन, भेपले डिएनए इकाईमा समेत परिवर्तन ल्याउने खतरा रहन्छ । तर, यी सबै कुराको बेवास्ता गर्दै युवा पुस्ताले निर्धक्क यसको प्रयोग गरेको पाइन्छ ।
००००
नेपालमा सरकारले १२ चैत २०८१ देखि भेपको आयात र बिक्री–वितरणमा रोक लगाएको छ । तर, सरकारले वैधानिक रूपमा आयातमा रोक लगाए पनि नेपाल भित्रिने दर नरोकिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तस्करी गरेर अवैध रूपमा आयात भइरहेको भेप प्रहरीले हप्तैपिच्छेजस्तो ठुलो परिमाणमा बरामद गरेको देखाउँछ । त्यसले पनि सरकारको प्रतिबन्ध र आयात भइरहेको अवस्थाले नेपालमा यसको जालो कति गहिरो छ भन्ने पुष्टि हुन्छ ।
भेपले मानव स्वास्थ्यमा मात्रै होइन, सुरक्षा र तस्करीमा पनि चुनौती थपेको छ । जानकारहरूका अनुसार यसको जालो तलदेखि माथिसम्म पुगेको पाइन्छ । उदाहरणका लागि, पूर्वसभामुख कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गर्न सघाएको आरोपमा पक्राउ परे । यसको कनेक्सन होटल, रेस्टुरेन्ट वा साना पसलमा मात्रै सीमित छैन भन्ने कुरा प्रहरीले गर्ने बरामदीको परिणाम र कनेक्सनले देखाउँछन् । त्यसैले पनि यसको जालो बलियो गरी नेपाली समाजमा पुगेको कुरा नकार्न सकिन्न ।
सरकारको भनाइ र निर्देशिका मन्ने हो भने भेप आयात बन्देज छ । किनभने २०८१ वैशाखमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१ बमोजिम भेप आयात रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई केन्द्रले पत्र पठाएको थियो ।
निर्देशिकाको दफा २८ को उपदफा ४ मा ‘कसैले पनि भेपको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था छ । सोही व्यवस्था कार्यान्वयनका लागि पत्र पठाइएको थियो । उक्त व्यवस्थाअनुसार भेप आयात प्रतिबन्ध रहेको सरकारी निकायको भनाइ छ । तर सरकारी तथ्यांक हेर्ने हो भने भेप आयात भएकै छ । यसमा दुई मत कहाँनिर छैन भने, युवा पुस्ताको हातदेखि ओठसम्म या प्रयोग भइरहेको पाइनछ ।
सरकारले जारी गर्ने तथ्यांक हेर्ने हो भने, आर्थिक वर्ष २०८०÷०८१ मा २४ लाख ३० हजार रुपैयाँको २८१ किलो भेप नेपाल भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १० लाख ६४ हजार रुपैयाँ बराबरको भेप भित्रिएको छ । मंसिरयता भन्सारको तथ्यांकमा भने आयात भएको देखिँदैन । तर अवैध रूपमा आयात भइरहेको जानकार बताउँछन् ।
नेपालमा भेपको तस्करी बढ्दो छ । यसको मुख्य प्रयोग भने नेपालसँगै भारतमा पनि छ । भेप नेपाल ट्रान्जिट हुँदै भारतसमेत जाने गरेको जानकार बताउँछन् । नेपालमा प्रतिबन्ध भनिएपछि यसको प्रयोग र कारोबार व्यापक भएको देखिन्छ ।
००००
भेपको सुरुआत…
भेपको आधुनिक रूपको विकास सन् २००३ मा चीनबाट भएको हो । परम्परागत चुरोटभन्दा कम हानिकारक विकल्प खोज्ने प्रयासस्वरूप निकोटिनलाई वाफ बनाएर सेवन गर्ने कल्पनाले जन्माएको हो भेप । त्यही सोचका साथ आविष्कार भएको थियो यो । भेप चुरोट पिएकोजस्तो अनुभव दिने एकप्रकारको विद्युतीय उपकरण हो । परम्परागत चुरोटका अम्मलीलाई यसले सहयोग गर्ने उद्देश्यका साथ यो आएको पाइन्छ ।
