मतदातामा देखिएको जागरूकता

विगतका आमनिर्वाचनका तुलनामा यसपटकको आमनिर्वाचनले पृथक परिणाम ल्याउने अनुमान गरिनुका पछाडि धेरै कारणहरू हुन सक्छन् । जसमध्ये एउटा कारण हो, मतदातामा देखिएको जागरूकता । आसन्न आमनिर्वाचनप्रति मतदाताको जागरूकता विगतको तुलनामा निकै बढेको छ भन्ने कुरा उनीहरूले उम्मेदवारहरूमाथि गरेका प्रश्नले स्पष्ट बनाउँछ । विगतका निर्वाचनहरूमा पनि मतदाताले उम्मेदवारसँग प्रश्न नगरेका होइनन्, तर त्यतिबेला गरिने प्रश्नभन्दा अहिले गरिने प्रश्न निकै परिपक्व देखिन्छन् । विगतका चुनावमा अधिकांश मतदाताले आफ्नो गाउँठाउँ तथा टोलका विकास निर्माणका सन्दर्भमा धेरै प्रश्न उठाएको देखिन्थ्यो । तर यसपटक जनताले पुराना पार्टीका र दोहोरिएका उम्मेदवारहरूसँग यसअघिका चुनावमा गरिएका प्रतिवद्धताका सन्दर्भमा प्रश्न उठाएको देखिएको छ । नयाँ पार्टी तथा नयाँ उम्मेदवारहरूसँग भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारमूलक कार्यक्रमका सन्दर्भमा प्रश्न उठाएको देखिएको छ ।

उनीहरूले उठाएका प्रश्नलाई विश्लेषण गर्दा मतदाताहरू सचेत बन्दै गएका हुन् कि जस्तो देखिन्छ । सचेत मतदाता नै सक्षम नेतृत्वको जननी हुने भएकोले आसन्न आमनिर्वाचनले विगतको तुलनामा सक्षम व्यक्तिलाई प्रतिनिधिसभामा पठाउने आकलन गरिनु स्वाभाविकै हो । त्यसो त मैदानमा खडा भएका करिब ३ हजार ४०० मध्ये सबै उम्मेदवारहरूले चुनावको मर्म, लोकतन्त्रको मान्यता तथा सांसदको जिम्मेवारी बुझेका छन् भन्न सकिने अवस्था छैन । किनकि वडाध्यक्ष तथा पालिका प्रमुखको उम्मेदवारले गर्नुपर्ने प्रतिवद्धता बोकेर जनताकहाँ भोट माग्न जाने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूको संख्या पनि निकै ठुलो छ । तर आफू कुन पदका लागि उम्मेदवार भएको हो र त्यो पदद्वारा निर्वाह गर्न सकिने भूमिका के कति हो भन्ने बुझेका उम्मेदवारहरूको संख्या उल्लेख्य हुनु आसन्न आमनिर्वाचनको सबैभन्दा सुखद् पक्ष हो ।

शैक्षिक स्तर बढ्दै गएको, सूचना, सञ्चार तथा यातायातको पहुँच बढ्दै गएको सन्दर्भमा मतदाताहरू सचेत हुँदै जानु र उनीहरूमा स्वनिर्णय गर्ने क्षमता बढ्दै जानु स्वाभाविकै हो । केही दशकअघिसम्म नेपालगन्जबाट बझाङ पुग्न २ साता पैदल हिँड्नुपर्ने अवस्था रहँदा मतदाताले अघिल्लो चुनावमा देखेका र सम्पर्क भएका उम्मेदवारलाई पछिल्लो चुनावमा मात्रै देख्न र सम्पर्क गर्न सक्ने अवस्था थियो । तर अहिले नेपालगन्जबाट गाडी लिएर निस्केका रास्वपाका वरिष्ठ नेता बालेन शाह कर्णाली र सुदूरपश्चिमका २२ वटा जिल्लाका करिव १०० जति भेटघाट भ्याएर पाँचाँै दिन नेपालगन्ज फर्के । त्यसैले २०४८ सालका मतदाताको अपेक्षा र २०८२ सालका मतदाताको अपेक्षालाई एउटै डालोमा राखेर हेर्ने सकिने अवस्था छैन । आफ्नो गाउँठाउँ सुगम होस् भन्ने त्यतिबेलाका मतदाताको अपेक्षा करिब करिब पूरा भएको छ । तर आफ्नो गाउँठाउँ जति सुगम हुँदै गएको छ, त्यति नै रित्तिँदै गइरहेको समस्या सम्बोधनका लागि उत्पादन र रोजगारीलाई केन्द्रमा राखियोस् भन्ने मतदाताको चाहना देखिन्छ ।

मतदाता यतिसम्म जागरूक हुनुमा तथा उम्मेदवार र मतदाताबीच चाहेकै समयमा प्रश्नोत्तर हुनसक्ने अवस्था निर्माण हुनुको श्रेय आफूले पाउनुपर्ने तर्कका साथ पुराना दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहँदा नयाँ दलका उम्मेदवारले गाउँबाट हुँदै गरेको जनसंख्या पलायन रोक्ने कार्यक्रम ल्याउन् भन्ने मतदाताको अपेक्षा स्वाभाविकै हो । २०४८ साल यता ७ वटा आमनिर्वाचन र ४ वटा स्थानीय निर्वाचन मतदाताले भोगिसकेका छन् । त्यसैले मतदाताहरूमा पार्टी, नेता तथा उम्मेदवारहरू के गर्छन्, के बोल्छन् भन्ने कुरा छुट्याउने क्षमता बढ्नु स्वाभाविकै हो । तर यो क्षमता सबै मतदातामा विकास भइसकेको छ भन्ने ठान्नु गल्ती हुनेछ । भूगोल, समुदाय, जाति, वर्ग विशेषमा जति विविधता छ, मतदाताको चेतनास्तरमा पनि त्यति नै विविधता छ । सबैभन्दा धेरै मत जसले प्राप्त गर्छ, उसैले चुनाव जित्ने निर्वाचन प्रणाली रहेको हाम्रो देशमा २०–२२ प्रतिशत मत प्राप्त गर्नेले पनि सजिलै चुनाव जित्ने निर्वाचन क्षेत्रको संख्या उल्लेख्य छ ।

सचेत मतदाता निर्णायक हुँदा प्राप्त हुने परिणाम र कम सचेत मतदाता निर्णायक हुँदा प्राप्त हुने परिणाममा धेरै ठुलो अन्तर हुन्छ । सचेत मतदाताको संख्या बढ्दै जानु र कम सचेत मतदाताको संख्या घट्दै जानु लोकतन्त्रको हितमा हुन्छ । निर्वाचन भनेको मतदातालाई सचेत बनाउने अभियान पनि हो । निश्चय नै आशन्न आमनिर्वाचन भनेको गत भदौ २३–२४ मा भएको जेनजी जनआन्दोलनको परिणाम हो । जेनजी जनआन्दोलनले साविकको सरकार तथा संसद्मा रहनेहरूलाई दण्डित गरेको सत्य हो । जेनजी जनआन्दोलनका उपलव्धि संथागत गर्नकै लागि नियमित भन्दा २ वर्षअघि नै आमनिर्वाचन गर्न लागिएको पनि सत्य हो । तर यति भन्दैमा पुराना उम्मेदवारहरू सबै गलत र नयाँ उम्मेदवारहरू सबै ठिक भन्ने भाष्यले समस्या समाधान हुँदैन । यस अर्थमा योग्य उम्मेदवार छनौटका लागि मतदाता सचेत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया