
जनकपुरधाम । नेपालका प्राचीन सहरहरूमध्ये जनकपुरधाम एक ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपमा महŒवपूर्ण सहर हो । धर्म, संस्कृति, भाषा र वेषभूषाको विशिष्टताले यस सहरले विश्वमा आफ्नै अलग्गै पहिचान बनाएको छ । ५२ कुटी र ७२ कुण्ड यसको गौरवका प्रतीक हुन् । माता सीताको जन्मस्थलका रूपमा चिनिने जनकपुरधाम विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्र पनि हो ।
तर, आज जस्तो चिटिक्क र आकर्षक जनकपुरधाम पहिले थिएन । सरकारले देखाएको बेवास्ता र सरोकारवालाको उदासीनताका कारण यो सहरले आफ्नो ऐतिहासिक र सांस्कृतिक पहिचान नै हराउँदै गएको थियो । कहिल्यै ‘मच्छडको राजधानी’, ‘फोहोरमैलाको राजधानी’, ‘बिनाबाटोको राजधानी’ भनेर व्यंग्य गरिएको यो सहर साँघुरा गल्ली, बाटोमै फोहोर, धुलाम्य वातावरण र थोरै वर्षामा पनि घरघरमा पस्ने पानीका कारण बदनाम बनेको थियो ।
जनकपुरधामको प्रमुख गन्तव्य विश्वप्रसिद्ध जानकी मन्दिरसम्म पुग्ने सडक पनि जीर्ण थियो । बिजुली बत्तीको अभावले सहर अँध्यारो र उदास देखिन्थ्यो । आन्तरिक पर्यटक त परै जाउन्, विदेशी पर्यटकहरूले समेत यस्तो पवित्र धार्मिक स्थलको अवस्थादेखि सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै निराश भएर फर्किन्थे ।
तर पछिल्ला वर्षहरूमा जनकपुरधामको रूपान्तरणले सबैको ध्यान तानेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा सडक विस्तार, फोहोर व्यवस्थापन, सौन्दर्यीकरण र प्रकाश व्यवस्थामा उल्लेखनीय सुधार भएको छ । रेलमार्ग सञ्चालन, सडकको पिचिङ, रंगीन बत्ती र हरियाली पार्कहरूले जनकपुरधामलाई नयाँ आकर्षण दिएको छ । जानकी मन्दिर परिसर र वरपरका क्षेत्रको सरसफाइ र संरचनात्मक सुधारले धार्मिक पर्यटनमा नयाँ ऊर्जा थपेको छ ।
अहिले जनकपुरधाम केवल आस्थाको केन्द्र मात्र होइन, सौन्दर्य, संस्कृतिको गर्व र पर्यटनको प्रमुख गन्तव्यका रूपमा उदाउँदै छ । यो सहरले आफ्नै गौरव पुनःस्थापित गर्न थालेको छ । जसको श्रेय स्थानीय जनताको सक्रियता, साझा प्रयास र पूर्वमेयर लालकिशोर साहको हौसला र विश्वासलाई जान्छ ।
जनकपुरधामको विकासमा जनकपुरवासीकै महŒवपूर्ण भूमिका रहेको जनकपुरधाम उपमहानगरपालिका पूर्वमेयर लालकिशोर साहको भनाइ छ । उनले भने, ‘आज उनीहरूले सडक विस्तारको क्रममा आफँै घरटहराहरू नभत्काएको भए ‘चिटिक्क जनकपुरधाम’ बन्ने थिएन ।’ फराकिलो सडक, सडक छेउमा फुटपाथ, बीच बाटोमा नाला र त्यसमाथि बिजुलीको प्रकाश साँच्चैकै जनकपुरधाम मधेसको राजधानीलाई बोध गराइरहेको छ ।

जनकपुरधाम पुनरउत्थानको यात्रा
नेपालको मिथिला सभ्यताको केन्द्र, माता सीताको पवित्र जन्मभूमि, जनक र सीताको स्मृतिले भरिएको जनकपुरधाम । आज स्वच्छ, उज्यालो र व्यवस्थित सहरको रूपमा चिनिन थालेको छ । तर यो यात्रा सहज थिएन ।
तर सहरको नियति परिवर्तन गर्ने मोड सन् २०७४ सालमा आयो, जब स्थानीय निर्वाचनपछि लालकिशोर साह मेयर निर्वाचित भए । उनले जनकपुरधामको पुनर्जागरणको यात्रा सुरु गरे ।
