
मुगु । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जेनजी मुगुको समन्वयमा सोमबार नगर प्रमुख भामले आफ्नै कार्यकक्षमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भाम २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएलगत्तै कार्यभार सम्हालेको एक साताभित्रै जिल्लामै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गर्ने जनप्रतिनिधि बनेका थिए । सोही पारदर्शितालाई निरन्तरता दिँदै उनले पुनः सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
केही दिनअघि जेनजी मुगुले नगर प्रमुख भामलाई सम्पत्ति विवरण स्पष्ट रूपमा सार्वजनिक गर्न आग्रह गरेपछि सोमबार जेनजी मुगुका संयोजक राजेन्द्र शाही, समूहका सदस्यहरू तथा नागरिक समाजका अगुवाहरूको उपस्थितिमा सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरणअनुसार नगर प्रमुख भामसँग १४ तोला सुन, २० तोला चाँदी, ११ लाख रुपैयाँ बराबरको बैंक ब्यालेन्स तथा नगद मौज्दात रहेको छ । साथै विभिन्न स्थानमा जग्गा रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।
उनका अनुसार मुगुको साविक कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२ हजार ३१३ वर्ग मिटर, साविक श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ वर्ग मिटर, साविक पिना गाविसमा कित्ता नम्बर ३ को ४ हजार ५५८ वर्ग मिटर तथा सुर्खेतको साविक लाटिकोइली गाविसमा २ कित्ता ३६२ वर्ग मिटर जग्गा रहेको छ ।
त्यसैगरी छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँमा रहेको सात कोठे निजी निवास, गमगढी बजारको आठ कोठे घर तथा नेपालगञ्जमा रहेको तीन तले घर आमा लालकली भामको नाममा रहेको र ती सबै पुर्ख्यौली सम्पत्ति भएको नगर प्रमुख भामले बताए। गमगढी बजारको छ कोठे घर भने श्रीमती अनिता रावलको नाममा रहेको उल्लेख गरे ।
प्रायः सबै जग्गा आमाको नाममा रहेकाले कुनै पनि जग्गामा आफ्नो नाम नरहेको भन्दै नगर प्रमुख भामले यी सम्पत्तिमा आफ्नो कुनै हकदाबी नरहेको स्पष्ट पारे । सबै सम्पत्ति पुर्ख्यौली भएको उनको भनाइ छ ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को–ताउलो ११ थान, धार्नी, काँसका भाँडाकुँडा २० थान, अन्य सानातिना सामग्री करिब १ सय थान तथा लिउ, गलैँचा लगायतका लत्ताकपडा आवश्यकता अनुसार रहेका छन् ।
आम्दानीको स्रोत तरकारी खेति बार्सिक आम्दानी ३ लाख ५० हजार हुने गरेको र घरभाडा मासिक ६५ हजार आउने गरेको त्यसै अनुसार घरमा ब्यवहार संचालन गर्ने गरेको नगर प्रमुख भामको भनाई छ ।
कार्यक्रममा जेनजी समूह मुगुका जिल्ला प्रमुख राजेन्द्र शाही मुगु काठमाडौं सम्पर्क समितिका सयोजक भुवन टमटा लगायतका जेनजी समुहले नगरमा भएका विकाससम्बन्धी अनियमितताप्रति ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिहरूले पारदर्शिता र जवाफदेहितालाई निरन्तरता दिनुपर्ने बताए । उनले नगर प्रमुख भामले सम्पत्ति सार्वजनिक गरेर सकारात्मक सन्देश दिएको भन्दै यसलाई सबै जनप्रतिनिधिले अनुसरण गर्नुपर्ने उल्लेख गरेका छ्न् ।

मुगु
प्रतिक्रिया