यसलाई बजारमा ई–सिगरेट (विद्युतीय चुरोट) पनि भनिन्छ । यसमा तरल पदार्थलाई तताउने हिटर (एटोमाइजर), ब्याट्री र ट्यांकजस्तो एउटा कन्टेनर हुन्छ । हिटरले तरल पदार्थलाई तताएर वाफ बनाउँछ । भेप तान्दा धुवाँको साटो वाफ दिने भएकाले सुरक्षित मानेर प्रयोग गर्ने प्रवृत्ति बढेको छ । तर यस्तो वाफमा फलफूललगायत विभिन्न स्वाद र बास्ना दिने पदार्थको फ्लेभरसहित निकोटिन राखिएको हुन्छ । नसा गराउने पदार्थका रूपमा प्रयोग हुने निकोटिन चुरोट र अन्य सुर्तीजन्य वस्तुमा पनि पाइन्छ ।
भेप उत्पादकले सुर्तीजन्य पदार्थका रूपमा परिभाषित नगरे पनि सुर्तीमा पाइने निकोटिन नै प्रयोग गरेका हुन्छन् । यति मात्रै होइन, सुर्तीजन्य पदार्थ छुटाउन सहयोगी भनेर प्रचारप्रसार समेत गर्छन् । जसका कारण चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहेको पाइन्छ । यस्तो भ्रम र बुझाइका कारण कतिपयले चुरोटको विकल्पमा वा चुरोट छुटाउन यसको सेवन गर्ने गरेका छन् । तर भेपमा पनि निकोटिन हुने भएकाले स्वास्थ्यमा असर गर्ने चिकित्सकहरू बताउँछन् ।
लाइटर नचाहिने, एकपटक चार्ज गर्दा धेरैपटक सेवन गर्न सकिने र विभिन्न स्वादमा पाइने भएकाले खासगरी युवा पुस्तामाझ भेप लोकप्रिय छ । फुत्त खल्तीबाट झिक्यो, तान्यो र राख्यो । अम्मलीका लागि यो सहज लाग्न सक्छ । प्रयोगमा सहजता देखिएकै कारण चुरोट सेवन नगर्नेले पनि यसलाई पछ्याएको पाइन्छ । त्यसैले त सहरबजारका धेरै युवायुवतीको खल्तीमा भेटिने चल्तीको वस्तु बनेको छ यो । भेपको स्वाद, रूपरङ र बनावट नै युवालक्षित देखिन्छ ।
सहजता र आवश्यकता पूर्तिका लागि बनाइएको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, हालसम्म भएका अध्ययनले भेपमार्फत गरिने निकोटिन सेवनले छाती, फोक्सो र मुटुसम्बन्धी समस्या बढाउने देखाएको छ । त्यसैले त यो जति चल्तीमा छ, त्यत्तिकै हानिकारक पनि मानिन्छ । कतिले थाहा पाएर पनि यसको प्रयोग गरेको पाइन्छ भने कतिले देखासिकी गरेको पाइन्छ । जे जसरी गरेको भए पनि यसको प्रयोग, स्वास्थ्य, आर्थिक, मानसिक र वातावरणीय रूपमा अनुकुलित मानिन्न । त्यसैले त यसको लोकप्रियता जसरी बढ्दै छ, त्यसै गरी विश्वका धेरै देशमा यसको प्रयोगमा प्रतिबन्ध लगाउने क्रम पनि बढ्दै छ ।
००००
नेपालमा भेपको कारोबारले स्वास्थ्यमा मात्रै होइन, यसले सुरक्षामा समेत चुनौती दिएको छ । यसको कारोबार बढ्नुका कारण नेपालमा भन्दा बढी भारतमा निकासी भएको बताइन्छ । पूर्वडिआइजी हेमन्त मल्लका अनुसार नेपालमा ट्रान्जिट भएर भारतमा बढी जाने र ती सामान बेलाबेलामा बरामद हुँदा नेपालमा व्यापक भएको देखिएको हो । ‘यसले हाम्रो जस्तो मुलुकका लागि पहिलो चुनौती स्वास्थ्य हो,’ मल्लले भने, ‘यदि कुनै कुरा ट्रान्जिट भएर अर्को कुनै देशमा जान्छ भने, त्यो संगठित अपराधी यसमा संलग्न भएको हुन सक्छ ।’ उनका अनुसार यसमा गम्भीर रूपमा राज्य लाग्नुपर्छ ।