‘म जनकपुरलाई स्वच्छ, हराभरा र व्यवस्थित सहर बनाउने अठोटसहित जिम्मेवारीमा आएको थिएँ,’ पूर्वमेयर साह भन्छन्, ‘तर त्यसको बाटो सजिलो थिएन ।’ मेयरको कार्यकाल सुरु भएको २ वर्षमै कोरोना महामारी फैलियो । देशभर त्रास छायो, अर्थतन्त्र ठप्प भयो, मानिसहरू घरभित्र कैद भए । त्यही बेला जनकपुरधाम उपमहानगरपालिकाले जनताको सुरक्षाको जिम्मा लियो । संक्रमितका लागि खाना, औषधि, मास्क, सेनिटाइजरदेखि परीक्षण प्रयोगशालासम्म सञ्चालन गरियो । घरघरमा होम क्वारेन्टाइनको व्यवस्था गरियो । स्थानीय सरकारले संकटको बेला ‘राज्यको विकल्प’ बनेर जनताको विश्वास जित्यो ।
महामारीपछि विकासको बाटो फेरि खुलेको थियो । साहले एसियाली विकास बैंकको वर्षौंदेखि रोकिएको परियोजना कार्यान्वयनमा ल्याए । सडक विस्तारका क्रममा सयौँ संरचना भत्काइए केहीले विरोध गरे, तर अधिकांश जनकपुरवासीहरूले साथ दिए । आज ती सडकहरू फराकिला बनेका छन्, ढल निकास सुधारिएको छ, र रातभरि उज्यालो दिने बत्तीहरू जडान गरिएका छन् । ५ हजार पोलमा बल्ब र १३० हाइमास्ट लाइट जडानपछि जनकपुरधामको रात हराभरा उज्यालोमा रूपान्तरण भएको छ ।
जनकपुर सदियौँदेखि धार्मिक रूपमा महŒवपूर्ण भए पनि ‘धाम’का रूपमा औपचारिक मान्यता पाएको थिएन । साहकै पहलमा जनकपुरलाई धाम घोषणा गरियो । नगरलाई केसरिया रंगमा सजाउँदै धार्मिक र आधुनिक सौन्दर्यबोधबीचको सन्तुलन खोजियो । मठ–मन्दिर, सरोवर र ऐतिहासिक स्थलहरूको सौन्दर्यीकरणमा प्राथमिकता दिइयो । युनेस्कोको विश्व सम्पदा सूचीमा जनकपुरधामलाई सूचीकृत गराउने पहलसमेत उनले गरे ।
साहको कार्यकालमा जनकपुरधामका विद्यालयहरूमा सुधारका काम भए । संकटमोचन रामरति र बसहियास्थित गोगलप्रसाद विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गरियो । माध्यमिक तहका विद्यालयहरूलाई प्लसटूमा स्तरोन्नति गरिँदा विद्यार्थीहरूलाई बाहिर पढ्न जानुपर्ने बाध्यता घट्यो ।
त्यसैगरी, उपमहानगरपालिकाका २५ वटै वडामा कार्यालय, स्वास्थ्यचौकी र आवश्यक पूर्वाधार निर्माण गरियो । नगरपालिकाको पुरानो जीर्ण भवन भत्काएर नयाँ प्रशासनिक भवन निर्माण गरियो ।
जनकपुरधामका चारै दिशाबाट सहर प्रवेश गर्न सकिने नयाँ सडक निर्माण गरियो । सीमावर्ती भारतीय बस्तीहरूसँगको सम्पर्क सहज बनाइयो । विमानस्थलमा नाइट उडान सुरु हुँदै दैनिक ४–५ फ्लाइट सञ्चालनमा आएका छन् । भारत सरकारसँगको समन्वयमा धार्मिक पर्यटन विस्तारका पहलले मिथिलाको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको छ ।
आजको जनकपुरधाम हेर्दा अतीतका ती फोहोर गल्ली र धुलाम्य बाटो सम्झन पनि गाह्रो पर्छ । सडकमा बत्ती बालिन्छ, मन्दिरहरू उज्यालोमा चम्किन्छन्, पर्यटकहरू घुमफिर गर्छन् । तर, पूर्वमेयर साह भन्छन्, ‘मेरो उद्देश्य जनकपुरधामको समुन्नत भविष्य थियो र आज पनि छ । यो सहर विश्वकै धार्मिक राजधानी बन्ने क्षमता राख्छ, केवल इच्छाशक्ति, निरन्तरता र जनताको जागरुकता आवश्यक छ ।’ जनकपुरधामको परिवर्तनले केवल सडक र भवनको विकास होइन, आत्मसम्मानको पुनर्जागरण पनि गरेको छ । फोहोर र अँध्यारोको सहर आज गर्वका साथ भन्छ, ‘म जनकपुरधाम हुँ, आस्थाको राजधानी ।’
धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध सहर जनकपुरधामलाई पर्यटनको दृष्टिकोणबाट विश्वस्तरमा स्थापित गर्न सकिने जनकपुरधामका विज्ञहरूको भनाइ छ । जनकपुरधामका प्रख्यात विज्ञ तथा समाजसेवी डा.राजेन्द्र विमल र डा.भोगेन्द्र झाले जनकपुरधाममा रहेको मिथिला सभ्यताको मौलिकता, सांस्कृतिक सम्पदा र धार्मिक आस्थालाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्नसके यस सहर दक्षिण एसियाको प्रमुख पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गर्छन् ।
डा.विमलका अनुसार, ‘जनकपुरधाम केवल धार्मिक स्थल होइन, यो मिथिला सभ्यताको केन्द्र हो । यहाँका मठ–मन्दिर, पोखरी, कुण्ड र सांस्कृतिक परम्पराले विश्वका पर्यटकलाई आकर्षित गर्ने अद्भुत क्षमता राख्छ । तर यो सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न योजनाबद्ध पर्यटन नीति र पूर्वाधार विकास आवश्यक छ ।’
त्यस्तै, डा.भोगेन्द्र झाले जनकपुरधाममा धार्मिक पर्यटनसँगै सांस्कृतिक र शैक्षिक पर्यटनको पनि ठुलो सम्भावना रहेको बताए । ‘जनकपुरधाममा मिथिला चित्रकला, लोकसंस्कृति, साहित्य र इतिहाससँग सम्बन्धित केन्द्र स्थापना गर्न सकिन्छ । यसले आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्नेछ,’ उनले भने ।
दुवै विज्ञहरूका अनुसार, जनकपुरधाममा हालका वर्षहरूमा देखिएको भौतिक सुधार, सडक विस्तार, उज्यालो योजना र रेल सेवा सञ्चालनले पर्यटन विकासका लागि अनुकूल वातावरण तयार गरेको छ । तर, अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार, स्वच्छता, होटल व्यवस्थापन, पर्यटक मार्गनिर्देशन र स्थानीय समुदायको सहभागिता अभिवृद्धि नगरी दीर्घकालीन सफलता सम्भव नहुने उनीहरूको सुझाव छ । डा.विमल र डा.झा दुबै जनकपुरधामलाई ‘धार्मिक राजधानी’ मात्र होइन, ‘पर्यटन राजधानी’का रूपमा स्थापित गर्ने साझा दृष्टिकोण राख्छन् । उनीहरूका शब्दमा, ‘जनकपुरधाममा मिथिला सभ्यताको आत्मा बस्छ । यदि हामीले त्यस आत्मालाई जीवित राख्दै आधुनिक पर्यटनसँग जोड्यौँ भने जनकपुरधामले विश्व नक्सामा आफ्नो छुट्टै पहिचान बनाउनेछ ।’
धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित जनकपुरधामलाई अझ व्यवस्थित र आकर्षक बनाउन जनकपुरधाम उपमहानगरपालिकाले पछिल्ला वर्षमा विभिन्न योजना अघि सारेको बताउँदै आएको छ । मठ–मन्दिर पुनःसंरचना, सरोवर सौन्दर्यीकरण र ‘मिथिला सांस्कृतिक पदमार्ग’ निर्माणजस्ता परियोजनाहरू पनि तीमध्येका हुन् । तर, यस्ता योजना घोषणामा मात्रै सीमित रहँदै आएको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उपमहानगरपालिकाले जनकपुरधामलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने कुरा बारम्बार गर्दै आएको भए पनि त्यसको ठोस परिणाम भने हालसम्म देखिएको छैन ।
हाल जनकपुरधाममा सडक विस्तारले केही राहत त दिएको छ, तर त्यससँगै नयाँ समस्या पनि थपिएको छ, ई–रिक्सा (विद्युत् रिक्सा) को अत्यधिक संख्या । सहरका मुख्य मार्गहरूमा ई–रिक्साको भिडले ट्राफिक जाम र अव्यवस्था सिर्जना गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापनका लागि ऐन निर्माण गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । उपमहानगरका प्रवक्ता परमेश झाका अनुसार, ‘हामीले ई–रिक्सा व्यवस्थापनका लागि ऐन तयार गरिसकेका छौँ, अब छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।’ तर दाबी जस्तोसुकै गरे पनि व्यवहारमा ठोस पहल अझै देखिएको छैन ।
