
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण भारतमा ग्यास संकट निम्तिएको छ । इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारतमा घरायसी उपभोक्ताका लागि २५ दिनमा एउटा मात्र सिलिन्डर दिने नियम ल्याइएको छ । मध्यपूर्वको संकटलाई देखाएर नेपालमा भने कालोबजारी बढेको पाइएको छ । खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ रहे पनि सिरहामा त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ । सिरहाजस्तै काठमाडौँलगायत देशका धेरै ठाउँमा कालोबजारी बढेको गुनासो उपभोक्ताले गरिरहेका छन् । उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुन सक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह गरेका छन् ।
खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्य दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको गुनासो आएपछि नेपाल आयल निगमले ग्यास उद्योगीहरूसँग छलफल गरेको छ । निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको उद्योगीहरूले बताएका छन् । निगमले उद्योगहरूलाई तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको बताइएको छ । त्यसैगरी ग्यास बिक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरेको, फोन नम्बरसहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ग्यास वितरण क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निगमको मुख्य निर्देशन छ । होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणका लागि ग्यास उपलब्ध गराउनुपर्ने र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको पनि छुट्टै रेकर्ड राख्न भनिएको छ । अब कुन बिक्रेताले कति ग्यास प्राप्त गर्यो र कसलाई बेच्यो भन्ने कुराको सूक्ष्म अनुगमन गरिने निगमले जनाएको छ ।
कतिपय बिक्रेताले आफ्ना पुराना वा नियमित ग्राहकलाई मात्र प्राथमिकता दिँदा नयाँ र आपत्कालीन अवस्थाका उपभोक्ताले ग्यास नपाएको गुनासो आएकाले सबैलाई समान रूपमा वितरण गर्न पनि निर्देशन दिइएको छ । यो नयाँ व्यवस्था लागू भएपछि बजारमा देखिएको कृत्रिम अभाव हट्ने र उपभोक्ताले सहजै ग्यास पाउने निगमको दाबी छ । बजार व्यवस्थापन गर्न तथा ग्यास वितरण चुस्त दुरुस्त बनाउन दैनिक विवरण निगममा पठाउन निर्देशन दिइएको नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट बताए ।
उपभोक्ता ठग्नेलाई कारबाही गर्न महासंघको माग
ग्यास बिक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा बिक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि ! भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ । तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ । महासंघले देशभरिका आमबिक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपिल गरेको छ ।
प्रतिक्रिया