हमासले बन्धक बनाएका विपिन जोशीको १ वर्ष पुरानो भिडियो सार्वजनिक

काठमाडौँ । हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको एउटा भिडियो सार्वजनिक भएको छ । इजरायलको बन्धक परिवार मञ्च ‘होस्टेज फ्यामिली फोरम’ले उक्त भिडियो सार्वजनिक गरेको हो । ३० सेकेन्ड वा १ मिनेट लामो उक्त भिडियोमा विपिन निलो भेस्टमा देखिएका छन् । उक्त भिडियोमा विपिनले आफ्नो परिचय दिएका छन् ।

तर, सार्वजनिक भएको भिडियो कहिले रेकर्ड गरिएको भन्ने बारे भने केही खुलाइएको छैन । इजरायली सञ्चारमाध्यमका अनुसार एक वर्ष अघि नै इजरायली सेनाले विपिन जोशीको परिवारलाई देखाइसकेको भिडियो हो यो । अहिले भने जोशी परिवारको सहमतिमा होस्टेज फ्यामिली फोरमले सार्वजनिक गरेको हो ।

हमास र इजरायलबीच वार्ता चलिरहँदा उक्त भिडियो सार्वजनिक गरेर विपिन जोशी जिवितै रहेको सन्देश इजरायल तथा होस्टेज फ्यामिली फोरमले दिन खोजेको देखिन्छ । इजरायली मिडियाहरुले दाबी गरेअनुसार हमासको अपहरणमा परेयता जोशी एकपटक घाइते अवस्थामा अस्पतालमा उपचारका क्रममा देखिएका थिए । यसको सिसिटिभी फुटेजहरु पनि बाहिर आएका छन् ।

इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई ७ अक्टोबर, २०२३ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए । हमास समूहले बन्धक बनाएपछि अन्तर्राष्ट्रियस्तरमा समेत विपिनबारे चासो बढिरहेको छ । केही समयअघि हमासले सार्वजनिक गरेको बन्धकहरुको तस्बिरमा विपिनको समेत तस्बिर देखिएपछि थप चासो बढेको थियो ।
अहिले हमास र इजरायलबीच इजिप्टमा वार्ता चलिरहेको छ । यदी वार्ता सफल भए गाजामा युद्धविरामसँगै विपिनसहितका बन्धकहरू रिहा हुनेछन् । अमेरिकाले सबै बन्धक रिहा गर्नुपर्ने पहिलो सर्त राखेको छ । यसमा हमास पनि सकारात्मक देखिन्छ ।

प्रतिक्रिया