हालैको जेनजी आन्दोलनपछि जनकपुरधामका सरकारी निकायहरूमा भएको क्षतिले सहरको सौन्दर्य र प्रशासनिक संरचनामा नकारात्मक असर पारेको छ । भवनहरूमा भएको तोडफोड र सार्वजनिक सम्पत्तिको क्षतिले नगरको छविमा दाग परेको स्थानीयवासीहरूको टिप्पणी छ । अब यसको व्यवस्थापन र पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकार मध्ये को अग्रसर हुन्छ भन्ने प्रश्न उठिरहेको छ । विज्ञहरूका अनुसार, यदि प्रदेश सरकारले इमानदारीपूर्वक पहल गरी तीनै तहका सरकारबीच समन्वय गरेर दीर्घकालीन योजना अघि बढायो भने जनकपुरधाम केवल धार्मिक पर्यटकीय सहर मात्र होइन, स्मार्ट सिटीको रूपमा पनि विकसित हुन सक्नेछ ।
तीनै तहका सरकारहरूले विकासका कामहरू निरन्तर र योजनाबद्ध रूपमा अघि बढाए मात्र जनकपुरधाम नेपालको मात्र होइन, सम्पूर्ण दक्षिण एसियाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्य बन्ने सुनिश्चित छ ।
यद्यपि मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका प्रमुख परियोजनाहरूलाई तीव्रता दिएको छ । सरकार स्थित नभए पनि कृषि, सडक पूर्वाधार, सौर्य ऊर्जा र आवास क्षेत्रमा उल्लेखनीय काम अगाडि बढाइएको दाबी गरिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि करिब ४६ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । कुल बजेटमध्ये करिब ६४ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ, जसले भौतिक पूर्वाधार र दीर्घकालीन परियोजनालाई प्राथमिकता दिएको देखिन्छ ।
धनुषा जिल्लामा रहेको मिथिला सोलार पिभी स्टेस्नमार्फत १० मेगावाट सौर्य ऊर्जा उत्पादन भइरहेको छ । हजारौँ सौर्य प्यानल जडान गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति भइरहेको छ । ऊर्जा विज्ञहरूका अनुसार मधेस प्रदेशमा सौर्य ऊर्जाको उच्च सम्भावना रहेको छ, जसले भविष्यमा औद्योगिक विकासमा टेवा पुर्याउन सक्छ ।
तराई–मधेस क्षेत्रलाई जोड्ने पोस्टल हाइवेअन्तर्गत विभिन्न खण्डको स्तरोन्नति कार्य जारी रहेको छ । यसले ग्रामीण क्षेत्रका किसानलाई बजारसम्म सहज पहुँच दिलाएको छ । प्रादेशिक सडक सुधार कार्यक्रमअन्तर्गत दर्जनौँ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति भइरहेको जनाइएको छ ।

मधेस प्रदेशको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ । प्रदेश सरकारले कृषकलाई अनुदान, बिउ–वीजन वितरण, सौर्य सिँचाइ प्रणाली जडान र महिला कृषि स्वयंसेवक परिचालन कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषि क्षेत्रले प्रदेशको कुल उत्पादनमा करिब ३५ प्रतिशतभन्दा बढी योगदान दिँदै आएको छ ।
गरिब तथा विपन्न परिवारका लागि सञ्चालन गरिएको महेन्द्र नारायण निधी हाउजिङअन्तर्गत सयौँ घर निर्माण भइसकेका छन् । प्रतिघर करिब ५ लाख रुपैयाँ लागतमा सुरक्षित आवास निर्माण गरिएको हो ।

जनकपुर
प्रतिक्रिया