
सुदूरपश्चिम । सर्जक एवं कलाकारको प्रतिभा प्रस्फुटन गराउने तथा कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भजन सन्ध्यामा सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेको छ । धनगढी उपमहानगरपालिका कार्यालयको व्यवस्थापनमा प्रत्येक शनिबार साँझ जेनजी सडक छेउमा आयोजना हुने भजन सन्ध्यामा स्थानीय किशोरकिशोरी, वृद्धवृद्धालगायतको सहभागिता बढ्दै गएको हो ।
सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेपछि धनगढीस्थित जेनजी मार्गको माहोल रोमाञ्चक बन्न थालेको छ । मादल, ढोलक, खैँजडी, हारमुनियमको ताल र सुरिलो स्वरमा सर्जकहरूले आ–आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाएसँगै यसले कला, संस्कृतिको संरक्षणका साथै प्रवद्र्धनमा टेवा पुगेको भजन गीतका रचनाकार गणेशराज भट्टले बताए । भजनकीर्तनमा गाउँदा दर्शकहरूमा पनि उत्साह र उमंग थपिने गरेको उनको भनाइ छ । आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाउँदा आनन्दको अनुभूतिसँगै संस्कृति संरक्षणमा सहयोग पुगेको उनले दाबी गरे ।
‘आफ्नो सिर्जना अरूलाई सुनाउन पाउने अवसर पनि सर्जकहरूले पाएका छन्’, भट्टले भने, ‘आफ्नो रचनाले स्थानीयलाई एकताबद्ध बनाउनुका साथै हाम्रा धर्म, कला, परम्पराको जगर्ने गर्न महŒवपूर्ण योगदान पु¥याइरहेका छन् ।’
उपमहानगरको रोजगार शाखाका सदस्यसचिव महेश मल्लले भजन सन्ध्या कार्यक्रम स्वस्फूर्त रूपमा भइरहेको बताए । ‘दिउँसोको समयमा विभिन्न विद्यालयका बालबालिकालाई लक्षित गरेर गीत तथा नृत्यसमेत प्रस्तुत गरिन्छ । बालबालिकालाई खेल्नका लागि जम्पिङ, घोडा, चिप्लेटीलगायत खेल सामग्रीको व्यवस्था उपमहानगरले गरेको छ,’ उनले भने । भजन सन्ध्या कार्यक्रममार्फत भाषा, साहित्य, धर्मको संरक्षण एवं सम्वद्र्धन, कला, मूल्यमान्यताको प्रवद्र्धनका साथै सर्जकहरूका बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको भट्टको बुझाइ छ । गत २३ र २४ भदौको जेनजी प्रदर्शनमा निधन भएकाहरूको स्मृतिमा उपमहानगरले धनगढीको पार्कमोड आसपासको सडकलाई जेनजी मार्ग नामाकरण गरेको हो ।
प्रतिक्रिया