ट्रेलरमा एक्लो र मुगलान

काठमाडौँ । २ नेपाली फिल्म ‘एक्लो’ र ‘मुगलान’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप शाही निर्देशित ‘एक्लो’ १७ पुस र आशिष ढकालको लेखन तथा निर्देशन रहेको ‘मुगलान’ १० पुसमा रिलिज हुँदै छ ।

फिल्म ‘एक्लो’को ३ मिनेटको ट्रेलरमा फिल्मका प्रमुख पात्रहरू प्रदीप खड्का, सुनील थापा, दिनेश डिसी, बेनिशा हमाल, विजय लामा र कविता नेपालीलाई स्थान दिइएको छ । फिल्मले खतरनाक भाइरसका कारण सन् २०३० सम्म मानिसले पृथ्वी छाड्ने भविष्यको एक काल्पनिक कथा देखाउने निर्माण पक्षले जनाएको छ ।

निर्देशक शाहीले मानिसले पृथ्वी छोडेको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्ने बताए । ‘तिनीहरूले आफ्नो वरपर खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो’, फिल्मबारे शाहीले भने ।

निर्देशक प्रदीपले यसअघि फिल्म ‘गोर्खा ब्रिनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरिसकेका छन् । उनले फिल्म ‘एक्लो’मा पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तŒवसँग मिश्रण गरेको बताए । यो फिल्म काभ्रेको पनौती र मुस्ताङमा छायांकन गरिएको छ ।

‘एक्लो’ले ‘कान्स फिल्म फेस्टिभल’को ७८औँ संस्करणमा सहभागिता जनाइसकेको छ । यो फिल्म २८ डिसेम्बरमा अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुँदै छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहसँगै बेलायती अभिनेता जेमी बेकनको अभिनय छ । एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

त्यस्तै फिल्म ‘मुगलान’ को २ मिनेट २४ सेकेन्डको ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई देखाइएको छ । कथामा २०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ ।

फिल्ममा अभिनेता प्रभात पालले मुखियाको ऋण तिर्न मुगलान गएको युवाको भूमिका निभाएका छन् । ट्रेलरमा प्रभात र अभिनेत्री स्मारिका ढकालको प्रेम र विछोड पनि प्रस्तुत छ । रूरिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु, शिवांशु, मोती सुबेदी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतमको पनि अभिनय छ । गोमन सिंह निर्माता रहेको फिल्मका सह–निर्माता रिता चौधरी हुन् ।

प्रतिक्रिया