उनका अनुसार यसभित्र अरू पनि अपराध कार्य लुकेको हुन सक्छ । ‘संगठित अपराध गर्नेले एउटा मात्रै अपराध गर्दैन, विभिन्न अपराधमा जोडिएको हुन्छ,’ उनले भने, ‘यस्ता कार्यमा हुन्डीका व्यापारीहरू पनि जोडिएका हुन सक्छन् ।’ यसले नेपालको पैसा बाहिर लैजाने उनले बताए । उनका अनुसार यसलाई रोक्न भन्सारको क्षमता पर्याप्त छैन । बाहिरबाट आउने नाका र प्रविधिमा सुधार गरिनुपर्ने उनको सुझाव छ । यस्ता प्रकारका तस्करीको सञ्जाल तोड्नका लागि प्रहरीको प्रभावकारी सक्रियता हुनपर्ने उनले बताए ।
उनको अनुभवमा यस्ता समस्या आउँदा विदेशतिर छोटो समयका लागि विभिन्न ट्रास्कफोर्स बनाउने गरिन्छ । त्यो समिति जस्तो होइन, बलियो ट्रास्कफोर्स बनाएर काम गर्ने हो भने यसको कारोबार वा नेपालमा आउने कार्य रोक्न सकिने उनले बताए । तर, नेपालमा उनले भने र अनुभव गरे जस्तो संरचना भएको पाइन्न । त्यसैले पनि नेपाल हुँदै अन्य मुलुकमा जाने क्रममा भेप समातिने र त्यही परिणामलाई हरेर नेपालमा यसको जालो कति रहेछ भनेर बुझ्ने गरिएको छ ।
००००
यसले नशाको रूप लिन सक्छ : प्राडा शरद वन्त, जनस्वास्थ्यविद्

अहिले युवा पुस्तामा भेपिङको लत निकै बढेको पाइन्छ । तर, यसले स्वास्थ्यमा यही प्रणालीलाई यही असर पु¥याउँछ भन्ने यकिन छैन । यसबारेमा पूर्ण रूपमा अध्ययन भइसकेको छैन । तर, यसले एउटा मात्रै प्रणालीलाई असर पार्ने होइन । यसले स्वास्थ्यका धेरै प्रणालीलाई असर पार्न सक्छ । यो अरू धूमपान जस्तै स्वास्थ्यमा असर पार्ने भने हुन सक्छ । अझ यो लत अम्मल हुन सक्छ । त्यसो हुने बित्तिकै यसले मनोरोगी बनाउन सक्छ । त्यस कारण यसले नकारात्मक असर पार्छ भन्ने कुरामा दुई मतै छैन । तर, असर कस्तो पार्छ भन्नेचाहिँ अनुसन्धान र तथ्यांकले देखाइसकेको छैन ।
नेपालमा यसलाई राज्यले प्रतिबन्ध लगाएको भनेको छ । तर, समाजमा भने व्यापकरूपमा यसको प्रयोग भएको पाइन्छ । यसमा राज्यको पनि कमजोरी छ । नीति बन्ने तर, त्यो कार्यान्वयन नहुने अवस्था छ । यसले नकारात्मक प्रभाव पार्छ भनेर नै राज्यले प्रतिबन्धित गरेको हो । गैरकानुनी भएर पनि बजारमा किन आइरहेको छ । त्यो गम्भिर विषय हो ।
यसको प्रयोगले स्वास्थ्य र पैसा दुवै बर्बाद पार्छ । लत मेट्न भेप किन्दा खर्च हुने भयो, यसको सेवनले स्वास्थ्यमा हानि गर्ने भएकाले उपचारमा पनि पैसा जान्छ । त्यसैले यसको प्रयोगकर्ता सचेत हुनैपर्छ । यो लागुऔषध जस्तै नशा रूपमा प्रयोग नहोस् भन्नेमा सचेत हुनेपर्छ । प्रयोग नगरेका र जोखिममा रहेकाले पनि यसबारेमा जानकारी लिएर सचेत हुनपर्छ । यसको लतमा परेमा मान्छेको स्वास्थ्यका साथै मनोविज्ञानमा पनि असर पार्छ । त्यसैले यसको प्रयोग रोक्नका साथै समाजमा पूर्णरूपमा नियन्त्रण गरिनु पर्छ । यो सामान्य धूमपान मात्रै होइन, प्रयोग बढ्दै जाँदा यसले नशाको रूप लिन सक्छ ।
यसको प्रयोग पूर्ण रूपमा रोक्नका लागि पहिलो सुरक्षा व्यवस्था हो भने, दोस्रो यसको प्रयोगले पुग्न सक्ने असर र त्यसका क्षेत्रबारेमा जनचेतना जगाउनु पर्छ । जब मान्छेमा यसको नकारात्मक प्रभाव बारे जानकारी हुन्छ, त्यसपछि यसबाट टाढा हुनसक्छ । अरू प्रयोजन वा उद्देश्यले वा अन्यत्र लग्नेगरी ल्याउने काम पनि सुरक्षा कडा हुँदा रोकिन सक्छ ।
प्रतिक्रिया