नेताहरुको भाषण र चमत्कारले देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह (भिडियाे)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुको भाषण, जादू र चमत्कारले देश नै नरहने हो कि भन्ने चिन्ता रहेको बताएका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेकोमा चिन्ता भए पनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका हुन् ।

सन्देशमा उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।

भाषण, जादू र चमत्कारले देश नबनेको र नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने जनाएका छन् । सबै जनताले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने उनले बताएका छन् ।

‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौँ र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ,’ भिडियो सन्देशमा उनले भनेका छन् ।

‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ, हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भनेका छन् । भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया