
नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा फागुन ७ अविस्मरणीय दिन हो । २००७ सालमा यसै दिन १ सय ४ वर्षको जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र घोषणा भएको थियो । यही सम्झनामा हरेक वर्ष फागुन ७ गते राज्यस्तरमै विशेष समारोहका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यद्यपि पछिल्लो कालखण्डमा प्रजातन्त्र दिवस मनाउनुको सान्दर्भिकता र औचित्यका सन्दर्भमा प्रश्न नउठेको भने होइन । राणाकालसम्म नेपाली जनतालाई रैती भनिन्थ्यो । राणाशासन ढलेसँगै नेपाली जनता रैतीबाट प्रजा बने । प्रजाहरूले चुनेका प्रतिनिधिले शासन व्यवस्थाको तय गर्ने घोषणा भएकोले फागुन ७ लाई प्रजातन्त्र दिवस भनिएको हो । तर २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाद्वारा गणतन्त्र स्थापना गरिएसँगै नेपाली जनता प्रजाको स्तरबाट माथि उठेर लोकको स्तरमा पुगेका छन् । लोक भनेको माटो सहितका अर्थात् सार्वभौम अधिकारसम्पन्न जनता हुन् । त्यसैले मुलकको विद्यमान शासन व्यवस्थालाई लोकतन्त्र भन्ने गरिएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा प्रजातन्त्र दिवस मनाउनुको औचित्यका सन्दर्भमा तर्क वितर्क उठ्नु स्वाभाविकै हो । झट्ट हेर्दा लोकतान्त्रिक शासन व्यवस्थामा प्रजातन्त्र दिवस मनाउनु अनौठो जस्तो देखिन सक्छ । तर कुनै पनि उपलब्धिको मूल्यांकन तत्कालिन परिस्थिति तथा परिवेशमा टेकेर गर्नुपर्छ । किनकि त्यतिबेलाको परिस्थितिमा रैतीहरूले क्रान्तिको विगुल फुक्दै निरंकुश शासकलाई विदा गरी आफ्ना लागि आफैं शासन व्यवस्था तय गर्ने फैसला गर्नु सामान्य उपलब्धि थिएन । अहिले प्राप्त लोकतन्त्र त्यही उपलब्धिको जगमा खडा भएको हो । प्रजातन्त्रको जगमै लोकतन्त्र खडा भएकोले राजनीतिक उपलब्धिको दृष्टिले फागुन ७ नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण दिन हो ।
२००७ सालको जनक्रान्ति राजनीतिक परिवर्तन मात्रै नभएर सामाजिक तथा शैक्षिक क्रान्ति पनि हो । सयौं वर्षसम्म बन्द रहेको नेपाली समाज यही क्रान्तिको सेरोफेरोमा खुला भएको हो । यो क्रान्तिले सामाजिक कुसंस्कारको अन्त्य मात्रै गरेन देशभरी शिक्षा तथा चेतनाको विगुल फुक्यो । यही कालखण्डदेखि भौतिक पूर्वाधार निर्माणको थालनी भयो । देश भनेको शासकका लागि नभएर जनताका लागि हो भन्ने मान्यता स्थापित भयो । नेपाल भनेर राजधानी काठमाडौं उपत्यका मात्रै चिनिने गरेकोमा झापादेखि दार्चुलासम्म र कन्चनुपुरदेखि ताप्लेजुङसम्मका जनतालाई नेपाली हौं भन्ने आभास गराएको २००७ सालको जनक्रान्तिले नै हो ।
हिमालदेखि तराई र मेचीदेखि महाकालीसम्मका जनतालाई नेपालको इतिहासमा पहिलो पटक एउटै मोर्चामा उभ्याएर संघर्षका लागि प्रेरित गरेको पनि २००७ सालको जनक्रान्तिले हो । त्यसैले अन्य कुनै राजनीतिक घटनाक्रमलाई अघि सारेर फागुन ७ लाई ओझेलमा पार्नुहुन्न । नेपाल एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ होस् या नेपाली जनता प्रजाबाट नागरिक बनेको १५ जेठको दिन होस्, अथवा नेपाली जनताले आफ्ना लागि आफैं संविधान बनाएर घोषणा गरेको असोज ३ होस्, यी कुनै पनि दिन एक अर्काभन्दा कम अमूल्य छैनन् । तर यस्ता राजनीतिक दिवस एक वर्षमा धेरैवटा मनाउनु कति सान्दर्भिक ? त्यसको सट्टा यी सबै उपलब्धिमूलक दिनको मर्म बोक्ने गरी कुनै एक दिन छान्दा कसो होला ? भन्ने प्रश्नको निर्विवाद उत्तर खोज्नु सान्दर्भिक हुन्छ ।
ऐतिहासिक तथा कालजयी उपलब्धिलाई स्मरण गर्न मात्रै होइन, यी उपलब्धिलाई संस्थागत गर्नका लागि दिवस मनाउने गरिन्छ । एक हिसावले दिवस मनाउनु भनेको प्रचार प्रसार पनि हो ।
यसका लागि सरकारी कार्यालय बन्द नै गर्नु पर्छ भन्ने छैन । तर हामीकहाँ सार्वजनिक विदा दिइयो भने मात्रै दिवस मनाएको मानिने गलत मानसिकता हावी भएको छ । जसका कारण सर्वसाधराण जनताले थप सास्ती पाउने गरेकोले दिवसको अवमूल्यन हुने खतरा बढेको छ । त्यसो त प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र भनेका केबल शब्द मात्रै होइनन्, सिद्धान्त हुन् ।
बास्तविक रूपमै सिद्धान्तको कार्यान्वयन भयो भने मात्रै यस्ता दिवसले सार्थकता पाउँछन् । यदि २००७ सालमा स्थापित प्रजातन्त्र सार्थक भएको भए देश लोकतान्त्रिक गणतन्त्रमा जानु पर्ने आवश्यक थिएन । यदी गणतन्त्र सार्थक भएको भए गत भदौ २३ र २४ गते त्यो ढंगको आन्दोलन उठ्ने र त्यसले जननिर्वाचत सरकार तथा संसद नै बढार्ने अवस्था आउने थिएन । त्यसैले यस्ता दिवस मनाउँदै गर्दा सार्थकताको पनि ख्याल गर्नुपर्छ । खासमा जनअधिकारमूलक शासन व्यवस्था भनेको केबल नाम मात्रै नभएर संस्कार हो भन्ने कुरा शासन सत्ताको नेतृत्व तहमा रहनेहरूले ख्याल गर्नुपर्छ । अनिमात्रै यस्ता दिवसको सार्थकता हुनेछ ।
प्रतिक्रिया