
काठमाडौँ । भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित भारतनाट्यम प्रतियोगिता ‘कलावंत सम्मान–२०२५’ मा नेपालका ३ जना कलाकार विजयी भएका छन् । गत २१ मंसिरमा आयोजित प्रतियोगितामा ललितपुरको सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी सबजुनियर समूह (६–१० वर्ष)मा ७ वर्षीय विभाष स्वरुप रघुवंशी, जुनियर समूह (११–१५ वर्ष) का १३ वर्षीया पंलेस्वा रघुवंशी र सिनियर समूह (१६–२० वर्ष) मा १६ वर्षीया सदीक्षा पौडेल विजयी भएका हुन् ।
सब–जुनियर विजेता विभाष एसयमजी स्कुलका कक्षा २ का विद्यार्थी हुन् । उनी ५ वर्षको उमेरदेखि भरतनाट्यम साधनामा सक्रिय छन् । उनले अहिलेसम्म २० भन्दा बढी मञ्चमा प्रस्तुति गरिसकेका छन् । जुनियर विजेता पंलेस्वा नेसनल युनाइटेड स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । ८ वर्षको उमेरदेखि नृत्ययात्राम सक्रिय रहँदै नेपाल तथा भारतका विभिन्न राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति गर्दै आएकी छन् ।
सिनियर विजेता सदीक्षा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् । उनले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति गर्दै नृत्यलाई उचाइमा पु¥याउँदै आएकी छन् । प्रतियोगितामा नृत्यसँगै गायन, वादन तथा चित्रकलाको समेत समावेश थियो । अन्तिम मूल्यांकनमा तीनै नेपाली कलाकारले सर्वाधिक अंक प्राप्त गर्दै ‘कलावंत सम्मान २०२५’ हासिल गरेका हुन् ।
गोविन्द लीला कला कौशल संस्थाका सचिव गुरु किरण साहूले नेपालमा भारत नाट्यम नृत्यको तीव्र विकासले आफूहरू प्रभावित भएको बताए । कार्यक्रम संयोजक सारिका शर्माले नेपालका कलाकारहरूको प्रस्तुति उल्लेखनीय रहेको बताइन् ।
प्रतिक्रिया